अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

अन्तर्राष्ट्रियस्तरमा लम्कँदै पोखरेली टेनिस यात्रा

पोखरा । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै फड्को मारिसकेको छ ।

पृथ्वीनारायण क्याम्पस परिसरमा पहिलोपटक २०२८ सालमा टेनिस खेलका लागि कोर्ट बनेसँगै त्यसयता पोखराले यस खेलमा थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गरिसकेको छ ।

पछिल्लो समयमा निजीस्तरबाट पोखरामा टेनिस कोर्ट बन्ने क्रमले गति लिएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थ बताउनुहुन्छ ।

“पृथ्वीनारायण क्याम्पसका संस्थापक जर्ज जोन र रञ्जित गुरुङको सक्रियतामा उक्त कोर्ट निर्माणसँगै पोखरामा टेनिस खेलले गति लिएको हो”, उहाँले भन्नुभयो, “पछिल्ला समयमा भएका विभिन्न प्रतियोगितासँगै कुमार अधिकारी, अभिषेक बास्तोलाजस्ता अन्तर्राष्ट्रियस्तरमा नै आफ्नो पहिचान बनाउन सक्ने खेलाडी यहीँबाट तयार भए ।” उहाँका अनुसार कुमार अधिकारी हाल टेनिस खेलमा नै संलग्न रही माल्दिभ्समा हुनुहुन्छ भने अभिषेक बास्तोला अमेरिकामा हुनुहुन्छ ।

पोखरामा भएको टेनिसको विकाससँगै राष्ट्रियस्तरमा छ÷सात वर्षअघि गंगा शर्मा पहिलो नम्बरको खेलाडी बनेको जानकारी दिँदै उहाँले प्रदीप शर्मा चौथो नम्बर एवं अनिल शाही उत्कृष्ट १० जनामा पर्नुभएको बताउनुभयो ।

पोखरामा टेनिसको भौतिक पूर्वाधार निर्माण पनि विकासको क्रममा रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पोखरा रङ्गशालाभित्रको लगभग २० रोपनी क्षेत्रफलको जग्गामा हाल पाँचवटा क्ले कोर्ट बनिसकेको छ भने दुईवटा कोर्ट बन्ने तयारीमा छ ।”

अब बन्ने दुईमध्ये एउटा हार्ड कोर्ट र अर्को क्ले कोर्ट हुने कायस्थले जानकारी दिनुभयो ।

पोखरामा निजीस्तरबाट पनि टेनिस कोर्ट निर्माणमा धेरै लगानी भएको उहाँले बताउनुभयो ।

निजीस्तरबाट सञ्चालित कोर्टमध्ये चाउथेस्थित बिएनबी टेनिस कोर्ट, लेकसाइडस्थित गुरुङ भिलेज टेनिस कोर्ट, तेर्सापट्टीस्थित रत्नश्री टेनिस कोर्ट, घारीपाटनस्थित पोखरा होम्स टेनिस कोर्ट यहाँका महत्वपूर्ण टेनिस कोर्ट हुन् ।

त्यस्तै पोखरा लेखनाथ महानगरपालिका–५ मालेपाटनमा सशस्त्र प्रहरी बल कालिका गणमा पनि सुविधा सम्पन्न टेनिस कोर्ट रहेको छ ।

पोखरामा टेनिसमा राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्न सक्ने लगभग १५० जना खेलाडी छन् भने भेट्रान्सतर्फ पनि धेरै संख्यामा खेलाडी रहेका छन् ।

पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गर्दै अघि बढेको खेलकूद पत्रकार मञ्च कास्कीका पूर्व अध्यक्ष विनोद लामिछाने बताउनुहुन्छ ।

“पछिल्ला समयमा पोखराले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी तयार गरेको छ”, उहाँले भन्नुभयो, “टेनिस खेलप्रेमीले यसका गतिविधिलाई अघि बढाउन व्यक्तिगत रुपमा आफ्नो व्यावसायिक प्रतिष्ठानबाट प्रतियोगितासमेत आयोजना गर्न थालेका छन् ।”

पोखरामा आयोजना हुने गरेका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताले समग्र पोखराको गरिमा र महत्वलाई बढाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पोखरामा एक वर्षअघि मात्र सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल सम्पन्न भएको थियो भने आइटिएफको सर्किट १ र २ पोखरामा नै सम्पन्न भएको थियो ।

माछापुच्छ्रे पोखरा भेट्रान्स राष्ट्रिय प्रतियोगिता पोखराले सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो ।

पोखराको रमणीय वातावरणका कारण पनि यो टेनिस खेलका लागि उत्कृष्टस्थल भएको टेनिस खेलका प्रशिक्षक नीरज थापा बताउनुहुन्छ ।

“पछिल्लो समयमा पोखरामा टेनिस खेलप्रति निकै आकर्षण बढेको छ”, विगत १५ वर्षयता टेनिसमा प्रशिक्षण दिँदै आउनुभएका थापाले भन्नुभयो, “विस्तारै पूर्वाधार निर्माणको क्रम पनि बढेका कारण यहाँ टेनिसका सम्भावना अझै बढेर गएका छन् ।”

नेपालमा हुने आसन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)लाई लक्षित गर्दै पोखरा रङ्गशाला परिसरमा रु तीन करोड ५० लाखको लागतमा एक÷एक वटा हार्ड कोर्ट र क्ले कोर्ट बन्न लागेको कास्की जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।

