कालिकोटको सुनथराली विमानस्थल उद्घाटन

काठमाडौं । कालिकोटमा रहेको सुनथराली विमानस्थल उद्घाटन गरिएको छ।सोमबार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थल उद्घाटन गरेका हुन्।

उनले कर्णालीमा चुनावी सभाहरूमा गरेका प्रतिबद्धताहरू पूरा हुँदै गएको बताए।निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले कालिकोटमा बोलेको कुरामध्ये एउटा काम पूरा भएको खड्काले बताए।

सो बिमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्नेछ। कालिकोटका नागरिकलाई यातायातमा सहज हुने गरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री खड्काले बताए।

रुसी सेनामा गएका  रोल्पाका युवकको मृत्यु

काठमाडौं । अवैधानिक तरिकाले रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनको आक्रमणका कारण मृत्य भएको छ । रुसी  सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको हो ।   तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका अर्का साथीले खबर गरे। उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए ।  उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।  मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए । 

वडा कार्यालयको सभाहलभित्र महिलाको शव फेला, अनुसन्धान जारी

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत्त फेला परेकी छन् । वडा नं १८ को  कार्यालयको सभाहलभित्र महिलाको शव भेटिएको हो । कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामीको शव फेला परेको हो । धामीले एक नगरप्रहरीसँग विवाह गरेर कञ्चनपुर आएको खुलेको छ । उनको शव भुन्डिएको अवस्थामा फेला परेका कारण आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले वडाकार्यालयको सीसीटीभीमार्फत अध्यनन सुरु गरेको जनाइएको छ ।  

वनको काठ हिनामिना प्रकरणमा मुछिएका राप्रपा सांसद यादव निलम्बित

बुटवल । कपिलवस्तुस्थित एक सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।  कपिलवस्तु क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो।  लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्वतः निलम्बन गरिएको जानकारी गराएको छ।  ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८०/११/०८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ,’ उनले भनेका छन्। गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्काली अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो। यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ। 

भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कैलाली। कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जीवी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो ।  गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनीराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुन पगेका थिए ।  घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसियुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ । 

दश दिनको अन्तरमा पुरिएको अवस्थामा फेला परे पाटे बाघ

नवलपुर। खाल्डो खनेर जंगलमा गाडेको अवस्थामा बयस्क पाटे बाघ भेटिएको छ । मध्यविन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।  एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यविन्दुकै १० नम्बर वडामा पनि बयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो ।  त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाई १०४ ईन्च र मोटाइ ४० ईन्च रहेको चोरमारा रेन्जपोष्टका सवडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। सो बाघको भोलि पोष्टमार्टम गरिने उनले जनाकारी दिए । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको छ । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खवर गरेको बताए ।  स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ ।  बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बेङ्लोर टाईगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले जानकारी दिए ।

नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन्।  बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’ लाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विविधतालाई एकताबद्ध बनाउनुपर्ने बताए । “विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश हो,” प्रधानमन्त्री प्रचण्डले भने, “सबै जातजाति र भाषाभाषीलाई सम्मान गरेर मात्र राष्ट्रिय एकता कामयम गर्न सकिन्छ ।” उहाँले नेपालका सबै क्षेत्र, जातजाति र भाषाभाषी एकताबद्ध हुँदा नै  देशको राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले विविधतामा एकता हामी नेपालीको विशेषता भएको बताउँदै सबैलाई एकतामा उन्ने र राष्ट्रियता प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा नयाँ सन्देश दिने उद्देश्यका सबै अभिभावक एवं विद्यार्थीले सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेको भन्दै उनले शुभकामना व्यक्त गरे ।  कार्यक्रमका अवसरमा सार्वजनिक शिक्षाको सुधारसम्बन्धी पुस्तक लोकार्पण गरे ।  ‘शिक्षा, स्वास्थ्य र रोजगार, त्यसैका लागि पूर्वाधार’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक नगरपालिकाले जनाएको छ  । कार्यक्रममा सात वटै प्रदेशको सांस्कृतिक एवं भौगोलिक विविधता र पहिचान झल्किने गीत, नृत्य र संगीतको प्रस्तुति गरिएको थियो । विभिन्न वडाहरूबाट ‘हामी सुधार्छौँ हाम्रो विद्यालय, ‘‘सामुदायिक विद्यालय सुधार्ने हाम्रो जिम्मेवारी भन्ने नारासहित आ–आफ्नो भेषभुषामा अभिभावकहरूको झाँकी प्रस्तुत गरिएको थियो । यो कार्यक्रम सामुदायिक विद्यालयको सवलीकरण तथा रूपान्तरणका लागि देशकै नमुना कार्यक्रम हुने र सामुदायिक विद्यालय सुधारका लागि सामाजिक आन्दोलन हुने आयोजकको विश्वास गरिएको छ ।

