कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल । काभ्रेपलान्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी खेतीको गण्डकी प्रदेशअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका कृषकहरूले अवलोकन गरेका छन् ।

अन्नपूर्ण गाउँपालिका–१ भूगाईथरस्थित माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था लिमिटेडका अगुवा कृषकको नेतृत्व गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको टोलीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको अवलोकन गरेको हो । कफी खेतीको अवलोकन भ्रमणमा सहभागी कास्की जिल्लाका जिल्ला कफी उत्पादक सहकारी सङ्घका अध्यक्ष आनन्द सुवेदीले महाभारत गाउँपालिकाले सुरु गरेको कफी खेती किसानको हितमा रहेकाले यसलाई मध्यनजर गर्दै सरकारले यसको अनुसरण गरेर नेपालका मध्य पहाडी क्षेत्रका जिल्लाहरूमा विस्तार गर्नुपर्ने बताए ।

सो अवसरमा कृषकहरूसँग भेटघाटपछि महाभारत गाउँपालिकाले कफी खेतीलाई धेरै महत्वका साथ अगाडि बढाएको पाएको कास्कीका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बताए । ‘यहाँका कफी खेतीको अवस्था हेरेपछि गाउँमा बाँझो छोडिएका जमिनमा मात्रै कफी खेती गर्न सकेको खण्डमा विदेश जानु नपर्ने अवस्था बनाउन सकिने रहेछ”, उनले भने, “अरूलाई गाली र आलोचना गर्नुको साटो मेहनतमा रमाउन सकेको खण्डमा एउटा मान्छेले कतिसम्म गर्न सकिँदो रहेछ भन्ने कुरा महाभारतको किसानबाट शिक्षा पाएँ ।”

महाभारत–१ का कफी उत्पादक कृषकहरूले महाभारतको कफी उत्पादनको विषयमा सञ्चारमाध्यममा धेरै आएको पाएपछि अवलोकन भ्रमण गर्न सो ठाउँलाई रोजेको बताएका छन् । महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले महाभारत गाउँपालिकामा भइरहेको कफी खेतीको विषयमा चासोका साथ देशका विभिन्न ठाउँका कृषकले अवलोकन भ्रमण कृषकका लागि खुसीको विषय भएको बताए । गाउँपालिकाले अगाडि सारेको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँको रु बीसको नोट’ अभियान र पालिका सरकारको दृष्टिकोणअनुसार प्रदेश सरकारसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’ अन्तर्गत कफी खेती अभियानले महाभारतलाई थप उचाइमा पुर्‍याएको महसुस भएको उनले बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले किसानको आर्थिक उत्पादनको अवस्थालाई ध्यानमा राख्दै पालिकाले उत्पादनमा आम्दानीको रूपमा कफीलाई बनाउने उद्देश्यसहित पर्यटकलाई महाभारतमा कफी हेर्न आउने बनाउने लक्ष्यका साथ योजनाबद्ध रूपमा अगाडि सारेको बताउनुभयो । कफीको बजारलाई हेरेर समृद्धिमा उत्पादनलाई कसरी जोड्ने भन्ने राष्ट्रिय नीतिअनुसार नै किसानको उत्पादनलाई जोड दिएर काम अगाडि बढाइरहेको उहाँले बताउनुभयो । त्यससँगै उहाँले चिया खेती हेर्न इलाम गए जस्तै कफी खेतीको उत्पादन हेर्न महाभारत जाउँ भन्ने नारालाई स्थापित गर्ने गरी काम भइरहेको छ ।

करिब ६० कृषकहरूको अवलोकन भ्रमण टोलीले महाभारत–५ को खोलाघारी, भर्लेनी, मुखियटोल, खेतडाँडा, बार्तली र वडा नं ४ को लामीडाँडा लगायतका ठाउँमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम गाउँपालिकाको ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु बीसको नोट’ अभियान अन्तर्गत कफी नर्सरी, इजराइली प्रविधिबाट मल्चिङ र थोपा सिँचाइ प्रविधिको कफी खेती, छहा री विधि र पोखरी सिँचाइलगायत खेतीका कार्यक्रमको अवलोकन गरेका थिए । अहिलेसम्ममा गाउँपालिकाको तीन हजार २०० भन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक कफी खेती विस्तार गरेको छ ।

