थारु चित्रकला लाेप हुँदै
कञ्चनपुर । माटोका भित्तामा उकेरिएका चित्रहरू एक समय कञ्चनपुरका थारु गाउँको पहिचान नै हुन्थे । घरको प्रवेशद्वार अगाडिको भित्तामा माटो उकेरेर बनाइने जनावर, चरा, देवीदेवता र दैनिक जीवनका दृश्यले थारु समुदायको संस्कृति, प्रकृतिप्रतिको श्रद्धा र जीवनशैली झल्काउँथ्यो । तर समय परिवर्तनसँगै पक्की घर निर्माणको बढ्दो प्रवृत्तिले थारू समुदायको परम्परागत भित्ते लोक चित्रकला अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
पहिले थारु समुदायका घरका भित्तामा रुख, बेहुलाबेहुलीलाई डोलीमा बोकेको, हात्ती, घोडा, मयूर, चरा, गोरु जोत्दै गरेका किसान, मान्छे, माछा, कछुवा, चित्तल, बाघ, भालु, गणेश, शिवपार्वतीलगायतका चित्र बनाउने गरिन्थे । चित्र बनाउने काममा महिला निपूण हुन्थे ।
ती चित्रहरू केवल सजावटमात्र नभई जीवन दर्शन, धार्मिक आस्था, प्रकृतिप्रतिको श्रद्धा र सामाजिक संस्कारको प्रतीकका रूपमा चिनिन्थे । भित्ते चित्रमार्फत थारू समुदायले आफ्नो रहनसहन, वन्यजन्तु, जलजङ्गल, खेतीपाती, विवाह संस्कार र देवदेवतासँगको सम्बन्धलाई अभिव्यक्त गर्दथे । राना थारु समुदायका अगुवा जगता राना भन्छन्, “गहुँबाली भित्र्याएर फुर्सदिला भएको समयमा विशेषगरी वैशाख–जेठमा नयाँ घर बनाउने र पुराना घर मर्मत गर्ने काम हुन्थ्यो, महिलाले माटो ल्याएर घर लिपपोत गर्ने र त्यही बेला भित्तामा चित्र बनाउने चलन थियो, त्यो हाम्रो संस्कृति र पहिचानको भाग थियो ।” उनका अनुसार गाउँका सबै महिला मिलेर सामूहिक रूपमा घर लिपपोत गर्ने चलन थियो । भित्ता लिपपोत गर्दा सिपालु महिलाले माटो उकेरेर चित्र बनाउने गर्थे । यसले गाउँमा आपसी सहयोग, मेलमिलाप र सामुदायिक एकता पनि बढाउने काम गथ्र्यो ।
थारू गाउँमा बडघर चयन प्रक्रिया सकिएपछि गाउँमा अंशवण्डा गर्ने, घर निर्माण गर्ने र मर्मत गर्ने योजना बनाउने परम्परा छ । योजनाअनुसार गाउँका सबै मानिस सामूहिक रूपमा एकअर्काको घर बनाउने चलन परापूर्वकालदेखि चल्दै आएको थारू अगुवा हवलदार चौधरी बताउछन्।
उनका अनुसार सहर नजिकका गाउँमा पक्की घर निर्माण बढेसँगै सामूहिक रूपमा घर बनाउने र भित्तामा चित्र बनाउने चलन विस्तारै हराउँदै गएको छ, तर विकट ग्रामीण गाउँहरूमा भने अझै केही हदसम्म यो परम्परा बाँकी छ । भित्ते चित्रहरूमा देखाइने चित्रको पनि आफ्नै अर्थ र प्रतीकात्मक महत्व हुने गरेको उनी बताउछन् ।
“भित्तामा कोरिने चित्रमा घोडालाई यातायातको साधन र शक्ति तथा गतिशीलताको प्रतीक मानिन्थ्यो”, उनले भने, “कछुवालाई लामो आयु र धैर्यको प्रतीक मानिन्थ्यो भने मयूरलाई सौन्दर्य र समृद्धिको प्रतीकका रूपमा चित्रमा राखिन्थ्यो, हात्ती शक्ति र गौरवको प्रतीक मानिन्थ्यो, डोलामा बेहुलाबेहुली बोकेको चित्र विवाह संस्कार र पारिवारिक सम्बन्धको महत्व दर्शाउने चित्रका रूपमा बनाइन्थ्यो ।”
देखतभूलीका वृद्धा द्रोपती राना भने, “कच्ची माटो र काठले बनेका घरमा बस्दा आफ्नै हातले माटोको भित्तामा चित्र बनाउँथ्यौ, त्यो चित्र बनाउने कला हजुरआमाबाट सिकेको थिएँ, अहिले त कोर्ने मान्छे पनि छैनन्, न माटोको भित्तो नै बाँकी छ ।” उनका अनुसार विशेषगरी चित्र बनाउने काममा महिलाहरूको मुख्य जिम्मेवारी मानिन्थ्यो र आमा–हजुरआमाले छोरीहरूलाई यो कला सिकाउने गर्थे । यसरी पुस्तौँदेखि पुस्तामा यो कला हस्तान्तरण हुँदै आएको थियो ।
