अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

पोखरा । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ ।

पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ ।

पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट बन्ने क्रमले गति लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ बताउनुहुन्छ ।

“पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोन र रञ्जित गुरुङको सक्रियतामा उक्त कोर्ट निर्माणसँगै पोखरामा टेनिस खेलले गति लिएको हो”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा भएका विभिन्न प्रतियोगितासँगै कुमार अधिकारी, अभिषेक बास्तोलाजस्ता अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सक्ने खेलाडी यहीँबाट तयार भए ।” उहाँका अनुसार कुमार अधिकारी हाल टेनिस खेलमा नै संलग्न रही माल्दिभ्समा हुनुहुन्छ भने अभिषेक बास्तोला अमेरिकामा हुनुहुन्छ ।

पोखरामा भएको टेनिसको विकाससँगै राष्ट्रियस्तरमा छ÷सात वर्षअघि गंगा शर्मा पहिलो नम्बरको खेलाडी बनेको जानकारी दिँदै उहाँले प्रदीप शर्मा चौथो नम्बर एवं अनिल शाही उत्कृष्ट १० जनामा पर्नुभएको बताउनुभयो ।

पोखरामा टेनिसको भौतिक पूर्वाधार निर्माण पनि विकासको क्रममा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पोखरा रङ्गशालाभित्रको लगभग २० रोपनी क्षेत्रफलको जग्गामा हाल पाँचवटा क्ले कोर्ट बनिसकेको छ भने दुईवटा कोर्ट बन्ने तयारीमा छ ।”

अब बन्ने दुईमध्ये एउटा हार्ड कोर्ट र अर्को क्ले कोर्ट हुने कायस्थले जानकारी दिनुभयो ।

पोखरामा निजीस्तरबाट पनि टेनिस कोर्ट निर्माणमा धेरै लगानी भएको उहाँले बताउनुभयो ।

निजीस्तरबाट सञ्चालित कोर्टमध्ये चाउथेस्थित बिएनबी टेनिस कोर्ट, लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्ट, तेर्सापट्टीस्थित रत्नश्री टेनिस कोर्ट, घारीपाटनस्थित पोखरा होम्स टेनिस कोर्ट यहाँका महत्वपूर्ण टेनिस कोर्ट हुन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सशस्त्र प्रहरी बल कालिका गणमा पनि सुविधा सम्पन्न टेनिस कोर्ट रहेको छ ।

पोखरामा टेनिसमा राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने लगभग १५० जना खेलाडी छन् भने भेट्रान्सतर्फ पनि धेरै संख्यामा खेलाडी रहेका छन् ।

पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गर्दै अघि बढेको खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने बताउनुहुन्छ ।

“पछिल्ला समयमा पोखराले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ”, उहाँले भन्नुभयो, “टेनिस खेलप्रेमीले यसका गतिविधिलाई अघि बढाउन व्यक्तिगत रुपमा आफ्नो व्यावसायिक प्रतिष्ठानबाट प्रतियोगितासमेत आयोजना गर्न थालेका छन् ।”

पोखरामा आयोजना हुने गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताले समग्र पोखराको गरिमा र महत्वलाई बढाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पोखरामा एक वर्षअघि मात्र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल सम्पन्न भएको थियो भने आइटिएफको सर्किट १ र २ पोखरामा नै सम्पन्न भएको थियो ।

माछापुच्छ्रे पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पोखराको रमणीय वातावरणका कारण पनि यो टेनिस खेलका लागि उत्कृष्टस्थल भएको टेनिस खेलका प्रशिक्षक नीरज थापा बताउनुहुन्छ ।

“पछिल्लो समयमा पोखरामा टेनिस खेलप्रति निकै आकर्षण बढेको छ”, विगत १५ वर्षयता टेनिसमा प्रशिक्षण दिँदै आउनुभएका थापाले भन्नुभयो, “विस्तारै पूर्वाधार निर्माणको क्रम पनि बढेका कारण यहाँ टेनिसका सम्भावना अझै बढेर गएका छन् ।”

