युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, मंसिर २६ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।

सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा बार्सिलोना र चेल्सी आमने सामने हुँदैछन् ।

त्यस्तै ईटालीको युभेन्टसले इङ्गल्याण्डको टोटनह्याम हट्सपरसँग खेल्दा अर्को इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको सेभियालाई प्रतिद्धन्दी पाएको छ ।

इङ्गलिस प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले भने तुलनात्मक रुपमा कमजोर मानिएको स्विस क्लव एफ.सी बाजलसँग खेल्नेछ ।

५ पटकको युरोपियन च्याम्पियन लिभरपुलले पोर्चुगलको एफ्.सी पोर्टोसंग खेल्दा पाँच पटककै पुर्व विजेता जर्मन क्लव बायर्न म्युनिखले टर्कीस क्लव बेकिस्तासको चुनौती झेल्नेछ ।

ईटालीको ए.एस रोमाले युक्रेनको शख्तर दोनेस्कसँग खेल्नेछ । नक आउट चरणका पहिलो लेगका खेलहरु फागुन १ र २ गते हुनेछन् ।

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै

काठमाडौं, मंसिर २० । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसंग खेल्दैछ । यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा स्थान पनि सुरक्षित गर्दथ्यो । तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो । नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् । स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछ । युएई विरुद्ध उसैको मैदानमा आज र पर्सी हुने दुई खेललाई नेपालले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीका रुपमा हेरेको छ । डिभिजन टु प्रतियोगिताका आगामी फेब्रेअरीमा नामिबियामा हुनेछ ।

गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित

काठमाडौं, मंसिर १९ ।  स्पेनिस ला लिगा फुटबलमा रेलिगेसन जोनमा रहेको अलाभेसले जित निकालेको छ । सोमबार राति भएको खेलमा अलाभेसले जिरुनालाई ३ – २ ले पराजित गरेको हो । जिरुनाको घरेलु मैदानमा भएको खेलमा अलाभेसलाई जित दिलाउन इबाई गोमेजले ह्याट्रिक गरे । उनले दोस्रो हाफको ७१,८७ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए । जिरुनाको क्रिस्तियन स्टुवानी र जौनापेले समान एक एक गोल फर्काएका थिए । जिरुनामाथिको जितसँगै अलाभेसले सिजनको तेस्रो जित निकाल्यो । यो जितपछि पनि अलाभेस रेलोगेसन जोनमै रहेको छ । अलाभेसले १९ खेलबाट ९ अंक जोडेको छ र लिगको पुछारबाट दोस्रो स्थानमा छ । पराजित जिरुना १७ अंक जोडेर १२ औं स्थानमा छ ।

रुसलाई विन्टर ओलम्पिक खेल्न दिने कि नदिने भन्ने विषयमा आज निर्णय हुँदै

काठमाडौं, मंसिर १९ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आईओसीको वैठक आज साँझ स्विट्जरल्याण्डमा बस्दैछ । वैठकले रुसलाई आसन्न विन्टर ओलम्पिकमा सहभागिता जनाउन दिने कि नदिने भन्नेमा निर्णय गर्नेछ । चार वर्षअघि रुसकै सोचीमा आयोजना गरिएको विन्टर ओलम्पिकको क्रममा रुसी खेलाडीलाई राज्यस्तरबाटै प्रतिबन्धित औषधि प्रयोग गराईएको र डोपिङ परिक्षणमा समेत प्रमाण नष्ट गरिएको पाईएको थियो । त्यही कसूरमा रुसलाई गत वर्ष ब्राजिलमा सम्पन्न रियो ओलम्पिक खेल्नबाट समेत प्रतिबन्ध लगाईएको थियो । रुसले त्यसयता डोपिङ समस्याको सुधारमा उल्लेखनीय काम गरेको तर्क गरेपनि आईओसीको विज्ञ टोलीले यसलाई मानेको छैन । त्यसैले यही फेब्रुअरीमा दक्षिण कोरीयाको प्योङचाङमा आयोजना हुने विन्टर ओलम्पिकमा रुसको सहभागिता कठिन देखिएको छ । आईओसीले यो खेलमा पनि रुसलाई प्रतिबन्ध लगाए अर्को वर्ष रुसमै आयोजना हुने विश्वकप फुटबल समेत विवादमा पर्ने धेरैको अनुमान छ ।

