बुवाको हत्या गरेको अभियोगमा पक्राउ

तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ

स्याङ्जा । अवैध लागूऔषध सहित स्याङ्जामा २ जना पक्राउ परेका छन् ।  स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ सुम्रेखोलामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले संकास्पद अवस्थामा फेला पारी चेकजांच गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  उनका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ का अनिल क्षेत्री र सोही ठाउँका २२ वर्षका शिव दर्जी रहेका छन् ।  उनीहरुको साथबाट नुर्फिन १४ एम्पुल ,फेनरागन  १२ एम्पुल ,डाईजेपाम १३ एम्पुल  गरी जम्मा ३९ एम्पुल बरामद भएको प्रहरीको भनाई छ । उनीहरुलाई आजै स्याङ्जा जिल्ला अदालतबाट दिन १० को म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रबक्ता रानाले जानकारी दिए ।

गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् । गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।  उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ । विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ। अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।

मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।  चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन्। माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन  र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन्।  यसैगरी, एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको छ। त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ  लिएकी छन्।  नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।

लुम्बिनीका नवनियुक्त ७ जना मन्त्रीले लिए शपथ

काठमाडौँ। लुम्बिनी प्रदेशका नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मन्त्रीहरूलाई शपथ खुवाएका हुन् । मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । २३ चैतमा नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले सोही दिन एमालेका चेतनारायण आचार्य, माओवादीका दिपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । तीनै जनाको मन्त्रालय आज मात्रै तोकिएको हो । जसअनुसार आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजको विस्तारसँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीद्धारा दाबी पेश

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

काम लागेन काङ्ग्रेसको ढोक्साः एमालेकै समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी

धनगढी । नेपाली काङ्ग्रेसले समर्थन गरेर ढोक्सा थाप्न खोजेपनि सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसको ढोक्सा खेर गएको छ । लामो रस्साकसीपछि नेकपा एमालेकै समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। सोडारीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्। एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि काङ्ग्रेसले समर्थन गर्ने देखेपछि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्। एकीकृत समाजवादीका सांसद प्रकाश रावलले हस्ताक्षरको काम भैरहेको र एमालेले पनि समर्थन गर्ने तय भएको जानकारी दिए । सोडारीलाई नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन नगर्ने भएको छ। रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गर्न लागेका हुन्। अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेर प्रदेश सभामा जानकारी गराइसकेकाले कैलाशलाई नै संसदीय दलको नेता मानेर पत्र लेख्ने तयारी भएको गृहकार्यमा संलग्न नेताहरूले जानकारी दिए। सभामुख भीमबहादुर भण्डारीले पनि नाउपामा संसदीय दलको विधान कार्यान्वयनमा नआइसकेको अवस्थामा सम्बन्धित पार्टीको अध्यक्षले कैलाश चौधरी संसदीय दलको नेता तोकेको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भइसकेको जानकारी दिए।

मधेशमा माओवादीका २ र समाजवादीका १ मन्त्री थपिदै

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक जना गरी ३ जना मन्त्री नियुक्त गर्न लागेका हुन् । उनीहरुको आजै शपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको छ । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्री सहित जनता समाजवादी पार्टीको ४, एमालेको ४, एकीकृत र माओवादी केन्द्रको १÷१ मन्त्रालय छन् । माओवादी केन्द्रले उद्योग तथा पर्यटनमन्त्री सुनिता साहलाई फिर्ता बोलाएर २ जना मन्त्री नियुक्त गर्न लागेको हो । मुख्यमन्त्रीसँग जनमतले छाडेको श्रम तथा यातायात र लोकतान्त्रिक समाजवादी पार्टीले छाडेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो। आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ।  यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।  सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् । 

विराटनगरको धार्मिक र्‍यालीमा विवाद हुँदा रानी क्षेत्रमा तनाव

विराटनगर । रामनवमीको सन्दर्भ पारेर हिन्दु धार्मिक संघसंस्थाले विराटनगरमा निकालेको धार्मिक र्‍यालीका क्रममा विवाद भएको छ । विराटनगर महानगरपालिका–१५ का युवाले बृहत् मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेपछि अर्को समूहले अवरोध गर्न खोज्दा विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको हो । सडक अवरोध हुन खोजेपनि प्रहरीले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको छ ।  विराटनगर–१५ र १७ सिमानामा दुई समूहबीच झडपको अवस्था आएपछि प्रहरीले हवाई फायर गरेको थियो । अवस्था बिग्रन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पोल गाडेको ६ वर्षपछि बल्यो बिजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३र११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका तीनवटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो। विस २०७६ मा पोल गाडिएको थियो । सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिए। ‘पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ’, उनले भने, ‘उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत असोजमा बिजुली बलेको थियो। पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो।’ बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताइन्। दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४ दशमलव पाँच किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे। नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले सुनाइन्। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजना मार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ। केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए। पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ। म्याग्दी वितरण केन्द्र अन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन्। गत आर्थिक वर्ष २०७९र८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए। मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका चार सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ। म्याग्दीमा केन्द्रीय लाइनको विद्युत् नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा २० करोडभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो।भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले जानकारी दिए ।

