भरतपुर महानगरपालिकाको बजेट साढे ६ अर्ब बढी
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्ताव अघि सारेको छ।
सोमबार भएको नगरसभा तथा १५ औं अधिवेशनमा प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको उक्त बजेट ल्याउन लागिएको उपमेयर चित्रसेन अधिकारीले बताए।
महानगरले घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँटबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ करोड ७५ लाख ६७ हजार, जनसहभागितार श्रमदानबाट ५० करोड रुपैयाँ आम्दानी हुने आकलन गरेको छ। बैंक मौज्दात १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट प्राप्त हुने ३ करोडसमेतलाई आधार मानेर बजेट प्रस्ताव गरिएको उनले बताए।
चालु आर्थिक वर्षको लागि ६ अर्ब ४८ करोड ७९ लाख ९० हजार ९पूरक बजेट तथा असार पहिलो हप्तासम्मको थप अख्तियारी समेत ० अनुमान गरिएकोमा चालुतर्फ २ अर्ब ७२ करोड १४ लाख ६४ हजार विनियोजन गरिएको थियो। असार पहिलो हप्तासम्ममा चालुतर्फ १ अर्ब ९३ करोड ६८ लाख ४६ हजार अर्थात ७१ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ ३ अर्ब ७६ करोड ६५ लाख २६ हजार विनियोजन भएकोमा १ अर्ब ३४ करोड ८५ लाख ७९ हजार अर्थात ३६ प्रतिशत खर्च भएको छ।
महानगरले वडास्तरबाट कार्यक्रम कार्यान्वयन गर्न न्यूनतम र सूत्रका आधारमा दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेको छ। न्यूनतम २ करोड ७४ लाख २८ हजार ५०१ र अधिकतम २ करोड ९० लाख २ हजार १ सय ३३ गरी वडास्तरीय आयोजनाहरुमा ८२ करोड रुपैयाँ विनियोजन गरिएको मेयर रेनु दाहालले बताइन्।
वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि ६ करोड विनियोजन गरिएको छ।
दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता, पशु बीमा कार्यक्रम सञ्चालन, मत्स्यफर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा पचास प्रतिशत अनुदान निरन्तरता लगायत पशुविकास कार्यक्रम कार्यान्वयन गर्न ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
महानगरले महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिदैँ आएको निस्शुल्क ओपिडि टिकट अनुदानलाई निरन्तरता दिन बजेट व्यवस्था गरेको छ।
भरतपुर महानगरपालिद्धारा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ।उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ। यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो। तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ। श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन्। अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन्।तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ ।महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।
बागमती प्रदेश : ६४ अर्बको बजेट
काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ । सो बजेटमा कृषिमा आधुनिकीकरणसँगै उत्पादन वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्ने प्रदेश सरकारले नीति लिने भएको छ। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रदेश सभाको शनिबारको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्दै उत्पादनमा आधारित अनुदान दिने बताए । कृषि पूर्वाधार विकासलाई जोड दिँदै उनले आगामी आर्थिक वर्षका कृषिसम्बन्धी कार्यक्रम र योजना कार्यान्वयन गर्न दुई अर्ब ६२ करोड रुपियाँ विनियोजन गरेको बताए। उनले स्थानीय तहमा समपूरक अनुदानका लागि दुई अर्ब ४८ करोड, विशेष अनुदानका लागि ७९ करोड ४८ लाख र वित्तीय हस्तान्तरणका लागि आठ अर्ब ३७ करोड रुपियाँ विनियोजन गरेको बताए। सवारी साधन कर राजस्व बाँडफाँडबाट स्थानीय तहलाई पाँच अर्ब रुपियाँ प्रदान गर्ने गरी बजेट व्यवस्था गरिएको छ। यस्तै दुधमा अनुदानका लागि २० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। पर्यटन तथा सहकारी क्षेत्रका लागि आगामी आवका लागि दुई अर्ब ४६ करोड करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो। उद्योग, भूमि तथा प्रशासनका लागि ७२ करोड विनियोजन गरिएको छ।
भीमफेदीमा कार दुर्घटना, तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज अपराह्न भएको कार दुर्घटनामा तीन जनाको मृत्यु र दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट २५० मिटर तल खसेको थियो । कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ। दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
चितवन। छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलव ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा रु आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो । प्रतिवेदनअनुसार काठमाडौँ महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् रु २५ करोड ७० लाख ३४ हजार, पोखरा महानगरको सात दशमलव ९८ प्रतिशत अर्थात् रु ७९ करोड २३ लाख ७५ हजार रहेको छ । यस्तै वीरगन्जको सात दशमलव १४ प्रतिशत अर्थात् रु ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको ए दशमलव ०३ प्रतिशत अर्थात् रु सात करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात् रु चार करोड ५१ लाख बेरुजु छ । भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु गत वर्षहरूको तुलनामा अरू घटेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/०७८ मा पेस्कीबाहेक बेरुजुमा शून्य दशमलव २५ प्रतिशत थियो । असुल गर्नु पर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ । महानगरपालिकाले बेरुजु नहुने गरी कार्यसम्पादनमा कडाइ गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताए। उनले भने“ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेस्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो ।” गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ ।उनले भने, “हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौँ।” भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको छ ।उनले भने, “जबाफदेहिता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ।” उपप्रमुख चित्रशेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताए। उनले भने, “छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ ।” खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए। महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ। देशमै विकासका हिसाबले अग्रणी भरतपुर महानगरपालिकाले सुशासनलाई विशेष ध्यानमा राखेको जनाउँदै आएको छ । रासस
भरतपुर मेयर कप : लिग चरण सकियो, चार टोली सिधै क्वाटरफाइनलमा प्रवेश
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबलको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । लिग चरणका खेलबाट ६ समूहका शिर्ष २-२ गरी १२ टोली नकआउट प्रवेश गरेका छन् । ६ समूहका विजेता मध्य उत्कृष्ट ४ टोली सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बाँकी दुई समूह विजेता र ६ समूह उपविजेता टोली भने प्रि क्वाटरफाईनलमा प्रवेश गरेका छन् । सिधै क्वाटरफाइनलमा स्थान बनाउने उत्कृष्ट ४ टोलीहरुमा समूह बी बाट आदिकवि भानु मावि, सी बाट विश्व प्रकाश मावि, समूह डी बाट नारायनी नमूना मावि र ई बाट अमर मावि रहेका छन् । यी टोलीले लिग चरणका सबै तिनै खेल जितेका छन् । समूह ए को विजेता स्टेप बाई स्टेप र एफ बाट किरण अमरजंग भने प्रि-क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यी दुबै टोलीले समूह चरणका तीन खेलमा दुई जित र एक बराबरी ७-७ अंक जोडेका छन् । यस्तै समूह ए बाट ओमशान्ति एकेडेमी, बी बाट ग्रीनल्याण्ड पब्लिक स्कुल, सी बाट लक्ष्मी मावि, डी बाट जनज्योति मावि, ई बाट दुर्गाशेषकान्त मावि र एफबाट ग्रामोदय इङ्लिस बोर्डिङ स्कुलले पनि उपविजेताको रुपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् । प्रि-क्वाटरफाइनलका खेलहरु शनिबारबाट सुरु हुनेछ । प्रि-क्वाटरफाइनलबाट ४ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रि-क्वाटरफाइनलको खेल तालिका आजै सार्वजनिक गरिने सह आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।
किसानलाई उन्नत बीउमा अनुदान
चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।
बागमती प्रदेश प्रिबजेटमाथि आजबाट छलफल
हेटौँडा । बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आज आइतबारबाट छलफल सुरु हुने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत मङ्गलबार प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गरेका थिए । प्रदेश सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि छलफल गर्न बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मन्त्री थपलियाले यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा पेस गर्दै प्रदेश सरकारको सीमित साधन र स्रोतको अधिकतम उपयोग हुने गरी सन्तुलित बजेट निर्माणलाई प्राथमिकता दिने बताएका थिए। यसै अधिवेशनमा अवधिमा प्रिबजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।
चितवनको देवनगर सबस्टेसनको उद्घाटन
काठमाडौं । भरतपुर ६ देवनगरमा निर्माण भएको ३३/११ केभी २०/२४ एमभीए क्षमताको सबस्टेसनको उद्घाटन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सबस्टेसनको उद्घाटन गरिएको हो । भरतपुर महानगर प्रमुख दाहालले भरतपुरमा भइरहेको तीब्र सहरीकरणसँगै विद्युत् आपूर्तीमा देखिएको समस्या समधान गर्न देवनगर सबस्टेसन सञ्चालनमा ल्याइएको बताइन् । पश्चिम चितवनको मेघौलीमा पनि चार विघा क्षेत्रफलमा सबस्टेसन निर्माण गर्न लागिएको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भरतपुरलगायत देशका प्रमुख सहरहरूको ५० वर्षिय गुरुयोजना तयार भई त्यहीअनुसार काम अगाडि बढाइएको जानकारी दिए । भरतपुरमा भइरहको तीव्र सहरीकरणका कारण गुरुयोजनालाई थप परिस्कृत र परिमार्जित गरिएकाले ५० वर्षका लागि विद्युत् आपूर्तिको समस्या नहुने उनको भनाइ छ ।
भरतपुर महानगरद्धारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
चितवन। भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८/०८२ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेको छ ।बिहीबार महानगर सभाहलमा विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल तथा अन्तरक्रिया गरी समृद्ध महानगर निर्माण गर्ने नीतिहरु संकलन गरिएको थियो। भरतपुर महानगरपालिकाले १५ औ नगरसभाका लागि तयारी तीब्र पारेको हो । छलफलका क्रममा आएका मागहरुलाई लिपिवद्ध गरेको छ ।