इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा
पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो ।

यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो । 

सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे । 

सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे । 

एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

गायिका रचना रिमालले सन्दीपबारे भनिन् -'दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ'

काठमाडौं ।गायिका रचना रिमालले उच्च अदालत पाटनलाई क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि छिटो निर्णय दिन आग्रह गरेकी छन् । लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएपछि हेर्न नमिल्नेमा राखेसँगै उनले सो आग्रह गरेकी हुन् । अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपका लागि नेपाली टोलीको अन्तिम सूची सार्वजनिक भइसकेको अवस्थामा सन्दीपबारे रचनाको यस्तो भनाइ आएको हो । यदि उच्च अदालतले सन्दीपको मुद्दामा चाँडो फैसला दिए विश्वकप खेल्न सक्ने सम्भावना जीवितै छ । त्यसका लागि जिल्ला अदालतबाट दोषी ठहर सन्दीपलाई उच्च अदालतले निर्दोष रहेको फैसला दिनु पर्ने हुन्छ । सन्दीपको मुद्दामा उच्चले ढिलाइ गरिरहेका बेला रचनाले दोषी भए कानुन अनुसार सजाय दिन भनेकी छन् । यद्यपि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई गौशाला २६ उपनामकी युवतीलाई बलात्कार गरेको प्रकरणमा दोषी ठहर गरिसकेको छ । ‘दोषी भए कानुनअनुसार सजाय देऊ’, उनले सन्दीपलाई फेसबुकमा मेन्सन गर्दै लेखेकी छन्, ‘निर्दोष भए विश्वकप खेल्न देऊ।’ रचनाको यो भनाइ अदालतले सन्दीपको मुद्दा पटक पटक हेर्न नमिल्नेमा पठाइरहेका बेला आएको हो । उच्चमा सन्दीपको मुद्दाको छिनोफानो दिन जिल्लामा जस्तै ढिलाइ हुन थालेको छ । जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको फैसलाप्रति अहसमति जनाउँदै सन्दीपले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय को इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। लामिछानेको मुद्दामा आइतबार पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेसी तोकिएको थियो। जिल्ला अदालत काठमाडौंको फैसलाप्रति अहसमति जनाउँदै लामिछानेले गरेको पुनरावेदनमा आइतबार सुनुवाइको पेसी तोकिएको थियो। तर न्यायाधीशद्वको इजलासमा तेस्रो नम्बरमा रहेको यो मुद्दा हेर्न नमिल्ने सूचीमा राखेका हुन् । यसअघि पनि यो मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ ।जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर लामिछाने पुनरावेदनका गत फागुन १० गते उच्च अदालत पाटन गएका थिए। जिल्ला अदालतले जबरस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको थियो । अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपअघि यो मुद्दा छिनोफानो हुन सके सन्दीप राष्ट्रिय टोलीमा पर्ने सम्भावना छ ।

नेपालका कप्तान रोहित सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वेस्ट इन्डिज ‘ए’सँगको शृंखलामा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । रोहितले  शनिबारदेखि सुरु पाँच खेलको शृंखलामा उत्कृष्ट ब्याटिङ गर्दै एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए । रोहितले २५ हजार रुपैयाँ पुरस्कार पाए। वेस्ट इन्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याटर र वेस्ट इन्डिजकै आबेड म्याक्वेय उत्कृष्ट बलर चुनिए । चार्ल्सले शृंखलाभर २१२ रन जोड्दा म्याक्वेयले आठ विकेट लिए । पाँच खेलको शृंखलामा तीन जित निकाल्दै वेस्ट इन्डिज ३–२ ले च्याम्पियन बन्यो ।

बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए ।  ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । 

वेष्ट इन्डिज ‘ए’विरुद्ध पहिला फिल्डिङमा नेपाल

काठमाडौं । नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको शृंखला अन्तर्गत आज अन्तिम खेल भइरहेको छ।काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर वेष्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङका उत्रिएको छ। यसअघिका चारमध्ये तीन खेलमा जित निकालेर वेष्ट इन्डिजले उपाधि हात पारिसकेको छ। ४ खेलमा नेपालले भने एउटामा मात्रै जित निकाल्न सक्यो। बिहीबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २८ रनले पराजित गर्दै सिरिज जितिसकेको छ। आजको खेल औपचारिक मात्रै हो। नेपाल ३–१ ले पछाडि रहेको छ । पहिलो खेलमा चार विकेटको जित निकालेको नेपाल त्यसपछिका खेलमा लगातार हार बेहोर्दै आएको छ।शृङ्खलाको दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालको घरेलु मैदानमा यो अन्तिम खेल हो । नेपाली टोली आजको खेल पछि विश्वकपका लागि वेष्ट इन्डिज प्रस्थान गर्नेछ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ। नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको थियो।  बिहीबार भएको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र जोड्न सक्यो । उक्त खेल जितसँगै वेस्ट इन्डिजले ३–१ को अग्रतासहित शृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ। त्यसैले आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।  नेपालले त्यसअघि तीनमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेको थियो। शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

