लुम्बिनीका ७ विनाविभागीय मन्त्रीलाई जिम्मेवारी

बुटवल । लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिएको छ । चारैजना नेकपा एमालेबाट मन्त्री बनेका हुन् ।

यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीका हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय र माओवादीका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् ।  जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन् । लुम्बिनीमा यसअघि नेकपा एमालेका लिला गिरी र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा १० वटा मन्त्रालय थिए । तर अहिले मन्त्रालय फुटाएर दुईवटा थपिएको छ।

एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा चैत २३ गते मुख्यमन्त्री बनेका थिए।

लुम्बिनी प्रदेशमा जसपाका मन्त्री अहिरद्धारा राजिनामा

दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट बनेका मन्त्री कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिएका छन् । माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टीले समर्थन गरेको थियो। त्यसको बदलामा सो पार्टीबाट दुई जना मन्त्री बनाउने लिखित सहमती गरेपनि अन्तिममा आएर एउटा मात्रै मन्त्रालय भाग परेको भन्दै राजीनामा दिएका हुन्।उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराले स्वीकृत भने गरेका छनैन् ।  मन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिए पनि जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन् । मन्त्रालयको संख्या नै सिमित भएकोले सबैले चाहे जति मन्त्री बनाउन सम्भव नभएको मुख्यमन्त्री स्रोतले बतायो । जसपासँथ ३ सांसद छन् ।दुई मन्त्री माग गरेको छ । लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समिकरणको आधारमा पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा सरकार बनेको छ । अहिले बनेको मन्त्रीमण्डलमा एमालेका पाँच, माओवादीका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ती पार्टीका एक, एकिकृत समाजवादीका एक, जसपाका एक र एक स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बनेका छन्।

गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले

गुल्मी । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ।   इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन्। त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी  मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए। शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो।  त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए। इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्।  उनीहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ। शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ।  सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट  रु दुई करोड बराबरको क्षति भएको छ।  नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । २३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रूपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनले भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् ।विश्वासको मत लिनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् । माओवादी केन्द्रका नेता महरा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।  ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् ।

मेरोभन्दा पनि हाम्रो भन्ने भावनाकासाथ काम गर्छु : मुख्यमन्त्री महरा

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम गर्ने बताएका छन्।शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । ‘एकजनासँग सबै काम गर्ने आइडिया नहुनसक्छ, त्यसैले सामूहिकतामा अगाडि बढ्नेछौं, हचुवाको भरमा काम गर्दिनँ । सामूहिक योजना बनाएर काम गर्दा प्रतिफल पाउन सहज हुन्छ’, उनले भने । उनले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बनाउन गार्हो पर्ने बताए । तर उनले जम्बो मन्त्रीमण्डल भने नबनाइने बताए । मन्त्रिपरिषदलाई पूर्णता र विश्वासको मत भने एक महिना अगाडि नै लिने गरी प्रक्रिया अघि बढाउने उनले बताए । नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपर्ने भएकाले पनि क्याविनेटलाई छिटो पूर्णता दिने जानकारी समेत दिए ।

लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सपथ ग्रहण गरेका छन्। नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका महरासहित तीन जना सांसदले विना विभागीय मन्त्रीको रुपमा आइतबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सपथ लिएका हुन्। आज अर्घाखाँची १(१)बाट निर्वाचित सांसद् एमालेका चेतनारायण आचार्य, रोल्पा १(२)बाट निर्वाचित माओवादी केन्द्रका दिपेन्द्रकुमार पुन र बाँके २(१) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)का भण्डारी लाल अहिरले सपथ लिए। जसपाका अहिर यसअघि कृषि मन्त्री र एमालेका आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।  कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमत आउने नदेखिएपछि राजीनामा दिएका थिए। नयाँ सत्ता समिकरणबाट  मुख्यमन्त्री बनेका माओवादी केन्द्रका महरालाई एमाले, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद्ले साथ दिएका छन्। 

आज सपथ लिंदै लुम्बिनीका मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आज हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा दिउँसो पौने दुई बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाउने भएका छन्। केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।  बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरुको वीचमा लिखित सहमती भएको खुलेको थियो । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमति भएको छ।  यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ। लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन्। एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिने गरी तयारी गरेको बताइएको छ ।

