पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव फेला

पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव फेला

लिस्बन (पोर्चुगल) । सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव फेला परेको छ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीले बताएको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष  प्रबल भट्टराईले जानकारी दिए । शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो ।

अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए । उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

परिवारको आग्रहमा दुवैजनाको शव नेपाल पठाउन लागिएको र यसका लागि कागजीलगायत आवश्यक प्रक्रियाको तयारी भइरहेको गैरआवासीय नेपाली संघ पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन उपसमितिकी संयोजक दीपा काफ्लेले जानकारी दिइन् ।  

वैदेशिक रोजगारीको सिलसिलामा चार महिनाअघि क्रोसिया आएका टेकबहादुर एक महिनाअघि मात्रै पोर्चुगल आएका थिए । धनबहादुर फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । 

नाताले काकाभतिज पर्ने दुवैजना लिस्बन नजिकैको मोन्तिजोमा सँगै बस्दै आएका थिए । अहिले यी दुवैको शव लिस्बनस्थित साओ जोसे अस्पतलामा राखिएको छ । रासस 

आज अक्षय तृतीया  सर्बत र जौको सातु खाने दिन

काठमाडौं । आज वैशाख शुक्ल तृतीयाको दिन अक्षय तृतीया पर्व मनाइँदैछ ।यस दिनमा हिन्दु धर्मावलम्बीहरुले ब्रह्मा, विष्णु, महेश्वरको आह्वान गरेर घडामा सर्बत र जौको सातु आदि वस्तु दान गर्ने परम्परा छ । शीतलता प्रदान गर्ने यस्ता वस्तुहरु दान गर्नाले अक्षय फल प्राप्त हुने मान्यता रहेको छ ।गर्मीको मौसम भएको हुनाले आज बाटो हिँड्ने बटुवालाई सर्बत र सातु खुवाउने चलन पनि रहेको छ । यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।  ज्योतिषका अनुसार अक्षय तृतीयाको दिन सनातन धर्ममा आस्था राख्ने मानिसले सुन चाँदीका गरगहना किन्ने गरेको बताउँछन् । ज्योतिष शास्त्रका अनुसार राशि अनुसार किनमेल गरेमा लक्ष्मीको कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।   

कांग्रेस संसदीय दलको बैठक बस्दै, देला त संसद् चल्न ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको छ । बैठक आज बिहान साढे ८ बजेका लागि बोलाइएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकले पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ। कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ। यसअघि बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो। पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बिहीबारको बैठक स्थगित गरिएको थियो।

देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती  प्रदेश लगायत देशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद्‌मा दुई मन्त्री नियुक्त

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।‌ प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ गराएका हुन्।  एमाले संसदीय दलका नेता कार्कीलाई बिहीबार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।‌ उनलाई समर्थन गर्ने ५२ जना सांसदले सनाखत गरेका थिए। मुख्यमन्त्री कार्कीले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमालेबाट रामबहादुर मगर र माओवादी केन्द्रबाट गणेश उप्रेती लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । मगर इलाम र उप्रेती मोरङबाट निर्वाचित सांसद हुन्। दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरी विश्वासको मत लिन भनेका थिए।‌ तर, कार्कीले संकल्प प्रस्तावको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै विश्वासको मत लिएनन्। उनले सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

लोकप्रिय