बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

बागलुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरातर्फ आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५, हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।

ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ यात्री सवार रहेका प्रहरीले जनाएको छ ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका निम्ति लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले बताए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्‍याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ । थप विवरण आउन बाँकी छ,” शर्माले भने ।

तनहुँबाट रिजर्भका निम्ति बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्कने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । रासस

जेलबाट रिहा भए केजरीवाल

नयाँ दिल्ली । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन्।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्याधिश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनी ५० दिनपछि रिहा भएका छन् । तिहाड जेलमा रहेका केजरीवालले जेलबाट बाहिर निस्केसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफु तानाशाहीविरुद्ध लडिरहेको बताए । साथै उनले भोलिदेखि आफ्ना चुनावी प्रचारको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा आज यस्तो कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्। गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुईजना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई गएराति पक्राउ गरेको हो। बुटवल घर भएका उनीहरू दुवै ११ किलो सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  यसबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

काठमाडौँका यी स्थानमा चार दिन हुनेछ विद्युत् अवरुद्ध

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ।  आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ।  त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ। यी स्थानमा तोकिएको दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। 

लोकप्रिय