नेपालको लगातार दोस्रो हार

काठमाडौं, कात्तिक १८ । अभ्यास खेल खेल्न बंगलादेशमा रहेको नेपाली यु–१९ क्रिकेट टोली दोस्रो हार व्यहोरेको छ ।

नेपाली यू–१९ क्रिकेट टोली बंगलादेश यू–१९ सँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।शनिबार बंगलादेश यू–१९ ले नेपाललाई १ सय २३ रनले पराजित गर्‍यो ।

मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीका क्रममा तीन खेलको शृंखला खेल्न नेपाली टोली बंगलादेशमा छ ।

बंगलादेशको साभार स्थित बिकेएसपी मैदानमा टस हारेको बंगलादेश यू–१९ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय २७ रन बनायो । कप्तान सैफ हसनले ६२ रन बनाए । ओपनर सोजिब हुसैन ७ र नाइम शेख २६ रनमा आउट भएपछि हसनले टोहिद हृदलीसँग तेस्रो विकेटमा ५४ रन जोडे ।

हसनले १ सय १५ बल खेली ४ चौका र १ छक्का तथा हृदलीले ५० बल खेली २ चौका र १ छक्का प्रहार गरे । आफिफ हुसैनले ५९ रन बनाएपछि बंगलादेशको स्कोर मजबुत बनेको थियो । ६७ बलको इनिङ्समा उनले २ चौका र ४ छक्का प्रहार गरे । ४ खेलाडी रन आउट गरेको नेपालबाट कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीपले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ३४ र सन्दीपले ३७ रन खर्चे ।

४० रन बनाउदा ६ विकेट गुमाएको नेपाल ३६।५ ओभरमा १ सय २४ रनमा अलआउट भयो । नवौं नम्बरमा ब्याटिङ गरेका रशिद खानले नेपालबाट सर्वाधिक २४ रन बनाए । ५० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । उनले सन्दीपसँग अन्तिम विकेटमा ३७ रन जोडे । सन्दीप १३ रनमा नटआउट रहे ।

नेपालबाट सन्दीप सुनार ३, आशिफ शेख ९, अनिल शाह ३, दीपेन्द्र शुन्य, रोहित पौडेल ९, भिम सार्की ४ र शाहव आलम शुन्य रनमा आउट भएका थिए । बंगलादेशका हसन महमुदले ३ तथा रोनी हुसैन, रोबिउल हक र अफिफ हुसैनले २–२ विकेट लिए ।

एएएफसी यू–१९ च्याम्पियनसिप : फाइनल चरणमा पुग्ने नेपालको सम्भावना लगभग समाप्त

काठमाडौं, कात्तिक १७ । एएएफसी यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । किर्गीस्तानमा बिहीबार भएको खेलमा नेपाललाई बहराईनले ४–० ले हराएको हो । पहिलो खेलमा आयोजक किर्गीस्तानसँग २–० ले पराजित नेपाल दोस्रो हारपछि प्रतियोगिताको फाईनल चरणमा पुग्ने सम्भावनाबाट लगभग बाहिरिएको छ । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

एएफसी यू-१९ फुटबलमा नेपालले आज बहराईनको सामना गर्ने

काठमाडौं, कात्तिक १६ । एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपालले बहराईनको सामना गर्दैछ । पहिलो खेलमा आयोजक कीर्गीस्तानसँग २-० ले पराजित नेपाल आजको खेल जित्ने प्रयासमा हुनेछ । तर बहराईन विरुद्धको खेल नेपालका लागि सहज भने हुने छैन । यो खेलमा पराजित भएको खण्डमा नेपालको छनोट यात्रा कठिन बन्नेछ । समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आगामी शनिबार युएईसँग खेल्नेछ । पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

