समाजको रुपान्तरणमा स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका : मन्त्री शर्मा

पाल्पा । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि स्थानीय सञ्चारमाध्यमको अग्रणी भूमिका रहेको बताएकी छिन् ।

सामुदायिक रेडियो मदनपोखरा पाल्पाको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यम समग्रतामा केन्द्रित रहने भए पनि स्थानीय सञ्चारमाध्यम स्थानीय समुदायको सचेतनामा केन्द्रित हुने भएकाले समाज रुपान्तरणमा उनीहरुको बढी भूमिका रहने बताएकी हुन्। 

null

मन्त्री शर्माले भनिन्– ‘सेवा र सचेतनालाई मूल अभिष्ट बनाएर गरिने ग्रामीण पत्रकारिताले गाउँमा बस्ने नागरिकको बोली बोल्ने, विकासमा पछाडि पारिएका, आफ्ना दुःखपीडा व्यक्त गर्न नसक्ने आम नागरिकलाई सुसूचित गर्ने मात्र नभई उनीहरुका भावना राज्यका जिम्मेवार निकायसम्म पुर्याउने भएकाले पनि समुदायस्तरमा सञ्चालित सञ्चारमाध्यमको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका छ ।’

उनले स्थानीय सञ्चारमाध्यमहरु स्थानीय विषयवस्तुमा थप केन्द्रित हुने हो भने आकर्षण पनि अझै बढेर जाने बताइन् । सञ्चारमाध्यमको बढ्दो संख्या र सूचना प्रविधिमा आएको परिवर्तन कारण स्थानीय सञ्चारमाध्यममा चुनौती थपिएको उल्लेख गर्दै स्थानीय विषयवस्तुमा केन्द्रित भएर जानुपर्ने सुझाव दिइन्।
 
‘बढ्दो प्रतिष्पर्धा र सूचना प्रविधिको तीब्र प्रयोगका बीच अब सामुदायिक रेडियोहरु अझ बढी समुदायको हितमा केन्द्रित रहनुपर्ने बेला आएको छ। देश विदेशका सूचना क्षणक्षणमा प्रवाह गर्ने सञ्चारमाध्यमको अभाव छैन तर समुदायका आवाज र भावना समुदायकै भाषा शैलीमा प्रस्तुत गर्ने दायित्व भने सामुदायिक रेडियोलगायत स्थानीय सञ्चारमाध्यमहरुले मात्र निर्वाह गर्नसक्छन्’–उनले भनिन्– ‘त्यसैले चुनौती हुँदाहुँदै पनि स्थानीय सञ्चारमाध्यम र त्यसमा पनि अझ सामुदायिक रेडियोहरुको समुदायमा अझ बढी आकर्षण बढेर जाने अवस्था छ, त्यसका लागि यस्ता सञ्चारमाध्यमहरुलाई बढीभन्दा बढी समुदायकेन्द्रित बनाउँदै समुदायकै सहयोगमा सबल बनाउन सकिने छ ।’

सूचना प्रविधिको बढ्दो प्रयोगले भूमण्डलीकरणको अवस्थालाई बढाइदिएको उल्लेख गर्दै मन्त्री शर्माले यसले नेपालका ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यताको संरक्षणमा चुनौती थपिएकाले पूर्खाले हस्तान्तरण गरेको अमूल्य निधि मौलिक संस्कृतिको जगेर्नामा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने बताइन् । स्थानीय सञ्चारमाध्यमहरुको प्रवर्धनका लागि सरकार प्रतिबद्ध उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमको सबलीकरण तथा पत्रकारहरुको भौतिक र पेशागत सुरक्षाका लागि तीनै तहका सरकार उत्तिकै गम्भीर र प्रतिबद्ध भएर लाग्न आवश्यक रहेको बताइन्। 

संविधानले आम सञ्चार क्षेत्रको निमयमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखे पनि प्रबर्धनको सवालमा तीनै तहका सरकारको अधिकारसूचिमा राखेको उल्लेख गर्दै मन्त्री शर्माले प्रदेश र स्थानीय तहहरुले विज्ञापन कानुन बनाएर स्थानीय विज्ञापनको प्रकाशन÷प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने नीति ल्याउनुपर्ने बताइन्।
 
