सहकारी समस्या समाधानकाे ठोस योजना ल्याउँछौं : प्रधानमन्त्री

सहकारी समस्या समाधानकाे ठोस योजना ल्याउँछौं : प्रधानमन्त्री

काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको विषय गम्भीर रहेको बताउँदै अर्को मन्त्रीपरिषद् बैठकले यसबारे ठोस योजना ल्याउने बताएका छन्।  

शनिबार काठमाडौँमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै अध्यक्ष प्रचण्डले सहकारीको विषयमा उत्पन्न समस्या हल गर्न लागिरहेको बताएका छन्। बैठकमा सहभागी एक सदस्यका अनुसार  यसबारेमा विपक्षी दलसँग पनि संवाद जारी राखेको तर निचोड ननिस्किएको प्रचण्डको भनाई छ।  

बैठकमा उनले भने–‘सहकारीको जटिलता गम्भीर बनेको छ, अर्को क्याबिनेटमा यसबारे ठोस योजना आउँछ। कुनै नेतालाई ताकेर होइन समग्र समस्या समाधानका लागि संसदीय छानबिन समिति बनाएर हल गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु। विपक्षी दलसँग संवाद जारी छ, निचोड निक्लिएको छैन।केही दिनमा सर्वदलीय बैठक बोलाएर निकास खोज्न लागेको छु।’ सरकारले महत्त्वपूर्ण विधेयक संसद्मा पेस गरेको बताउँदै सबै सक्रिय भएर छिटो पास गर्नका लागि पनि प्रचण्डले आग्रह गरेका छन् ।  

टिआरसी विधेयकबारे संसद्मा गम्भीर बहसमा भाग लिन र संसदीय गतिविधिमा प्रभावकारी भूमिका खेल्नका लागि सांसदहरूलाई निर्देशन समेत दिएका छन्।संसद्को चौथो अधिवेशनलाई प्रभावकारी बनाउन सबै संसदहरुलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै नीति तथा कार्यक्रम र बजेट रचनात्मक र प्रभावकारी बनाउन सुझाव दिन प्रचण्डले आग्रह गरेका छन्।

कांग्रेस संसदलाई मुठभेडमा लैजान चाहेको एमालेको आरोप

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली काँग्रेसले संसदलाई मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।  शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बर्तौलाले संसद अवरोध गर्ने क्रममा बिहीबार कांग्रेसले एमाले अध्यक्षमाथि गरेको दुर्व्यवहार प्रयासले मुठभेडतिर लैजान खोजेको पुष्टि हुने बताए।  'संसदमा हाम्रा श्रद्धेय अध्यक्षमाथि अशिष्ट व्यवहार प्रर्दशन गरे, उदण्ड व्यवहार प्रर्दशन गरे। भिडभाड, दादागिरी र उदण्डताका साथ मुठभेडमा लैजान नेपाली काँग्रेस चाहन्छ भन्ने कुरा त्यो अस्तीको घटनाबाट देखिन्छ,’ बर्तौलाले भने।  कांग्रेसले संसदको वेल घेर्‍यो र नाराबाजी गरेकोमा एमालेलाई कुनै आपत्ति नहुने पनि उनले बताए।  'सरकारको आसनमा आएर उपसभामुखको आसनमा आएर जुन प्रकारको अभद्र, अशिष्ट, अमर्यादित र उदण्ड प्रस्तुति उहाँहरुबाट भयो त्यो संसदीय इतिहासमा एउटा कालो दिनको रुपमा रहन्छ,' उनले भने। प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसदले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने पनि बताए। 

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफल

काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।  सो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ । अहिले गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेको उनको सचिवालयको भनाइ छ ।  आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् ।  शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। प्रचण्ड समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दाबी छ ।

कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने जिम्मेवारी छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीति तमासा भइरहेको बताएका छन्। शनिबार नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको उल्लेख गरे। राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिएको गुनासो पनि उनले गरे। उनले राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको बताए। उनले राजनीति स्थिर भएर अघि बढ्नुपर्नेमा जोड दिए । देशमा स्थायित्व र वामपन्थी कम्युनिस्टबीचको एकता र समझदारी नयाँ उचाइमा पुग्नुपर्ने उनले बताए । “हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामी त खालि तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौँ । अवलोकन गरिरहेका छौँ,” उनले भने, “नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो? यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस् । हामी चाहन्छौँ, यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरूको, कम्युनिस्टहरूबीचको एकता र समझदारी नयाँ उचाइमा पुगोस् ।” अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई अघि बढाएर लैजाने ऐतिहासिक जिम्मेवारी आफूहरूको रहेको बताए । 

राजनीतिक गत्यावरोधले भोलिसम्ममा निकास पाउँछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन्। नेकपा (माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे । “प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने “भोलिसम्म सदनको अवरोध हट्ने छ ।” यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। उनले भने, “विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन ।” सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए।   “सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने  र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ,” प्रधानमन्त्री प्रचण्डले भने, “बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेट बोक्नै पर्छ ।” कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुनुपर्ने बताए।  “समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचार एकठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ। लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा प्रकाशित ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरू ग्रन्थ–२’, आस्था केसीद्वारा लिखित ‘जनयुद्धका चिठी’ र कालिकोट स्मारिकाको आज विमोचन गरेका हुन् ।  

लोकप्रिय