म षडयन्त्रको शिकार भए, संलग्नको नाम छिट्टै सार्वजनिक गर्छु : सन्दीप लामिछाने

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी– २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन् । उनले पहिलो पोष्टमा भनेका छन्, ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’ त्यसपछि सन्दीपले अर्को पोष्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु । तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।’ विस २०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् ।

वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको चौथो खेल हुँदै

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ र नेपालबीचको ट्वान्टी–२० शृंखलाको चौथो खेल आज हुँदै छ । खेल खेल दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  सुरु हुनेछ।  पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो । पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा पराजित भए नेपालले एक खेल बाँकी छँदै सिरिज गुमाउनेछ । यी दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

यी हुन् आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमबाट विश्वकप खेल्ने १५ खेलाडीको टुँग्गो लागेको छ ।  नेपाली टिमका कप्तान रोहितकुमार पौडेलका अनुसार बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्सका आधारमा विश्वकपका लागि नेपाली खेलाडीको छनोट गरिएको हो ।  विश्वकप खेल्ने नेपाली टीम मजबुत रहेको नेपाली टिमका कप्तान रोहित पौडेलले जानकारी दिए । त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए । उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे । नेपाली टिममा रहेका खेलाडी यी हुन्  क्याप्टेन रोहित पौडेल,आसिफ शेखी,अनिल कुमार साह,कुशल भुर्तेल,कुशल मल्ल,दिपेन्द्र सिंह ऐरी,ललित राजवंशी,करण केसी,गुलशन झा,सोमपाल कामी,पतिश जिसी,सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन् ।

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो ।वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै किमो पाउलले १३ रन बनाएका छन् ।  त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिएका थिए ।वेस्ट इन्डिज ए ले यो जितपछि ५ खेलको सिरिजमा २(१ को अग्रता बनाएको छ। अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुने छ ।

फ्रेजर र स्मिथ विना विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा

काठमाडौं । अष्ट्रेलियाले अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । घोषणा गरिएको टोलीमा अनुभवी ब्याटर स्टिभ स्मिथ र युवा ब्याटर जेक म्याकगुर्क फ्रेजर परेका छैनन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट आक्रामक क्रिकेट खेल्दै आएका फ्रेजर पर्न सक्ने अनुमान गरिए पनि अनुभवी ब्याटर डेविड वार्नरलाई निरन्तरता दिए पछि फ्रेजर अट्न सकेनन् । उपाधि दाबेदार मानिएको अष्ट्रेलियाले टी २० क्रिकेटमा ध्यान दिँदा स्मिथ बाहिर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अष्ट्रेलियाको टोलीमा मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेलसँगै मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेडजलवुड छन् । म्याक्सवेल, टिम डेविड र ट्रविस हेड जस्ता आक्रामक ब्याटर टोलीमा समाबेश छन् । २ जुनदेखि सुरु हुने विश्वकपमा समूह ‘बी’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्ड रहेका छन् । सन् २०२१ को टी २० विश्वकप विजेता टोली अष्ट्रेलिया यस संस्करणको पनि उपाधि दाबेदार टोली मानिएको छ । विश्वकपका लागि अष्ट्रेलिया क्रिकेट टोलीः  मिचेल मार्श (कप्तान), एश्टन अगर, प्याट कमिन्स, टिम डेविड, नाथन एलिस, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेविड वार्नर र एडम जाम्पा

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपालमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ । यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १–१ को बराबरीमा छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ देखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा घरेलु टिमविरुद्ध १० रनको जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ले शृंखला १–१ को बराबरीमा ल्याएको थियो । पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखलाको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ ।

सन्दीपको मुद्दा आइतबार पनि मुद्दा ‘हेर्न नभ्याइने’मा, वैशाख २३ गतेलाई पेसी

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बलात्कार अभियोग ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा यही वैशाख २३ गतेलाई पेसी तोकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा आइतबार पनि मुद्दा ‘हेर्न नभ्याइने’मा परेको हो । यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । 

दोस्रो टी-२०  : वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौं।नेपालसँगको ५ खेलको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । कीतिपुरस्थित टीयू मैदानमा आइतबारको खेलमा टस हारेर जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५० रनको योगफल बनाउँदै हार व्यहोरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए । त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २/२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १/१ ले बराबरी भएको छ ।अब सिरिजको तेस्रो खेल खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो । रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।