संविधान बनेको लामो समयसम्म आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएको उल्लेख गर्दै उनले यसलाई चिर्दै जतिसक्यो चाँडो आम सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न कानुन बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिइन्। मन्त्री शर्माले थपिन– ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आम सञ्चार क्षेत्रको छाताको कानुनको रुपमा आम सञ्चार ऐनको मस्यौदा तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ भने मिडिया काउन्सिल विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने अन्तिम तयारीमा छौं । यी कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आम सञ्चार क्षेत्रको पुनःसंरचरचना हुने सरकारको विश्वास रहेको छ ।’

यसबाहेक प्रचलित कानुनभित्रै रहेर पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई सहज बनाउन सरकारले बेलाबेला आवश्यक निर्णय लिने गरेको जानकारी दिंदै उनले विज्ञापन क्षेत्रमा देखिएको बेथिति कम गर्न विज्ञापन नियमावली संशोधन गरेर संघीय सरकार मातहतका विज्ञापनरु व्यवस्थित गर्ने काम गरिएको बताइन् । रेडियोहरुको लाइसेन्स तथा इजाजत नवीकरणमा समस्या देखिएको गुनासो आएपछि सबै क्षमताका रेडियोहरुले अनलाइनबाट अभिलेखीकरण गरी जिल्ला हुलाकबाट नवीकरण अद्यावधिक गर्ने व्यवस्था मिलाइएको जानकारी दिंदै उहाँले सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि एक वर्षबाट बढाएर तीन वर्ष पुर्याइएको र यी सुधारका कार्यले जिल्लास्तरमा रहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई थप सहज हुने विश्वास व्यक्त गरिन्।

मन्त्री शर्माले सरकार सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोंच बनाएर अघि बढिरहेको उल्लेख गर्दै सबै क्षेत्रमा महत्वपूर्ण सुरुवात भए पनि सरकारले चाहे जस्तो काम हुन नसकेको गहिरो अनूभूतिसहित प्रधानमन्त्रीले राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताइन्। उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरै भन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने तयारीमा सरकार रहेको जानकारी दिइन्।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन् ।  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन् । आज विश्वासको मत लिने तयारी समेत गरेका थिए । शाह ०७९ माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

लुम्बिनीका मुख्यमन्त्री चौधरीद्धारा राजीनामा

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा उनले राजीनामा दिएका हुन् । चौधरी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । चौधरीले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

सुदूरपश्चिम प्रदेश सभाको बैठक सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आह्वान गरिएको बैठक सारिएको छ । ३ बजेका लागि तोकिएको बैठक ५ बजे बस्ने गरी सारिएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले जानकारी दिए । मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनको लागि बिहीबार प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए ।  श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।

कर्णालिमा नयाँ सरकार गठन गर्न आह्वान

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् । परियारले बुधवार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।  बुधवार मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरे ।  दाबी पेस गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मको दिइएको छ । केन्द्रीय सत्ता समीकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्।    यस्तै,मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका राजकुमार शर्मालाई कामचलाउ सरकारको जिम्मेवारी दिएको छ । प्रमुख परियारलाई शर्माले राजीनामा बुझाए लगत्तै अर्को मन्त्रीपरिषद् गठन नहुनेञ्जलसम्म मौजुदा मन्त्री परिषदबाटै कार्य सञ्चालनका लागि जिम्मेवारी तोकेका छन् । 

