बार्सिलोनाले जित्यो उपाधि, फाइनलमा नमज्जाले हार्यो सेभिल्ला

काठमाडौं, वैशाख ९ । बार्सिलोनाले यो वर्षको पहिलो प्रमुख उपाधि कोपा डेल रे फुटबलको उपाधि उचालेको छ ।

कोपा डेल रे फुटबलको फाइनल अन्तर्गत शनिबार राति भएको खेलमा सेभिल्लालाई ५–० ले हराउँदै उपाधि उचालेको हो । बार्सिलोनाले योसँगै लगातार चार सिजन कोपा डेल रे फुटबलको उपाधि जितेको छ ।

बार्सिलोनाले पहिलो हाफमा नै ३–० को अग्रता लियो भने दोस्रो हाफमा थप दुई गोल गरेको हो । घरेलु मैदानमा सेभिल्ला निरिह देखियो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई तथा लियोनल मेस्सी, आन्द्रेस इनिएस्टा, फिलिप कोन्टिन्होले एक एक गोल गरे ।

स्वारेजले १४ र ४० औँ मिनेटमा गरी दुई गोल गरेका हुन् । स्वारेजले दोस्रो गोल गर्नुअघि मेस्सीले ३१ औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा इनिएस्टाले गोल गरे ।

उनले ५२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता ४–० मा लगे । ६९ औँ मिनेटमा पाएको पेनाल्टीमा कोन्टिन्होले गोल गरेपछि बार्सिलोना ५–० ले विजयी भयो र लगातार चौाथो सिजन कोपा डेल रेको उपाधि उचाल्यो ।

बार्सिलोना ला लिगामा पनि उपाधि नजिक छ । उसका लागि एक जित वा एथ्लेटिको मड्रिडको एक हार उपाधिका लागि पर्याप्त छ ।

दोस्रो स्थानको एथ्लेटिको मड्रिड आइतबार राति रियल बेटिससँग खेल्दैछ । यो खेलमा एथ्लेटिको पराजित भएमा बार्सिलोनाले ला लिगाको उपाधि पनि पक्का गर्नेछ ।

रोनाल्डोका ७ वर्षीय छोराले पाए सर्वाधिक गोलकर्ताको ट्रफी, पिताकै पथमा लम्कदैं

पोर्चुगल, वैशाख २ । स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका सात वर्षीय छोरा जुनियर रोनाल्डो पनि पिता कै पथमा लम्किन थालेका छन् । जुनियर रोनाल्डोले आफ्नो स्कुलको टिमबाट फुटबल खेल्दै सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी हासिल गरेका छन् । उनलाई शनिबार सर्वाधिक गोलकर्ताका रुपमा ट्रफी प्रदान गरिएको हो । आफ्नी हजुरआमाका साथ जुनियर रोनाल्डोले ट्रफी बोकेको तस्वीर प्रकाशमा आएको छ । सात वर्षीय जुनियर रोनाल्डोले विद्यालयस्तरीय फुटबल सिजनमा सर्वाधिक गोल गर्दै ट्रफी हासिल गरेको बताइएको छ । छोराले हासिल गरेको उपलब्धिलाई रोनाल्डोले पनि इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै बधाइ दिएका छन् । रोनाल्डोले पनि क्लव र देशका लागि ६०० भन्दा बढी गोल गरिसकेका छन् ।

