भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरिन्।
नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १, २४ र २७ लाई विपद् सामग्री हस्तान्तरण गरिएको हो ।
सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन्।
वन्यजन्तु, आगलागी, नदी डुबान र स्वास्थ्य सम्बन्धी विभिन्न २६ वटा विपद्का सामग्री प्रदान गरिएको हो । जसमा खोज तथा उद्दार सामग्रीहरु रहेका छन् । ९ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो ।यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।
ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते
काठमाडौं । धादिङको निलकण्ठ नगरपालिकामा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् । मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान सवा नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाको कारण र विस्तृत विवरणा आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।
जनतासँग गरेको वाचा पुरा गर्दै गएका छौं : प्रमुख रेनु दाहाल
चितवन। भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष ०८०/८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पुरा हुँदै गएको बताएकी हुन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल विस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिजकडो कामले गति लिएको बताइन्। यसमध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गरिन्। ल्याण्डफिल साईटको अहिले डिपिआर र ईआईएको काम अन्तिम चरणमा रहेको जानकारी दिइन्। महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ विघा क्षेत्रफलमा ल्याण्डफिल साईड निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर ३ को नगर वन नजिकै फोहरलाई डम्पपिङ गरिरहेको छ । मंगलबार भरतपुर १४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए । प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे। महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट निर्माण गर्ने कार्यलाई प्राथामिकताका साथ अघि बढाइने उल्लेख गरे। भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भएपनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको प्रष्ट पारे। भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरेपनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिनुभयो । महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगमी कार्यदिशा तय गर्ने पनि उल्लेख गरे। यसैबिच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ। महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव ०८०÷८१ का लागि रु ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु २ अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ । महानगरले चालु बजेटतर्फ रु २ अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा रु १ अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो । यस्तै पुँजीगत बजेटतर्फ ३ अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो । महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत खर्च कम देखिएको बताउनुभयो । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पारे। कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिए।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५०० रुपैयाँ बढेको छ । आज छापावाल सुन तोलामा एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन तोलामा एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरे ।
भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम
भरतपुर । चितवनको भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सोमबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे । दुई स्थानिय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ ।दुई स्थानिय तहको विका स र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। कार्णालीको सबैभन्दा विकट मानिएको पचालभरना गाउँपालिका र सुगम जिल्ला चितवनको भरतपुरबीच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालले बताइन्। पचालभरना गाउँपालिका र भरतपुरबीच आर्थिक, साँस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्यव गरी अगाडि बढ्ने प्रमुख दाहालको भनाई छ । कार्यक्रममा बोल्दै पचालझरना गाँउपालिकाका अध्यक्ष देवराज शाहीले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाँउपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए। अध्यक्ष शाहीले गाँउपालिकालाई आउने समानिकरण बजेट न्युन रहेकाले आवश्यकता