निर्वाहमुखी पशुपालकको साथमा मेयर रेनु, कृषकलाई बाख्रा र हाँसको चल्ला वितरण

चितवन ।  भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ। २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्।

अभियानकै क्रममा शनिबार पनि भरतपुर महानगरपालिका–२२ का परिवारलाई बाख्रा र हाँस वितरण गरिएको छ। १९ जना कृषकलाई ५० वटा दरले हाँस र २० जनालाई २ वटाका दरले बाख्रा र २ बोका वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ। राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिनेछ, उलने भने।

भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताइन्। 

बाख्रा र हाँस पाएपछि कृषकहरु खुसी भएको सञ्चारकर्मीलाई बताए। नव महिला कृषक समूहका अध्यक्ष कष्ण कुमारी महतोले हाँस बेचेर छोरा छोरीको पढाईमा खर्च गर्ने बताइन्। निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास गरे।गतसाल जेठमा समेत यहाँकै १५ परिवारलाई बाख्रा वितरण गरिएको थियो।  

पर्वतका ७० वनमा डढेलो लाग्दा १४०० हेक्टर जंगल नष्ट

पर्वत । पर्वत जिल्लाका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत चैत दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म एक हजार चार सय हेक्टर वन–जङ्गल सखाप पारेको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकका अनुसार हालसम्म एक हजार चार सय १६ दशमलव छ हेक्टर वन–जङ्गल डढेलोले सखाप परेको छ । पर्वतमा गत चैत २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला वडा नं ५ को सिमल्टेचौर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको हो । बुधबारसम्म ७० सामुदायिक तथा राष्ट्रिय वनमा आगो लागेको विकले जानकारी दिए । हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । डढेलोले जङ्गलमात्र नभएर मानव बस्तीलाई समेत जोखिममा पारेको छ । जिल्लामा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ । जिल्लामा गत चैतमा खासै डढेलोका घटना नभए पनि वैशाख लागेसँगै यहाँ रहेका सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागेको सहायक वन अधिकृत विकले बताए । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । विकले भने, ‘जनचेतना र प्रचार–प्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ, यसको नियन्त्रणका लागि कार्यालय सक्रियताका साथ लागेको छ ।’ डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यममा प्रचार–प्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिएको छ । जिल्लाका तीन सुरक्षा निकायलाई एक–एक अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शन गरिएको उनको भनाइ छ । वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । जिल्लामा वन डढेलो प्राकृतिक कारणले मात्र नभएर मानवीय कारण धेरै हुने गरेको छ । वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बनेको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ । जिल्लामा कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये वन क्षेत्र २७ हजार छ सय ४० हेक्टर (५१ प्रतिशत) मा फैलिएको छ ।

धनुषामा झडप, ७ सेल अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका १ पौडेसरमा झडप भएको छ । प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो ।  सुरुमा युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो । विवादका बीच एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् ।  गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेपछि उनले विश्वासको मत लिन लागेका हुन्।  ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादीका १, राप्रपाको १ र  एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भएको छ । 