म्यान्चेस्टर युनाईटेडद्वारा वाट्फोर्ड पराजित, लेष्टर सिटीसँग हार्‍यो टोटनह्याम

काठमाडौं, मंसिर १३ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४÷२ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन आस्ले योङले दुई गोल गरे भने एन्टोनियो मार्टीयल र जेस्सी लिङ्गार्डले एक–एक गोल गरे । वाट्फोर्डका लागि ट्रोए डिनी र डोकोरेले एक एक गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई २-१ ले हराएको छ । लेष्टर सिटीको मैदानमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डी र रियाल माहारेजले एक–एक गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए । प्रिमियर लिग फुटबलमा ब्राईटन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा वेष्ट ब्रोम र न्युकासल युनाईटेडले २/२ गोलको बराबरीमा चित्त बुझाएका छन् । प्रिमियर लिगमा आज राति ६ खेल हुनेछन् । शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनसँग खेल्दा चेल्सी र स्वान्सी सिटी, आर्सनल र हडर्सफिल्ड टाउन तथा स्टोक सिटी र लिरभपुल भिड्नेछन् ।

युवा खेलाडीहरुका लागि ठाउँका ठाउँ यस्तो निर्णय गरेः महरा

दाङ, कार्तिक २९ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले मतदाता भेटघाटका क्रममा दाङको घोराहीस्थित भरतपुर खेल मैदान पुगेर युवा खेलाडीहरुलाई सरकारी स्तरबाट खेल मैदान निर्माणका लागि बजेट पठाइदिने निर्णय गरेका छन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट खेल संचालन गर्ने मैदान मर्मत गर्न आवश्यक रकम सरकारले प्रदान गर्ने भन्दै उपप्रधानमन्त्री महराले निर्माणाधीन मैदानबाटै अर्थमन्त्रालयका सचिवसँग टेलिफोन गरी बजेट सुनिश्चित गरेका हुन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्र स्तरिय उक्त खेल दाङमा संचालन हुनु गौरवको कुरा हो भन्दै महराले दाङमा खेलकुदको बिकास गर्न युवाहरुलाई हौसला प्रदान गरे । दाङको खेलकुद क्षेत्रको बिकासका लागि उपप्रधानमन्त्री महराले देखाएको यस्तो खालको सक्रियताले आफुहरुमा हौसला प्रदान गरेको भन्दै पुर्व राष्ट्रिय खेलाडी नरेन्द्र पुन सन्देश श्रेष्ठ लगाएतका खेलाडी युवाहरुले खुसी व्यक्त गरे ।

पोखरा–११ लाई हराउँदै झापा–११ सेमिफाइनलमा

झापा, कात्तिक २९ । झापाको शिवसताक्षीस्थित झिलझिलेमा दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा पाहुना टोली पोखरा–११ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै घरेलु टोली झापा–११ सेमिफाइनलमा पुगेको छ । झापाका लागि पहिलो गोल खेलको १२औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजयले गरे । त्यसपछि १७औं मिनेटमा कर्ण लिम्बू, १९औं मिनेटमा विशाल राई, ५६औं मिनेटमा खमिर गिल्सन कन्दङ्वा र ७६औं मिनेटमा कर्णले व्यक्तिगत दोस्रो गोल गर्दै झापाका लागि ५–० को जित सुनिश्चित गरेका हुन् । खेलको ‘म्यान अफ द म्याच’ झापा–११ का योगेश गुरुङ घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताअन्तर्गत् बुधबार विभागीय टोली सशस्त्र प्रहरी र मध्यप्रदेश, भारतको डायमन्ड अफ फुटबल एकेडेमीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक सतासीधाम स्पोर्टिङ क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खेलाडी भुवनप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २६ कात्तिक । नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटीका वरिष्ठ उपाध्यक्ष भुवनदेव पन्तको असामयिक निधन भएकाले उनको सम्झनामा सो संस्था एवं नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा शनिबार  एक संयुक्त श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन केसीले खेलाडी र खेलकुद क्षेत्रमा योगदान पुर्याएका, निरन्तर खेलकुदको विकास र संवद्र्धनमा लागिपरेका खेलाडी भुवनदेव पन्त (बबि पन्त) को खेलहरुको स्मरण गर्दै  उनले खेलकुद क्षेत्रमा पुर्याएकाे भएको योगदानबारे चर्चा गरे । भुवनदेव पन्तको यही असोज ४ गते सिंगापुरमा क्यान्सर रोगको उपचारका क्रममा निधन भएको थियो । पुराना ख्यातीप्राप्त खेलाडीहरुको सहभागिता रहेको कार्यक्रममा संघका अध्यक्ष जिएन दाइ शर्माले बबि पन्तको निधनबाट नेपालको खेलकुद क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै उनको योगदानको स्मरण गरे ।