अनुसार विकास गर्न सम्भव नरहेको उल्लेख गरे । भरतपुर महानगरसँगको भगिनी सम्बन्धपछि गाँउपालिकाले विकास र समृद्धिको बाटो थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र पचालझरना गाँउपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ । दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरुलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने, उद्यमशीलतामा बृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्धमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रबर्द्धन र विकास गर्नेलगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पचालझरना गाँउपालिकाका उपाध्यक्ष अल्किना बमलगायत दुबै पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
भरतपुर भ्रमण वर्षको प्रभाव भरतपुरका होटलहरु भरिभराउ, व्यवसायी उत्साहित
चितवन । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच व्यवसायीहरु बताँउछन् । पर्यटकहरु भरिभराउ भएपछि अन्य ठाँउमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए। भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको संख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जिव दास श्रेष्ठले जानकारी दिए। सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको संख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरुमा आएका छन् । भरतपुरका तटिय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेका देशबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण ९जगतपुर लज०, टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरु हुन् । हात्ती सफारी, जङगल सफारी, बोटिङ, जङगल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतीहरु तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरु यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए । बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाँउमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले भ्रमण वर्ष आयोना गर्न खोजेको उदेश्य पुरा हुँदै गईरहेको बताईन् ।यो अभियान एक वर्षसम्म मात्र होईन सधैका लागि हुने गरी भरतपुरको ब्राण्ड स्थापित गरिने उल्लेख गरिन ।भरतपुरको गोलाघाटदेखि पहिटानीसम्म रहेका होटलसँगै यहाँका वस्तीहरुमा १०० वटा होमस्टेहरु खुलेका छन् । भ्रमण वर्षको सन्दर्भमा थोरै लगानीमा गुणस्तरीय सेवा दिने गरी खुलेको होमस्टेहरुमा पर्यटक आउने क्रम जारी रहेको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, ज्ञानेवर ब्लक, चौकी डाँडा, नारायणी सि बिच मोडललाई प्रमुख ७ पर्यटकीय गन्तव्यमा राखेको छ । यसबाहेक ३५ वटा स्थानलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ । भ्रमण वर्षको अवसरमा सञ्चालनमा आएको पाटेबाघ हेर्ने सुविधासहित वन्यजन्तु उद्धार केन्द्रमा पर्यटकको घुइचो छ । निकुञ्जका अनुसार दैनिक २ हजार जना बाघ अवलोकनका लागि आएपनि सबैलाई देखाउन सकिएको छैन । यस्तै शीतकालिन दरबारको रुपमा रहेको ऐतिहासिक दियालो बंगला वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको छ ।
सहकारीको समस्या समधानमा जिल्ला सहकारी संघ चितवनले अगुवाई गर्नुपर्छ : प्रमुख रेनु दाहाल
चितवन । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सहकारी देखिएको समस्या समधानको लागि चितवन जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्ने बताएकी छिन्। ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न भरतपुर महागनर पनि सकारात्मक रहेको उल्लेख गरिन्। सहकारीको जननी जिल्ला चितवन र भरतपुर १९ साविकको बखानपुर भएकाले यहाँबाट देशलाई सुशासनको सन्देश दिनुपर्ने प्रमुख दाहालले बताइन्।हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । महानगरपालिकाले यहाँ रहेका ३ सय ६३ वटा सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रकृयालाई अगाडि बढाएको उनले बताइन्।सहकारीलाई नियमन गर्ने विषयमा स्थानीय निकायलाई सिमित अधिकार दिइएकाले पूर्ण रुपमा नियमन गर्न नसकिएको प्रमुख दाहालले बताइन्।महानगरपालिकाले सहकारी क्षेत्रको विकास गर्न वर्षेनी ठुलो बजेट विनियोजन गर्ने गरेको प्रमुख दाहालले बताइन्। महानगरपालिकाले विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर रु ३ अनुदान दिदै आएको उनले बताइन् । महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाईजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ । सहकारीले देशको आर्थिक र सामाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीलाई थप उत्पादनमुखी बनाउनुपर्नेमा प्रमुख दाहालले जोड दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भएमात्र कुनै पनि समस्या नआउने बताए। चितवनमा बाहिरी जिल्लाबाट आई सहकारी विस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाँउमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराईज जस्ता सहकारीमा समस्या देखिएको उनको भनाई छ ।