गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज

पोखरा।गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ।गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए।

रिटबारे सुनुवाइ गर्दै न्यायाधीश शर्माले वैशाख ७ गतेभित्र लिखित रूपमा कारण पेस गर्न अन्तरिम आदेश दिएका थिए।मुख्यमन्त्री कार्यालयको तर्फबाट लिखित जवाफ पठाइसकिएको मुख्य न्यायाधिवक्ता कृष्ण अधिकारीले जानकारी दिएको छ।
सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्ति दिएका हुन्। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दिए।

पूर्वमुख्यमन्त्री पाण्डेले सभामुखलाई सरकारको जोड घटाउमा सामेल गर्न नमिल्ने बताउँदै आएका छन् भने मुख्यमन्त्री अधिकारीले दलको सङ्ख्याका आधारमा सरकारमा दाबी गर्न पाइने बताएका छन्। 

नयाँ मन्त्रिपरिषद्ले संसद् बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेर आयोजित प्रदेशसभाको बैठक कांग्रेस र राप्रपाको बहिष्कारका कारण चल्न सकेन। 

प्रतिपक्षीले बहिष्कार गरेपछि बैठक प्रदेश प्रमुख कार्यालयबाट आएको पत्र पढेर सुनाइएको थियो । मुद्दाबारे आजबाट सुनुवाई हुने भएपछि कांग्रेस गण्डकी प्रदेशका सांसदहरु काठमाडौं आएका छन् ।

पुनः सञ्चालनमा आयो झुलाघाट नाका

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा हो।  यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई दृष्टिगत गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द थियो ।

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

गण्डकीमा चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्‌मा जिम्मेवारी बाँडफाट गरेका छन्। उनले चैत २५ गते बिनाविभागीय मन्त्री बनाएका माओवादी केन्द्रमा हरिबहादुर चुमान अर्थ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिएका हुन्। शनिबार बिहान बसेको गण्डकी मन्त्रिपरिषद्‌को बैठकले यो निर्णय गरेको हो ।  शुक्रबारलाई डाकिएको संसद बैठक कांग्रेसले बहिष्कार गरेपछि मुख्यमन्त्री अधिकारीले यो निर्णय लिएका हुन् । सभामुख कृष्ण धिताललाई समेत जोडेर बहुमत पुर्‍याएका मुख्यमन्त्रीको नियुक्ति नै अवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।  हाललाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न भनेको सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा सुनुवाइ गर्ने यही वैशाख १० गतेलाई पेसी तोकेको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईँले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौं। माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।सो क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराइन्।उनले भनिन्, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ।” लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भनिन्, “तपाईँ चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो । विकासका काम सुरु भएका थिए । अहिले लथालिङ्ग छ । तपाईँले चितवन छाडेपछि माडीको बिचल्ली भयो।” उनका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् । “जसका कारण सडक धुलाम्मे छ”, नगरप्रमुख महतोले भनिन्, “यसलाई तत्काल समाधान गरौँ ।” माडीवासीका गुनासा सुनेपछि प्रधानमन्त्री प्रचण्डले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिए । उनले भने, “माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत् प्राधिकरण गम्भीर हुनुपर्‍यो।” जनताको हितलाई सर्वोपरि राखेर काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “मुख्य कुरा जनताको हित हो । जनतालाई सास्ती दिएर निकुञ्ज संरक्षण हुँदैन । जनताको भावना सम्बोधन गरेर मात्र पर्यावरण संरक्षण सम्भव हुन्छ ।” प्रधानमन्त्री प्रचण्डले यस विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिए। उनले भने, “विकासका काममा सबैले आआफ्ना स्थानबाट सहजीकरण गरौँ ।” छलफलमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्वसांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए। रासस

गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।  कांग्रेस र राप्रपाका सांसदले सभा बैठक बहिस्कार गरेका थिए । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।  कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले विना जानकारी अनुपस्थित भएको हो ।

अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ

स्याङ्जा । अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ परेका छन् ।  स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ सुम्रेखोलामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजांच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ का अनिल क्षेत्री र सोही ठाउँका २२ वर्षका शिव दर्जी रहेका छन् ।  उनीहरुको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन  १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल  गरी जम्मा ३९ एम्पुल बरामद भएको प्रहरीको भनाई छ । उनीहरुलाई आजै स्याङ्जा जिल्ला अदालतबाट दिन १० को म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रबक्ता रानाले जानकारी दिए ।

गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् । गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।  उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ । विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ। अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।

मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।  चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन्। माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन  र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन्।  यसैगरी, एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको छ। त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ  लिएकी छन्।  नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । २३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीद्धारा दाबी पेश

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

काम लागेन काङ्ग्रेसको ढोक्साः एमालेकै समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी

धनगढी । नेपाली काङ्ग्रेसले समर्थन गरेर ढोक्सा थाप्न खोजेपनि सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसको ढोक्सा खेर गएको छ । लामो रस्साकसीपछि नेकपा एमालेकै समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सोडारीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि काङ्ग्रेसले समर्थन गर्ने देखेपछि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका सांसद प्रकाश रावलले हस्ताक्षरको काम भैरहेको र एमालेले पनि समर्थन गर्ने तय भएको जानकारी दिए । सोडारीलाई नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन नगर्ने भएको छ। रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गर्न लागेका हुन्। अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेर प्रदेश सभामा जानकारी गराइसकेकाले कैलाशलाई नै संसदीय दलको नेता मानेर पत्र लेख्ने तयारी भएको गृहकार्यमा संलग्न नेताहरूले जानकारी दिए। सभामुख भीमबहादुर भण्डारीले पनि नाउपामा संसदीय दलको विधान कार्यान्वयनमा नआइसकेको अवस्थामा सम्बन्धित पार्टीको अध्यक्षले कैलाश चौधरी संसदीय दलको नेता तोकेको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भइसकेको जानकारी दिए।

मधेशमा माओवादीका २ र समाजवादीका १ मन्त्री थपिदै

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक जना गरी ३ जना मन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरुको आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको छ । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १÷१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ जना मन्त्री नियुक्त गर्न लागेको हो । मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो। आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ।  यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।  सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् । 

विराटनगरको धार्मिक र्‍यालीमा विवाद हुँदा रानी क्षेत्रमा तनाव

विराटनगर । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा विवाद भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको हो । सडक अवरोध हुन खोजेपनि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको छ ।  विराटनगर–१५ र १७ सिमानामा दुई समूहबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो । अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पोल गाडेको ६ वर्षपछि बल्यो बिजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३र११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल गाडिएको थियो । सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए। ‘पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ’, उनले भने, ‘उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत असोजमा बिजुली बलेको थियो। पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो।’ बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताइन्। दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे। नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले सुनाइन्। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजना मार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ। केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए। पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ। म्याग्दी वितरण केन्द्र अन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन्। गत आर्थिक वर्ष २०७९र८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए। मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका चार सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ। म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले जानकारी दिए ।