भरतपुर विमानस्थल विस्तार चाँडै
चितवन । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएपछि भरतपुर महानगरको परिषद्को पहिलो बैठकमा भरतपुर विमानस्थल विस्तार तथा स्तरोन्नतिको पहल गर्ने निर्णय गरिएको थियो । यो काम गर्न त्यति सहज थिएन । विमानस्थल विस्तार गर्न नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्नुपर्ने थियो । सहजै काम हुन्छ भन्नेमा विश्वास थिएन । तर, निरन्तर प्रयास गरिरहे सम्भव हुन्छ भन्ने उदाहरणको रुपमा भरतपुर विमानस्थल विस्तार रहेको छ ।
महानगरपालिकाका धेरै बैठक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि गरिएका छन् । विमानस्थलको विस्तारका लागि महानगरपालिकाको कार्यपालिकाको निर्णय र अनुरोधपछि पहिलो २०७५ माघ २० गते पहिलो बैठक भरतपुर विमानस्थलमा बस्यो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित महानगर प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको उक्त बैठकले विमानस्थल विस्तार गर्न प्रयास गर्ने निर्णय गरेको थियो ।
प्रमुख दाहालको भनाइमा त्यसपछिका सबै पर्यटन मन्त्रीहरुसँग पटकपटक विमानस्थल विस्तारका लागि छलफल गरिँदै आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा उनकै कार्यकक्षमा पर्यटनमन्त्री, रक्षामन्त्रीसहितको उपस्थितिमा बैठक बसेको थियो ।
यसका अतिरिक्त प्रधानमन्त्री, पर्यटनमन्त्री, रक्षामन्त्रीलगायतको उपस्थितिमा पटकपटक बैठक बसेका थिए ।
विसं २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (त्यतिखेर पूर्वप्रधानमन्त्री), तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतको उपस्थित थियो । उक्त बैठकले विमानस्थलको स्तरोन्नतिका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो । जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरपालिकालाई दिएको थियो ।
यस विषयमा प्रतिवेदन तयार गर्न पर्यटन मन्त्रालयले सह–सचिव वुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को वैठकले विमानस्थल विस्तार गर्ने निर्णय गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि अब भरतपुर विमानस्थल विस्तार हुने निश्चित भएको छ । सात वर्षपछिको निरन्तर प्रयासले विमानस्थल स्तरोन्नति र विस्तार हुने निश्चित बनेको प्रमुख दाहाल बताउँछिन् ।
भरतपुर विमानस्थल विस्तार र स्तरोन्नतिका लागि चार अर्ब ५० करोडभन्दा बढी लगानी हुँदै छ । बन्दै गरेको टर्मिनल भवन सम्पन्न गर्न रु दुई अर्बभन्दा बढी खर्च हुँदै छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण, धावन मार्ग विस्तार लगायतमा अरु दुई अर्ब ५० करोडभन्दा बढी खर्च गरेर सुविधासम्पन्न विमानस्थल बनाइँदै छ ।
प्रमुख दाहालले भने, “अहिले विमानस्थल विस्तार अति आवश्यक छ, धावन मार्ग छोटो हुँदा निकै जहाज उडान गर्न जोखिमपूर्ण छ ।”
चितवन र छिमेकी जिल्लाका लागि यो सधैँका लागि महत्वपूर्ण आयोजना भएको उनी बताउँछिन् । बिहीबार श्री एयरले परीक्षण उडान गर्दै गर्दा यहाँ उपस्थित उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सार्वजनिक रुपमा नै प्रमुख दाहालको निरन्तर प्रयासको प्रशंसा गरे ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी साउनमा विमानस्थल विस्तारका लागि बोलपत्र आह्वान हुने जानकारी दिए । ढिलोमा सन् २०२५ जनवरीसम्ममा विस्तारको काम थालिसक्ने उनी बताउँछन् ।
विस्तारपछि भरतपुरमा रात्रिकालीन उडान सुरु हुने उल्लेख गर्दै चौबिसै घण्टा जहाज अवतरण गर्न सकिने बताए । उनले विमानस्थलको स्तरोन्नतिपछि बुद्ध, यतीलगायत एयरलाइन्सका एटीआर–७२ जहाजहरु पनि सहजै अवतरण गर्न सकिने बताए ।
हाल एक हजार दुई सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नेपाली सेनाको घोडा प्रजनन केन्द्रसम्म विस्तार गरेर एक हजार आठ सय मिटर लामो बनाउने लक्ष्य छ । रासस
एनपीएल उद्घाटन खेल : विराटनगरविरुद्ध जनकपुरको विजयी सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।
पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छः प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो । दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गर्नुभएको थियो । उहाँको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गर्नुभएको छ । सहयोग घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटबासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो– ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’ समाजमा पीडामा रहेकाहरुको अभिभाकत्व सरकारले लिनुपर्ने भए पनि अहिले सरकार एउटा भन्ने र अर्को गर्ने अवस्थामा रहेको टिप्पणी गर्दै सकेसम्म समाजका पीडाहरुलाई नदेखेजस्तो गर्ने र गरे पनि आफ्नाहरुलाई मात्र गर्ने अवस्था रहेको बताउनुभयो । यो बेलामा असक्त र पीडितहरुको पक्षमा समाजले नै बढी जिम्मेवारी लिनुपर्ने आवश्कयता रहेको उहाँले बताउनुभयो । आफूले दुर्घटनामा नगरकोटी दम्पत्तिको ज्यान गएको खबर सुनेपछि आलाकोटमै पुगेर पीडित परिवारलाई भेटेको र स्थानीयबासीलाई पनि संक्षिप्त सम्बोधन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महत्वपूर्ण छ, यो एउटा घटना विशेष सहयोग भए पनि दुःखपीडामा परेकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्छ भन्ने यो देशैभरिका जनताका लागि एउटा सन्देश पनि हो ।’ पार्टीले बालिकाहरुको अभिभावकत्व लिने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उहाँले त्यसलाई पूरा गर्ने र कक्षा १२ सम्म पार्टीले नै अभिभावकत्व लिएर बुवाआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीलाई राम्रो वातावरणमा पठनपाठनको व्यवस्था मिलाउने बताउनुभयो । सो क्रममा सहयोगी उद्धव नेपालले बालिकाका परिवारलाई शैक्षिक सामग्री पनि हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम सहजीकरण माओवादी केन्द्रका काठमाडौं जिल्ला सचिव महेश्वर फुयाँलले गर्नुभएको थियो ।
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।’ निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।’ शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो । ‘नेपालको शिक्षा विकासमा विविध चुनौतीहरू छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौतीहरू नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षहरूसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीतिहरू बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ । बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभीमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ ।’ संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति मायाँ गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोंचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले आफ्नो नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण थालनी गरेको बताउनुभयो । संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताउनुभयो । ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’– उहाँले भन्नुभयो– ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ ।’
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’