अहिले चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको उनले प्रष्ट पारे। काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगञ्जजस्ता ठाँउबाट शाखा विस्तार गरी यहाँ आएका सहकारीले १८ प्रतिशत ब्याज दिने लोभ देखाएर बचत गरी ठुलो रकम दुरुपयोग गरेको पाइएको सहअध्यक्ष दवाडीले बताए । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, संघका संस्थापक अध्यक्ष टेकप्रसाद गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए।भरतपुर महानगरपालिकामा बचत तथा ऋण सहकारी १ सय ३१, दुग्ध सहकारी ७४, कृषि सहकारी ४५, बहुउद्देश्यीय सहकारी ३६, साना किसान सहकारी १२, तरकारी तथा फलफुल ६, उपभोक्त ४, संचार २, जडीबुटी २, मत्स्य १, मौरी सहकारी १, पर्यटन सहकारी १ र संघ, प्रदेश र भरतपुरमा दर्ता भएका ८ वटा सहकारी छन् । चितवन जिल्लाभर ८ सय सहकारी रहेका छन् । सहकारी विभागका अनुसार नेपालभर ३१ हजार सहकारी सञ्चालनमा छन् । सहकारीको योगदान नेपालको अर्थतन्त्रमा ८ खर्बको योगदान रहेको छ ।
वाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सरकारलाई ५६ सांसदको समर्थन चाहिएकोमा मुख्यमन्त्री जम्कट्टेलले त्यति नै मत पाएका हुन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्। सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् । उनलाई माओवादी केन्द्र, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी (हानेपा)ले विश्वासको पक्षमा मत दिएका थिए । हानेपाका दुई सांसदमध्ये सरिता खड्गी भने अनुपस्थित रहिन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जम्कट्टेलको विपक्षमा मतदान गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद भने तटस्थ रहे । माओवादी संसदीय दलका नेता जम्कट्टेल ०७९ पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले यसअघि ०७९ माघ ३ गते र सोही वर्षको चैत १० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।
क्रान्तिकारीका नेतालाई सांघातिक हमला गर्ने अखिलका दुई कार्यकर्ता नियन्त्रणमा
काठमाडौँ । लैनचौरस्थित अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरु एमाले निकट अखिलका कार्यकर्ताहरू हुन् । उनीहरूको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अस्कल इकाई अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् । भलिबल खेल्दा विवाद भएपछि आरोपीहरूले आक्रमण गरेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।भण्डारीको मुख र नाकमा चोट लागेको छ भने शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ । उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही रहेका छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएको प्रहरीले बताएको छ । अखिल क्रान्तिकारीका बागमति प्रदेश अध्यक्ष सञ्जिव रेग्मीले अनेरास्ववियूको राजनीतिक संरक्षणमा आपराधिक पृष्ठभूमिका कमलराज जोशीको योजनामा आइतवार साँझ पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समुहले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् । सांघातिक आक्रमणबाट अमृत साइन्स क्याम्पस क्रान्तिकारीका अध्यक्ष कमरेड जितेन्द्र भण्डारी र उपाध्यक्ष कमरेड विश्राम शर्मा गम्भिर घाइते बनेको उनले जानकारी दिए । यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरु मुकदर्शक बनेर बस्नु आफैमा रहस्यमयी रहेको बताउँदै उनले सो घटनाप्रति घोर आपत्ति जनाएका छन्। उनले घटनाका योजनाकार जोशी र घटनामा संलग्न अन्य अभियुक्तहरु पाण्डे सहितको आपराधिक गिरोहलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ ।कुटपिट गरेको आरोप लागेका खेम सिंह फरार रहेको पाइएको छ ।
