मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् । 

चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन्। माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन  र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन्। 

यसैगरी, एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको छ। त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ  लिएकी छन्। 

नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।

राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक : काङ्ग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको बिकासका लागि घातक रहेको बताएका छन्। शनिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा.महतले काङ्ग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको छ यो नेपालको लोकतान्त्रिक आन्दोलन र बिकासका लागि घातक रहेको बताएका हुन्। उनले भने ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्योलग्रस्त भएको होइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको होइन । जसले अस्थिरता निरन्तर रूपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नति र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’  

मुलुकलाई बर्बाद हुनबाट जोगाउन एमाले सरकारमा : महासचिव पोखरेल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन नेकपा एमाले नयाँ सहकार्य सहित सरकारमा सहभागी भएको बताएका छन् । एमाले काठमाडौँ(प्यूठान सम्पर्क मञ्चको १२ औँ अधिवेशन उदघाटन गर्दै महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । मुलुकको समृद्धिका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै उनले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थिरता सुनिश्चित हुन सके मुलुकको समृद्धिलाई कसैले रोक्न नसक्ने बताए।  उनले हालै सम्पन्न उपनिर्वाचनले मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्ति र प्रवृत्ति काम लाग्दैन भन्ने सन्देश दिएको बताए। विकसित देशमा राजनीतिक स्थायित्व पुराना राजनीतिक दलबाट खोज्ने गरिएको उनको भनाइ छ ।  “अमेरिकामा सयौँ वर्षदेखिका तीनै पार्टीबाटै नेतृत्वको विकल्प खोज्ने गरिन्छ । त्यहाँ ती पार्टी पुराना भयो, जनताले नयाँ पार्टी चाहियो भनेर भन्दैनन् । ब्रिटेनमा पनि सयौँ वर्षदेखि पुराना पार्टी आपसमा प्रतिस्पर्धा गर्छन्,” उनले भने, “तर नेपालमा सामाजिक सञ्जालमा चर्चित व्यक्तिलाई अगाडि सारेर पपुलिजमका आधारमा विचारधारा निर्माण गर्ने र पुराना पार्टीको विकल्प खोज्ने दुष्प्रयत्न गरिएको छ । त्यसले नेपाली समाजलाई दिग्भ्रमित गरिरहेको थियो, त्यो सच्चा के हो भन्ने कुरा जनताका बीचमा गएर उपनिर्वाचनले परीक्षण गरेको छ ।”  उनले एमालेलाई मुलुकको समृद्धि र विकासको अगुवा पार्टीका रुपमा अगाडि बढाउन आवश्यक रहेको बताए। अहिले नयाँ समीकरणले देशलाई चमत्कार गर्छ भन्ने विश्वास आफूहरुको नभएको भन्दै मुलुकको ओरोलो यात्रालाई रोक्न र मुलुकलाई बर्बाद हुनुबाट जोगाउन पार्टी सरकारमा सहभागी भएको उनले स्पष्ट पारे। अहिले पनि एमालेको ध्यान मिसन २०८४ तर्फ रहेको र पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्ने धारणा उनले राखे।  एमाले पोलिटब्यूरो सदस्य तथा सांसद सूर्य थापाले प्यूठानका विकास निर्माणले गति लिएको बताए। कार्यक्रममा एमाले प्यूठानका अध्यक्ष विजयविराट विष्ट, अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीलगायतले प्यूठानको विकासमा सबै एकजुट हुनुपर्ने धारणा राखे।

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ ।  बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने, नीति तथा कार्यक्रममा दलको सुझाब लिने विषयमा छलफल भइरहेको बताइएको छ। साथै, समसामयिक विषय र सरकारको काम कारबाहीका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ देखि सुरु हुने गरी सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् ।

देशभित्र देखिएका चुनौतीको सामना गर्न कांग्रेस एकताबद्ध हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।  नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।  यसअघि जस्तै अहिलेको चूनौती समाधान गर्न कांग्रेस सफल हुने उनको विश्वास छ । सभापति देउवाले देशमा खेलकुदप्रति युवाको आकर्षण रहेको भन्दै खेल क्षेत्रको विकासमा सवै गम्भीर भएर लाग्नुपर्ने बताए । 

लोकप्रिय