ओत लागेको रुख ढलेर च्याप्दा एक जनाको मृत्यु

पाल्पा । अचानक हावाहुरी सहित आएको असिनापानीका कारण पाल्पामा ओतमा बसेका एक जनालाई रुख ढलेर च्यापेको छ ।

तानसेन नगरपालिका ८ डुम्रे नजिकै जरेपिपलमा भएको घटनामा स्कुटरमा रहेका स्कुटर चालक पाल्पा तानसेन कैलाशनगरका २० बर्षिय भुवन सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित छौं :  मन्त्री शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएका छन् । आज घोराहीमा सहिदहरुको शालिक माल्यार्पन गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरुलाई निक्र्योल गरी शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने बताए । उनले क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्र्दै न्याय प्रक्रियामा ढिलाइ भएकाले छिटोभन्दा छिटो यस विषयलाई टुङ्ग्याउने बताइन्।  अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताइन् । यस्तै, लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त भएको जनताको संविधानलाई बचाईराख्न आवश्यक रहेको बताइन् । अहिलेको प्राप्त उपलब्धि  माथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना बढ्ने पनि बताइन्।  उनले घोराही ६ र ७ नम्बर वडाका मृतक सहिद कृष्णी चौधरी (आस्था), अर्जुन चौधरी (क्षितिज) , निराजन चौधरी (सन्केत) शालिकराम चौधरी (सुवर्ण), हिमली चौधरी (दीक्षा), सितल चौधरी (सितल), गोवर्धन कोरि, लक्ष्मण उपाध्याय (राजन) , वसन्त सुवेदी (कुमार)को शालिक माल्यार्पन गरेसँगै जिल्लामा रहेका सहिद परिवारसँग भेटघाट भेटघाट पनि गरेकी थिइन्।

बुटवलमा दुग्ध उत्पादक किसानको चक्काजाम

बुटवल, १७ फागुन । विभिन्न माग राख्दै दुग्ध उत्पादक किसानले बुटवलमा एक घण्टा चक्काजाम गरेका छन्। बुटवलको राजमार्ग चौराहमा जम्मा भएका दुग्ध उत्पादक किसानहरूले दुग्ध उत्पादन बिक्री वापतको भुक्तानी, मनपरी कायम गरिएको मूल्य खारेजी, भारतबाट अवैध रूपमा भित्रिरहेको दूध तथा दुग्धजन्य पर्दाथमा रोक लगाउनुपर्ने माग राख्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गमा एक घण्टा चक्काजाम गरेका हुन् । किसानले चक्काजाम गरेपछि नेपाल प्रहरी, शशस्त्र प्रहरीले जाम खुलाउन केही समय बल प्रयोग गरेको छ । चक्काजाममा उत्रेका किसानहरूमाथि बल प्रयोग भएपछि केहीबेर प्रहरी र आन्दोलनरत किसानबीच धकेलाधकेल समेत भएको थियो। किसानहरूले माग पूरा नहुन्जेल आफ्नो आन्दोलन जारी राख्ने बताएका छन्। खुला दुग्ध उत्पादक सहकारी संघ रुपन्देहीको आयोजनामा भएको विरोध कार्यक्रममा किसानहरूले  ‘बिक्री भएको दूधको तुरुन्त भुक्तानी गर’, ‘अघोषित मिल्क होलिडे बन्द गर’, ‘भारतीय दूध प्रतिबन्ध गर’, ‘कृषिमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए। दूध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबार देखि आन्दोलन शुरू गरेका हुन् । केन्द्रीय सर्कलुर अनुसार बिहीबार किसानहरूले ठाउँ–ठाउँमा एक घण्टा चक्काजाम गरेका छन । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए । दुग्ध विकास संस्थानको गत भदौदेखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी छ।  रुपन्देहीका सहकारी संस्थाहरूले दुग्ध विकास संस्थान लुम्बिनी, दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूमा गरी दुई करोडभन्दा बढीको भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने किसानलाई दुधको मुल्य भूक्तानी गर्न निर्देशन दिइसकेका छन् । 

सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना

नेपालगन्ज । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए ।   उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए ।  जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो ।  सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको थियो ।  यसैगरी, लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ ।  गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गरेका थिए । 

रुसी सेनामा गएका  रोल्पाका युवकको मृत्यु

काठमाडौं । अवैधानिक तरिकाले रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवकको युक्रेनको आक्रमणका कारण मृत्य भएको छ । रुसी  सेनाको क्याम्पमै रहेका बेला युक्रेनी सेनाले ड्रोनबाट गरेको आक्रमणमा परेर रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रानागाउँका ४४ वर्षीय युवा घनसिंह पुनको मृत्यु भएको हो ।   तीन महिनाअघि भारत हुँदै रुसी सेनामा भर्ना हुन पुगेका उनको मृत्यु भएको उनीसँगै रहेका रोल्पाका अर्का साथीले खबर गरे। उनीसँग नेपालका करिब एक दर्जन युवाले सैन्य तालिम लिने तयारीमा थिए ।  उनका साथीहरू रोल्पा लिबाङका एक जना र आफन्तसमेत पर्ने दाङको घोराहीमा बस्ने अर्का युवाले आफूहरू मुस्किलले बाँच्न सफल भएको तर घनसिंहको आक्रमणमा परेर मृत्यु भएको खबर सुनाएका हुन् ।  मृत्यु हुनुअघि उनले एक महिनाको तलब पाएको तर घरमा पठाउन नसकेको बताएका थिए । त्यस अवधिमा उनले अब कमाउन आएकाले चिन्ता नगर्नसमेत बताएका थिए । 

वनको काठ हिनामिना प्रकरणमा मुछिएका राप्रपा सांसद यादव निलम्बित

बुटवल । कपिलवस्तुस्थित एक सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।  कपिलवस्तु क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो।  लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्वतः निलम्बन गरिएको जानकारी गराएको छ।  ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८०/११/०८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ,’ उनले भनेका छन्। गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्काली अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो। यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी पाउन र त्यही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर गरी पाउन मागदाबी लिइएको अख्तियारले जनाएको छ। 

पाल्पा अस्पतालमा सहजै उपचार पाउन नसकेको बिरामीको गुनासो

तानसेन। पाल्पा अस्पतालमा उपचारका लागि आउने बिरामीले सहजै उपचार पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाम तानसेनस्थित पाल्पा अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीले सहज रूपमा उपचार नपाएको गुनासो गरेका हुन् ।   अस्पतालमा कार्यरत कर्मचारीका कारण बिरामीले सास्ती बेहोर्नु परेको सेवाग्रहीले गुनासो गरेका हुन् । उपचारका लागि अस्पतालमा आउने बिरामीले समयै ल्याब रिपोर्ट नपाउने, समयमै उपचार नपाउने तथा कर्मचारीबाट राम्रो व्यवहार पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालले दिने सेवाका बारेमा स्पष्ट जानकारी नदिँदा कतिपय बिरामीले अनावश्यक झन्झट बेहोर्नु परेको छ ।  दिनहुँ अस्पतालमा आउने पाँच सय बिरामीमध्ये दुई सय बिरामीको उपचार अस्पतालले गरिरहेको छ । अन्य तीन सय बिरामी अन्य अस्पतालमा उपचार गर्न प्रेषणका लागि आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा आउने बिरामीले समयमै उपचार नपाएको, टिकट लिन अप्ठेरो बनेको, ल्याब टेस्टका रिपोर्ट समयमै नपाएको गुनासो गर्दै आएका छन् । अस्पतालका कर्मचारीबाट बिरामीमैत्री व्यवहार पाउन नसकेको माथागढीस्थित सराईबाट उपचारका लागि आएका तिलकराम घिमिरेले गुनासो गरे। अस्पतालमा निःशुल्क पाउने दिने औषधीसमेत आफूले नपाएको गुनासो उनको छ ।   कतिपय बिरामी उपचार नपाएर फर्कन बाध्य छन् । उपचार हुन्छ भनेर बिहानदेखि बेलुकीसम्म कुराउने र बेलुकी भएपछि आज उपचार हुँदैन भनेर फर्काउने गरेको रैनादेवी छहरा–३, भुवनपोखरीका लीलाबहादुर दर्लामीले गुनासो गरे । अस्पतालले बिरामीलाई बेलुकीसम्म राखेर उपचार नगर्दा ढाटाबाट उपचारका लागि आउने बिरामी सेवा नलिएर फर्कन बाध्य भएको उनले बताए।  अस्पतालले बिरामीलाई उपचार गर्न कति समय लाग्छ भनेर जानकारी नदिँदा हरेक दिन केही बिरामी उपचार नगरी घर फर्कन बाध्य भएका छन् । अस्पताल प्रशासनले भने अस्पतालको क्षमता, कर्मचारीको क्षमता अनुसार सेवा प्रदान गरेको जनाएको छ । अस्पतालकी नर्सिङ अधिकृत लक्ष्मी जिसीले हाल कार्यरत कर्मचारीको क्षमता अनुसार बिरामीलाई सेवा दिएको बताए । कहिलेकाहीँ बिरामी घर जान हतार गर्दा पनि सेवामा असहजता उत्पन्न भएको हुन सक्ने उनले बताए ।  अस्पतालमा पछिल्लो समय सिफारिस लिने र उपचार गर्ने बिरामीको चाप बढेका कारण बिरामीलाई असहज लागेको हुन सक्ने कर्मचारी भनाई छ । अस्पतालमा धेरै बिरामी रिफरका लागि आउने गरेका छन् । ती बिरामीका लागि सिफारिस व्यवस्थापन गर्दा पनि अस्पतालको सेवा प्रभावकारी हुन नसकेको कतिपय स्वास्थ्यकर्मी बताउँछन् ।