अन्तराष्ट्रिय स्वर्ण पदक विजेता पूनममाथि भारतमा आक्रमण

बाराणसी, वैशाख १ । आस्‍ट्रेलियाको गोल्ड कोस्टमा आयोजित कमनवेल्थ खेलमा भारतलाई स्वर्ण पदक दिलाएकी पूनम यादव र उनकी सानीमाकी छोरी बहिनीमाथि भारतको वाराणसीमा शनिबार आक्रमण भएको छ । शनिबार पूनम आफ्नी सानीमाको घरमा गएकी थिइन । त्यही समयमा छिमेकीसँग सानीमाका घरका मानिसहरुको झगडा भयो । अनि कुटपीट पनि । पूनमलाई पनि छिमेकीका मानिसले ईट्टा र ढुंगा हानेर कुटपीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुबीच शनिबार बिहान विवाद भएको थियो । दिउसो जब पूनम त्यहाँ पुगिन अनि मारपिट शुरु भएको बताइएको छ । घटनाबारे बहिनीले पूनमलाई गाउँका प्रधान र छिमेकी मिलेर ईट्टा, ढुंगा र लठ्ठीले उनी माथि अक्रामण गरेका भएको थियो । दिउँसो पूनम पुगेपछि फेरि विवाद भयो र आक्रमण पनि । बचाउन जादा पूनमलाई पनि ईट्टा र ढुंगाले हानेर घाइते बनाइएको बताइएको छ । पूरानो विवादका कारण उनीहरुबीच मारपिट भएको बताइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताएको छ । अस्ट्रेलियाको गोल्डकोस्टमा जारी २१ औं राष्टमण्डल खेलमा पूनमले वेटलिफ्टिंग में ६७ किलोग्राम तौल समूहमा स्वर्ण पदक जितेकी थिइन । पूनमले कुल २२२ किलोग्राम (स्नैचमा १०० किलोग्राम, क्लीन एण्ड जर्कमा १२२ किलोग्राम ) किलोको तौल उठाएकी थिइन । यो जारी खेलमा यो भारतको पाँचौं र कूलमा सातौं स्वर्ण पदक हो । स्वर्ण पदक जितेर फर्किएका पूनमको शुक्रवार वाराणसीमा भव्य स्वागत भएको थियो । सो अवसरमा पूनम भनेकी थिइन, ‘देशका लागि स्वर्ण पदक जित्दा गर्वको अनुभूति भएको छ । यो पदक देश र वाराणसीप्रति समर्पित छ । पवाराणसी शहरबाट करीब सात किलोमीटर टाढा बसे दादूपुर गाउँमा पूनमको घर छ । त्यही गाउँमा जन्‍िमइन र हुर्किबढेकी पूनमले उत्कृष्ट प्रदर्शन गर्दै २२२ किलोग्राम तौल उठाएर देशका लागि स्वर्ण पदक जितिन् ।

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौं, चैत ३० । इंग्लिस क्लब आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रसियन क्लब सिएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा रोकिए पनि आर्सनल समग्रतमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । सिएसकेए मस्कोले घरेलु मैदानमा भएको खेलमा २–० को अग्रतालाई जोगाउन नसक्दा हार व्यहोरेको हो । खेलको ३९ औं मिनेटमा फेदोर चालोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५० औं मिनेटमा क्रिल नाबाकिनले गोल गर्दै घरेलु टिमलाई २–० को अग्रता दिलाएका थिए । तर आर्सनलले २० मिनेटभित्र दुई गोल गर्दै खेल बराबरीमा रोकेको हो । ७५ औं मिनेटमा डेनीयल वेलबेकले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्‍याए भने इन्जुरी समयको दोस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै आर्सनललाई हारबाट जोगाए । घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल ४–१ ले विजयी भएको थियो । जसका कारण आर्सनलले समग्रमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश पाएको हो । त्यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब स्पोर्टिङलाई समग्रमा २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । गएराति भएको दोस्रो लेगमा १–० ले पराजित भए पनि पहिलो लेगमा निकालेको २–० गोल अन्तरको जितले एथ्लेटिकोलाई सेमिफाइनलमा पुग्न मद्दत गर्‍यो ।

रियल मड्रिड र वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं, चैत २९ । साविक विजेता रियल मड्रिडसँगै वायर्न म्युनिख ‘च्याम्पियन्स लिग फुटबल’को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युभेन्टससँग रियल पराजित भए पनि पहिलो लेगको नतिजाका आधारमा रोमाञ्चक जित निकाल्दै रियल सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा गएराति भएको दोस्रो लेगमा ३–१ ले पराजित भएको हो । तर समग्रमा चार–तीन गोलअन्तरले सेमिफाइनलमा स्थान बनाउन रियल सफल भयो । उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले ३–० को अग्रता बनाइसकेको थियो । तर अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो । त्यस्तै गएराति नै भएको अर्को खेलमा बार्यन म्युनिखले घरेलु मैदानमा सेभियासँग गोलरहित बराबरी खेले पनि पहिलो लेगमा बनाएको दुई–एकको अग्रताका कारण सेमिफाइनलमा प्रवेश गर्‍यो । जर्मन लिगको उपाधि विजेता बार्यनले घरेलु मैदानमा पछिल्ला दुई खेलमा ठूलो अन्तरको जित निकालेको भए पनि सेभियाविरुद्ध भने बराबरी खेल्यो । १० खेलाडीमा झरेको सेभियाका डिफेन्डर जोयक्विन कोरीले रातो कार्ड पाएका थिए । बार्यन च्याम्पियन्स लिगको सेमिफाइनलमा धेरैपटक पुग्ने दोस्रो टिम हो । रियल मड्रिड १३ पटक पुगेको छ भने बार्यनको यो ११ औं च्याम्पियन्स लिगको सेमिफाइनल हुनेछ ।