छलफल कार्यक्रममा अधिकांश वक्ताहरुले आगामी आर्थिक वर्षमा उत्पादन, रोजगारी र बजारीकरणलाई जोड दिएका छन् । अबको नीति तथा कार्यक्रमले धेरै उत्पादन भएर दूध, गोलभेडा सडकमा फाग्ने अवस्था अन्त्य गर्नुपर्ने नीति ल्याउनुपर्ने धाराणा राखेका थिए। यस्तै शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, आईटी शिक्षालाई विद्यालयस्तरबाटै लागु गर्नुपर्ने, आयमुलक सीपमूलक तालिम, युवा व्यवसायीलाई प्रोत्सहान गर्ने कार्यक्रम, स्थानीय उत्पादनलाई प्रोत्सहान, वडागत शिक्षाको बजेटमा १० प्रतिशतभन्दा वृद्धि गर्नुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथामिकता, घरको फोहर घरमै व्यवस्थापन गर्ने नीति ल्याउनुपर्ने सुझाव आएका थियो । कार्यक्रममा भरतपुर महानगरका राजनैतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, बुद्धिजीवी, विषय विज्ञ, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारीले अब समेट्नु पर्ने नीतिबारे जोड दिएका थिए । सुन्दर, सुसंस्कृत र समृद्ध महानगर निर्माण हुने गरी अख्तियार गर्ने नीति, कार्यक्रम तथा बजेटको सन्दर्भमा राय सुझाव जेठ १५ गतेसम्म महानगरपालिकाको आधिकारिक ईमेलमा पठाउन अनुरोध पनि गरेको छ । महानगरको आधिकारिक ईमेल [email protected] मा राय सुझाव पठाउन सकिने छ । महानगरले यस अघि सडक पूर्वाधारलाई प्राथमिकता दिएपनि यस पटक भने उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेको जनाएको छ ।
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
चितवन । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास व्यक्त गरिन्। अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गरिन्।आगामी दिनमा स्तरोन्ती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिइन्। भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्लालगायत भारतबाट पनि विरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उहाँले उल्लेख गरिन्।अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उनको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिरारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ ।
३ बजे प्रदेशसभा बैठक बस्दै
हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची छ। संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राखे। वैशाख ३१ गतेबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना व्यक्त गरे भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो।
स्कुल बसमा अगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति
चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ । सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ । मोटर साईकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार विहान हेभन बोर्डिङ स्कुल भरतपुर–५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनाी गरेको थिए । महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरित विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तीमा भनिएको छ । कही कसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकार्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुराउन भरतपुर महागनर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तीमार्फत आह्वान पनि गरेको छ ।
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो। गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो। विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ। उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ। सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।
निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण
चितवन। भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्। अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८ का जागृति कोशिस कृषक महिला समुहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बंगुर वितरण गरिएको बताइन्। उनले बंगुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिइन्। बंगुरको पाठा पाएपछि समूहकी सदस्या मिना बोटेले महानगरले बंगुर दिएर व्यवसायीक कृषक बनाउनतर्फ अग्रसर गरेकोमा खुसी व्यक्त गरिन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास मेयर दाहालले व्यक्त गरिन् । आगामी दिनमा पनि महानगरले यस्ता कार्यक्रम ल्याएर अति विपन्न परिवारलाई जीविकोपार्जन गर्न प्रोत्सहान गर्नुपर्ने उनको भनाइ छ । बंगुरका पाठा पाउनेहरु बोटे र दलित समुदायका रहेका छन् ।
जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छिन्।भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके जेष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् । कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख संघर्ष अहिलेका पीडिले थाहा नपाउदा अहिलेको पुस्ताले जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा जेष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन् । नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भनिन् । तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो । ‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण भएको छ,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको जेष्ठ नागरिकप्रतिको सम्मान हो ।’ जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन्।जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन्। बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याइन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाई थियो । कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेकी थिइन्।