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्तर्गत शनिबार राती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो । आईभोरी कोष्टलाई उसैको मैदानमा पराजित गर्न मोरक्कोका डिरार र बेनातियाले एक/एक गोल गरे । हारपछि आईभोरी कोष्ट भने विश्वकपमा छनोट हुन सकेन । गएराति भएको अर्को खेलमा लिबियासँग गोलरहित बराबरी खेलेको ट्युनिसिया पनि विश्वकपमा छानिएको छ । यो समुहका ६ खेलबाट ट्युनिसियाले १४ अंक जोड्यो भने १३ अंकसहित दोस्रो स्थानमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वकप छनोट हुन सकेन । अफ्रिकी समूहबाट नाईजेरिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेको छ । बाँकी दुई टोलीको टुंगो लाग्न बाँकी छ । उता विश्वकप छनोट अन्तर्गत युरोपेली प्ले अफ्को खेलमा रिपब्लिक अफ आयरल्याण्डले डेनमार्कसँग गोलरहित बराबरी खेलेको छ । डेनमार्कमा शनिबार राती भएको खेल बराबरीमा सकिएपछि अब आयरल्याण्डमा हुने खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लाग्ने छ ।

यू-१९ एसिया कप : वर्षाका कारण नेपाल र बंगलादेशबीचको खेल प्रभावित 

 काठमाडौं, कात्तिक २५ ।  एसिसी यू–१९ एसिया कपअन्तर्गत नेपाल र बंगलादेशबीच हुने तय भएको खेल वर्षाका कारण प्रभावित बनेको छ। खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे किनरारा ओभलमा सुरु हुनुपर्ने भए पनि अहिलेसम्म टससमेत भएको छैन। एसियन क्रिकेट काउन्सिलको अफिसियल वेब पोर्टलका अनुसार वर्षाले खेल स्थगित भएको छ। प्रतियोगिताको श्रीलंका र अफगानिस्तानबीचको खेल पनि वर्षाले प्रभावित बनेको छ। नेपाल र बंगलादेशको युवा क्रिकेट टिमबीच पछिल्लो १० दिनमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। मलेसिया पुग्नुअघि नेपाली टिम तीन खेलको सिरिज खेल्न बंगलादेश भ्रमणमा गएको थियो। सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।  समूह ‘ए’ अन्तर्तग शुक्रबार भएको खेलमा भारतले मलेसियालाई २ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। समूह ‘बी’ को खेलमा अफगानिस्तान र श्रीलंका विजयी भएका थिए। अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले हराउँदा श्रीलंकाले युएईलाई ७ विकेटले नै पराजित गरेको छ। नेपाली टिम दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, साहब अलाम, किशोर महतो, प्रकाश केसी, कमलसिंह ऐरी, भीम सार्की, रसिद खान, जितेन्द्र सिंह। वैकल्पिक खेलाडी– सन्दीप जोरा, विक्रमकुमार भुसाल, अंकित सुवेदी, विजय चौधरी। मुख्य प्रशिक्षक – विनोदकुमार दास सहायक प्रशिक्षक – कलाम अली ब्याटिङ प्रशिक्षक – मोन्टी देसाई म्यानेजर – रमन सिवाकोटी

