फुटबल खेल्न अमेरिकन टोली नेपाल आउँदै

पोखरा, माघ २ । यही माघ ४ देखि १५ गतेसम्म पोखराको रङ्गशाला हुन लागेको १५ औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि अमेरिका टोली नेपाल आउँदैछन् । सहारा क्लब पोखराको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता रहने भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बंगलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् ।

त्यस्तै आयोजक सहारा क्लब, सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब, धरान फुटबल क्लब, नेपाल एपिएफ क्लब, रमपम झापा ११, संकटा क्लब, नेपाल पुलिस क्लब, लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब रहने छन् ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख १ हजार १ रुपैयाँ र उपविजेताले २ लाख ५१ हजार १ रुपैयाँसहित सिल्ड, पदक र प्रमाणपत्र दिइनेछ ।

जित्नेलाई दोहोरो पुरस्कार

धनगढी, पुस ११ । विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका तर्फबाट विजयी खेलाडीलाई दोहोरो पुरस्कार मिल्ने भएको छ । सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पनि नगद पुरस्कार प्रदान गर्ने राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले घोषणा गरेका छन् । स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत पदक जित्नेलाई नगद रु पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए । खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ ।

सात स्वर्णसहित सेना पहिलो स्थानमा

 झापा, पुस ११। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धुलाबारीमा आज दोस्रो दिन जुडो खेलमा नौ वटा स्वर्ण पदकको छिनोफानो भएको छ । नेपाली सेनाले पाँच, नेपाल प्रहरीले तीन तथा मध्यपश्चिमले एउटा स्वर्ण पदक जितको छ । हालसम्म छिनोफानो भएका १८ स्वर्ण पदकमध्ये सेना सात स्वर्ण पदकसहित अग्रस्थानमा रहेको छ । यस्तै मध्यमाञ्चल पाँच स्वर्णसहित दोस्रो स्थानमा तथा नेपाल प्रहरी तीन स्वर्ण हात पार्दै तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आयोजक पूर्वाञ्चलले एक–एक स्वर्णमा चित्त बुझाएका छन् । आज सम्पन्न खेलमा नेपाली सेनाका लागि ५२ किलोमुनिको तौलमा लीला अधिकारी, ६३ किलोमुनिको तौलमा फूपु ल्हामू खत्री, ७८ किलोमुनिमा पुनम चौधरी, ५० किलोमुनिमा तिलकबहादुर देउजा तथा ६० किलोमुनिको तौलमा सुदिप बोहराले स्वर्ण पदक जिते । यस्तै नेपाल प्रहरीका सञ्जित डङ्गोलले ७३ किलोमुनिको तौलमा, श्रीराम मकाजुले ९० किलोमुनितर्फ र राजन जोशीले १०० किलो तौलभन्दा बढी तौलमा स्वर्ण पदक जिते । मध्यपश्चिमका लागि एक मात्र स्वर्ण ४४ किलोमुनिको तौलमा सोनु भट्टले जिते । आज सम्पन्न जुडो खेलमा महिलातर्फ ४४ किलोमुनिको तौलमा पश्चिमाञ्चलका सोमिया तामाङले रजत तथा सुदूरपश्चिमका विमला महत र नेपाली सेनाका सुमित्रा राईले कास्य पदक जिते । ५२ किलोमुनि तौलमा प्रहरीका दिलकुमारी छत्यालले रजत तथा सशस्त्र प्रहरीका देविका खड्का र कविता नेपालीले कास्य पदक प्राप्त गरिन् । यस्तै, ६३ किलोमुनि तौलमा प्रहरीका निशा चौधरीले रजत तथा मध्यपश्चिमका दिलमाया ऐरी र आयोजक पूर्वाञ्चलका दिलकुमारी सिजालीले कास्य पदक जितेका छन्। ७८ किलोमुनिको तौलमा पूर्वाञ्चलका बबिता चौधरीले रजत तथा प्रहरीका भावना घर्तीमगर र कृष्णा राईदासले कास्य पदकमा चित्त बुझाए । यसैगरी पुरुषतर्फ ५० किलोमुनिको तौलमा पश्चिमाञ्चलका मनोज आचार्यले रजत तथा सशस्त्र प्रहरीका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चव्रmबहादुर रोक्काले कास्य पदक प्राप्त गरेका छन् । ७० किलोमुनिको तौलमा प्रहरीका उमेश मगरले रजत तथा पूर्वाञ्चलका विकास भुजेल र दिनेश मगरले कास्य पदक जितेका छन् । यस्तै ७३ किलोमुनिको तौलमा मध्यमाञ्चलका रामबहादुर तामाङले रजत तथा प्रहरीका निर्दोष चलाउने र सेनाका जगतबहादुर सारुले कास्य हात पारे । ९० किलोमुनितर्फ पश्चिमााञ्चलका सञ्जय महर्जनले रजत तथा सेनाका सूर्यमान लामा र सुदूरपश्चिमका चन्द्रप्रसाद चौधरीले कास्य जिते । यसैगरी १०० किलो बढी तौलमा सेनाका कुलमान तामाङले रजत तथा पूर्वाञ्चलका बच्चुलाल चौधरी र सुदूरपश्चिमका आशिष ओझाले कास्य पदक प्राप्त गरेका छन् । विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, नेपाल जुडो सङ्घका केन्द्रीय अध्यक्ष दीपक बज्राचार्यलगायतले मेडल वितरण गरेका थिए । रासस  

टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो

पोखरा, पुस ११ । जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण पदक हात पारेको छ । पोखरा रङ्गशालामा आइतबार आयोजित लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो । पुरुष टिम इभेन्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित गर्यो । पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नवीन मगरले सन्तोष खत्रीलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन् । प्रतियोगितामा सहभागी पाँच विकास क्षेत्रमध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ । रासस

सातौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

विराटनगर, पुस ८ । सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजक ले जनाएको छ । प्रतियोगिताबारे जानकारी दिँदै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान् खेलाडीको खोजीमा सातौैँ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको भोलि विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबीच उद्घाटन गर्नुहुने कार्यक्रम छ । प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । रासस

नेपालको पाँच विकेट पतन, २९ ओभरमा १२५ रन

काठमाडौं, मंसिर ३० । एसिसी यु–१९ एसिया कप क्रिकेटमा श्रीलङ्का विरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले पाँच विकेट गुमाएर १२५ रन बनाएको छ । नेपालका दीपेन्द्रसिंह ऐरी अाधि खान र प्रकाश केसीले विष्पोटक व्याटिङ गरेपछि नेपाल खेलमा फर्केको थियो । तर प्रकाश एलविडब्लु धरापमा परेपछि नेपाल केही दबाबमा देखिएको छ । कोलम्बोमा भइरहेको खेलमा श्रीलङ्काले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको खेल सकिँदा ११२ रन बनाएको हो । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी र भरपर्दा व्याट्स्म्यान अविनाश कर्ण छन् । यसअघि आधि खान सर्वाधिक ३९ रन बनाएर पवेलिएन फर्केका थिए । नेपालका ओपनर सन्दीप सुनार एक रनमा पवेलिएन फर्कदा अर्का भरपर्दा व्याट्सम्यान आसिफ शेख पनि एक रनमा क्याच आउट हुन पुगे । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको श्रीलङकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२७ रनको योगफल बनाएको थियो । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। पवन सर्राफले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौँ,  मङ्सिर २५। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए पनि पदक गणना भने गरिने छैन् । जसका कारण ३१ खेलका २९४ स्वर्ण र रजत तथा ४४७ कास्यपदकका लागि करिब दुई हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । तीन खेल स्विमिङ, ट्रायथलन र बडिबिल्डिङ पनि यसअघि नै सम्पन्न भइसकेका छन् । त्यसका कारण पूर्वाञ्चलमा २८ खेल मात्र हुनेछन् । सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका छ जिल्लामा तथा स्वासका खेल भने स्थान अभावका कारण ललितपुरमै सञ्चालन हुनेछन् । केही खेल आगामी पुस २ गतेदेखि नै सुरु हुनेछन् । सरकारले चार किस्तामा निकासा गरेको रु २० लाख रकम पूर्वाधार सामान्य विकासका लागि प्रयोग गरिएको राखेपले जनाएको छ । राखेपले रु ११ करोड ६० लाखभन्दा कम दिए आयोजना गर्न कठिन हुने जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन विराटनगरको सहिद रङ्गशालामा र समापन धरान रङ्गशालामा हुनेछ । राखेप सदस्य सचिव केशवकुमार विष्टले पदक जित्दै राष्ट्रिय टिममा रहेका खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताउनु भएको छ । दक्षिण एसियाली खेलकुद(साग)मा रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि मासिक प्रोत्साहन भत्ता दिइने विष्टले बताए । रासस  

चितवनमा फेरि ‘अन्तर्राष्ट्रिय हात्तीपोलो’

चितवन (रत्ननगर), मङ्सिर २४  । विगत सात वर्षदेखि स्थगित अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यसवर्ष रत्ननगरको सौराहामा पुनः खेलाइने भएको छ । हात्तीमाथि मान्छे बसेर लट्ठीको सहायतामा पोलो बललाई गोलपोस्टमा छिराएर खेलिने यो रोमाञ्चक खेल हो । विसं २०६७ मा निकुञ्जभित्रको होटल टाइगरटप्स हटे पछि चितवनमा हात्तीपोलो खेल रोकिएको थियो । पछिल्ला वर्षहरुमा नवलपरासी र बर्दियामा सो खेल खेलाउँदै आए पनि चितवनमा भने स्थगित भएको थियो । यो वर्ष सौराहास्थित क्षेत्रीय होटल सङ्घले संस्थागत रुपमा हात्तीपोलोलाई निरन्तरता दिन लागेको हो । दुई समूहमा चार–चारवटा हात्ती सहभागी गराएर खेलाइने खेल दश–दश मिनेटको हुन्छ । यही पुस ११ देखि १५ गतेसम्म आयोजना हुने चितवन हात्ती महोत्सवको थप आकर्षणको रुपमा हात्तीपोलो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक शङ्कर शैँजुले जानकारी दिए । उनका अनुसार अहिले पोलोका लागि आठवटा हात्तीलाई प्रशिक्षण दिन थालिएको छ । पर्यटन विकासमा महत्वपूर्ण टेवा दिँदै आएको हात्तीपोलोको निरन्तरताले व्यवसायीमा उत्साह थपिएको छ । पोलो खेलका लागि स्टिक बनाउने, बल ल्याउने र हात्तीलाई सिकाउने क्रम तीनदिनदेखि भइरहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले बताए । यसवर्ष हात्तीको छिटो हिँडाइ खेललाई परिमार्जन गरेर कर्यक्रम गर्न लागिएको र महोत्सवको तयारीमा सबै जुटेको सङ्घका अध्यक्ष सुमन घिमिरेले बताए । सन् १९८१ देखि पश्चिम चितवनका मेघौलीमा हुँदै आएकोे योे खेल यो पुनः सातवर्ष पछि खेलाउन लागिएको हो । महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय नियमअनुसार नै खेल खेलाइने खेलमा हात्तीको हिँडाइ, गाडा, डुङ्गा तथा टाँगा दौड, हात्ती सुन्दरी प्रतियोगिता र हात्तीका छावा बीचमा रोमाञ्चक खेल समाबेश छन् । यो मौसममा पर्यटक आ–आफ्नो घर फर्कने भएकाले त्यसलाई रोक्न १२ वर्षअघिबाट हात्ती दौडका रुपमा आयोजना गरिएको यो खेललाई चितवन हात्ती महोत्सवमा समेटिएको हो ।  

टाउकोमा बलले चोट लागेपछि अम्पायर रेफेल मैदान बाहिर

मुम्बई । भारत र इंग्ल्याण्डबीच भइरहेको चौथो टेष्टमा अम्पायर पल रेफेलको टाउकोमा चोट लागेको छ । लन्चपछिको सत्रमा फिल्डर भुवनेश्वर कुमारको थ्रो टाउकोपछाडि लागेपछि रेफेल घाइते भएका थिए । उपचारका लागि उनलाई तत्कालै मैदान बाहिर लगिएको हो । अष्ट्रेलियाका पूर्व तीब्र बलर रेफेल स्क्वायर लेगमा उभिएको बेला डीप स्क्वाइर लेगबाट कुमारको थ्रो उनको टाउको पछाडिको भागमा लागेको थियो । चोट लागेपछि उनलाई उपचारका लागि लगिएको छ । उनको स्थान मरियास इरास्मसले लिएका छन् ।

विश्वकप फुटबलमा १६ टिमका लागि ४८ देश

मंसिर २३ । विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउन पाउने सम्भावना रहेको छ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले नयाँ प्रस्ताव अनुसार विश्वकप फुटबलमा १६ टिम रहने गरी ४८ देशले सहभागिता जनाउन पाउने भएको छ । यसअघिसम्म विश्वकपमा ३२ देशले सहभागिता जनाउने गरेका छन् । ३२ देशलाई ८ समूहमा विभाजन गर्ने गरिएको छ । गत फेब्रुअरीमा फिफाको अध्यक्ष बनेका इन्फान्टिनोले त्यसबेला विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्‍याउने बताएका थिए । तर अहिले भने तीन देशको एक समूह रहने गरी १६ समूहमा प्रतिस्पर्धा गराउने गरी विश्वकपमा सहभागी देशको संख्या ४८ पुर्‍याउने योजना ल्याएका छन् । सन् १९९८ मा विश्वकपमा सहभागी हुने देशको संख्या २४ बाट बढाएर ३२ पुर्‍याइएको थियो ।