विसं २०७८ बाट यहाँका कफी खेती गर्ने किसान, कृषि सहकारी र समूहलाई गरी तीन लाख ३१ हजारभन्दा बढी बिरुवा वितरण गरिसकेको छ भने यसवर्ष एक लाख कफीको बोट वितरणका लागि आवश्यक बिरुवा उत्पादन गरिसकेको छ । किसानको उत्साहलाई साथ दिनका लागि पालिकाले अनुदानमा कफीको बोट वितरण, आवश्यक उपकरण वितरण गर्नुका साथै प्रशोधन गर्ने उपकरणहरू वितरणलाई जोड दिँदै आएको छ । उत्पादन र गुणस्तर राम्रो भएको महाभारत गाउँपालिकामा कफीको बजारीकरणसमेत राम्रो भएको तथा यस वर्ष मात्रै ८० टनभन्दा बढी कफी उत्पादन र निर्यात भएको गाउँपालिकाले जनाएको छ ।

रुकुमपूर्वमा प्रचण्डका सात दिन, सात सन्देश

मनोज घर्तीमगर माघको अन्तिम दिनको साँझ रुकुमपूर्वको हिउँको चर्चा भयो – जसै हिउँको थुप्रोले प्रचण्डलाई स्वागत गरे । प्रचण्ड हिउँको थुप्रोमा रमाएको फोटो, भिडियो छ्यापछ्याप्ती हुने नै भए । त्यसपछिका एक साता सामाजिक सञ्जाल र सञ्चारमाध्यम रुकुममय भए । प्रचण्डमय भए । ३१ वटा वडा रहेका रुकुमपूर्वका अधिकांश वडामा प्रचण्डका पाइला परे । सबै वडाका जनता भेटे । मगर संस्कारमा फेटा गौरव, सामाजिक सम्मान र पहिचानको प्रतीक हो । लामो सेतो कपडा टाउकोमा घुमाएर बाँधिनुलाई फेटा लगाउनु भनिन्छ । मुख्यतः यो विवाहमा दुलाहा र उसका साथीहरुलाई गुठाइन्छ । भूमेलगायत चाडपर्व र पूजा तथा अन्य नाचगान र सांस्कृतिक प्रस्तुतिमा लगाइन्छ । प्राचीनकालमा टाउकोलाई घाम, चिसो, धुलोबाट बचाउन प्रयोग गरिएको फेटा साहस, सम्मान र पहिचानको प्रतीक हुँदै आज विशिष्ट व्यक्तिको सम्मानको सांस्कृतिक पहिचान बनेको छ । ५० प्रतिशत बढी मगरको बसोबास रहेको रुकुमपूर्वमा प्रचण्डको टाउकोमा फेटा गुठाइए । टाउकोमा फेटा छँदा पञ्चेबाजा घन्किदा कतै उनी दुलाहा जस्ता देखिए । जिन्दावाद र मुर्दावादको नाराले विजय उत्सव मनाइरहेका जस्ता देखिए । मैकोट, तकसेराजस्ता गाउँमा जनता र स्थानीयबाट भाषा, संस्कार, संस्कृति र इतिहास सुन्दै हिंड्दा अध्यता देखिए । उनी त्यही सुनिए पनि । र, देखिए न्याय, मुक्ति र स्वतन्त्रता दिलाएका वीर पुरुष । गौरव र आशाका प्रतीक । नेपाली कम्यृनिष्ट पार्टीका संयोजक प्रचण्ड रुकुमपूर्वबाट चुनावी मैदानमा छन् । अन्य पार्टीका शीर्ष नेताहरु उच्च दबाबमा रहेको समय प्रचण्ड तनावमुक्त देखिए । माघ २९ देखि ७ गतेसम्म आफ्ना मतदातासँग भेटघाट गरेका प्रचण्ड काठमाडौं फर्किए पनि रुकुमपूर्व प्रचण्डमय नै छ । यो रहिरहनेछ । रुकुममा प्रचण्ड नाचेको, हाँसेको, खाएको, हिँडेको सामाग्री आइसकेका छन् । यो आलेखमा रुकुममा प्रचण्डको उपस्थिति, त्यहाँका बारेमा उनको बुझाइ, संश्लेषण र भन्न खोजेको कुराको चर्चा गर्ने कोशिस गरिनेछ । प्रचण्डका सात दिन प्रचण्ड ७१ वर्षका हुन् । रुकुमपूर्वमा पुथा र सिस्ने हिमाल छन् । सानी भेरी र उत्तरगंगा नदि बग्छन् । प्रचण्ड हिमालको फेदमा हिउँजस्तै चम्किलो र नदि किनारामा नदि जस्तै बेगमा विजय भावमा हिँडे । मैले यात्रामा सोधेँ, ‘यो उमेरमा यत्तिको उर्जा कसरी आउँछ ?’ प्रचण्डको सरल जवाफ ‘शारीरिक रुपमा केहीं थकान महसुस् हुन्छ । जब जनताको माया र आशा देख्छु, त्यहीं नै उर्जा भर्ने इन्जेक्सन बन्छ ।’ माघको अन्तिम दिन हिउँसँगै जिल्लाका नेता कार्यकताले प्रचण्डलाई बागलुङ र रुकुमपूर्वको सिमावर्ती पातीहाल्नामा स्वागत गरे । लुगुममा जनभेटघाट गरे । यससँगै सुरु भयो प्रचण्डको मतदाता भेटघाट । सात दिनमा प्रचण्डले रुकुमपूर्वमा ३५ स्थानमा जनभेटघाट गरे । माओवादी जनयुद्धमा चर्चित बैठकस्थल चुनबाङ पुगे । महतको लाबाङ पुगे । जनयुद्धमा छापामारले गरेका ठूला आक्रमण स्थल महत, रुकुमकोट, तकसेरा पुगे । पर्यटकीय स्थल तकसेरा र मैकोट पुगे । रात र दिउँसोको समयमा सानीभेरी किनार र भीर पहरामा पैदल यात्रा गरे । स्थानीयको घरमा खाना खाए । बास बसे । जनभेटघाट गरेका हरेक स्थानमा पञ्चे बाजा बजाइए । स्थानीय सांस्कृतिक तथा पौराणिक नाच प्रस्तुत् गरिए । प्रचण्ड हरेक नाचमा सामेल बने । प्रचण्डका सात सन्देश कर्म भूमि आएँ प्रचण्ड रुकुमेलीसँग साक्षात्कार गर्दा नौलो देखिएनन् । रुकुमेलीले पनि नौलो मानेनन् । आफ्नै घर आगनमा बसिरहेको, हिँडिरहेको भावमा थिए प्रचण्ड । परिवारको सदस्यकै रुपमा लिए रुकुमेलीले । प्रचण्डले रुकुमपूर्वलाई आफ्नो कर्मभूमिको रुपमा चित्रण गरे । र, कर्मभूमिमा आएको बताए । यसमा पूर्ण सहमत छन् रुकुमेली । प्रचण्डले यो भूमिमा लामो कर्म गरेका छन् । उनी २०४१ सालमा रुकुमपूर्वमा पाइला टेकका हुन् । जनयुद्धको सुरुवात यहीं रुकुम, रोल्पाबाट सुरु गरे । माओवादीको केहीं ऐतिहासिक बैठक रुकुमपूर्वको चुनबाङ र लाबाङमा बसे । गणतन्त्र स्थापना गर्न रुकुमकोट, महत, तकसेरामा रहेका प्रहरी चौकीमाथि आक्रमण गरे । सामुदायिक समाजवाद प्रचण्डले रुकुमपूर्वमा सामुदायिक समाजवादको चर्चा गरे । नेपाली विशेषताको समाजवाद सामुदायिक हुने उल्लेख गरे । सामुदायिक समाजवाद रुकुमपूर्वबाट सुरु गर्न सकिनेमात्रै बताएनन् की त्यसको भ्रुण पनि देखेको बताए । सामुदायिक समाजवादका विविध पक्षको लामो चर्चा यहाँ सम्भव छैन । रुकुमपूर्वमा यसको अभ्यास कसरी हुनसक्छ र भइरहेको छ भन्ने मान्न त्यहाँको केहीं विशेषतालाई हेर्न सकिन्छ । त्यहाँ मगर, दलित र क्षेत्रीको बसोबास घना छ । त्यसपछि ठकुरीको बसोबास छ । ब्राहमण, गुरुङ, नेवार, थकाली पनि छन् । रुकुमपूर्वको खासगरी अझ माथिल्लो भूभागमा सबै जातिको संयुक्त बसोबास छ । संयुक्त रहन सहन छ । संस्कृति छ । पोषाक छ । मुख्य कुरा त त्यहाँका दलित र ठकुरीको पनि मगर खाम संयुक्त भाषा बनेको छ । जातीय छुवाछुत मुक्त छ । अन्तरजातीय विवाह छ । राजनीतिक प्रतिनिधित्व समान छ । सामाजिक आर्थिक अधिकारमा महिला