अागामी जनवरीबाट टेनिस स्टार मर्रे टेनिश कोर्टमा उत्रिँदै छन्

कार्तिक २२ । ब्रिटिश टेनिस स्टार एन्डी मर्रे आगामी जनवरीबाट कोर्टमा उत्रने भएका छन् । चोटका कारण गत जुलाईबाट टेनिस कोर्टबाहिर रहँदै आएका मर्रेले आगामी जनवरीबाट प्रतिस्पर्धामा उत्रने जानकारी दिएका हुन् । हिप इन्जुरीबाट गुज्रिरहेको मर्रेले मंगलबार स्कटल्याण्डको ग्लासगोमा भएको एक च्यारिटी खेलमा कोर्ट उत्रदै जनवरीबाट आफु प्रतिस्पर्धामा उत्रने बताएका हुन् । च्यारिटी खेलपछि आफु जनवरीमा अमेरिकाको मियामीमा हुने प्रि सिजन प्रशिक्षणमा जाने बताउदै १६ औं बरियताका मर्रेले भने, “अहिले मेरो लागि मुख्य समस्या हिड्न हो तर म तयार छु । शतप्रतिशत फिट भएर कोर्टमा फर्कने छु ।” उक्त च्यारिटी खेलमा मर्रे विश्व नम्बर दुई रोजर फेडेररसँग ६ – ३, ३ – ६ र १० – ६ ले पराजित भएका थिए । मर्रे करिब ४ महिनापछि कोर्टमा देखिएका हुन् । मर्रे जुलाईमा भएको विम्बल्डन टेनिसको क्वाटरफाइनलमा साम क्वारीसँग पराजित भएपछि कोर्टमा देखिएका छैनन् । तर, मर्रेले बर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनबाट खेलमा फर्कने योजना बनाएका छन् । अष्ट्रेलियन ओपन टेनिस आगामी जनवरी १५ बाट हुने छ । त्यसअघि मर्रेले अमेरिकाको मियामी विशेष प्रशिक्षण र मियामी ओपन खेल्न जाने योजना बनाएको बताए । जनवरी पहिलो साता हुने मियामी ओपन टेनिस अष्ट्रेलियन ओपनको लागि अभ्यास प्रतियोगिताको रुपमा रहदै आएको छ । एजेन्सी

तेस्रो टी-ट्वेन्टी क्रिकेटमा भारत विजयी

काठमाडौं, कात्तिक २२ । न्यूजिल्याण्डविरुद्धको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा विजयी हुँदै भारतले तीन खेलको शृङ्खला २-१ ले जितेको छ । वर्षाले प्रभावित भएपछि ८ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर ६७ रन जोड्यो । घरेलु टोली भारतका लागि मनिस पाण्डेले सर्वाधिक १७ रन जोडे । जवाफमा ८ ओभरमा ६८ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ६ विकेट गुमाएर ६१ रन मात्रै जोड्न सकेपछि भारत ६ रनले विजयी भएको हो । यो जितसँगै भारतले तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेटको शृङ्खला २-१ ले जितेको छ । भारतले यसअघि एक दिवसीय क्रिकेट शृङ्खलामा पनि पाहुना टोली न्यूजिल्याण्डलाई हराएको थियो ।