आज विश्वासको मत लिंदै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री

काठमाडौं ।आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै छन् । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्तासमीकरण फेरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने भएका हुन् ।  लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी छ।  केन्द्रमा सत्तासमीकरण फेरिएसँगै फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार चार सदस्य छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन/तीन प्रदेशसभा सदस्य छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक एक प्रदेशसभा सदस्य छन् । साथै, एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराइसकेका छन् । उनले अपराह्न ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।  केन्द्रमा फेरिएको समीकरणसँगै प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गएको फागुन २३ मा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानानुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ । सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पु¥याउने रणनीतिमा मुख्यमन्त्री छन् । बहुमतका निम्ति २७ सदस्यको समर्थन आवश्यक हुन्छ । नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ ।  सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । एक पद रिक्त छ । रिक्त बझाङको प्रदेशसभा सदस्यका पदका निम्ति आउँदो वैशाखमा निर्वाचन हुँदै छ। 

कर्णालीका मुख्यमन्त्रीद्धारा राजीनामा घोषणा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । अहिले वीरेन्द्रनगरस्थित प्रदेशसभा भवनमा जारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका हुन् । यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको भएपनि सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।  राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने कारबाही अघि नबढ्ने सभामुख नन्दा गुरुले जानकारी दिइन् । यससँगै प्रदेशसभाको बैठक चैत २५ गतेसम्म स्थगित भएको छ ।

दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते

दाङ । दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए । गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन् । थारू दुर्घटनामा परेको एक बसका चालक हुन । लमही अस्पतालमा सामान्य उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । लमही अस्पतालमा सामान्य घाइतेको उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएका हुन् ।

भरतपुर भ्रमण वर्षको प्रभाव भरतपुरका होटलहरु भरिभराउ, व्यवसायी उत्साहित

चितवन । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो । भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच व्यवसायीहरु बताँउछन् । पर्यटकहरु भरिभराउ भएपछि अन्य ठाँउमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए। भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको संख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जिव दास श्रेष्ठले जानकारी दिए। सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको संख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरुमा आएका छन् । भरतपुरका तटिय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेका देशबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ।  बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण ९जगतपुर लज०, टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरु हुन् । हात्ती सफारी, जङगल सफारी, बोटिङ, जङगल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतीहरु तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरु यहाँ आउने पर्यटकले गर्न सक्छन् । कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए । बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाँउमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले भ्रमण वर्ष आयोना गर्न खोजेको उदेश्य पुरा हुँदै गईरहेको बताईन् ।यो अभियान एक वर्षसम्म मात्र होईन सधैका लागि हुने गरी भरतपुरको ब्राण्ड स्थापित गरिने उल्लेख गरिन ।भरतपुरको गोलाघाटदेखि पहिटानीसम्म रहेका होटलसँगै यहाँका वस्तीहरुमा १०० वटा होमस्टेहरु खुलेका छन् । भ्रमण वर्षको सन्दर्भमा थोरै लगानीमा गुणस्तरीय सेवा दिने गरी खुलेको होमस्टेहरुमा पर्यटक आउने क्रम जारी रहेको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए। भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, ज्ञानेवर ब्लक, चौकी डाँडा, नारायणी सि बिच मोडललाई प्रमुख ७ पर्यटकीय गन्तव्यमा राखेको छ । यसबाहेक ३५ वटा स्थानलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ । भ्रमण वर्षको अवसरमा सञ्चालनमा आएको पाटेबाघ हेर्ने सुविधासहित वन्यजन्तु उद्धार केन्द्रमा पर्यटकको घुइचो छ । निकुञ्जका अनुसार दैनिक २ हजार जना बाघ अवलोकनका लागि आएपनि सबैलाई देखाउन सकिएको छैन । यस्तै शीतकालिन दरबारको रुपमा रहेको ऐतिहासिक दियालो बंगला वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको छ ।

फुटको संघार नाउपा : सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेको छ ।  पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएकाले सांसदबाट हटाउने निर्णय गरिएको जानकारी दिइन् । गिरी नाउपाकी समानुपातिक सांसद हुन् । सरकार धरापमा परेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्री बनाएका छन् । नाउपा रेशम चौधरी र रञ्जिता श्रेष्ठको विवादका कारण फुटको संघारमा छ । यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको हो ।

गण्डकी प्रदेशमा २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि आह्वान गरेका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।  पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिएका थिए ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका १२ स्थित ५३ वर्षीय वेद निधी दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहाल समेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ४ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