पोखरामा ‘एसिया कप ट्रायथोलन’गरिदै, प्रतिस्पर्धामा १५ देशका खेलाडी सहभागी हुने

पोखरा। देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५ गते  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’ हुने भएको छ । खेलकुदको मेगा इभेन्ट रुपमा लिइएको  ‘एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप’को तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल ट्रायथोलन सङ्घले जनाएको छ। नेपाल ट्रायथोलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन सङ्घको व्यवस्थापनमा पोखराको लेकसाइड क्षेत्रमा च्याम्पियनसिप हुनेछ । च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका लागि सहभागी खेलाडी तथा अफिसियलहरु पोखरा आउने क्रम सुरु भइसकेको छ । प्रतियोगितामा नेपाल सहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बङ्गलादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् । यस वर्ष वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्व रहने उपाध्यक्ष देवकोटाले बताए । देवकोटाले भने,“विगतका कमीकमजोरीहरुलाई सच्चाएर यस वर्ष खेलकुदको मेगा इभेन्टका रुपमा च्याम्पियनसिपको तयारी गरेका छौँ । पहिलो पटक वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्षको उपस्थितिमा प्रतियोगिता हुँदैछ । नेपालको खेलकुद क्षेत्रका लागि यो ठूलो खुशीको कुरा हो । खेलकुद क्षेत्रका लागि यसको पछिसम्म ठूलो महत्व हुनेछ ।” ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधा अन्तर्गत सुरुआतमा फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ । दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड हुँदै राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेत चयन हुनेछन् ।प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवद्र्धन तथा खेलकुद विकासमा मद्धत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ । सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात पूर्ण रुपमा बन्द गरिने नेपाल ट्रायथोलन सङ्घ गण्डकीका अध्यक्ष डिल्लीराज९शिशिर०सुवेदीले बताउनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, होटल सङ्घ पोखरा लगायतका विभिन्न सङ्घ संस्थाले समेत अपन्त्व लिएकाले यस वर्ष भव्य हुने अध्यक्ष सुवेदीको भनाई छ । उहाँले भन्नुभयो,“एसिया कप ट्रायथोलन च्याम्पियनसिप पोखराको ब्राण्ड बनेको छ । यस वर्ष सरकारी तथा निजी सङ्घ संस्था पर्यटन क्षेत्र लगायतले स्वामित्व लिएकाले विगतमा भन्दा थप उत्कृष्ट हुने विश्वास लिएका छौँ ।”

वैशाख २४ गते बागमतीमा सार्वजनिक बिदा

हेटौँडा । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा हुने भएको छ ।  प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको हो । गत कात्तिक २३ गते जारी गरिएको यो ऐनमा भएको व्यवस्था अनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । सो ऐनको राजपत्रमा प्रकाशित भएको १८० दिनमा कार्यान्वयन हुने प्रस्तावनामा उल्लेख भए बमोजिम प्रदेश सरकार अघि बढेको हो । प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिनमा बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले बताए । संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरूमा लागु गर्ने उनले जानकारी दिए । पहिलो चरणमा अब सरकारी निकाय र स्थानीय तहको बोर्ड र लेटर हेडमा नेपाली भाषा सहित तामाङ र नेपाल भाषा उल्लेख गरिने मन्त्री श्रेष्ठको भनाई छ । मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन बुधवार राति १२ बजेबाट अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस पनि गरेको छ । 

बागमती प्रदेशमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गर्ने कानुनी व्यवस्था छ । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेको छ । त्यसैले हिउँदे अधिवेशन अन्त्य गरेर जेठबाट प्रि–बजेट छलफल सुरु गर्ने तयारी रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । वाग्मतीमा १५ फागुन २०८० बाट हिउँदे अधिवेशन सुरु भएको थियो ।

लुम्बिनीका ७ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिएको छ । चारैजना नेकपा एमालेबाट मन्त्री बनेका हुन् । यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीका हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय र माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् ।  जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् । लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० वटा मन्त्रालय थिए । तर अहिले मन्त्रालय फुटाएर दुईवटा थपिएको छ। एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका थिए।

कर्णालीमा माओवादीबाट परियार  विनाविभागीय मन्त्री नियुक्त

सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रबाट रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक हुम्लाका माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका छन् । आज बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । परियार हुम्ला प्रदेश सभा (क) बाट निर्वाचित सांसद हुन् । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिने प्रयासमा छन् । मख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ । मुख्यमन्त्री कँडेलले भोलि (बिहीबार) संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन् ।

भूकम्पको स्मृतिमा बारपाकमा सार्वजनिक बिदा

गोरखा । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । २०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए । त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ । गोरखा भूकम्पमा परी देशभर ८ हजार ९७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै ४ सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।

‘नेपाली भाषा र साहित्यको पृष्ठभूमि नै कर्णाली हो’