बिना अभ्यास नै दुई स्वर्ण पदक

बाजुरा,  चैत २८। बाजुराको सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको ट्रिपल जम्पमा प्रथम भएका हुन्। जिल्लाको  बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् । यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागी नभएका थापाले भने, “पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ ।” राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ । रासस

पल्सर स्पोर्टस् अवार्ड जेठमा

काठमाडौं, चैत २७ । नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिनुभयो । विगतका वर्ष जस्तै यसपटक पनि पल्सर स्पोर्टस् अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिनेछ । हंसराज हुलासचन्द्र एण्ड कम्पनीले उक्त सम्मान कार्यक्रमको लागि यसपटक रु २० लाख बराबरको सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा सो कम्पनीका निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता नवीकरण मात्र हो । कम्पनीले मञ्चसँग आठ वर्षको लागि यसअघि नै सम्झौता गरिसकेको छ । कम्पनीका निर्देशक गोल्छाले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकूद भएकाले यसले आम जनतालाई एकतामा बाँध्ने कामसमेत गर्ने विचार व्यक्त गर्नुभयो ।

छैटौं राष्ट्रपति रनिङ शिल्ड शुरु

हुम्ला । जिल्ला खेलकूद विकास समितिको आयोजनामा सदरमुकाम सिमिकोटमा छैटौँ राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले एक समारोहबीच गर्नुभयो । प्रतियोगितामा ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको छ । सहभागी हुनेमा मानसरोवर उच्च माध्यामिक विद्यालय महादेव, सैपाल बालमन्दिर, रामदेव कैलाश, रलिङ, कर्णाली, सीता, हुम्ला माध्यामिक विद्यालय, हिमज्योति माध्यामिक विद्यालयलगायत रहेका छन् । प्रतियोगितामा एथ्लेटिक्सतर्फ १३ वटा समूह, भलिबल प्रतियोगितामा ७७ छात्रा र ७६ छात्र सहभागि छन् । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष विनोद बोहोराले जानकारी दिनुभयो । रासस

क्यानडामा बस दुर्घटना: १४ खेलाडीकाे मृत्यु

काठमाडौं, चैत २४ । क्यानडाको जुनियर आइस हक्की टिम सवार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सस्केचवन प्रान्तमा हमबल्ट ब्रोन्स्को क्लबका खेलाडी चढेको बस शुक्रबार साँझ लरीसँग ठोक्किँदा चालकसहित बसमा रहेका १४ जनाको मृत्यु भएको रोयल क्यानिडियन माउन्टेड प्रहरीले जनाएको छ । सस्केचवन जुनियर हकी लिगअन्तर्गत् निपविन हक्सविरुद्ध खेल्न खेलाडीसहित २८ सदस्य टोली बसमा रहेका थिए । जसमा चालकसहित १४ जनाको मृत्यु भएको र बाँकी १४ जना घाइते भएका छन् । त्यसमध्ये तीनजनाको अवस्था गम्भीर छ । दुर्घटनामा पर्नेमा १६ देखि २१ वर्षका खेलाडी रहेको त्यहाँको प्रहरीले जनाएको छ । क्यानडियन प्रधानमन्त्री जस्टिन ट्रयुडोले घटनाप्रति दुःख व्यक्त गर्दै खेलाडीका अभिभावक, क्लब तथा पीडित सबैमा समवेदना प्रकट गरेका छन्

आर्सनलको शानदार जित, रामसी र लाकाजेटीको दोहोरो गोल

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले प्रभावशाली जित दर्ता गरेको हो । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले सिएसकेए मस्कोलाई ४–१ ले हराएको हो । आर्सनलको जितमा आरोन रामसी र एलेक्सान्ड्र लाकाजेटीले समान दुई दुई गोल गरे । सिएसकेए मस्कोका लागि गोलोविनले एक गोल फर्काए । दुई तर्फबाट पहिलो हाफमा नै गोल भएको हो । नवौँ मिनेटमा रामसीले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए । १५ औँ मिनेटमा गोलोविनले मस्कोका लागि बराबरी गोल फर्काए । त्यसपछि २३ औँ मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि रामसीले व्यक्तिगत दोस्रो गोल गरे भने ३५ औँ मिनेटमा लाकाजेटीले दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्सनलले ४–१ को अग्रता लियो । दोस्रो हाफमा दुवै टिमले गोल गर्ने केही राम्रा मौका बनाए पनि सफल भने हुन सकेनन् र आर्सनल विजयी भयो ।

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र बार्सिलोनाको जित

काठमाडौं, चैत २२ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । लिभरपुलको मैदान एन्फिल्डमा सम्पन्न दुई इंग्लिस क्लबहरुबीचको भिडन्तमा लिभरपुल ३–० ले विजयी भयो । खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह, अक्सलेड चेम्बरलीन र सादियो मानेले एक–एक गोल गरे । क्वाटरफाईनल पहिलो लेगमा हात पारेको यो जितसँगै लिभरपुलले सेमिफाइनल प्रवेशको सम्भावना बलियो पार्दा पराजित टोली म्यान्चेस्टर सिटी भने दोस्रो लेगको खेलपूर्व दवावमा आएको छ । च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा बार्सिलोनाले एएस रोमालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र लुईस सुवारेजले एक–एक गोल गरे । ईटालियन क्लब रोमाका ड्यानिएल डे रोसी र कोस्टान्टीनोस मानोलासले एक–एक वटा आत्माघाती गोल गरेपछि खेलमा बार्सिलोनाले २÷० को अग्रता लिएको थियो । पाहुना टोली रोमाका लागि भने एडिन जेकोले सान्त्वना गोल गरे ।

दक्षिण एसियाली आर्चरीमा नेपालले कास्य जित्यो

काठमाडौं, चैत १२ । बंगलादेशमा जारी तेस्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा नेपालले रिकर्भ मिक्स टिम र कम्पाउण्ड पुरुषतर्फ कास्य पदक हात पारेको छ । ढाकास्थित विकेएसपी कम्पाउन्डभित्र भएको खेलमा मिक्सतर्फ नेपालका तिलक पुन मगर र ज्ञानु अवालेको टोलीले श्रीलंकालाई पराजित गर्दै कास्य पदक हात पारेको हो । दुवै टोलीले दुई दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ५–४ ले विजयी भएको हो । यसअघि भएको टिम एलिमिनेसन राउण्डमा नेपाल बंगलादेशसँग १–३ को सेटमा २–६ अंकले पराजित भएपछि कास्य पदकका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको हो । यसैबीच आजै भएको अर्को खेलमा नेपालका कम्पाउण्ड पुरुष टोलीले पनि कास्यपदक हात पारेको छ । नेपालका होमबहादुर थापा मगर, प्रजीतकुमार अग्रवाल र अभिषेक राज प्रधानको टोलीले श्रीलंकालाई २०८–१५७ अंकले पराजित गर्दै कास्य जितेको हो । यस्तै नेपालको रिकर्भ पुरुष टोली भने तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग पराजित भयो । दुवै टोलीले दुई÷दुई सेट जितेर ४–४ अंक बराबर गरेपछि भएको सुटअफमा नेपाल ४–५ अंकले श्रीलंकासँग पराजित भएको हो । त्यसअघि भएको एलिमिनेसन राउण्डमा नेपालले बंगलादेशसँग लगातार तीन सेट गुमाउँदै ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंका प्रतिद्वन्द्वी पाए पनि नेपालले खेल जित्न सकेन । नेपालको रिकर्भ पुरुष टोलीमा प्रेमप्रसाद पुन, तीलक पुन र मीनप्रसाद गौचनले प्रतिस्पर्धा गरेका थिए । रिकर्भ महिला टोली पनि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँगै पराजित हुन पुग्यो । नेपालकी ज्ञानु अवाले, आइसा तामाङ र तमन्ना क्षेत्रीको टोली श्रीलंकासँग १–३ को सेटमा २–६ अंकले पराजित भए । त्यसअघि आजै भएको एलिमिनेसन राउण्डमा नेपालको रिकर्भ महिला टोली बंगलादेशसँग ०–३ सेटमा ०–६ अंकले पराजित भएपछि कास्यका लागि श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो ।