नेपालमा हुने आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गर्दै पोखरा रङ्गशाला परिसरमा रु तीन करोड ५० लाखको लागतमा एक÷एक वटा हार्ड कोर्ट र क्ले कोर्ट बन्न लागेको कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।

“पोखरा रङ्गशालाभित्र अब बन्ने हार्ड कोर्ट र क्ले कोर्ट प्याराफिटसहितका सुविधासम्पन्न पूर्वाधार युक्त हुनेछन्”, उहाँले भन्नुभयो, “सन् २०१९ मा हुने सागमा खेलाइने खेलमध्ये टेनिस पनि पोखरामा खेलाउने तयारी भएका कारण निर्माण कार्य शुरु गराउन आवश्यक पहल भइरहेको छ ।”

पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने सरकारको पनि प्राथमिकता रहेको अवस्थामा दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल पोखरामा गराउने चर्चाले यतिखेर पोखरेली टेनिसप्रेमी हर्षित बनेका छन् । रासस

खेलकूद महाविद्यालय स्थापना गर्ने मन्त्री कार्कीको वचन

भद्रपुर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । जिल्ला खेलकूद विकास समिति झापाद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले सरकारी विद्यालयमा पठनपाठनका साथै खेलकूदलाई पनि प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले प्रदेश चलाउन जेठ २५ गतेभित्र कानून बनाइसक्ने जानकारी पनि दिनुभयो । रासस

इङ्गलिस प्रिमियर लिगमा आज सात खेल: कुन खेल कति बजे ?

काठमाडौं, फागुन १९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत २९ औं चरणका खेल आज सुरु हुँदै छन् । २९ औं चरणको पहिलो दिन आज सात वटा खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा बर्नले र एभर्टन भिड्दै छन् । त्यसैगरी आजै राति पौने ९ बजे ५ खेल हुँदै छन् । लेस्टर सिटी र वर्नमाउथ, साउथ ह्याम्पटन र स्टोक सिटी, स्वान्सी र वेस्ट ह्याम युनाइटेड, टोटन ह्याम र हडल्र्सफिन्ड टाउन तथा वार्टफोर्ड र वेस्ट ब्रोमबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी आजै राति सवा ११ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड भिड्दै छन् । २८ औं चरणसम्म ७५ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

बाँके । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । आउने वर्ष नेपालगञ्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट सार्वजनिक गर्नुभएको हो । आठौँ राष्ट्रिय खेलकुदको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय भएको छ । यसैबीच बाँकेको खजुरा गाउँपालिका सीतापुरमा सुविधासम्पन्न भलिबल रंगशाला बन्ने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले मंगलबार सो रंगशालाको शिलान्यास गर्नुभएको हो ।

रियाल मड्रिडले रियाल बेटिसलाई हरायो, बार्सिलोना शीर्ष स्थानमा कायमै

काठमाडौं, फागुन ७ । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल बेटिसलाई ५-३ ले हराएको छ । गएराति रियाल बेटिसको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले दुई गोल गरे । यसैगरी सर्जियो रामोस, क्रिस्चियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे । पराजित टोली रियाल बेटिसका मान्डी र लियोनले एक–एक गोल गर्दा रियाल मड्रिडकै नाचोले एक आत्माघाती गोल गरेका थिए । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओलाई २-० ले हराउँदा रियाल सोसीडाडले लेभान्तेलाई ३-० ले पराजित गर्‍यो । ईस्पानियोल र भियारियालले भने एक–एक गोलको बराबरी खेलेका छन् । गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी घटाएर १७ अंकमा सिमित गरेको छ । लिगमा २३ खेलबाट ४५ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ६२ अंकसहित शीर्ष स्थानमा छ । ५५ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ४६ अंकको साथ भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