“पोखरा रङ्गशालाभित्र अब बन्ने हार्ड कोर्ट र क्ले कोर्ट प्याराफिटसहितका सुविधासम्पन्न पूर्वाधार युक्त हुनेछन्”, उहाँले भन्नुभयो, “सन् २०१९ मा हुने सागमा खेलाइने खेलमध्ये टेनिस पनि पोखरामा खेलाउने तयारी भएका कारण निर्माण कार्य शुरु गराउन आवश्यक पहल भइरहेको छ ।”

पर्यटकीय नगरी पोखरालाई खेल पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने सरकारको पनि प्राथमिकता रहेको अवस्थामा दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल पोखरामा गराउने चर्चाले यतिखेर पोखरेली टेनिसप्रेमी हर्षित बनेका छन् । रासस

मध्यपूर्वको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि प्रभावित

काठमाडाैं । फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धले अन्तर्राष्ट्रिय खेलकुद गतिविधि नराम्ररी प्रभावित भएका छन् । क्षेत्रीय अस्थिरता, सुरक्षाको चिन्ता र हवाई क्षेत्र बन्द हुँदा दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अन्योलमा परेका छन् । विशेषगरी फुटबल क्षेत्रमा यसको प्रभाव उल्लेख्य देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो क्यालेन्डरअन्तर्गत पश्चिम क्षेत्रका सबै खेलहरू तत्कालका लागि स्थगित गरेको छ । यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतियोगिता समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने खेलहरू रोकिनुका साथै क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता चर्चित टोलीहरू पनि प्रभावित भएका छन् । इरानको घरेलु ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बन गरिएको छ भने विदेशी खेलाडीहरू धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर स्वदेश फर्कन सफल भएका छन् । युद्धको प्रभाव फुटबलमा मात्र सीमित छैन । कतारमा मार्च २७ मा हुने तय भएको स्पेन र अर्जेन्टिनाबीचको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ खेल पनि अन्योलमा परेको छ । कतार फुटबल एसोसिएसनले घरेलु खेलहरू स्थगित गरेपछि उक्त खेल हुने सम्भावना कमजोर बनेको छ । यस्तै, संयुक्त अरब इमिरेट्समा हुने फुजैराह ओपन टेनिस प्रतियोगिता पनि सुरक्षाका कारण रद्द गरिएको छ । खेल तालिका अस्तव्यस्त बनेपछि विभिन्न खेल संघहरू अहिले प्रतियोगिता सञ्चालनभन्दा पनि खेलाडीहरूको सुरक्षा र उद्धारमा केन्द्रित भएका छन् ।

स्कटल्यान्डमाथि ऐतिहासिक जितपछि नेपाली टिमलाई प्रचण्डको बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई आईसीसी टी–२० विश्वकप अन्तर्गत स्कटल्यान्डमाथि हासिल गरेको शानदार जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। दोस्रो चरणमा पुग्ने सपना अधुरै रहे पनि स्कटल्यान्डविरुद्धको प्रभावशाली जितले सम्पूर्ण नेपालीलाई गर्वान्वित बनाएको उहाँको भनाइ छ। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलताकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। “नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई। दोस्रो चरणको सपना अधुरै रहे पनि, स्कटल्यान्डमाथि हासिल यो शानदार जितले सम्पूर्ण नेपालीलाई गर्व महसुस गराएको छ,” उहाँले भन्नुभयो, “आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउन सफल रहनुहोस्। सिंगो नेपाल तपाईंहरूको साथमा छ।” उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको आत्मविश्वास र संघर्षशील भावनाले विश्वसामु नेपालको पहिचान थप मजबुत बनाएको उल्लेख गर्नुभयो। स्कटल्यान्डमाथिको जितसँगै नेपाली टोलीले प्रतियोगिताको सुखद अन्त्य गरेको छ। यस जितले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटप्रति थप आशा र विश्वास जगाएको छ।

टी–२० विश्वकप: दीपेन्द्रको कीर्तिमानी अर्धशतकमा १२ वर्षपछि नेपालको जित

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि जित निकाल्दै स्कटल्यान्डलाई सात विकेटले हराएको छ। भारतको वान्खेंडे रंगशालामा भएको खेलमा १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रन बनाए। यो विश्वकपमा नेपालबाट सबैभन्दा छिटो बनेको अर्धशतक हो। उनी विश्वकप इतिहासमा दुई अर्धशतक बनाउने एकमात्र नेपाली ब्याटरसमेत बने। यसअघि कुशल भुर्तेल (४३) र आसिफ सेख (३३) ले ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए। गुल्सन झाले अविजित २४ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा १७०/७ बनायो। माइकल जोन्सले ७१ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। जितसँगै नेपालले दुई अंकसहित प्रतियोगिता टुंग्यायो। नेपाल र स्कटल्यान्ड दुवै समूह चरणबाट बाहिरिएका छन्।

नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा हुने

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिए । दोस्रो सिजनका लागि ५१२ नेपाली खेलाडी र १५ देशका १०० बढी विदेशी खेलाडीले नाम दर्ता गरेका छन् । अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्ड लगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताए । एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिए ।

लोकप्रिय