खेल पर्यटन विकास गर्न ‘क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता

नुवाकोट । ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘दोस्रो झिल्टुङ क्रसकन्ट्री खुला रेस’ प्रतियोगिता आइतबार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा सम्पन्न भएको छ । खेलमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लियो क्लब अफ नुवाकोट परोपकारलगायतका संस्थाको संयुक्त पहलमा आयोजना गरिएको प्रतियोगिताको दुई विधामा महिला र पुरुषको भिन्दाभिन्दै समूह बनाएर दौड प्रतिस्पर्धा गराइएको हो । कोल्पुटारबाट माझगाउँ हुँदै पुनःकोल्पुटार पुग्ने १३.४ किलोमिटर दूरीको पुरुषतर्फ भूमिराज राई प्रथम, किरण बोगटी दोस्रो र विवेक राई तेस्रो हुनुभयो । महिलातर्फ कान्छीमाँया कोजु पहिलो, पुष्पा भण्डारी दोस्रो र राजपुरा पछाई तेस्रो भएको प्रतियोगिता व्यवस्थापक सुदाम लामिछानले जानकारी दिनुभयो । दौडमा उत्कृष्ट पहिलोलाई रु १५ हजार, दोस्रोलाई रु १० हजार र तेस्रोलाई रु पाँच हजारसहित मेडल र प्रमाणपत्र १०० वर्षीय ज्येष्ठ नागरिक यज्ञप्रसाद रिमालले प्रदान गनुभयो । प्रतियोगितामा महिला र पुरुष गरी २९ जनाको सहभागिता रहेको थियो । यसैगरी, ‘क्रसकन्ट्री रन फर फन’ प्रतियोगिताअन्तर्गत २९ जना सम्मिलित ४.ं५ किमी प्रतियोगितामा पुरुषतर्फ सन्तोष योगी प्रथम, दिनेश बोगटी दोस्रो र सुवास थापा तेस्रो हुनुभयो । यसैगरी, महिलातर्फ हुमी बुढामगर पहिलो, काजल विष्ट दोस्रो र लक्ष्मी थापा तेस्रो भएको कार्यक्रम संयोजक मोहन नेपालले जानकारी दिनुभयो । स्थानीय खेलाडी तथा राष्ट्रियस्तरका धावक सम्मिलित प्रतियोगिताले यहाँको पर्यटकीयस्थलको प्रवद्र्धन, खेलक्षेत्रको विकास तथा शारीरिक रुपमा स्फूर्ति जगाउन सहयोग पुगेको आयोजकले जनाएको छ । रासस

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने

काठमाडौं, चैत्र ११। सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए । उनले भने, “पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।” त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताए । सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने उनले बताए । त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने उनको भनाइ थियो । उनले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने चर्चा गरे ।

म्यान्चेस्टर युनाईटेडलाई हराउँदै स्पेनको सेभिया युएफा च्याम्पियन्स लिगको क्वाटरफाईनलमा

काठमाडौं, फागुन ३० । इंग्लिस क्लव म्यान्चेस्टर युनाईटेडलाई हराउँदै स्पेनको सेभिया युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । गएराति आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेड २–१ ले पराजित भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेको म्यान्चेस्टर युनाईटेड दोस्रो लेगमा पराजित भएसँगै प्रतियोगिताबाटै बाहिरिएको हो । खेलमा सेभियालाई विजयी गराउन दुबै गोल बेन एडरले गरे । म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा युक्रेनको शख्तरलाई हराउँदै ईटालीको एएस रोमा पनि च्याम्पियन्स लिगको क्वाटरफाईनलमा पुगेको छ । आफ्नै मैदानमा भएको दोस्रो लेगको खेलमा रोमालाई विजयी गराउन एडिन जेकोले निर्णायक गोल गरे । पहिलो लेगमा २–१ ले हारेको रोमा दोस्रो लेगमा विजयी भएसँगै एग्रिगेटमा खेल २–२ गोलको बराबरीमा पुग्यो । यस्तो अवस्थामा शख्तरको मैदानमा गरेको अवे गोलको मद्दतले रोमा क्वाटरफाईनलमा पुगेको हो । च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज स्पेनको बार्सिलोना र इङ्ल्यान्डको चेल्सी भिड्दा टर्कीको बेसिक्तासले जर्मनीको बायर्न म्युनिखसँग खेल्नेछ ।

म्यान्चेस्टर सिटीसँग स्टोक सिटी पराजित, म्यान्चेस्टरको उपाधि जित्ने संभावना बलियो

काठमाडौं, फागुन २९ । स्टोक सिटीलाई हराउँदै म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने संभावना बलियो पारेको छ । गएराति स्टोक सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २-० ले विजयी भयो । खेलमा पाहुना टोलीलाई विजयी गराउन दुवै गोल डेभिड सिल्भाले गरे । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर १६ अंक पुर्‍याएको छ । ३० खेलबाट ८१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । समान खेलबाट ६५ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ भने ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।