भरतपुर भ्रमण वर्षको प्रभाव भरतपुरका होटलहरु भरिभराउ, व्यवसायी उत्साहित

भरतपुर भ्रमण वर्षको प्रभाव भरतपुरका होटलहरु भरिभराउ, व्यवसायी उत्साहित

चितवन । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो ।

भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच व्यवसायीहरु बताँउछन् । पर्यटकहरु भरिभराउ भएपछि अन्य ठाँउमा रिफर तथा वेटिङमा राख्नु परेको एक व्यवसायीले बताए।
भ्रमण वर्षको अवसरमा आन्तरिक पर्यटक आउने क्रममा दोब्बरले बढेको छ भने सार्क राष्ट्रबाट आउनेको संख्या पनि राम्रो रहेको कसरा होटल व्यवसायी संघका अध्यक्ष सञ्जिव दास श्रेष्ठले जानकारी दिए।

सन् २०१८ अर्थात् कोभिड अगाडिको समयमा आउने पर्यटकको संख्या अहिले देखिन थालेको छ । मार्च महिनामा ६ वर्षपछि पहिलो पटक ठुलो संख्यामा पर्यटक यहाँका होटलहरुमा आएका छन् ।

भरतपुरका तटिय क्षेत्रमा जोडिएर ११ वटा ठुला र ५० वटा साना होटलहरु छन् । चितवन राष्ट्रिय निकुञ्ज र राप्तीसँगै जोडिएकाले वाईल्ड टुरिजमका लागि विदेशी पर्यटक यहाँ आउने गर्दछन् । भरतपुरमा सार्क राष्ट्र बाहेका देशबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै छ । केही वर्षदेखि पर्यकीय गतिविधि बढ्दै गएको यो क्षेत्रमा ठूला, साना होटलमा गरेर ५ सय पर्यटकलाई राख्न सक्ने क्षमता छ। 

बाराही, सेराई, सारङ्ग, नारायणी सफारी, इन द वाईल्ड, कसरा रिर्सोट, रिभर बैंक, सोल्टी वेस्टर्न, जङ्गल भिल्ला, अन्नपूर्ण ९जगतपुर लज०, टाईगर ल्याण्ड यहाँका प्रमुख होटलहरु हुन् ।

हात्ती सफारी, जङगल सफारी, बोटिङ, जङगल वाक, विभिन्न जातिको संस्कृति प्रस्तुतीहरु तथा पर्यटन सम्बन्धी धेरै गतिविधिहरु यहाँ आउने पर्यटकले गर्न सक्छन् ।

कसरा पर्यटन व्यवसायी समितिका सचिव एवम् सोल्टी वेस्टर्नका म्यानेजर केशव ढकालले भरतपुरमा रुम फुल भएपछि विदेशी पर्यटकलाई पोखरा गएर यहाँ आउन आग्रह गरेको बताए ।

बुकिङ विना आउने दर्जन बढी पर्यटकलाई अन्य ठाँउमा पठाउनुपरेको उनले बताए । मार्च महिनामा सोल्टीमा सार्क राष्ट्रबाहेकका देशबाट ७६० जना, सार्कबाट ९६ र आन्तरिक १२० जना पर्यटकलाई सेवा दिएको उनले बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले भ्रमण वर्ष आयोना गर्न खोजेको उदेश्य पुरा हुँदै गईरहेको बताईन् ।यो अभियान एक वर्षसम्म मात्र होईन सधैका लागि हुने गरी भरतपुरको ब्राण्ड स्थापित गरिने उल्लेख गरिन ।भरतपुरको गोलाघाटदेखि पहिटानीसम्म रहेका होटलसँगै यहाँका वस्तीहरुमा १०० वटा होमस्टेहरु खुलेका छन् । भ्रमण वर्षको सन्दर्भमा थोरै लगानीमा गुणस्तरीय सेवा दिने गरी खुलेको होमस्टेहरुमा पर्यटक आउने क्रम जारी रहेको महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले जानकारी दिए।

भ्रमण वर्षको अवसरमा यहाँका होटलहरुले २५देखि ३० प्रतिशतसम्म छुटसहितको प्याकेजको घोषणा पनि गरेका छन् ।भरतपुर महानगरपालिकाले मेघौली, पटिहानी, देवघाट, ज्ञानेवर ब्लक, चौकी डाँडा, नारायणी सि बिच मोडललाई प्रमुख ७ पर्यटकीय गन्तव्यमा राखेको छ । यसबाहेक ३५ वटा स्थानलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ ।

भ्रमण वर्षको अवसरमा सञ्चालनमा आएको पाटेबाघ हेर्ने सुविधासहित वन्यजन्तु उद्धार केन्द्रमा पर्यटकको घुइचो छ । निकुञ्जका अनुसार दैनिक २ हजार जना बाघ अवलोकनका लागि आएपनि सबैलाई देखाउन सकिएको छैन । यस्तै शीतकालिन दरबारको रुपमा रहेको ऐतिहासिक दियालो बंगला वैशाख १५ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको छ ।

कोशीका मुख्यमन्त्री कार्की बर्खास्तः एमाले र माओवादीले नयाँ सरकार बनाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् ।  सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए । मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् ।  प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा। दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयले बुधबार साढे ३ बजेदेखि झण्डै ६ घण्टा अलमल गर्यो । प्रदेश प्रमुख खापुङले बेलैमा सरकार गठनको आव्हान गरेको खण्डमा बुधबार नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारीमा एमाले–माओवादी थिए । तर, अब बिहीबार मात्र दावी पेश हुने भएको छ । नयाँ सरकार गठनको आव्हान अनुसार बिहीबार बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आव्हान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ । जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा भेला हुन निर्देशन दिएको छ ।  यस्तै, माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरुलाई परिचयपत्रका साथमा १० बजे संसद सचिवालय आउन भनेको छ । प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरि शपथ गराउनेछन् ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

गण्डकीमा एमालेका २ मन्त्री थप

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।

गण्डकीमा थपिँदै दुई मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार, थपिएका मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ ।

लोकप्रिय