बास्केटबलमा कीर्तिपुरको रोमाञ्चक जित

काठमाडौं । राजधानीमा जारी क्लबस्तरीय डबल लिग बास्केटबलमा कीर्तिपुर बास्केटबल टिमले हिमालयन होण्डस् माथि रोमाञ्चक जित हात पारेको छ । आइतबार कीर्तिपुरको घरेलु कोर्टमा भएको खेलमा हिमालयन होण्डस् ८४–८३ स्कोरले पराजित भयो । पहिलो सेटमा कीर्तिपुरले २१–१५ को जित निकालेको थियो भने दोस्रो सेटमा हिमालयनले २२–१८ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा कीर्तिपुर २३–२० ले विजयी हुँदा चौथो सेट हिमालयनले २६–२२ ले आफ्नोृ पक्षमा पारे पनि स्क स्कोरले खेल गुमाउन पुग्यो । खेलमा सर्वाधिक २१ स्कोर गरेका कीर्तिपुरका सुरज खड्गी म्यान अफ द म्याच चुनिए ।

इङ्गलिस प्रिमियर लिगमा आज ६ खेलः यस्तो छ खेलको सूची

काठमाडौं, माघ २७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदै छन् । २७ औं चरणका खेलअन्तर्गत नेपाली समयअनुसार आज साँझ सवा ६ बजे टोटनह्याम र आर्सनल भिड्दै छन् । ४९ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको टोटनह्याम र ४५ अंकका साथ छैठौं स्थानमा रहेको आर्सनलबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । त्यसैगरी राति पौने ९ बजे चार वटा खेल हुँदै छन् । एभर्टन र क्रिस्टल प्यालेस, स्टोक सिटी र ब्राइटन, स्वान्सी र बर्नले तथा वेस्टह्याम युनाइटेड र वार्टफोर्ड भिड्ने छन् । त्यसैगरी आजै राति सवा ११ बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आठौं स्थानको लेस्टर सिटीको सामना गर्दै छ ।

यसकारण फुटबलर एलेक्स सान्चेजलाई १६ महिना जेल सजाय

काठमाडौं, माघ २५ । फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजायँ तोकेको छ । कर छलीको आरोपमा सजायँ दिइएको हो । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन । स्ट्राइकर सान्चेज गत जनवरीमा आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा गएका थिए । सान्चेजले सन् २०१२ देखि २०१३ सम्म बार्सिलोनाबाट खेलेका थिए । त्यही बेला उनले ९ लाख पाउण्ड कर छलेको दावीसहित मुद्दा परेको थियो । उनी धेरै कमाउने खेलाडीहरुमध्येमा पर्दछन् । उनको आम्दानी हप्ताको ६ लाख पाउण्ड छ । बार्सिलोनाका लियोनल मेस्सी र रियल मडि्रडका क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलेको आरोप लागेको छ ।

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ । खेलकुद पत्रकार मञ्च कास्कीद्वारा आइतबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिनुभयो । आगामी दक्षिण एसियाली खेलकुद(साग)का छ खेल पोखरामा खेलाउने तयारी गरिएको र थप दुई खेल पनि खेलाउने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सागमा महिला फुटबल, महिला तथा पुरुष भलिबल, धनुकाँड, ट्राइथोलन, ब्याडमिण्टन र ह्याण्डबल खेलाउने तयारी गरिसकिएको छ भने मुक्केबाजी र उसु पनि खेलाउन सकिने सम्भावना छ । पोखरा रंशालाको प्यारापिट निर्माणका लागि रु एक अर्ब २५ करोड र लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको उहाँले बताउनुभयो । परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको बताउँदै उहाँले विद्यमान विकृति विसंगतिको अन्त्यमा सरोकार भएका सबैको सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं, माघ १० । ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी ३-२ ले विजयी भयो । खेलमा सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जीयो अगुएरोले एक एक गोल गरे । ब्रिस्टोल सिटीका मार्लन प्याक र एडन फ्लीन्टले दुई गोल फर्काए । पहिलो लेगमा २-१ को अग्रता लिएको म्यान्चेस्टर सिटीले समग्रमा खेल ५-३ ले आफ्नो पक्षमा पारेको हो । सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलमध्ये एक टोलीसँग खेल्नेछ । पहिलो लेगमा गोलरहित बराबरी खेलेका चेल्सी र आर्सनलबीचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती हुँदैछ ।

