गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन टेण्डर आह्वान
काठमाडौं, फागुन १७ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न टेण्डर आह्वान गरेको छ। महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माणका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा छ। रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ।
भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यका अनुसार टेण्डरको प्रस्ताव ३१ औं दिनमा खोलिनेछ र त्यसको करिब दुई हप्तामा प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ।
रंगशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथामिकता दिइने महानगरपालिकाका वरिष्ठ ईन्जिनियर आचार्यले जानकारी दिए। टेण्डर सम्बन्धी गुनासो भए २० दिनभित्र महानगरपालिकामा सम्पर्क गर्न प्रकाशित सूचनामा भनिएको छ ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
महानगरपालिकाले विगत पाँच वर्षमा सरदर ५८ करोडको वार्षिक निर्माण कारोबार गरेको राष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरी रंगशाला निर्माणको प्रक्रिया सुरु गरेको हो।
यसअघि, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको पहलमा वागमती सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो । गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।
महानगरपालिका प्रमुख दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने विश्वास व्यक्त गरिन् ।
संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।
संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।
भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै
चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।
भरतपुर–१० वडावासीलाई उपचारमा ५० प्रतिशत छुट
चितवन । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५० प्रतिशत एवं औषधिमा सात प्रतिशत छुट दिइने उल्लेख छ । मेडिकल कलेज सोही वडामा पर्छ । वडाध्यक्ष परमेश्वर खनाल र चितवन मेडिकल कलेजका तर्फबाट व्यवस्थापक पारस अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै, वडाध्यक्षको सिफारिसमा चितवन रोयल क्यान्सर इन्स्टीच्युटमा सञ्चालित सिटीइभिटीको पढाइमा वडावासी विद्यार्थीले १० प्रतिशत छुट प्राप्त गर्ने छन् । छुट सेवा लिनका लागि वडा कार्यालयले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । प्रथम पक्ष अर्थात् वडावासीले सिधै खरिद गरेका कुनै पनि सामानमा सम्झौता लागू नहुने र अस्पतालको आकस्मिक कक्ष एवं बहिरङ्ग टिकटमा समेत छुट गर्ने गरी सम्झौता भएको वडाध्यक्ष खनालले जानकारी दिए । वडा कार्यालय र अस्पतालबीच भएको सम्झौता २०८४ चैत ३० गतेसम्म लागू हुनेछ । वडा कार्यालयले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । मेडिकल कलेजले अन्य पालिकासँग समेत सम्झौता गरेर छुटमा उपचार गरिरहेको छ ।
नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउदै
भरतपुर । नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउने भएको छ । केन्द्रले २०८० फाल्गुन १४ देखि २१ गतेसम्म विविध कार्यक्रम गर्दै सहिद सप्ताह मनाउन लागेको माओवादी केन्द्र चिवनले जनाएको छ । जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.स)को अध्यक्षतामा फाल्गुन ११ गते जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सप्ताहको पहिलो दिन फाल्गुन १४ गते अखिल नेपाल खेलकुद महासंघद्धारा पुरुष तर्फ ५ किलोमिटर एवं महिला तर्फ ३ किलोमिटर दुरिको 'शहिद स्मृर्ती रोड रेस प्रतियोगिता' र शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम गर्ने, फाल्गुन १६ गते 'जेल (हिरासत) बसेका योध्द्धाहरुलाइ सम्मान' कार्यक्रम गर्ने, फाल्गुन १७ गते 'जेष्ठ कम्युनिष्ट सदस्य सम्मान कार्यक्रम गर्ने, फाल्गुन १९ गते 'जनयुद्ध जनआन्दोलनका घाईते योध्द्धा सम्मानू कार्यक्रम गर्ने, फाल्गुन २० गते बृहत् खुल्ला 'रक्तदान कार्यक्रमू कार्यक्रम गर्ने माओवादी केन्द्र चिवनले जनाएको छ । भने फाल्गुन २१ गते अन्तिम दिन 'बलिदान राष्ट्रका लागी अन्र्तक्रिया' कार्यक्रम गर्ने जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । भरतपुर महानगरको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ पनि यसै सहिद सप्ताहकैबीच हुन लागेको हुँदा फाल्गुन १८ गते हुन गैरहेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ कार्यक्रममा सहभागी हुँदै पाहुनाहरुको स्वागत सम्मानमा सम्पूर्ण पार्टी पंक्ति लाग्ने समेत निर्णय गरीएको माओवादी केन्द्र चितवनले जानकारी दियो । सहिद सप्ताहलाई सफल बनाउन सम्मान पत्र लेखन समिति, मंच व्यवस्थापन समिती तथा आर्थिक व्यवस्थापन समिति गठन गरी काम अगाडि बढाइएको जिल्ला सचिव द्रोणबाबु सिवाकोटीले जानकारी गराए ।
अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अटिजम भएका विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्न विषेश विद्यालय स्थापना गरिएको बताएकी छिन् । प्रजातन्त्र दिवस २०८० को अवसरमा मंगलबार भरतपुरमा रहेको अटिजम विषेश विद्यालय भरतपुर १० मा भएको शैक्षिक तथा खेलकुद सामाग्री हस्तारण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले अन्य सामान्य बच्चाको भन्दा बढी स्याहार गर्नुपर्ने भएकाले महानगरले पनि अभिभावकत्व गर्न प्रयत्न गरेको उल्लेख गरिन् । नेपाल सरकारको मन्यता प्राप्त पहिलो अटिजम विषेश विद्यालय भरतपुर महानगरले स्थापना गरेपनि स्तरोन्ति भने प्रयाप्त रुपमा नभएको प्रमुख दाहालले बताइन्।विगत र अहिले केही परिवर्तन भएपनि गजब्बको परिवर्तन नभएकाले आगामी दिनमा महानगरपालिकाले प्राथामिकतामा राखेर काम गर्ने बताइन्। महानगरपालिकाले महानगरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन बालकुमारी सुस्त मनस्थिति विद्यालय, वौद्धिक अपङ्गता भएकालाई नारायणी मावि विषेश कक्षा, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत कक्षा, आमा बुवा नभएकालाई पिटुसिटु र अनाथ विद्यार्थीलाई एसओएसमा अध्ययन गराउन मिलाउने सुविधा मिलाइएको बताइन्। कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले अटिजम भएकालाई राम्रो व्यवहार र विषेश स्याहार गर्नुपर्ने उल्लेख गरे ।अटिजम भएका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सामाग्रीहरु हस्तान्तरण गरे । विषेश विद्यालयका ४० र बालकुमारीका १३ जना गरी ५३ जनालाई सामाग्री हस्तान्तरण गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।
परिवर्तन त्यसै सम्भव भएको होईन, उल्टिँदैन : सांसद माझी
मकवानपुर, ७ फागुन । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले नेपालको राजनीति सामाजिक परिवर्तन त्यसै सम्भव नभएको बताएकी छिन् । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपाल मकवानपुरको जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रूपमा सम्वोधन गर्दै मोर्चाकी महासचिव समेत रहेकी सांसद माझीले गणतन्त्र स्थापनामा २६ जना माझी समुदायका युवा युवतीले वलिदान गरेको बताइन् । अहिले मानिसहरूले परिवर्तन त्यत्तिकै आएको र यत्तिकै उल्टिने कुरा गरिरहेकोमा आपत्ति जनाउँदै उनले परिवर्तन र गणतन्त्र कुनै हालतमा नउल्टिने बताइन् । उनले गणतन्त्र, संघियता, समानुपातिक समावेशी व्यवस्थासहितको नयाँ नेपालको स्थापनाको लागि माझी समुदायले गरेको त्याग, बलिदान र सौर्यको कदर गर्दै आफुलाई माओवादी पार्टी र अध्यक्ष प्रचण्डले सांसद बनाएको उल्लेख गरिन् । हिजो एकात्मक सामन्ती राजतन्त्रले अत्यन्तै उत्पीडनमा पारेको माझीलगायतका समुदाय, महिला, दलित, आदिवासीजनजातिले गणतन्त्र र परिवर्तनको कारण नै राज्यको मुल प्रवाहमा र नीति निर्माण तहमा प्रवेश पाएको तथ्यलाई विर्सन नहुने बताइन् । उनले माझी समुदायले माओवादी र जनयुद्धको पक्षमा निरन्तर लाग्न र प्रतिक्रियावादी र परिवर्तनविरोधीको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन पनि दिइन् । उनले अहिलेको गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताइन् । उनले माझी समुदायले राजनीति सामाजिक चेतनामा विकास गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले माझी समुदायको प्रमुख चाड लदी पुजालाई राष्ट्रिय पर्वमा सुचिकृत गरि सार्वजनिक विदा दिनुपर्ने कुरामा केन्द्र सरकारको ध्यानाकर्षण गराएको जानकारी दिँदै बागमती प्रदेश सरकारले सुचिकृत गरि विदा दिएकोमा धन्यवाद दिइन् । उनले बागमती प्रदेश सरकारले माझी समुदायलाई मात्रै नभई सबैलाई सार्वजनिक विदा दिन माग पनि गरिन् । भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन सम्मेलनबाट भुमिलाल माझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको उपाध्यक्षमा भुपु माझी र मिरा माझी चयन भएका छन् भने सचपवमा कुसुम माझी र सहसचिवमा श्रवण माझी तथा कोषाध्यक्षमा राधिका माझी चयन भएका छन् । सम्मेलनमा विषेश अतिथिको रूपमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, माझी राष्ट्रिय मुक्ति मोर्चाकी नेतृ तथा केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझी, केन्द्रिय सदस्य कृष्ण बहादुर माझी, दन्तलाल माझी, किरण माझी, बागमती प्रदेश कोषाध्यक्ष नारायण माझी, गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री लगायतले मन्तव्य राख्नु भएको थियो।
भरतपुरमा शिक्षाको विकास सोचेको भन्दा राम्रो भएको छ : मेयर रेनु दाहाल
शुक्रनगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयको ५२ अ वार्षिकोत्सवको सोमबार शुबनगरमा उदघाटन गर्दै महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताइन । महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तरउन्नतिदेखि शैक्षिक पूर्वाधार विकास गर्दै प्रबिधिमैत्री शिक्षण सिकाईमा जोड गरेको बताउँदै दाहालले महानगरका नीजि विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी निरन्तर खटिएको बताईन् । उनले भनिन, ‘अबको शिक्षा वैज्ञानिक, सीपमुलक र व्यवहारीक हुन जरुरी छ, गुणस्तरिय शिक्षा दिन जरुरी छ, विद्यालयहरु प्रविधिमैत्री हुनुपर्छ, यसमा महानगरले जोड दिइरहेको छ।’ भरतपुर महानगरले शैक्षिक गणुस्तर र भौतिक पूर्वाधार विकासलाई सँगसँगै लैजाने उनको भनाइ थियो । भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले पर्याप्त पर्यटकीय पूर्वाधार र प्रचार प्रसारको अभावमा पर्यटकीय हब नै बन्ने यो ठाउँ ओझेलमा परेको बताए। उनले यस क्षेत्रमा केही वडास्तरीय पर्यटकीय पूर्वाधार निर्माण भइसकेको छ भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढेको उनले बताए । प्रधानाध्यापक होमनाथ भण्डारीले विद्यालयले सञ्चालनमा ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको वताए। विध्यालयको अर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रश्तुत गर्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अध्ययनसँगै श्रम र सीप विस्तार गर्ने गरी सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु इन्टरलक ब्रिफ, मोज्याक टायल, इको ब्लक बनाउन जुटेका छन । सरकारको पढ्दै कमाउँदै कार्यक्रमभित्र परेको यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङको पढाइ हुने वताए। उक्त कार्यक्रमका लागि संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयलाई १० लाख उपलब्ध गराएको र सोही रकमबाट ब्लक इँटा बनाउने मेसिन खरिद गरेर विद्यार्थीहरुलाई उत्पादनसँग जोडेको प्रधानाध्यापक भण्डारीले बताए । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी आयआर्जन पनि गर्ने योजनाका साथ यो कार्यक्रम लागू गरिएको उनले बताए । वि.सं.२०२८ सालमा स्थापना भएको विध्यालयमा विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरू गरेको हो। उनका अनुसार कक्षा ९ मा २७ जना, कक्षा १० मा ३७ जना, कक्षा ११ मा १८ जना र कक्षा १२ मा २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरु कक्षा १२ उत्तीर्ण गर्दैगर्दा सब–इन्जिनियर हुन्छन् ।
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित
चितवन,फागुन ६ । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ । उनीहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सशस्त्र प्रहरीका एसपी शशी पाण्डे, चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीलगायतले दीक्षित गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गरिमालाई उच्च राख्दै अनुशासित, निपक्ष, इमान्दार र कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न निर्देशन दिए । भरतपुर महानगरपालिका हरेक क्षेत्रमा अब्बल रहेको र नगर प्रहरीले पनि देशकै उत्कृष्ट परिचित भएकाले नगर प्रहरीले शान्ति, सुरक्षा, फुटपात व्यवस्थापन गरी उदाहरीण काम गर्न शुभकामना दिए । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले महानगरका हरेक गतिविधिमा नगर प्रहरीले सक्रियताका साथ भूमिका निर्वाह गरी सुन्दर, शान्त महानगर निर्माणमा सहयोग पुराउनुपर्ने बताए । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरका निर्णयलाई अक्षरस पालना गराउनु नगर प्रहरीको दायित्व भएकाले बिना कुनै त्रास काम गर्न अनुरोध गरे। विस २०५२ सालमा ५ जना नगर प्रहरीको दरबन्दी लागु भएको महानगरपालिकामा क्रमशः दरबन्दी थप भई हाल संख्या ७३ जना पुगेको छ । गत पुस ६ गतेदेखि महानगरपालिकाको नगर प्रहरी प्रमुखको कमाण्ड कृष्णहरि ढकालले सम्हाल्नु भएको छ । नगर प्रहरीको संख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यकरण लगायतका कामहरु अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ । नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वन गर्ने गराउने, सार्वजनिक सम्पतिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरुको कार्यान्वन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।