महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। क्यानले बिहीबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने महिला एसिया कप क्रिकेट प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा क्यानले नेपाली टोली घोषणा गरेको हो । उक्त प्रतियोगिता आगामी जुलाई १९ देखि २८ तारिखसम्म श्रीलंकामा हुँदैछ।
उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स छन्। त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।
यस्तो छ नेपाली टिम
इन्दु बर्मा, सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डंगोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार, लक्ष्मी साउद यशोदा विष्ट, कीर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी, हेलिशा गुरुङ, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, संगीता राई, आरती महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, करुणा भण्डारी, पुजा महतो, अस्मिना कर्माचार्य र डोली भट्ट
सफाइ पाएपछि अभ्यासमा व्यस्त सन्दीप
काठमाडौं। बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने सक्रिय क्रिकेटमा फर्किन प्रयासरत छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेका हुन्। सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन्। शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए। सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए ।
सन्दीपको निलम्बन फुकुवा
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेको छ। बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरेसँगै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने बाटो खुला गरेको हो। यसअघि बुधबार नै उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएको छ। ‘सम्मानित उच्च अदालत पाटनको मिति २०८१ जेठ २ को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले निर्णयमा भनेको छ ।
स्टार क्रिकेटर सन्दीप लामिछाने निर्दोष ठहर, विश्वकप खेल्न पाउने
काठमाडौं । नेपाली टिमका पूर्व कप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम)ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गर्यो । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी२० विश्वकपमा खेलाउने बाटो खुलेको छ । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो। त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।
मेयर कप फुटबल : वाल्मिकी र दुर्रगा शेषकान्तले अंक बाँड्दा जनज्योति र किरण अमरजङ्गको जीत
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ । कृष्णपुरको मैदानमा भएको समूह डी को खेलमा जनज्योति माविले सनराईज ईंग्लिश बोर्डिङ स्कुललाई २-१ ले हरायो । जनज्योतिका विशाल गुरुङ म्यान अफ दि म्याच भए । यस्तै पटिहानीमा भएको समूह ई को खेलमा वाल्मिकी शिक्षा सदन र दुर्गा शेषकान्त माविले १-१ को बराबरी खेलेका छ । वाल्मिकीका सुदर्शन पन्तले दोस्रो हाफको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफको अतिरिक्त समयमा सजन कार्कीले बराबरी गोल फर्काए । सजन म्यान अफ दि म्याच भए । बराबरीपछि दुबै टिमले एक(एक अंंक बाँँडेका छन् । उता शारदानगरमा भएको समूह एफ को खेलमा किरण अमरजङ्ग मावि विजयी भयो । किरण अमरजङ्गले अंकुरम एकेडमीविरुद्ध ४-० को सहज जित निकाल्यो । उसको जितमा समीर परियारले ह्याट्रिक गरे। यस्तै अभिषेक गुरुङले एक गोल थपे । समीरले खेलको १३, ४९ र ५२ औं मिनेटमा गोल गरे । अभिषेकले ६९ औं मिनेटमा गोल गरे । किरण अमरजङ्गका समीर म्यान अफ दि म्याच भए। लिगमा बुधबार पहिलो चरणका अन्तिम तीन खेल हुनेछ । कृष्णपुरमा समूह डी का होलिभिजन ईङ्लिश स्कुल र नारायणी नमूना उच्च मावि तथा पटिहानीमा समूह ई का ब्राइटस्टार ईङ्लिश स्कुल र अमर मावि भिड्नेछन् । यस्तै शारदानगरमा समूह एफ का ग्रामोदय ईङ्लिश बोर्डिङ र हिमालय दण्डपाणि न्यौपाने मावि भिड्नेछन् ।
ट्वान्टी–२० विश्वकप : पहिलो अभ्यास खेलमा नेपाल चार विकेटले विजयी
काठमाडौं । ट्वान्टी–२० विश्वकपका निम्ति हाल वेस्ट इन्डिजमा तयारी गरिरहेको नेपाल पहिलो अभ्यास खेमा विन्डवार्ड्स भोल्कानोजविरुद्ध चार विकेटको विजयी भएको छ । मंगलबार भएको खेलमा भोल्कानोजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । भुर्तेलले ४२ बलमा ७१ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरी २५ बलमा ५२ रन बनाएर अविजित रहे । भोल्कानोजका ल्री एडवार्डले तीन विकेट लिए । यस्तै, निक्लउस रेडहेडले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङमा आएको भोल्कानोजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रनको योगफल खडा गरेको थियो ।भोल्कानोजका डालोन डगलासले ५० र ए अगस्टेले ४१ रन बनाएका थिए । नेपालका रोहितकुमार पौडेलले तीन र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउनसक्ने सम्भावना
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा आजलाई पेसी तोकेको छ । मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखिएपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ। गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।
साझेदारीमा बनाइने, कीर्तिपुरलाई स्तरोन्नति गरिने
काठमाडौं । सरकारले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाउने भएको छ। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्ध रंगशाला तीनवटै तहका सरकारको साझेदारीमा अघि बढाइने बताएका हुन् । “चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको निमार्ण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइनेछ । कीर्तिपुर रंगशालाको स्तरोन्नतिसहित थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइनेछ,” राष्ट्रपति पौडेलले भने ।
आफ्ना सहयोगीसहित उच्च अदालत पुगे सन्दीप लामिछाने
काठमाडौं । आफ्नो मुद्दामा फैसला सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने पनि उच्च अदालत पुगेका छन् । उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन् । सन्दीपमाथि मुद्दा दायर गर्ने ‘गौशाला २६’ पनि इजलासभित्र देखिएकी छन् । उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ । सन्दीपका समर्थकहरू जम्मा भएका छन् । अदालतबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ। जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो। पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो।यसअघि पनि सुनुवाइका लागि पटक पटक पेसी तोकिएको यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो। जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो।उक्त फैसलाविरुद्ध लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो। गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो। विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ। उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ। सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।
इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा
एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो । सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे । सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे । एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।
आफुलाई सन्दीपको मुद्दासँग जोडेको भन्दै पारसको आपत्ति
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव नेपाली लिजेण्ड क्रिकेटर पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर चरित्र हत्या गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेस्बुकमा लामो स्टाटस लेख्दै खड्काले लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले लेखेका छन्, ‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ। यो सबैका बीच समेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु।’ उनले नेपाली क्रिकेटप्रतिको आफ्नो निःस्वार्थ भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने पनि बताएका छन्। ‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन्। नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’, पारसले भनेका छन्।
ममाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाए : सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानले काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन् । उनले आफू कानुनले नभएर अनुमान र एकतर्फी भनाइका आधारमा दोषी भएको दाबी गरेका छन् । मंगलबार राति सामाजिक सञ्जालबाट सन्दीपले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् । 'मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ । तर, पनि धेरै चुप लागेर बसेँ । कानुन व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ । तर, मैले कति सहनु ?,' सन्दीपले लेखेका छन् । उनले आफू न्याय माग्दामाग्दै शिथिल भइसकेको पनि बताएका छन् । आफूमाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाएको पनि उनको भनाइ छ । 'ती तथाकथित र भनौदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन,' उनले लेखेका छन् । यस्तो छ सन्दीपको स्टाटस धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ । अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानुन व्ययवसायले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ । तर, मैले कति सहनु ? म न्याय माग्दामाग्दा शिथिल भइसकेँ । सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरू रहेछन्, अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनौदा सामाजिक अभिन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन । तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैलेमात्र होइन दुनियाले बुझेको छ । म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु । त्यो अनुमान मेरा लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ । लेखिराख्नु, भगवान्ले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि । ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरू हुन्, तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ, ती तथाकथित अभियन्ताहरू, जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन् । मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान्। तर, झुटा आरोप जब लाग्छ नि, अनि बल्ल सद्बुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्नि परीक्षामा तपाईहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकीँ छ। फेरि भन्छु, यो घटना घटेको होइन, घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला म चाहिँ विश्वस्त छु। अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध। चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, मेरा लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ। म त फसेँ, बोलेकै भरमा । अब अरू कोही नफसोस् । बिन्ती छ। सन्दीप लामिछाने
मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक
चितवन। भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक भएको छ । सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले बैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२/१२ विद्यालय रहेका छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि(क्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन बैशाख २८ गते भरतपुर ७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउसँसो ४स्३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप ईंग्लिश बोर्डिङ स्कुल र ओम शानति एकेडेमी भिड्नेछन् । कृष्णपुरसँगै भरतपुर १९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले स्कुलस्तरका खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीहरुलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो । यसैबीच सोही कार्यक्रममार्फत प्रशिक्षकहरुलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको हो । नियुक्त भएका प्रशिक्षकहरुले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने खेल संयोजक एवं चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकहरुलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।
गायिका रचना रिमालले सन्दीपबारे भनिन् -'दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ'
काठमाडौं ।गायिका रचना रिमालले उच्च अदालत पाटनलाई क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि छिटो निर्णय दिन आग्रह गरेकी छन् । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएपछि हेर्न नमिल्नेमा राखेसँगै उनले सो आग्रह गरेकी हुन् । अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो । यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । ‘दोषी भए कानुनअनुसार सजाय देऊ’, उनले सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै लेखेकी छन्, ‘निर्दोष भए विश्वकप खेल्न देऊ।’ रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको फैसलाप्रति अहसमति जनाउँदै सन्दीपले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय को इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।