माथि छन् । सबै समुदाय मातृसत्तात्मक छ । यहीं विशेषतालाई नै प्रचण्डले सामुदायिक समाजवादको भ्रुण भनेको हुनुपर्छ । प्रचण्डले नेपाली विशेषताको समाजवाद सामुदायिक हुने र त्यसको अभ्यास रुकुमपूर्वबाट थाल्ने बताएका छन् । र, रुकुमपूर्वलाई नमूनाको रुपमा अघि बढाउने बताएका छन् । मगर स्वायत्त क्षेत्र रुकुमपूर्व मगर खाम भाषी क्षेत्र हो । मगर संस्कार, संस्कृतिले समृद्ध छ । यहाँ प्रचण्डले रुकुमपूर्वसहित मगर क्लस्टरहरुहरुलाई स्वायत्त क्षेत्र बनाउने बताएका छन् । स्वायत्त क्षेत्रमार्फत मगर खामभाषालाई विश्वव्यापीकरण गर्ने बताएका छन् । विशेष तथा स्वायत्त क्षेत्र बनाउन सकिने संवैधानिक व्यवस्था र रुकुमपूर्वका मगरहरुको भाषा, संस्कार, संस्कृति, सभ्यताका आधारमा त्यो बन्न सक्छ । रुकुमपूर्वले मगर बस्तीलाई जिवित संग्राहलयको अवधारणा सारेर अभ्यास थालिसकेको पनि छ । दलितका लागि प्राधिकरण रुकुमपूर्वमा २१ प्रतिशत जनसंख्या दलित समुदायको छ । त्यहाँ जातीय छुवाछुत छैन । अवशेषहरु भने देखिन्छ । जातीय छुवाछुतसहितको विभेदको अन्त्य र राजनीतिक अधिकारका लागि प्रचण्डप्रति दलित समुदाय अनुग्रहित देखिन्छ । दलित समुदायले स्पष्ट रुपमा भनेका छन् की ‘तपाईंले गर्दा हामी मान्छे भएर बाँच्न पाउने भएका छौँ ।’ विभेदको पूर्ण अन्त्य, राजनीतिक अधिकार र आर्थिक सामाजिक विकासका लागि प्रचण्डप्रति पूर्ण आशावादी पनि छन् । प्रचण्डले रुकुमपूर्वमा दलित प्राधिकरण गठन गरेर यो समुदायको सर्वाङ्गिण विकास गर्ने बताएका छन् । विकास हेर्न रुकुम जाऔँ रुकुमपूर्वमा विकास नभएको होइन । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा सुरुभएको मध्यहाडी लोकमार्गले त्यहाँको मुहार फेरिएको छ । सहिद मार्गले यात्रा सहज भएको छ । अधिकांश वडा कार्यालयसम्म खुल्ला सडक छन् । विद्यालय, स्वास्थ्य भवन बनेका छन् । तर, यसमा सन्तोष छैन । प्रचण्डसँग रुकुमपूर्वले चौतर्फी विकासको अपेक्षा गरेको छ । सबै वडामा कालोपत्रे सडक, काँक्रीदेखि मैकोट, डोल्पाको सहरतारा हुँदै चीन जोड्ने सहिदमार्ग कालोपत्रे, ढोरपाटन जोड्ने उत्तरगंगा करिडोर, सानीभेरी करिडोर कालोपत्रे जस्ता अपेक्षा गरेको छ । प्रचण्डले रुकुमपूर्वलाई विकासको नमूना बनाउने बताएका छन् । र, भनेका छन् ‘विकास हेर्न रुकुम जाऔँ भन्ने बनाउने छौँ ।’ उनले यो पनि भनेका छन् की पहिले क्रान्तिका लागि बन्दुक बोकेर रुकुम आएको थिएँ, यसपटक विकासको औजार लिएर आएको छु । भदौ २३ र २४ के हो ? प्रचण्डले भदौ २३ गते भएको जेनजी विद्रोह, त्यसमा भएको दमन र २४ गते भएको विध्वंसका बारेमा स्पष्ट रुपमा देशलाई भनिरहेका छन् । उनी रुकुमपूर्वमा यसमा स्पष्ट सुनिए । भदौ २३ गते जेनजी विद्रोह हुनु एमाले र कांग्रेसको तात्कालीन सरकारले गरेको भ्रष्टाचार, कुशासन, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भएको र त्यो विद्रोहमा चरम दमन गरेर युवाहरुको हत्या गरेको भनेका छन् । त्यो विद्रोहको परिस्थिति र युवाहरुको हत्या हुने गरी भएको दमन एमाले काँग्रेसले गरेको बताएका छन् । भदौ २४ गते सिंहदबार, संसद भवनसहित राष्ट्रिय धरोहर, व्यक्तिको घर तथा व्यावसायमा आगजानी गर्ने अहिलेका नयाँ भन्नेहरु रहेको प्रष्ट भनेका छन् । उनले मतदातासँग भदौ २३ र २४ पनि प्रतिस्पर्धामा रहेको युवाको हत्या गर्नुहुन्न, राष्ट्रिय धरोहर जलाउनुहुन्न भन्ने आफ्नो पार्टी पनि प्रतिस्पर्धामा रहेको बताएर आफ्नो पार्टीलाई मत मागेका छन् । क्रान्ति र शान्ति भूमि जनयुद्धको थालनी, विकास र सफलतामा रुकुमपूर्वको अग्रणी भूमिका छ । प्रचण्डले रुकुमपूर्वलाई क्रान्ति र शान्ति भूमि भनेका छन् । जनयुद्धको थालनी त्यहीं भयो । जनयुद्धलाई उचाइ दिने ठूला कारबाही त्यहीं भयो । जनयुद्धको क्रममा माओवादीको महत्वपूर्ण बैठक त्यहीं भयो । हरेक रुकुमेलीहरुको जनयुद्धमा योगदान छ । त्यसैलाई उनले क्रान्ति भूमि भनेका छन् । २०६२ मा चुनबाङमा माओवादीको केन्द्रीय समिति बैठक बस्यो । त्यो लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरेर संसदवादी राजनीतिक दलसँगको सहकार्यमा जनआन्दोलन पनि गर्ने निर्णय गर्यो । त्यो बैठकको निर्णयका आधारमा माओवादीले फौजी कारबाही पनि जारी राख्यो, ऐतिहासिक जनआन्दोलन भयो । मुलकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी व्यवस्था स्थापना भयो । र, १० वर्षको युद्धपछि नेपालमा शान्ति स्थापना भयो । त्यसैलाई प्रचण्डले रुकुमपूर्वलाई शान्ति र क्रान्तिको भूमि भनेका छन् । रुकुमपूर्वले एक सातामा प्रचण्डलाई स्वागत र आतिथ्यतामा कुनै कसर बाँकी राखेन । यो सात दिनमा प्रचण्डले रुकुमपूर्वबाट नयाँ उर्जा प्राप्त गरेको हुनुपर्छ । पछिल्ला दिनका उनको अभिव्यक्तिले त्यो पुष्टि गर्छ । सात दिनमा जिल्लाका अधिकांश वडामा पुग्नु, सबै वडाका मतदातासँग भेटघाट गर्नुले रुकुमपूर्वको विकास नै भएको छैन भन्न मिल्दैन । भौगोलिक अवस्थितिले कठिनाइ छ । पूर्वाधार विकासमा अप्ठ्यारो छ । अहिलेसम्म जति विकास भएको छ, त्यसको जस प्रचण्डसँगै रुकुमपूर्वका नेताहरुलाई नै जान्छ । त्यहाँ केहीँ भएको छैन, नेताहरुलाई केहीँ गर्न सकेनन् भन्ने आरोपलाई प्रचण्डले नै खण्डन गरिदिएका छन् । उनले भनेका छन्, ‘यहाँ केहीँ भएको छैन । नेताहरुले केहीँ गरेका छैनन् भन्ने कुरा मित्थ्या हो । यहाँ धेरै विकास भएको छ । मेरै यात्राले पनि पुष्टि गर्छ । यहाँका नेताहरुले धेरै गर्नुभएको छ । यत्ति हो मबाट अझै बढी अपेक्षा छ । यहाँकै नेताहरुको साथले त्यो म गर्छु ।’ पातीहाल्नेमा केहींदिन अघि पुनः हिउँ परेको छ । हिउँको थुप्रो अग्लिएका छन् । अब त्यो हिउँले कसरी स्वागत गर्छ प्रचण्डलाई ? त्यो धेरै पर छैन । 

बेनिघाट रोराङ १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका गाउँ बस्तीमा राजेन्द्र पाण्डे

धादिङ । नेपाली कम्युनिष्ट पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका विभित्र गाउँबस्तीमा घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिनुभएको छ । निर्वाचन प्रचार–प्रसारका क्रममा पाण्डे अहिले बेनिघाट रोराङ गाउँपालिका १० को जबाङ, बाँसपुर र कोट क्षेत्रका विभित्र गाउँ बस्तीमा पुग्नुभएको छ । उहाँले त्यहाँका स्थानीय मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुत्रे र आफ्ना चुनावी एजेन्डाहरू राख्ने कार्य गरिरहनुभएको छ । आज बिहान उहाँले बेनिघाट रोराङ ९ का विभित्र स्थानहरूमा घरदैलो कार्यक्रम सम्पत्र गर्नुभएको थियो । अभियानका क्रममा उहाँले आज बिहान मझिमटार, हुग्दीखोला, तिक्राङ, मौवा खोला लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको थियो ।

चितवन–२ मा मतदाताको रोजाइ बन्दै प्रताप गुरुङ

चितवन । देशभर चुनावी सरगर्मी चुलिँदै गर्दा चितवन–२ यतिबेला राष्ट्रिय बहसको केन्द्रमा छ। यस क्षेत्रबाट रवि लामिछाने पुनः उम्मेदवार बनेसँगै प्रतिस्पर्धा रोचक बनेको छ। तर घरदैलोमा पुग्दा मतदाताको मनस्थिति बदलिँदै गएको संकेत देखिन थालेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ यसपटक मतदाताको रोजाइमा पर्न थालेका छन्। मतदाताहरू भन्छन्—लोकप्रिय नाराभन्दा पनि स्थानीय समस्या बुझ्ने, गुनासो सुन्ने र निरन्तर उपस्थित रहने प्रतिनिधि चाहिन्छ। कालिका नगरपालिका–३ की मतदाता रेखा साङताङ भन्छिन्, “विगतमा हामीले ‘घन्टी’ भन्दै भोट हाल्यौं। तर हाम्रो बस्तीको समस्या जस्ताको तस्तै छ। निमुखा, गरिब र सुकुम्बासी बस्तीका सवालमा ठोस पहल देखिएन। यसपटक भने स्थानीय उम्मेदवारलाई जिताउने सोच बनाएका छौं।” उनका अनुसार प्रताप गुरुङ यही क्षेत्रका बासिन्दा भएकाले स्थानीय आवश्यकता, भूगोल र समस्यासँग प्रत्यक्ष परिचित छन्। “हामीलाई भेट्न सजिलो, कुरा राख्न सजिलो, र कामको अपेक्षा पनि गर्न सकिने उम्मेदवार चाहिएको हो,” उनी भन्छिन्। चुनावी अभियानका क्रममा गुरुङले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। युवा, किसान, महिला र सुकुम्बासी समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले दोहोर्‍याउँदै आएका छन्। मतदाताहरूको भनाइ छ—यसपटक चुनाव व्यक्तिको ‘छवि’ भन्दा पनि क्षेत्रको ‘विकास र उपस्थिती’ को आधारमा हुनेछ। “रविलाई होइन, प्रताप गुरुङलाई जिताऔं” भन्ने नारा समेत केही टोलहरूमा सुनिन थालेको छ। विश्लेषकहरूका अनुसार चितवन–२ मा यसपटकको प्रतिस्पर्धा केवल दलबीच मात्र होइन, स्थानीय बनाम बाह्य प्रभाव को बहसमा पनि केन्द्रित देखिन्छ। मतदाताहरूले आफ्नै बीचमा बसेर काम गर्ने प्रतिनिधि रोज्ने मनस्थितिमा पुगेको संकेत अभियानका क्रममा देखिएको छ। समग्रमा, चितवन–२ मा प्रताप गुरुङ मतदाताको रोजाइ बन्दै गएको देखिन्छ। अब निर्णय भने मतपेटिकाले गर्नेछ—तर मतदाताको स्वर भने स्पष्ट सुनिन थालेको छ।

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरगढी गाउँपालिका–३, फुट्सल चोकस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मक्राञ्चुलीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४३ प २०४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ९२ वर्षीया नन्दकुमारी न्यौपाने गम्भीर घाइते भएकी थिइन् ।  बुधबार बिहान भएको दुर्घटनापछि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज लगिए पनि अवस्था गम्भीर भएकाले शल्यक्रिया सम्भव नभएको चिकित्सकले बताए । न्यौपानेलाई पुनः हेटौँडा फिर्ता ल्याई मकवानपुर सहकारी अस्पतालमा भर्ना गरिएकोमा बुधबार साँझ ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मोटरसाइकल चालक मकवानपुरगढी–३, मक्राञ्चुलीका २४ वर्षीय सन्तोष थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।