जिल्ला न्यायधिश घिमिरे इलाम २ को मुख्य निर्वाचन अधिकृत

इलाम । इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई इलाम क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोलि चैत २२ गते इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै मतदाताको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन दर्ता हुनेछ । इलामको उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको जनाएको छ ।  निर्वाचन कार्यालयका अनुसार इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् । यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन गर्ने तय भएको छ । निर्वाचन आयोगले चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने जनाएको छ ।

सहकारीको समस्या समधानमा जिल्ला सहकारी संघ चितवनले अगुवाई गर्नुपर्छ  : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सहकारी देखिएको समस्या समधानको लागि चितवन जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्ने बताएकी छिन्। ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न भरतपुर महागनर पनि सकारात्मक रहेको उल्लेख गरिन्। सहकारीको जननी जिल्ला चितवन र भरतपुर १९ साविकको बखानपुर भएकाले यहाँबाट देशलाई सुशासनको सन्देश दिनुपर्ने प्रमुख दाहालले बताइन्।हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । महानगरपालिकाले यहाँ रहेका ३ सय ६३ वटा सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रकृयालाई अगाडि बढाएको उनले बताइन्।सहकारीलाई नियमन गर्ने विषयमा स्थानीय निकायलाई सिमित अधिकार दिइएकाले पूर्ण रुपमा नियमन गर्न नसकिएको प्रमुख दाहालले बताइन्।महानगरपालिकाले सहकारी क्षेत्रको विकास गर्न वर्षेनी ठुलो बजेट विनियोजन गर्ने गरेको प्रमुख दाहालले बताइन्। महानगरपालिकाले  विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर रु ३ अनुदान दिदै आएको उनले बताइन् । महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाईजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ । सहकारीले देशको आर्थिक र सामाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीलाई थप उत्पादनमुखी बनाउनुपर्नेमा प्रमुख दाहालले जोड दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भएमात्र कुनै पनि समस्या नआउने बताए। चितवनमा बाहिरी जिल्लाबाट आई सहकारी विस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाँउमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराईज जस्ता सहकारीमा समस्या देखिएको उनको भनाई छ ।अहिले चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको उनले प्रष्ट पारे। काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगञ्जजस्ता ठाँउबाट शाखा विस्तार गरी यहाँ आएका सहकारीले १८ प्रतिशत ब्याज दिने लोभ देखाएर बचत गरी ठुलो रकम दुरुपयोग गरेको पाइएको सहअध्यक्ष दवाडीले बताए । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, संघका संस्थापक अध्यक्ष टेकप्रसाद गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए।भरतपुर महानगरपालिकामा बचत तथा ऋण सहकारी १ सय ३१, दुग्ध सहकारी ७४, कृषि सहकारी ४५, बहुउद्देश्यीय सहकारी ३६, साना किसान सहकारी १२, तरकारी तथा फलफुल ६, उपभोक्त ४, संचार २, जडीबुटी २, मत्स्य १, मौरी सहकारी १, पर्यटन सहकारी १ र संघ, प्रदेश र भरतपुरमा दर्ता भएका ८ वटा सहकारी छन् । चितवन जिल्लाभर ८ सय सहकारी रहेका छन् । सहकारी विभागका अनुसार नेपालभर ३१ हजार सहकारी सञ्चालनमा छन् । सहकारीको योगदान नेपालको अर्थतन्त्रमा ८ खर्बको योगदान रहेको छ ।  

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची छ ।  शर्माले यसअघि मंगलबार विश्वासको मत लिन लागेका थिए । तर केन्द्रको सहमति अनुसार मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएपछि गठबन्धनको प्रमुख घटक एमाले र माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको थियो । विश्वासको मत लिने पत्र प्रदेशसभामा दर्ता भैसकेकाले विश्वासको मत लिएर एमालेलाई सत्ता हस्तान्तरण गर्ने गरी शर्माले आज विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ सदस्य छन् ।  चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिन लागेका छन् ।