पाँच वर्षमा वार्सिलोनाले पहिलो चोटी गोल गर्न असफल

कार्तिक १५ । वार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा पछिल्लो पाँचवर्षमा पहिलो पटक गोल गर्न असफल भएको छ। लिगअन्तर्गतको मंगलबार राति भएको खेलमा ओलम्पियाकससँग बराबरीमा रोकिएसँगै पहिलोपटक बार्सिलोना समूहचरणमा गोलविहिन बनेको हो । सन् २०१२मा बेन्फिकासँग समूह चरणमा गोल गर्न नसकेको बार्सिलोनाले त्यसयता समूहचरणमा गोलविहिन बन्नु परेको थिएन्। तर, मंगलबार राति ओलम्पियाकससँग बार्सिलोना गोलरहित बराबरीमा रोकियो । बराबरीसँगै समूह डी मा रहेको वार्सिलोनाको १० अंक छ। ओलम्पियाकससँगको जितले वार्सिलोनालाई अन्तिम १६ मा प्रवेश गराउने थियो तर बराबरीसँगै वार्सिलोनाले अर्को चरण प्रवेश गर्न अर्को खेल कुर्नुपर्ने भएको छ। एजेन्सी

एएस रोमाद्वारा चेल्सी पराजित, बेनिफिकाको पोष्टमा म्यान्चेस्टर युनाईटेडको २ गोल

काठमाडौं, कात्तिक १५ । ईटालीको रोममा भएको खेलमा घरेलु टोली ए.एस रोमाले इङ्लिस प्रतिद्वन्द्वी चेल्सीलाई ३-० ले पराजित गर्‍यो । रोमाका लागि एल सारावेले दुई तथा पेरोटीले एक गोल गरे । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र काजखस्तानको एफ.के काराबागले १-१ गोलको बराबरी खेलेका छन् । च्याम्पियन्स लिगअन्तर्गगत समुह ए को खेलमा इङ्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले पोर्चुगलको बेनिफिकालाई २-० ले हराउँदा रुसको सि.एस.के.ए मस्कोले स्विट्जरल्याण्डको एफ.सी बाजललाई उसैको मैदानमा २-१ ले पराजित गर्‍यो । च्याम्पियन्स लिग समूह डि का दुवै खेल बराबरीमा टुंगिएका छन् । स्पेनको बार्सिलोनालाई ग्रिसको ओलम्पियाकोसले गोलरहित बराबरीमा रोक्दा ईटालीको युभेन्टस्ले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग १-१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । च्याम्पियन्स लिग फुटबलअन्तर्गगत समुह ई देखि एचसम्मका आठ खेल आज राति हुनेछन् ।

भारतीय खेलाडीहरुलाई हराउँदै कार्कीले जिते स्वर्णपदक

भारतको राजधानी नयाँदिल्लीमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपाली खेलाडी बुद्धिजंग कार्कीगले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । ९० केजी तौल समूहमा कार्कीले १६० केजी भारबहन गर्दै स्वर्णपदक प्राप्त गर्न सफल भएका हुन् । उनले भारतीय खेलाडीहरुलाई पछि पारेका थिए । सन् २०१५ मा दिल्लीमा नै भएको विश्व पावरलिफ्टिङमा पनि बुद्धिले रजतपदक प्राप्त गरेका थिए । यसअघि, सोही प्रतियोगितामा बाबु ज्ञानेन्द्र नकर्मी र छोरा रोजिन नकर्मीले पदक हात पार्दै एकै प्रतियोगितामा बाबु–छोराले पदक प्राप्त गरेको इतिहास रच्न सफल भएका थिए । ज्ञानेन्द्रले मास्टरतर्फ रजत र रोजिनले कास्यपदक हात पारेका थिए । ७५ केजीमा प्रतिस्पर्धा गरेका प्रकाश केसीले भने कुनै पदक प्राप्त गर्न सकेनन् ।

रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड

काठमाडौ, कात्तिक १० । स्पेसिन कप फुटबलअन्तर्गत चौथो चरणका खेलहरुमा रियाल मड्रिड, लास पाल्मास र रियाल सोसिडाड विजयी भएका छन् । उपाधि दावेदार रियाल मड्रिडले तेस्रो डिभिजनको प्रतिद्वन्द्वी फुन्लाब्रादा विरुद्धको पहिलो लेगको खेल २-० ले जित्यो । रियाल मड्रिडले दुबै गोल दोस्रो हाफमा पाएको दुई वटा पेनाल्टी अवसरमा गरेको थियो । रियालका लागि मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरेका हुन् । खेलमा फुन्लाब्रादाका क्यान्डेला पास्कल र रियाल मड्रिडका भालेयोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । दोस्रो लेगको खेल नोभेम्बर २९ मा रियाल मड्रिडको मैदानमा हुनेछ । स्पेनिस कपकै अन्य खेलहरुमा रियाल सोसीडाड, लास पाल्मास र लेभान्ते पनि विजयी भएका छन् । बार्सीलोनाले भने यसअघि नैं रियाल मुर्सीयालाई ३-० ले हराँउदै उपाधि यात्रा सुरु गरिसकेको छ ।

एएफसी फुटसल छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं, असोज ३१ । ईरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग १४–१ को फराकिलो गोलअन्तरले पराजित नेपाल हिजो भएको दोस्रो खेलमा किर्गिस्तानसँग ५-० ले पराजित भएका हो । पोउर शरिफ फुटसल हलमा भएको खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खायो । लगातार दुई खेलमा हार बेहोरेपछि समूह ‘ए’ मा नेपाल अंकबिहीन हुँदै पुछारमा छ । दुवै खेलमा जित हात पारेको किर्गिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ । एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले आज तुर्कमिनिस्तानसँग खेल्नेछ । समूहका शीर्ष दुई टिम सन् २०१८ मा चाइनिज ताइपेहमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि छनोट हुने छन् ।

वर्षाका कारण भोलि हङकङविरुद्ध हुने खेल अन्यौलमा

हङकङ, असोज २९ । टाइफुनका कारण वर्षा बढेपछि वैकल्पिक दिनलाई सारिएको खेल पनि प्रभावित हुने सम्भावना बढेको छ। विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध आइतबार हुने भनिएको दोस्रो खेल ‘खानुन’ टाइफुनका कारण स्थगित भएको थियो । आइतबार खेल नभएपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको हो । लगातार वर्षाका कारण भोलि हुने खेल पनि शंकाको घेरामा रहेको हो । हाल टाइफुन आठ स्तरको उच्च विन्दुतर्फ अग्रसर छ । स्थानीय समयअनुसार दिउँसो ३ बजेसम्म पनि निरन्तर वर्षा भइरहेको छ । टाइफुन उच्च विन्दुमा पुगेपछि भारी वर्षा हुने अनुमान छ । मौसम विभागका पूर्वानुमान अनुसार सोमबार पनि वर्षा हुने सम्भावना रहेको छ । भोलि पनि खेल हुन नसकेको खण्डमा दुवै टोलीले १-१ अंक बाँड्ने छन् । कान्तिपुरबाट साभार

सातौं विरेन्द्रनगर कपमा इटहरी क्रिकेट एकेडेमी विजयी

मोरङ, असोज १९ । पूर्वाञ्चलस्तरीय सातौं वीरेन्द्रनगर कप क्रिकेट प्रतियोगितामा इटहरी क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ । मोरङको आइतबारेमा बिहीबारदेखि सुरु भएको पूर्वाञ्चालस्तरी सातौं वीरेन्द्रनगर कप क्रिकेटमा इटहरीले दिएको ६१ रनको लक्ष्य पछ्याएको विसिसी दमक १० ओभर ३ बलमा १४ रनमा अलआउट भएपछि इटहरी ४६ रनले विजयी भएको हो । इटहरीको जितमा विधान गोश्वामीले ५ विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको इटहरीले २० ओभरमा ६० रन बनाएको थियो । असोज ३१ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् ।

साफ यु–१८ फुटबल च्याम्पियन नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, असोज १२ । भारतलाई २–० गोलले हराउदै साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता बनेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको साफ यु–१८ फुटबल च्याम्पियनसीप प्रतियोगिता जितेको नेपाली टोली बिहीबार दिउँसो काठमाडौं आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए । भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार भारतलाई २–० ले हराउँदै नेपालले साविक उपाधि रक्षा गरेको थियो । नेपालको जितमा दुबै गोल दिनेश हेन्जनले गरे । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यु–१९ फुटबलको उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता यु–१८ को ढाँचामा खेलाउन थालिएको हो ।

१७ महिनापछि १३औं साग नेपालमै

काठमाडौं, असोज ९ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०१९ नेपाल मै हुने दावी गरेका छन । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीबाट आएको लिखित प्रतिबद्धता वाचन गर्दै साग सन् २०१९ को ९ देखि १८ मार्चसम्म काठमाडौं र पोखरामा हुने बताएका हुन् । उनले सरकारले चाह्यो भने बाँकी रहेको १७ महिनाभित्रै भौतिक पूर्वाधार तयार गर्नसक्ने बताए । अध्यक्ष श्रेष्ठले १३औं सागमा २५ खेल समावेश हुने जनाए । उनले आयोजकका हिसाबले नेपालले कराँते र गल्फ थपेको बताए ।

नेपाल प्यालेस्टाइनसँग पराजित

काठमाडौं, असोज ८ । एएफसी यु–१६ च्याम्पियनसीप छनोट फुटबलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ ।घरेलु मैदानमा भएको खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो । समूहको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग २–१ ले पराजित भएको हो । सशस्त्र प्रहरीको मुख्यालय हल्चोक मैदानमा भएको खेलको १० मिनेटमै बृजेश चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । तर त्यसपछि नेपालले २८ औं र ७५ औं मिनेटमा गोल खायो । यसअघि नेपालले भारतसँग बराबरी खेल्दा इराकसँग हार बेहोरेको थियो भने प्यालेस्टाइनले दुवै खेल हारेको थियो । यता, इराक समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेको छ । नेपाल र प्यालेस्टाइनलाई हराएको इराकले भारतसँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा रहेको हो । १० समूहमा भइरहेको छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ देश उत्कृष्ट उपविजेताका रुपमा छानिने छन् ।

बार्सिलोनाले दर्ता गर्‍यो फेरि अर्को जित, दुई गोल उपहार ,

असोज ८ । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा यो सिजन विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३–० ले हरायो । बार्सिलोनाको यो लगातार छैटौं जित हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे । दुई गोल भने बार्सिलोनाले उपहारको रुपमा पायो । १७ औं मिनेटमा गिरोनाका एडे बेनिटेजले आत्मघाती गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४८ औं मिनेटमा पनि गिरोनाले आफ्नै पोस्टमा गोल गर्‍यो । गोर्का इराइजाजले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो । ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ ।

‘बेन नेभिस अल्ट्रा’ दौडमा मिरा राई पहिलाे

काठमाडौं, असोज १। संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौडमा नेपाली अल्ट्रा धाविका मिरा राई प्रथम भएकी छिन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फकी पहिलो भएकी हुन् भने समग्रमा छैठौ स्थानमा पुगेकी आयोजकले बताएको छ । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए । संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च पहाड बेन नेसिभ पास गरेर स्कटल्याण्डको किन्लोखलेभनमा पुगेर टुंगिएको थियो । पुरुष र महिलातर्फ पहिलो हुनेले एक हजार युरो पुरस्कार समेत पाउने आयोजकले जनाएको छ ।

यु १९ एसिया कप छनौटमा हङकङलाई हराउँदै नेपालको शानदार जीत

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटका लागि हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले शानदार जीत हासिल गरेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा नेपालको जीतसँगै अब नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ । मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो । नेपालका लागि प्रनित थापा मगरले दुई छक्कासहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साहले १६, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । हङकङका लागि हरप्रतीत सिंहले ३ विकेट र जाथवेदले २ विकेट लिए । यसअघि टस हारेर हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ७६ रन बनाएको हो । हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।