दि एक्सेल्सिएर कपमा २८ विद्यालय सहभागी हुने

काठमाडौँ, मंसिर १९ । काठमाडौँ उपत्यकाव्यापी अन्तरविद्यालय ‘दि एक्सेल्सिएर कप २०७३’ मा जम्मा २८ विद्यालयकाे सहभागिता हुने भएकाे छ । अाजबाट सुरु भएको साे खेल स्वयम्भूस्थित एक्सेल्सिएर स्कुलमा एक कार्यक्रमबीच उद्घाटन गरियाे । कार्यक्रममा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले विद्यार्थीको शारीरिक, मानसिक र चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताए । नेपाली फुटबलका पूर्वकप्तान राजु खड्का, स्कुलका प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल शीतल राणा लगायतले प्रतियोगीले सफलताको कामना व्यक्त गरे । आगामी मंसिर २६ गतेसम्म चल्ने सो प्रतियोगितामा २८ विद्यालयका विद्यार्थीको सहभागिता छ । सोअन्तर्गत फाइभ ए साइड फुटबल र सिनियर तथा जुनियर बास्केटबल प्रतियोगिता हुनेछ ।

एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेटको पाँचवटै खेलमा नेपाल पराजित

काठमाडौं, मंसिर १७ । थाइल्याण्डमा जारी एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेटको पाँच वटै खेलमा नेपाल पराजित भएको छ । आज भएको भारतसँगको खेलमा ९९ रनको विशाल अन्तरले पराजित हुँदै नेपालले पाँचवटै प्रतियोगितामा पराजय व्यहोर्नु परेको हो । भारतले प्रस्तुत गरेको १ सय २१ रनको बिजयी लक्ष्य पछ्याएको नेपाल १६ दशमलब ३ ओभरमा २१ रनमै अलआउट भयो । भारतबिरुद्धको यो स्कोर नेपाली महिला क्रिकेटकै इतिहासमा अहिलेसम्म बनाएकोे सबैभन्दा न्युन स्कोर हो । आयोजक थाइल्याण्ड बाहेक सबै टेष्ट मान्यता प्राप्त राष्ट्रहरु पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिष्पर्धा गरेको नेपालले सबै खेलमा पराजित भएसँगै अंक तालिकामा खाता नखोली पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।

एसीसी महिला क्रिकेटको अन्तिम खेलमा नेपाललाई १ सय २१ रनको लक्ष्य, केहीबेरमा जवाफी ब्याटिङ

काठमाडौं, मंसिर १७ । थाईल्याण्डमा जारी एसीसी महिला क्रिकेटअन्तरगत आफ्नो अन्तिम खेलमा नेपालले १ सय २१ रनको लक्ष्य पाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २० रनको उच्च चुनौती दिएको हो । नटआउट रहँदै शिखा पाण्डेले ३९ र कप्तान हरमनप्रित कौरले १४ रन जोडेपछि भारत उच्च योगफल बनाउन सफल भयो । कप्तान रुबिना क्षेत्रीले २ तथा सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । आजको खेलमा विजयी भए भारत सतप्रतिशत नजिता सहित शीर्ष स्थानमा रहंदै फाईनलमा प्रवेश गर्नेछ भने नेपाल अंक बिहिन हुदै घर फर्कने छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एसिसी महिला टि–ट्वान्टी क्रिकेटः थाइल्याण्डलाई नेपालको ६४ रनको चुनौति

काठमाडौं, मंसिर १६ । महिला एसिया कप टि–ट्वान्टी  क्रिकेटमा नेपालले थाइल्याण्डलाई ६४ रनको चुनौति दिएको छ । बैङ्ककमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले सबै विकेट गुमाएर ६३ रन बनाएको हो । नेपालको सुरुवात राम्रो थियो । पहिलो विकेटका रुपमा ओपनर ज्योती पाण्डेलाई व्यक्तिगत १६ रनमा गुमाउँदा ३० रन बनाएको थियो । ज्योती आउट भएपछि नेपाल धरासायी भयो । त्यसपछि कुनै पनि ब्याट्सवुमनले टिकेर खेल्न सकेनन् । सीता राना मगरले ९ रन बाइन् भने रुविना क्षत्रीले ८ रन जोडिन् । नेरी थापा ७, सरिता मगरले ४, करुणा भण्डारी, काजोल श्रेष्ठ र संगिता राईले २्२ रन जोडिन् भने इन्दु बर्मा र रश्मी चौलागाई १्१ रनमा आउट भइन् । नेपालले यसअघि तीन खेल हारिसकेको छ । र, अन्तिम खेल भारतसँग खेल्नेछ । त्यसैले थाइल्याण्डविरुद्धको खेललाई एसिया कपमा जित दर्ता गर्ने मौकाका रुपमा हेरिएको छ ।