सरकारी भवनमा स्वदेशी काठ प्रयोग गर्न बागमती प्रदेशको प्रस्ताव

हेटौंडा । सरकारी र सामुदायिक भवन निर्माणमा स्वदेशकै काठ प्रयोगका लागि नीतिगत व्यवस्था मिलाउन बागमती प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेलले संघीय सरकारका वन तथा वातावरणमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वदेशी काठ प्रयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरेका हुन् । ध्यानाकर्षणपत्रमा नयाँ बन्ने सरकारी कार्यलय र सरकारी अनुदानबाट बन्ने सामुदायिक भवनमा युपिभिसी प्रयोगमा रोक लगाउनुपर्ने उल्लेख छ । पोखरेलले २० चैतमा पदभार ग्रहण गर्दै पहिलो निर्णय नै युपिभिसी तथा आयातित काठको प्रयोग रोक्न स्वदेशी काठको प्रयोग अनिवार्यताका लागि नीतिगत व्यवस्था गर्ने निणर्य गरेका थिए । मलेसियालगायतका देशबाट आयात भएका कमजोर काठ बिक्री भएको तर स्वदेशी काठ बिक्री नभएर कुहिने अवस्थामा रहेको भन्दै मन्त्री पोख्रेलले चिन्ता व्यक्त गरेका छन् । वनमन्त्री साहलाई मन्त्री पोख्रेल, प्रदेश वन मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधानले भेटेर १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षणपत्रमा राष्ट्रिय वन क्षेत्रको एकीकृत रणनीतिक योजना यथाशीघ्र तयार गर्ने, वन ऐन २०७६ को दफा ६२ उपदफा २ अनुसार वन अपराध नियन्त्रण, मुद्दा तहकिकात तथा दायरीको लागि अनुसन्धान अधिकृत सम्बन्धि नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने, सबै प्रदेशमा वन व्यवस्थापनका कार्यक्रमहरुमा एकरुपता ल्याउन दीगो वन व्यवस्थापनका राष्ट्रिय मापदण्ड तयार गरी लागू गर्न भनिएको छ ।

प्रधानमन्त्री र गण्डकीका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।  प्रधामन्त्रीसँगको भेटमा प्रदेशका विकासबारे छलफल गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन्। मुख्यमन्त्री अधिकारीले सामाजिक सञ्जालमा तस्बिर सार्बजनिक गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग गण्डकी प्रदेशको समग्र विकासका बारेमा केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरुमा छलफल भयो र उहाँले सकारात्मक रुपमा लिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’  गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेश प्रमुख डिल्लीराज भट्टलाईलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेलगत्तै मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।  गण्डकी मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।  प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका अनुसार सरकारले विशेष अधिवेशन आह्वानका लागि सिफारिस गरे पनि प्रदेश प्रमुख गृह जिल्ला भएकाले परामर्शमा संसद सचिवालयमा पठाउने तयारी छ । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । सोही रिटउपर सर्वोच्च अदालतले सर्वोच्चले २८ चैतमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीको दुवै दाबी पुगेन, दुई दिन समय थप

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत भएको छ । प्रमुख नजिर मियाँले अस्वीकृत गरेका हुन् । उनले थप दुई दिनको समय थप गर्दै पुनः दाबी पेस गर्न भनेका छन् । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रमुख मियाँले संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न वैशाख ६ गते साँझ ५ बजेसम्म समय दिएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

धनुषा। मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपा) वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानअनुसार कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरिएको प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।   पुनर्गठित मन्त्रिपरिषदमा मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालयको कार्य जिम्मेवारी सम्हालेका छन् । भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा सञ्जयकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा गोविन्दबहादुर न्यौपाने, खेलकुद तथा समाज कल्याणमन्त्रीमा सुरीताकुमारी साह, गृह तथा सञ्चारमन्त्रीमा राजकुमार लेखी, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा सिंगासन सा कलवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शत्रुधन सिंह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रीमा सुनिता यादव, ऊर्जा सिँचाइ तथा खानेपानी राज्यमन्त्रीमा शेखअबुलकलाम आजाद, उद्योग वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा रहबर अन्सारी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा केशव राय रहेका छन् । यसअघि २०८० चैत १० गते १४ सदस्यीय पुनर्गठित मन्त्रिपरिषद् रहेको थियो भने अहिले १३ सदस्यीय रहेको छ । लोसपाले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने सार्वजनिक भएपछि सो पार्टीबाट मन्त्री बन्नु भएका कुर्मीलाई मात्र हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको आङ्कलन गरिएको छ । 

रहेनन् साहित्यकार प्रकट पगेनी  ‘शिव’

पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी  ‘शिव’ को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका पङ्गेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात उनको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियान पनि चलाइएको थियो ।  आर्थिक अवस्था कमजोर भएपछि साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन गरिएको थियो । प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेका  ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीतहरु निकै चर्चित छन् ।