चोटका कारण इंग्ल्याण्डका दुई चर्चित खेलाडीले आगामी दुई खेल गुमाउने

काठमाडौं, कात्तिक २१ । इंग्लिश फुटबल खेलाडीद्वय ह्यारी केन र ह्यारी विङ्क्सले जर्मनी र ब्राजिल विरुद्धका आसन्न दुई खेल गुमाउने भएका छन् । इंग्लिश फुटबल क्लव टोटनह्याम हट्सपरबाट व्यावसायिक खेल खेल्दै आएका स्ट्राईकर केन र मिडफिल्डर विङ्क्सले चोटका कारण आसन्न खेल गुमाउने भएका हुन् । टोटनह्यामकै मिडफिल्डर डेले अली पनि यो खेलका लागि उपलब्ध छैनन् । उनीहरुको ठाउँमा एभर्टनका डिफेन्डर माईकल किन र वेष्ट ब्रोमका मिडफिल्डर जेक लिभरमोरलाई टोलीमा बोलाईएको छ । इंग्ल्याण्डले यही शुक्रबार वेम्बले रंगशालामा जर्मनीसँग तथा आगामी मंगलबार ब्राजिलसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्दैछ । विश्वकप फुटबलमा छनौट भईसकेको इंग्ल्याण्डले तयारीका लागि कठिन टोलीहरुसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

यू-१९ एसिया कपमा नेपाल बलियो, बंगलादेशलाई ६ विकेटले हरायाे

काठमाडौं, कात्तिक २० । नेपालको अण्डर नाइन्टिन राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले बंगलादेशमा खेलेका तीनमध्ये सुरुका दुई खेलमा हार बेहोर्दा अन्तिम खेलमा शानदार प्रदर्शन गरेको हो । आइतबार साभरको मैदानमा भएको अन्तिम खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ७ विकेटको क्षतिमा दुई सय २५ रन बनायो । अनिमुल इस्लामले अविजित रहँदै ८० रन बनाएको इनिङ्समा बहाब आलमले ३, अनिलकुमार शाहले २ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए । जवाफमा नेपालले म्यान अफ द म्याच मोहम्मद आसिफ शेखको शानदार ९० रनको मद्धतले ४६ ओभर ३ बलमै ४ विकेटको क्षतिमा विजय हासिल गर्यो । नेपालको जितमा जितेन्द्र सिंहको ४५ , दिपेन्द्रको अविजित २७ तथा रोहितकुमार पौडेलको २५ रन महत्वपूर्ण रह्यो । यो जितले नेपालले कार्तिक २३ गतेदेखि मलेसियामा हुने एसीसी युथ एसिया कप क्रिकेटमा दरिलो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । नेपालको समूहमा बंगलादेशसंगै भारत र मलेसिया रहेका छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् । नेपाली टिम सोमबार साँझ स्वदेश फर्कने छ ।

अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड शुरु

लमजुङ, कात्तिक १९ । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बँेसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाडौँबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण बेँसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि पाँच हजार ४१६ मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो । दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपालीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले १२५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले ७५० डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् । पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मि उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ । बेलायती फिल इभान्सको आयोजना र नेपालको यति ट्राभल्सको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको निर्देशक इभान्सले बताए । प्रतियोगिताबाट नेपालको पर्यटन प्रबद्र्धनका लागि सहयोग पुग्ने इभान्सको भनाइ छ । पैदल यात्राका लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा साइकल दौड प्रतियोगिता आयोजना हुँदा विश्वकै ध्यान केन्द्रित भएको उनले बताए ।

प्रिमियर लिगमा लिभरपुलको जित, आज उपाधि दाबेदारहरु भिड्दै

काठमाडौं, कात्तिक १९ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गरे भने जोएल माटिप र अक्सलेड चेम्बरलीनले एक–एक गोल गरे । जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएका अन्य खेलमा हडर्सफिल्ड टाउनले वेष्ट ब्रोमलाई १–० ले हराउँदा बर्नमाउथले न्यूकासल युनाईटेडलाई, बर्नलेले साउथह्याम्पटनलाई तथा ब्राईटनले स्वान्सी सिटीलाई समान १–० ले हराएका छन् । त्यसैगरी लेष्टर सिटी र स्टोक सिटीले २–२ गोलको बराबरी खेलेका छन् । प्रिमियर लिग फुटबलमा आज राति दावेदारहरुबीच भिडन्त हुँदैछ । आज चेल्सी र म्यान्चेस्टर युनाईटेड भिड्दा म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्नेछ । यसैगरी टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेससँग खेल्दा एभर्टन र वाट्फोर्ड आमने–सामने हुनेछन् ।