समाजको रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री शर्मा

पाल्पा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन् । सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यम स्थानीय समुदायको सचेतनामा केन्द्रित हुने भएकाले समाज रुपान्तरणमा उनीहरुको बढी भूमिका रहने बताएकी हुन्।  मन्त्री शर्माले भनिन्– ‘सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्ने मात्र नभई उनीहरुका भावना राज्यका जिम्मेवार निकायसम्म पुर्याउने भएकाले पनि समुदायस्तरमा सञ्चालित सञ्चारमाध्यमको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका छ ।’ उनले स्थानीय सञ्चारमाध्यमहरु स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने आकर्षण पनि अझै बढेर जाने बताइन् । सञ्चारमाध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तन कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन्।   ‘बढ्दो प्रतिष्पर्धा र सूचना प्रविधिको तीब्र प्रयोगका बीच अब सामुदायिक रेडियोहरु अझ बढी समुदायको हितमा केन्द्रित रहनुपर्ने बेला आएको छ। देश विदेशका सूचना क्षणक्षणमा प्रवाह गर्ने सञ्चारमाध्यमको अभाव छैन तर समुदायका आवाज र भावना समुदायकै भाषा शैलीमा प्रस्तुत गर्ने दायित्व भने सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमहरुले मात्र निर्वाह गर्नसक्छन्’–उनले भनिन्– ‘त्यसैले चुनौती हुँदाहुँदै पनि स्थानीय सञ्चारमाध्यम र त्यसमा पनि अझ सामुदायिक रेडियोहरुको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था छ, त्यसका लागि यस्ता सञ्चारमाध्यमहरुलाई बढीभन्दा बढी समुदायकेन्द्रित बनाउँदै समुदायकै सहयोगमा सबल बनाउन सकिने छ ।’ सूचना प्रविधिको बढ्दो प्रयोगले भूमण्डलीकरणको अवस्थालाई बढाइदिएको उल्लेख गर्दै मन्त्री शर्माले यसले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पूर्खाले हस्तान्तरण गरेको अमूल्य निधि मौलिक संस्कृतिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताइन् । स्थानीय सञ्चारमाध्यमहरुको प्रवर्धनका लागि सरकार प्रतिबद्ध उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताइन्।  संविधानले आम सञ्चार क्षेत्रको निमयमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखे पनि प्रबर्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको उल्लेख गर्दै मन्त्री शर्माले प्रदेश र स्थानीय तहहरुले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन्।   संविधान बनेको लामो समयसम्म आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्दै उनले यसलाई चिर्दै जतिसक्यो चाँडो आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिइन्। मन्त्री शर्माले थपिन– ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आम सञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ भने मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने अन्तिम तयारीमा छौं । यी कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आम सञ्चार क्षेत्रको पुनःसंरचरचना हुने सरकारको विश्वास रहेको छ ।’ यसबाहेक प्रचलित कानुनभित्रै रहेर पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई सहज बनाउन सरकारले बेलाबेला आवश्यक निर्णय लिने गरेको जानकारी दिंदै उनले विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापनरु व्यवस्थित गर्ने काम गरिएको बताइन् । रेडियोहरुको लाइसेन्स तथा इजाजत नवीकरणमा समस्या देखिएको गुनासो आएपछि सबै क्षमताका रेडियोहरुले अनलाइनबाट अभिलेखीकरण गरी जिल्ला हुलाकबाट नवीकरण अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जानकारी दिंदै उहाँले सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि एक वर्षबाट बढाएर तीन वर्ष पुर्याइएको र यी सुधारका कार्यले जिल्लास्तरमा रहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई थप सहज हुने विश्वास व्यक्त गरिन्। मन्त्री शर्माले सरकार सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोंच बनाएर अघि बढिरहेको उल्लेख गर्दै सबै क्षेत्रमा महत्वपूर्ण सुरुवात भए पनि सरकारले चाहे जस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्रीले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरै भन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने तयारीमा सरकार रहेको जानकारी दिइन्।

माओवादीका महरालाई लुम्बिनीको मुख्यमन्त्री बनाउने सहमति

तुलसीपुर । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्षका दलहरू सहमत भएका छन् । एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन् ।  लुम्बिनीमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने केन्द्रको सहमतिअनुसार प्रदेश सरकार निर्माणका लागि कसरत भइरहेको छ । ८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका दलनेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी बनेको हो । सहमतिअनुसार राजनीतिक नियुक्तिहरू सरकारमा सहभागी सबै दलहरूको अपनत्व हुने गरी गर्नुपर्ने, प्रदेशका गौरवका योजना, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन निर्माण गर्दा साझा प्राथमिकताका रुपमा कार्यान्वयन गर्ने, प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माणलगायतमा सबै दलको अपनत्व हुने गरी गर्ने सहमति भएको हो । 

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्धारा राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा उनले राजीनामा दिएका हुन् । चौधरी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । चौधरीले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते

दाङ । दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए । गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन् । थारू दुर्घटनामा परेको एक बसका चालक हुन । लमही अस्पतालमा सामान्य उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । लमही अस्पतालमा सामान्य घाइतेको उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएका हुन् ।

ओत लागेको रुख ढलेर च्याप्दा एक जनाको मृत्यु

पाल्पा । अचानक हावाहुरी सहित आएको असिनापानीका कारण पाल्पामा ओतमा बसेका एक जनालाई रुख ढलेर च्यापेको छ । तानसेन नगरपालिका ८ डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटरमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा

पाल्पा । विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी सागर नेपालीको घरमा रगत छेपिएको कपडा, मृतकको मोवाईल र खुर्पा भेटिएको छ।  घटनामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलालबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले बताएको छ। घटनामा संलग्न भएको संकामा प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा शुक्रबार दिउँसो उनको घरबाट मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटेको हो। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए। मंगलबार बिहान ९ः३० बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए।  खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।