मधेसको विकासमा म निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

धनुषा, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताए । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व बृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । उनले भने, “अब सङ्घीयता सबलरुपमा कार्यान्वयन हुन्छ । केही दिनभित्रै प्रदेश प्रहरी ऐन, शिक्षा ऐन र कर्मचारीसम्बन्धी कार्यान्वयनमा आउनेछ ।” प्रधानमन्त्री प्रचण्डले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । नेपालको भूगोलअनुसार झोलुङ्गे पूलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न स्थानमा झोलुङ्गे पूलको निर्माणमा प्राथमिकता दिइँदै आएको बताए ।  निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पुर्‍याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ  एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ ।

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।  झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । सुक्खा पहिरोका कारण गएरातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।   “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।” पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस

‘अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन’

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् ।  सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताए ।  प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे ।  मन्त्री किरातीले भने, “जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाईमैदान बनाउनुपर्छ ।”  उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे । विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । रासस

नेकपा एमाले कैलालीको अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी विजयी

धनगढी । नेकपा (एमाले) कैलाली अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी भएका छन् ।उनी आफ्नो निकटतम प्रतिद्वन्द्वी डेजी पाण्डेयलाई ६९ मत अन्तरले पराजित गरेर अध्यक्षमा विजयी भएका हुन् । विजयी ढुङ्गानाले २८७ र पराजित भएका पाण्डेयले २१८ मत प्राप्त गरेका हुन् । यसैगरी, अध्यक्षका अर्का उम्मेदवार दुर्गाप्रसाद जोशीले ६३ मत प्राप्त गरेर पराजित भए । उपाध्यक्षमा पाण्डेय प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतान्तरले विजयी भए । विजयी शाहीले १९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी दलबहादुर विष्टले १८८ मत प्राप्त गरे । उपाध्यक्षकै उम्मेदवार विष्णु चौधरीले १०६, मदनराज ओझाले ३३ र गजेन्द्र स्वाँरले २७ मत प्राप्त गरे  सचिवमा पाण्डेय प्यानलकै ममतप्रसाद चौधरी २४३ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी ढुङ्गाना प्यानलका विष्णुकुमार चन्दले १६८ मत प्राप्त गरेर पराजित भए। सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले १४७ मत प्राप्त गरे । उपसचिव (खुलातर्फ) ढुङ्गाना प्यानलका चूडामणि भट्ट २५१ पाएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी भुवन रिजालले १२३ मत प्राप्त गरे । यस्तै, उपसचिवकै उम्मेदवार नृप थ्यायत खड्काले ९५, राजु गुरुङले ७१ मत प्राप्त गरे ।  उपसचिव (महिला)मा गङ्गाकुमारी चौधरी १९६ मत पाएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १६१, रत्ना कुँवर जोशीले ९४, अम्बिका विष्टले ९० मत प्राप्त गरे । एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि नवौँ अधिवेशन सुरु भएको छैटौँ दिनमा हिजो शुक्रवार निर्वाचन भएको थियो । निर्वाचनमा ५७७ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको छ ।  अध्यक्षका आकाङ्क्षी दुर्गाप्रसाद जोशीलाई केन्द्रीय सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्टले साथ दिएका थिए । डेजी पाण्डेलाई स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नारायणमुनि रानाको साथ रहेको थियो । हाल अध्यक्षमा विजयी भएका यज्ञराज ढुङ्गानालाई सुदूरपश्चिमका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारीको साथ रहेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज सर्लाही आउँदै

सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज (शनिवार) सर्लाही आउँदै छन् । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लागेका हुन् । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।  नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सव बिहान ११ः३० बजे सुरु हुने र प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्ने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।  नेपाली सेनाको हेलिकप्टरमार्फत आउने प्रधानमन्त्री प्रचण्ड बागमतीस्थित सेनाको क्याम्पमा अवतरणपछि कार्यक्रम स्थलमा पुग्नुहुने छ । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरूको विकासका लागि समाजको मौलिकता, संस्कार, संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ ।  महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् । 