सुर्खेत।भाषा र साहित्यमा लामो समय अध्ययन गरेको अध्ययेताहरुले नेपाली भाषा र साहित्यको खास पृष्ठभूमि कर्णाली भएको बताएका छन्। नेपाली भाषाको उद्गम स्थल सिंजा रहेको कर्णाली क्षेत्र नेपाली साहित्यको पनि पृष्ठभूमि भएको उनीहरुको निश्कर्ष छ। मंगलबार सुर्खेतमा भएको कर्णाली लिट्रेचर फेस्टिभलअन्तर्गत ‘भाषा, साहित्य र शिक्षा’ विषयक बहस सत्रमा सहभागी अध्येयताहरुले नेपालमा बोलिने भाषाको मुल थलो कर्णाली भएको बताए। ‘नेपालमा अहिले बोलिने भाषाको मुल थलो खस सभ्यता कर्णाली हो, खस भाषा नै मातृभाषा हो।’ भाषा विज्ञ डा.प्रेम चौलागाईंले भने।उनले खस भाषाको उचित संरक्षण हुन नसकेको बताए। भाषा र संस्कृति दिएको सभ्यतालाई संरक्षणमा चासो नदिईएको उनले औंल्याए। उनले कर्णाली सभ्यताको ईतिहास लेख्नुपर्ने बताए। सहप्राध्यापक डा.महेन्द्रकुमार मल्लले कर्णाली आधुनिक साहित्यको पनि पृष्ठभूमिका रुपमा रहेको बताए। ‘खस भाषा नेपाली भाषा हो, खसबाट विकसित भएको नेपाली रुप हो,’ उनले भने, ‘कर्णाली क्षेत्रको भाषा, साहित्य र इतिहासको बारेमा योगी नरहरिनाथलाई जति जानकारी अरुलाई छैन।’ शिक्षाका बारेमा बोल्दै डा. मल्लले पछिल्लो राजनीतिक परिवर्तनपछि विद्यालय शिक्षामा सुधार ल्याउने कुरा योजनामै सिमित भएको बताए। शिक्षामा बालबालिको पहुँच विस्तार गर्ने, गुणस्तर सुधार गर्ने सरकारका योजना पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनले बताए।उनले कर्णालीका बारेमा लेख्नुपर्ने धेरै विषय भएपनि लेखनमा सक्रियता नहुँदा ओझेलमा परेको बताए। सत्रका अर्का वक्ता सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाख प्रमुख अनिता ज्ञवालीले कर्णालीमा सिकाई उपलब्धी ६० प्रतिशतभन्दा माथी जान नसकेको बताईन्। उनका अनुसार कर्णालीमा ७।८ प्रतिशत बालबालिकालाई शिक्षको पहुँचमा अहिले पनि ल्याउन सकिएको छैन। ‘अहिले पनि सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै छ, कर्णालीको सिकाई स्तर वृद्धि गर्न र पठन संस्कृतिको विकास गर्न पहिलो कुरा बालबालिकालाई पहुँचमा ल्याउने कामबाट सुरु गर्नुपर्छ,’ उनले भनिन्, यहाँको शिक्षाको गुणस्तरमा पनि सुधार गर्नुछ, विद्यालयप्रति बढ्दो वितृष्णा कम गर्नुछ।’

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल

सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्। ‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’ उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ। सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।   सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

कैलालीमा ९ महिनामा १७ हजारको आँखाको शल्यक्रिया

धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले ९ महिनामा १७ हजार जनाभन्दा बढीको आँखा शल्यक्रिया गरेको छ । अस्पतालले मातहतका अन्य अस्पताल तथा सर्जिकल सेन्टरसहित चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १७ हजार ४ सय ८ जना बिरामीका आँखाको शल्यक्रिया गरेको हो । त्यसमध्ये १२ हजार तीन सय ८५ जनाको मोतियाबिन्दु र अन्य समस्या भएका ५ हजार २३ जनाको आँखाको शल्यक्रिया गरेको गेटा आँखा अस्पतालका सूचना अधिकारी गोविन्दप्रसाद जोशीले जानकारी दिए । सोही अवधिमा एक लाख ८८ हजार ३५ जनाले आँखाको उपचार सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित अस्पतालले सुदूरपश्चिम प्रदेशमा दोस्रो तहका थप ३ वटा आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर र २१ वटा आँखा उपचार केन्द्रमार्फत उपचार तथा शल्यक्रिया सेवा दिने गरेको सूचना अधिकारी जोशीको भनाइ छ । अस्पतालका प्रमुख मेडिकल निर्देशक डा सुरेशराज पन्तले मुख्य अस्पतालमा मात्रै उपचारका लागि दैनिक ४ सयको हाराहारीमा बिरामी आउने गरेको जानकारी दिए । उनकाअनुसार अस्पतालमा आउने सेवाग्राहीमध्ये ३० प्रतिशत भारतीय छन् । अस्पतालमा हुने शल्यक्रियाका लागि पनि अधिकांश भारतीय नै छन् । पन्तका अनुसार अस्पतालमा शल्यक्रियाका लागि आउने ६० प्रतिशत भारतीय नागरिक छन् । यहाँ दैनिक ७० देखि ८० जना बिरामीको आखाँको शल्यक्रिया हुने गरेको पन्तले जानकारी दिए । अस्पतालमा मोतिबिन्दु, आँखाको पर्दा, नानीको समस्या, जलबिन्दु, चस्मा लगाउनुपर्ने समस्या भएका बिरामी बढी आउने गरेको छन् भने शिविरमार्फत पनि उपचार तथा शल्यक्रिया सेवा दिने गरिएको डा पन्तको भनाइ छ । गत आर्थिक वर्षमा सो अस्पतालबाट २ लाख ७० हजार ४ सय ९६ जनाले उपचार सेवा लिएकोमा २४ हजार ७ सय ६१ जनाको आँखाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