तर पछिल्ला दशकमा पक्की घर निर्माणको बढ्दो चलनसँगै माटोको भित्तो हराउँदै गयो । माटोको भित्तो नभएपछि भित्तेचित्र बनाउने परम्परा पनि हराउँदै गएको पिपलाडी गाउँका स्थानीय बासिन्दा बिलबहादुर चौधरी बताउछन्। “पहिले घर बनाउँदा महिलाहरूले भित्तामा चित्र कोर्थे, अहिले सिमेन्टको भित्तामा पेन्ट लगाइन्छ, माटोको चित्र बनाउने चलन हरायो”, उनले भने “खोजेर पनि ती चित्र पाउनै मुस्किल छ ।”
घरको भित्तामा बनाइने चित्रमा केही घरमा रङ भर्ने चलन पनि थियो । केहीले रङबिना पनि चित्र बनाउने गर्दथे । चित्र बनाउन प्रयोग हुने रङ पनि प्राकृतिक सामग्रीबाट तयार गरिन्थे । हल्दीबाट पहेँलो रङ, रातो माटोबाट रातो रङ, खरानीबाट खैरो वा कालो रङ, रुखको बोक्रा र पातबाट हरियो तथा अन्य रङ बनाइन्थे । यसले वातावरणमैत्री र प्राकृतिक जीवनशैली झल्काउँथ्यो ।
थारू सांस्कृतिक जानकार नरेन्द्रप्रसाद चौधरीका अनुसार थारू भित्ते चित्रकला केवल कलामात्र नभई समुदायको इतिहास, संस्कृति र जीवन दर्शन बोकेको जीवित दस्तावेजका रूपमा रहेको छ । चित्रहरूमा प्रकृतिप्रतिको श्रद्धा, वन्यजन्तुसँगको सहअस्तित्व, खेतीपाती, सामाजिक संस्कार, विवाह, देवीदेवताप्रतिको आस्थालगायत विषय चित्रित हुन्थे ।
“हामीलाई बाल्यकालमा आमा–हजुरआमाले चित्र कोरेको हेर्दथ्यौँ, अहिले त्यही कला देख्नै दुलर्भ भइसक्यो, विद्यालयको पाठ्यक्रममा यस्तो परम्परालाई जीवन्त राख्न पाए नयाँ पुस्ताले सिक्ने थिए । “यो लोक चित्रकला संरक्षण गर्न विद्यालयस्तरबाटै सुरु गर्न आवश्यक छ”, उनले भने, “विद्यालयको पाठ्यक्रममा थारू कला संस्कृति समावेश गर्ने, स्थानीयस्तरमा चित्रकला तालिम सञ्चालन गर्ने, गाउँमा भित्तेचित्र महोत्सव आयोजना गर्ने र सङ्ग्रहालयमा थारू भित्तेचित्रको नमूना राख्नेजस्ता कार्यक्रम सञ्चालन गर्न सके यो कला पुनर्जीवित हुनसक्छ ।”
यसका साथै अहिले पक्की घरको भित्तामा पनि पेन्ट प्रयोग गरेर परम्परागत चित्र बनाउने अभ्यास सुरु गर्न सकिने उनी बताउछन् । यस कार्यले आधुनिक घरमा पनि परम्परागत कला जोगाउन सहयोग पुग्नेछ ।
“थारू भित्ते चित्रकला केवल घर सजाउने माध्यममात्र थिएन”, थारू बुद्धिजीवी चन्द्रलाल चौधरीले भने, “त्यो सामुदायिक आत्माभिव्यक्तिको माध्यम पनि थियो, घर लिपपोत गर्ने, चित्र बनाउने, घर निर्माण गर्नेजस्ता काम सामूहिक रूपमा गरिन्थ्यो, जसले गाउँमा एकता, सहयोग र सामाजिक सम्बन्ध मजबुत बनाउने काम गथ्र्यो, अहिले ती परम्परा पनि विस्तारै हराउँदै गएका छन् ।”
“माटोको भित्तामा कोरिएका ती चित्रहरू विस्तारै मेटिँदै गएका छन्”, उनी अगाडि थप्छन्, “ती चित्रहरूले बोकेको इतिहास, संस्कृति र पहिचान अझै जीवित छ, अब आवश्यक छ– त्यो इतिहासलाई नयाँ पुस्तासम्म पुर्याउने, भित्तामा फेरि चित्र उकेर्ने रङ भराउने र हराउँदै गएको यो मौलिक कला पुनः जीवन्त बनाउने प्रयास गर्ने ।”
“समयमै संरक्षण, तालिम, सचेतना र सरकारी पहल हुनसके भोलिका दिनमा थारू गाउँका भित्तामा फेरि हात्ती, घोडा, मयूर, बेहुलाबेहुली र प्रकृतिका चित्रहरू देख्न पाइने आशा अझै बाँकी छ, त्यो दिन आउने कि नआउने भन्ने कुरा भने अहिलेको पुस्ताको प्रयासमा निर्भर रहनेछ”, उनी भन्छन् ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