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौ । बागमती प्रदेशसभाका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।आज दिउँसो १ बजे प्रदेशसभा भवन हेटौँडामा बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुनेछ । बाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन्।जम्कट्टेलले पुनः विश्वासको मत लिनै लाग्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफुले कम्तिमा एक मुख्यमन्त्री पाउनुपर्ने लगायतका नियुक्तिमा आफ्नो हिस्सा बलियो बनाउने गरी छलफल चलाएको छ । विभिन्न माग राखेर पुरा नभए बाग्मती प्रदेश सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको भएपनि विश्वासको मत दिने एक नेताले जानकारी दिए ।माधव नेपालका माग र विश्वासको मतबारे केन्द्रमा आज पनि छलफल हुने नेताहरुले बताएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेसले समर्थन फिर्ता लिएको चैत २२ गते एक महिना पूरा हुँदैछ ।११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जोगाइराख्न ५६ सांसदको आवश्यकता पर्दछ । बागमती प्रदेशमा सत्तापक्षमा रहेका नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् । यस्तै, प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सदस्य छन् ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्धारा स्रष्टालाई सम्मान
चितवन । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेकोछ। आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरकाउपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपकुलपति इन्द्ररेग्मीले संयुक्त रुपमा स्रस्टाहरूलाई सम्मानतथा पुरस्कृत गरेका हुन् । प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्नसम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा “प्रथा”लाई सम्मान गरिएको हो। भरतपुर–४ चितवन निवासी थापालाई ५० हजार७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा.डा.कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ। भरतपुर– १२ निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो ।त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डि.आर. पोखरेललाई प्रदानगरिएको छ। संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी पोखरललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो। त्यस्तै, वागीश्वरी प्रज्ञा पुरस्कारसिम्रन क्षेत्रीको झुमर उपन्यासलाई दिइएको छ । भरतपुर–१ नारायणगढनिवासी क्षेत्रीलाई रु.२५ हजार ७८, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको घरबारीमा तोरी फुल्यो कवितासंग्रहलाई दिइएको छ। पुरस्कारको राशि रु. २५ हजार ७८ रुपैयाँ सम्मानपत्ररहेको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेवखनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । पुरस्कारको राशि रु.२५हजार ७८ रसम्मानपत्र रहेको छ । त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता २०८० मा पुरस्कृत स्रस्टालाई पनिसम्मान गरिएको छ । प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको अन्तिम पथ शीर्षकको कथासर्वोकृष्ट बनेको थियो । लम्साललाई रु. ४० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो । लमजुङकी अनिता पन्थीको मृत्युको अपिल शीर्षकको कथाले उत्कृष्ट स्थान हासिलगरेको छ । पन्थीलाई रु. ३० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो ।त्यस्तै काभ्रेका समीप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान गरेकोछ । खड्कालाई रु. २० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला)को पहिचान र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथालेप्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही रु। १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृतगरियो ।प्रतिष्ठानले “मेरो सपनाको भरतपुर” शीर्षकमा चितवन जिल्ला स्तरीय निबन्धप्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारीरविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले रु। १० हजार ७८ रप्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उनले रु.८ हजार ७८ र प्रमाणपत्र पाइन् ।त्यस्तै चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ। उनलाई रु.६ हजार ७८र प्रमाणपत्र दिइयो ।त्यस्तै, प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोषसुवेदी र स्वस्तिक शर्मालाई जनही रु. ४ हजार ७८ र प्रमाणपत्र दिइएको छ ।प्रज्ञा प्रतिष्ठानकासदस्य सचिव बालकृष्ण थपलियाले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।प्रज्ञापरिषद्का उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु
रामेछाप । मौसम खुलेपछि मन्थली–लुक्ला उडान फेरि सुरु भएको छ । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा प्रतिकूल मौसमका कारण विमान उडाइएको थिएन । लुक्लामा प्रतिकूल मौसमका कारण सीता, तारा र समिट एयरका विमान मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ थिए । सो अवधिमा निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुकै सुर्केमा पुर्याइएको थियो । सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो । आइतबार (आज) बिहान ६ बजेदेखि मौसम खुलेका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले जानकारी दिए । मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर विमान आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले जानकारी दिए ।
