रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा

रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा

पाल्पा । विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी सागर नेपालीको घरमा रगत छेपिएको कपडा, मृतकको मोवाईल र खुर्पा भेटिएको छ। 

घटनामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलालबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले बताएको छ।


घटनामा संलग्न भएको संकामा प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा शुक्रबार दिउँसो उनको घरबाट मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटेको हो। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए। मंगलबार बिहान ९ः३० बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए। 

खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाललाई वेस्टइन्डिज ए ले दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेस्टइन्डिज ए ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । गुडाकेश मोतीले तल्लोक्रममा ८ बलमा २ चौका र ४ छक्कासहित ३३ रनमा नट आउट रहे । म्याथ्यु फर्ड ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । तेस्रो ओभरमा स्पिनर सागर ढकालले जोनसन चाल्र्सलाई ११ र एलिक एथानाजेलाई ६ रनमा आउट गरेका थिए । त्यसपछि कुनै पनि समय वेस्टइन्डिजले आक्रामक क्रिकेट खेल्न सकेन । वेस्टइन्डिजको कमजोरीको फाइदा उठाउँदै नेपालले लगातार स्पिनर लगाएको थियो । रोश्टन चेश, २२ बलमा २ चौका र १ छक्कासहित २३, केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।

बझाङमा मतगणना सुरु

धनगढी । बझाङ प्रदेश सभा १ को मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको हो । शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो । आइतबार बिहानसम्म मतपेटीका सदरमुकाम चैनपुरमा संकलन गरिएको थियो ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी (रासस)। जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।            लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताए । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।     

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरातर्फ आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ यात्री सवार रहेका प्रहरीले जनाएको छ । घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका निम्ति लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले बताए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ । थप विवरण आउन बाँकी छ,” शर्माले भने । तनहुँबाट रिजर्भका निम्ति बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्कने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस

लोकप्रिय