टोटनह्याम हट्सपर एफए कपको चौथो चरणमा प्रवेश, आर्सनल तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं, पुस २४ । इङ्गलिस एफए कप फुटबलमा टोटनह्याम हट्सपर विजयी हुँदा आर्सनल भने पराजित भएको छ । गएराति भएको चौथो चरणको खेलमा टोटनह्यामले ए.एफ.सी. विम्बल्डनलाई ३÷० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले २ तथा यान भर्टोङ्गेनले एक गोल गरे । उता आर्सनल भने नटिङ्घम फरेष्टसँग ४÷२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नै मैदानमा सम्पन्न खेलमा फरेष्टका लिचाजले दुई तथा बेन बेरेटन र किरन डोवेलले एक–एक गोल गरे । आर्सनलका लागि पर मर्टेस्याकर र ड्यानी वेल्बेकले एक एक गोल फर्काए । हारसँगै प्रशिक्षक आर्सेन वेङ्गरको नेतृत्वमा आर्सनल पहिलो पटक एफ.ए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ । एफए कप अन्तर्गत गएराती भएको अर्को खेलमा न्युपोर्ट काउण्टीले लिड्स युनाईटेडलाई २-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडलाई स्रिउस्बरी टाउनले गोलरहित बराबरीमा रोकेको छ ।

खप्तड गोल्डकपमा आज संकटा र धरान भिड्दै

धनगढी, २३ पुस । धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगितामा आइतबार सीएमजी संकटा र धरान फुटवल क्लवबीच प्रतिस्पर्धा हुँदैछ । धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले पोखराको सहारा क्लवलाई टाइब्रेकरमा पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । माघ १ गतेसम्म हुने दोस्रो संस्करणको गोल्डकपमा नेपालका चर्चित १२ वटा एडिभिजन क्लबले सहभागिता जनाएका छन् । १२ टोली सहभागि प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार र उपविजेताले ५ लाख ५५ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् ।

कृष्ण थापाद्वारा एन्फाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, पुुस २० । राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले हिजो पोखराबाट उम्मेदवारी घोषणा गरेका हुन् । एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए । सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् । अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो । १७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।

आर्सनल र चेल्सी बराबरीमा रोकिए, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, पुस २० । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गगत गएराति भएको खेलमा आर्सनल र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका ज्याक विल्सेरले पहिलो गोल गरे । यसपछि एडिन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । ८४ औं मिनेटमा मार्कस अलन्सोले एक गोल थप्दै पाहुना टोली चेल्सीलाई २-१ को अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा आर्सनलका हेक्टर बेलेरिनले बराबरी गोल गर्न सफल भए । यो बराबरीपछि चेल्सीले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई उछिन्ने मौका गुमाएको छ । लिगमा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन शुरु

पोखरा, पुस १२ । पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन बुधबारदेखि पुरानो प्यारापिट भत्काउन शुरु गरिएको छ । सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागि पुरानो संरचना भत्काउन शुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । नेपाल सरकारको कूल रु एक अर्ब ३३ करोडको लागतमा निर्माण गर्न लागिएको सो रंगशाला निर्माण शुरु गरेको १० महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डरसमेत आह्वान गरेकामा अन्तर्राष्ट्रियस्तरका छवटा ठेकेदार कम्पनीले निवेदन दिएको बताइएको छ । विसं २०४२ मा निर्माण गरिएको हालको संरचना २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले चर्केको थियो । पुरानो संरचना भत्काउन बोलपत्र आह्वान गरिएकामा काठमाडौँको जेबिए ठेकेदार कम्पनीले रु ४४ लाखमा ठेक्का लिएको छ । अबको एक महिनामा पुरानो संरचना भत्काएर अन्तर्राष्ट्रिय बोलपत्रमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउनेछ ।

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा, पुस  १२  । राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाको महिला तथा पुरुष टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । ‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद, महिला सशक्तीकरणका लागि ह्याण्डबल’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु ३० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सो प्रतियोगिताबाट सन् २०१९ मा नेपालमा आयोजना हुने १३औँ साग खेलका लागि उत्कृष्ट खेलाडी छनोट गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।