भरतपुर भ्रमण वर्ष : राप्तीमा छाडियो २० वटा घडियाल गोही
चितवन । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडिया गोहीलाई राप्ती नदीमा छाडिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिक राप्ती नदीमा ७ वर्ष पुरा भएका घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडेकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले वर्षेनी बाढीका समय घडियाल गोही बघाएर भारत जाने समस्याको दीर्घकालिन समधान खोज्नुपर्ने बताइन्। घडियाल गोही अन्य गोही प्रजातिको तुलनामा स्वच्छ ठाँउ तथा पानीमा बस्न मन पराउने र सफा पानीमा भएको माछा खाना मन पराउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने औल्याइन्। नयाँ रौनक ल्याउने, मन्द आर्थिक गतिविधिलाई चलायमान बनाउने र सबैमा सकारात्मक भावना पैदा गराउने भ्रमण वर्षको मुख्य उद्देश्य रहेको उहाँले बताइन्। ‘भ्रमण वर्ष मनाइ रहदा भरतपुरका होटलहरु पर्यटकहरु भरिभराउ छन्’,उनले भन्,ि‘महानगरपालिकाको चाहाना पनि यही हो । उत्साहाजनक महोल वृद्धि हुँदै गइरहेको छ । यसलाई वर्षभरि नै निरन्तरता दिने गरी अघि बढेका छौ ।’ घडियाल गोही भरतपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने धाराणा राखिन्। प्रमुख दाहालले प्रजनन् केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक यहाँ आउने गरेकाले अनुसन्धानको थलो बनेको बताइन् । भरतपुर भ्रमण वर्षको अवसरमा चितवन राष्ट्रिय निकुञ्जलाई थप ब्राण्डिङ गर्न थप पर्यटकीय सम्भावनाको खोजी भइरहेको प्रमुख दाहालले जानकारी दिइन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले गडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदुषणमुक्त बनाउनुपर्नेमा जोड दिइन्। घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बंगलादेशमा र म्यानमारमा करिब १० हजारको संख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो संख्या संकटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्ने उहाँको भनाइ थियो । गोही संरक्षणका लागि विस २०३० मा स्थापन भएको प्रजनन केन्द्रले गोहीको अण्डा संकलन गरि वार्षिक २०० बच्चा उत्पादन गर्ने गरेको छ । जसमध्ये १५० गोहीलाई बचाउँन सकिने निकुञ्जको तथ्याङक छ । निकुञ्जका अनुसार प्रजनन् केन्द्रमा हालसम्म १९ सय १७ वटा छाडिएको छ । राप्ती नदीमा ११ सय ६२, नारायणी नदीमा ४१९, बबई नदीमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका चैधर खोलामा २५ वटा घडियाल छाडिएको छ । निकुञ्का सूचना अधिकारी गणेश तिवारीले छाडिएको घडियाल गोहीमध्ये राप्तीमा १५२ र नारायणीमा ११३ गरी २६५ वटा गणनाको क्रममा भेटिएका छन् । जसमध्ये राप्ती र नारायणीमा ३/३ वटा भाले घडियाल गोही छन् । यो बाहेक प्रजनन् केन्द्रमा ६४८ वटा घडियाल गोही रहेका छन् । घडियाल प्रजनन् केन्द्रमा भाले घडियाल गोही न्युन संख्यामा उत्पादन हुने गरेको छ ।
बागमतीका मुख्यमन्त्रीले १९ चैतमा विश्वासको मत लिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । केन्द्रमा समीकरण फेरिएपछि २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ । ११० सदस्य रहेको वाग्मती प्रदेशसभामा ५६ मत जुटाएमा जम्कट्टेल मुख्यमन्त्रीमा कायम रहनेछन् । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच विहीबार सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुट्ने निश्चित भएको छ । बागमती प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।
वाग्मतीको मुख्यमन्त्रीमा जम्कट्टेललाई निरन्तरता दिने चार दलीय सहमति
काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच वाग्मती प्रदेशमा सरकार निर्माण गर्ने सहमति भएको छ । बिहीबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ । उनीहरूबीच प्रदेशसभाको बाँकी पूरै कार्यकालका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको नेतृत्व केन्द्रको निर्णयअनुसार सहकार्य गरेर गर्ने भनिएको छ । दलहरूबीच सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र गठन गरेर साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ । सहमतिपत्रमा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् । एकसय १० सदस्यीय वाग्मती प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । हाम्रो नेपाल पार्टीका दुई सांसद थपिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ । हेर्नुहोस् सहमतिपत्र