'कर्णाली साँच्चिकै दुर्गम रहेछ’

सुर्खेत।नेपाली भाषामा विद्यावारिधी गरेका माइकल हर्ट यतिबेला नेपालकै दलित समुदायबारे अध्ययन गरिरहेका छन्। त्यसभित्र पनि उनले दलित साहित्यलाई महत्वका साथ आफ्नो अध्ययनभित्र राखेका छन्। उनले दलितका अनुभव, प्रतिरोध, उत्पीडन जस्ता विषयलाई पनि आफ्नो अध्ययनमा समावेश गर्न खोजेका छन्। अध्ययनका क्रममा आफूले दलितहरुको अनुभव, प्रतिरोध, उत्पीडनलाई साहित्यका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण लागेको माइकलले बताए।‘म अहिले दलित समुदायबाट आएका मान्छेहरुले लेखेको साहित्यको विषयमा अध्ययन गरिरहेको छु, खासगरी पहाडी दलित समुदायबाट आएका लेखकहरुले लेखेका पुस्तकहरुको विषयमा बुझ्दै छु,’ सुर्खेतमा आयोजित कर्णाली लिट्रेचर फेस्टिभलको ‘भाषा, साहित्य र शिक्षा’ सत्रका वक्ता रहेका माइकलले भने, ‘दलितको अनुभव, प्रतिरोध, उत्पीडनका विषयहरु स–साना छन्, तर तिनलाई साहित्य र राजनीतिक  दृष्टिकोणबाट हेर्दा निकै महत्वपूर्ण छन्,’ उनले आफूले अध्ययन गरेको दलित साहित्यका विषयमा पुस्तक लेख्ने योजना बनाएका छन्।उनले आफू अध्ययनका क्रममा कर्णाली आउँदा निकै दुर्गम भएको अनुभव गरेको बताए। ‘म नेपाली भाषाको इतिहासका बारेमा बुझ्दै थिएँ, जुम्लाको बारेमा बुझ्दै थिएँ,’ उनले भने, ‘सुरुमै पश्चिमतिर आउन सकिएन, काठमाडौं वरिपरी बसेर काम गरेको मैंले कर्णाली आउँदा थाहा पाएँ, कर्णाली त साँच्चिकै दुर्गम रहेछ।’ उनले नेपालको साहित्य राजधानीको वरिपरी मात्र सिमित रहेको आफूले पाएको बताए। यसलाई सबैतिर विस्तार गर्नुपर्नेमा माइकलले जोड दिए। उनले नेपालमा अध्ययनका क्रममा पाँच सय भन्दा धेरै पुस्तक आफूले पढिसकेको बताए।माइकलले कर्णाली ब्लुजको अंग्रेजीमा अनुवाद पनि गरेका छन्। मुनामदन पनि उनले अनुवाद गरेका छन्। ‘मैले नेपाली पुस्तक अनुवाद गर्दा कर्णाली टेकेको पनि थिएन, पछि मात्र टेक्न पाएँ,’ उनले भने।माइकलले तत्कालिन माओवादी छापामारहरुले लेखेको पुस्तकहरुको संस्मरण पनि बनाएका छन्। त्यसक्रममा माओवादी विद्रोहमा हुँदा उनीहरुले घरपरिवार छाडेर किन युद्धमा होमिएका थिए भन्ने आफूले थाहा पाएको माइकलले बताए।

महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएका छन् : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताएकी छिन्। नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन्।  पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ ।  'नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ,' उनले भनिन्।  'रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ', उनले भनिन -'काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ' उनले भनिन् 'काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।' भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो।  जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए।  सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो।