गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले

गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले

गुल्मी । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ।  

इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन्।

त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी  मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए।

शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो। 

त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए।

इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्। 

उनीहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ।

शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ। 

सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट  रु दुई करोड बराबरको क्षति भएको छ। 

नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ। बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए। अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ। सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन्। यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि सो मागमा रहेको छ । यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए।“पशुपतिजी पनि आउनु भएन। सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने।

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ।खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो। सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको भन्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गरेका छन्।माओवादीले भनेको छ( ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागी अपूरणीय क्षति भएको छ। राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ।’ विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए। खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए। हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन्। सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

डेढ वर्षपछि भारतमा चीनका नयाँ राजदूत

काठमाडौं । करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले १८ महिनाको असाधारण ढिलाइपछि शुई फेइहोङलाई भारतका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । यसबारे औपचारिक घोषणा नभए पनि चीनको विदेश मन्त्रालयले अफगानिस्तान र रोमानियाका लागि राजदूत भइसकेका शुई अब भारतका लागि चीनको राजदूत हुने समाचार एजेन्सी पीटीआईलाई पुष्टि गरेको छ । ६० वर्षीय शुईले छिट्टै नयाँ दिल्लीमा आफ्नो पद सम्हाल्ने छन्। उनले सन् २०२२ को अक्टोबरमा भारतमा आफ्नो कार्यकाल पूरा गरेका सन विडोङको स्थान लिनेछन् । सुन वेइडोङ भारतमा आफ्नो कार्यकाल अघि पाकिस्तानका लागि चीनका राजदूत पनि थिए र हाल उपविदेश मन्त्री छन् र चीनको दक्षिण एसिया नीतिलाई सम्हाल्ने जिम्मेवार छन् । शुईको नियुक्ति भारत र चीनबीच लामो समयदेखि चलिरहेको सैन्य गतिरोध समाधान गर्नका लागि विभिन्न चरणको वार्ताको बीचमा आएको हो।मे २०२० मा लद्दाखमा भएको हिंसात्मक सैन्य झडपपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहेको छ। 

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहँदै १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको एक लाख ३५ हजार ४०० मा कारोबार भएको थियो भने तेजाबी सुन तोलाको एक लाख ३५ हजार ७५० मा कारोबार भएको थियो ।   त्यसैगरी आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा स्थिर रहँदै प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लोकप्रिय