मधेशमा माओवादीका २ र समाजवादीका १ मन्त्री थपिदै

मधेशमा माओवादीका २ र समाजवादीका १ मन्त्री थपिदै

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक जना गरी ३ जना मन्त्री नियुक्त गर्न लागेका हुन् ।

उनीहरुको आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको छ ।

११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १÷१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ जना मन्त्री नियुक्त गर्न लागेको हो ।

मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज नेपाल आउँदैछिन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । विदेशमन्त्री योकोले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठसँग द्विपक्षीय औपचारिक वार्ता हुनेछ। वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसपछि नेपाल आउने योको चौथो विदेशमन्त्री हुन्।

कानूनसहित तीन समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ । आज कानून, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा विधायन व्यवस्थापन समिति गरी तीनवटा समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरुका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ। यसैगरी, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण, राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता र समितिले संघीयता सबलीकरणका लागि गर्नुपर्ने थप कार्यहरूका विषयमा छलफल हुनेछ । यस्तै, आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक : काङ्ग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा.महतले काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताएका हुन्। उनले भने ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’  

मुलुकलाई बर्बाद हुनबाट जोगाउन एमाले सरकारमा : महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन नेकपा एमाले नयाँ सहकार्य सहित सरकारमा सहभागी भएको बताएका छन् । एमाले काठमाडौँ(प्यूठान सम्पर्क मञ्चको १२ औँ अधिवेशन उदघाटन गर्दै महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताए।  उनले हालै सम्पन्न उपनिर्वाचनले मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्ति र प्रवृत्ति काम लाग्दैन भन्ने सन्देश दिएको बताए। विकसित देशमा राजनीतिक स्थायित्व पुराना राजनीतिक दलबाट खोज्ने गरिएको उनको भनाइ छ ।  “अमेरिकामा सयौँ वर्षदेखिका तीनै पार्टीबाटै नेतृत्वको विकल्प खोज्ने गरिन्छ । त्यहाँ ती पार्टी पुराना भयो, जनताले नयाँ पार्टी चाहियो भनेर भन्दैनन् । ब्रिटेनमा पनि सयौँ वर्षदेखि पुराना पार्टी आपसमा प्रतिस्पर्धा गर्छन्,” उनले भने, “तर नेपालमा सामाजिक सञ्जालमा चर्चित व्यक्तिलाई अगाडि सारेर पपुलिजमका आधारमा विचारधारा निर्माण गर्ने र पुराना पार्टीको विकल्प खोज्ने दुष्प्रयत्न गरिएको छ । त्यसले नेपाली समाजलाई दिग्भ्रमित गरिरहेको थियो, त्यो सच्चा के हो भन्ने कुरा जनताका बीचमा गएर उपनिर्वाचनले परीक्षण गरेको छ ।”  उनले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए। अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरुको नभएको भन्दै मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको उनले स्पष्ट पारे। अहिले पनि एमालेको ध्यान मिसन २०८४ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा उनले राखे।  एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सूर्य थापाले प्यूठानका विकास निर्माणले गति लिएको बताए। कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष विजयविराट विष्ट, अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीलगायतले प्यूठानको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राखे।

लोकप्रिय