पाल्पा अस्पतालमा सहजै उपचार पाउन नसकेको बिरामीको गुनासो

तानसेन। पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् ।   अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको सेवाग्रहीले गुनासो गरेका हुन् । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।  दिनहुँ अस्पतालमा आउने पाँच सय बिरामीमध्ये दुई सय बिरामीको उपचार अस्पतालले गरिरहेको छ । अन्य तीन सय बिरामी अन्य अस्पतालमा उपचार गर्न प्रेषणका लागि आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा आउने बिरामीले समयमै उपचार नपाएको, टिकट लिन अप्ठेरो बनेको, ल्याब टेस्टका रिपोर्ट समयमै नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालका कर्मचारीबाट बिरामीमैत्री व्यवहार पाउन नसकेको माथागढीस्थित सराईबाट उपचारका लागि आएका तिलकराम घिमिरेले गुनासो गरे। अस्पतालमा निःशुल्क पाउने दिने औषधीसमेत आफूले नपाएको गुनासो उनको छ ।   कतिपय बिरामी उपचार नपाएर फर्कन बाध्य छन् । उपचार हुन्छ भनेर बिहानदेखि बेलुकीसम्म कुराउने र बेलुकी भएपछि आज उपचार हुँदैन भनेर फर्काउने गरेको रैनादेवी छहरा–३, भुवनपोखरीका लीलाबहादुर दर्लामीले गुनासो गरे । अस्पतालले बिरामीलाई बेलुकीसम्म राखेर उपचार नगर्दा ढाटाबाट उपचारका लागि आउने बिरामी सेवा नलिएर फर्कन बाध्य भएको उनले बताए।  अस्पतालले बिरामीलाई उपचार गर्न कति समय लाग्छ भनेर जानकारी नदिँदा हरेक दिन केही बिरामी उपचार नगरी घर फर्कन बाध्य भएका छन् । अस्पताल प्रशासनले भने अस्पतालको क्षमता, कर्मचारीको क्षमता अनुसार सेवा प्रदान गरेको जनाएको छ । अस्पतालकी नर्सिङ अधिकृत लक्ष्मी जिसीले हाल कार्यरत कर्मचारीको क्षमता अनुसार बिरामीलाई सेवा दिएको बताए । कहिलेकाहीँ बिरामी घर जान हतार गर्दा पनि सेवामा असहजता उत्पन्न भएको हुन सक्ने उनले बताए ।  अस्पतालमा पछिल्लो समय सिफारिस लिने र उपचार गर्ने बिरामीको चाप बढेका कारण बिरामीलाई असहज लागेको हुन सक्ने कर्मचारी भनाई छ । अस्पतालमा धेरै बिरामी रिफरका लागि आउने गरेका छन् । ती बिरामीका लागि सिफारिस व्यवस्थापन गर्दा पनि अस्पतालको सेवा प्रभावकारी हुन नसकेको कतिपय स्वास्थ्यकर्मी बताउँछन् ।   

डेढ लाख बालबालिकालाई खोप लगाइने

सुर्खेत। कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।  प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार फागुन १३ देखि चैत ७ सम्म सो खोप लगाइने छ । आठ जिल्लाका झन्डै दुई हजार खोप केन्द्रबाट खोप लगाइने छ । १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मीले खोप लगाउने छन् । युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीका अनुसार रुकुमपश्चिम र जाजरकोटमा भूकम्पपछि पुसमा दादुरा रुबेलाको खोप लगाइसकिएकाले यस पटक ती दुई जिल्लाबाहेक कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो खोप लगाइने छ । लक्षित समूहले अधिक खोप लगाउनका लागि विभिन्न गतिविधि गरिने जनाइएको छ । अभिभावकलाई खोप लगाउन निमन्त्रणा कार्ड पठाइने, खोप लगाएपछि खोप कार्ड वितरण गरिने, ब्यानरलगायतका प्रचार गर्ने, माइकिङ गर्ने, धामीझाँक्रीसँग पत्राचार गर्ने, धेरै प्रश्न सोधेर जानकारी गराउने योजना छ । दादुरा–रुबेला निकै जोखिमपूर्ण रोग भएकाले एक जनाबाट १८ जनामा सङ्क्रमण सर्न सक्ने उनको भनाइ छ । यस खोपको कुनै असर नहुने, पहिले लगाएकाले पनि पुनः लगाउन मिल्ने जनाइएको छ । बढी कुपोषित भएका, उच्च ज्वरो आएको बालबालिकालाई भने यो खोप लगाउन हुँदैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ‘खोज र खोप’ रणनीतिबमोजिम सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ ।  उनले कर्णालीमा पूर्ण खोपको कभरेज ८५ प्रतिशत रहेको र अन्य जिल्लामा खोप लगाउन छोड्ने दर पनि कायमै रहेको बताए । भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, कहिल्यै खोप नलगाउने राउटे समुदायका कारण पूर्ण खोपको चुनौती खेप्नु परेको उनको भनाइ छ ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत देवीराम पौडेलले कर्णालीका आठ जिल्लामा १३ हजार ४५३ भाइल  दादुरा–रुबेलाको खोप सम्बन्धित जिल्लामा आपूर्ति गरिसकिएको बताए । एक भाइलमा १० डोज हुन्छ । यस्तै एक लाख ३४ हजार पाँच सय सिरिन्ज र १४ हजार ९३६ घोलक पनि पठाइसकिएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.तारा बानियाँले नयाँ आप्रवास बस्ती, सुकुमवासी बस्ती, राउटे, कुसुन्डालगायतका बालबालिका खोपबाट छुटेका हुँदा तिनलाई पनि खोपको दायराभित्र ल्याउन आह्वान गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले खोप अभियान सफल बनाएपछि मात्रै नेपालको खोपको प्रतिशत दर वृद्धि हुने बताए ।  हिउँ छिचोल्दै खोप  हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई नियमित खोप लगाउन हिमपातका कारण कठिन भएको छ । हिउँको जोखिमसँगै स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । एक वर्ष तीन महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने खोप लगाउन हिमपातका कारण समस्या परेको छ ।