स्याङ्जाको एमाले अधिबेशनः लडाइ पृथ्वी, पद्मा र खगराजको

स्याङ्जाको एमाले अधिबेशनः लडाइ पृथ्वी, पद्मा र खगराजको

पोखरा । नेकपा एमाले स्याङ्जाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै छ । नवौँ अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । 

अधिवेशनमा नेताहरूले आफू अनुकूलको जिल्ला नेतृत्व बनाउने प्रयासमा जुटेका छन् । एमाले नेताहरु पृथ्वीसुब्बा गुरुङ, पद्मा कुमारी अर्याल खगराज अधिकारी लगायतका नेताहरूले आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । 
आफ्नो गृहजिल्ला भएकोले एमाले सचिव पद्माकुमारी अर्यालको प्रयास बढ्दो देखिएको छ । अगिल्लो अधिबेशनमा नारायण मरासिनी विरुद्ध चर्को मोर्चा कसेर सुर्यप्रसाद गैरे ‘पारस’ लाई अध्यक्ष बनाएकी अर्यालले यो पटक मरासिनीको सहयोगमा सचिव राजेन्द्र डुम्रेलाई अध्यक्ष बनाउने योजनामा छन् ।

अगिल्लो पटक पारस विरुद्ध लागेका पृथ्वीसुब्बा भने पटक पारसलाई अध्यक्ष बनाउने कसरतमा छन् । पूर्व माओवादी नेता रहेका पारसलाई अध्यक्ष बनाउने अभियानमा स्याङ्जा एमालेको ठुलो समूह सक्रिय छ । मीन प्रसाद गुरुङ, मोहन रेग्मी, सिमाकुमारी क्षेत्री, विश्व पौडेल, सुर्य कुवर, विश्वनाथ अर्याल, खिम बहादुर थापा, राजु कोईराला, याम बहादुर कुंवर, उदय श्रेष्ठ, आनन्द पाठक लगायत जिल्लाका प्रभावशाली नेताहरू गैरेको पक्षमा देखिएका छन् । 

राजेन्द्रको पक्षमा सिता सुन्दास, कृष्ण खांण, घनश्याम सुवेदी, लक्ष्मिपति पौडेल, मोहन खनाल लगायतका नेताहरू देखिएका छन् । 
हरिनास गाउँपालिकाका अध्यक्ष खिम बहादुर मानन्धर, गल्याङ नगरपालिकाका पुर्व मेयर भुपराज अधिकारी, पुन्य अर्याल, शोभाकान्त पौडेल लगायतका नेताहरू भने सकेसम्म मिलाएर जाने नत्र अन्तिम सम्म किता सोझ्याउने रणनीतिमा छन् ।

यस अगाडि अध्यक्ष र सचिवका लागि एउटै टिमबाट चुनाव जितेका पारस र राजेन्द्र यो पटक फरकफरक टिमबाट चुनाव लड्ने परिस्थिति बनेको छ । 

यस्तो परिस्थिति बनाउन केन्द्रीय सचिवहरु पृथ्वीसुब्बा र पद्मा कुमारीको हात रहेको स्थानीय एमाले नेताहरुको गुनासो छ ।

आफ्नो व्यक्तिगत उपस्थिति कमजोर देखिएको स्याङ्जामा खगराज अधिकारीले अर्याललाई सहयोग गर्ने तयारीमा छन् ।

स्याङ्जा एमालेका कुनै बेलाका हस्तीहरु चक्र बहादुर पराजुली, मोहन रेग्मी र नारायण मरासिनीहरु भने निर्विरोध अध्यक्ष बने नेतृत्व गर्ने मनसायमा देखिन्छन् । यी ३ जनालाई पृथ्वीसुब्बा, खगराज र पद्मा कुमारीले नेतृत्व सुम्पिने सम्भावना नदेखिएको स्थानीय एमालेका जानकारहरु बताउँछन् । 

खगराज समुहले राजेन्द्र लाई जिताउने सुनिश्चित नदेखेमा नारायण मरासिनीलाई अगाडि सारेर पुर्व मरासिनी समुहको मत खिच्ने र पारस गैरेलाई कमजोर बनाउने मनस्थितिमा रहेको छ । 
यद्यपि स्याङ्जा एमालेमा पारस र राजेन्द्र दुवै अध्यक्ष र सचिव रहदा कार्यकर्ता पंक्तिमा भने नेतृत्व दिन नसकेको, फोन नउठाएको, समस्या पर्दा नआएको गुनासो पनि चर्को रहेको छ ।
एमालेका पुराना नेताहरु पारस र राजेन्द्र दुबै एउटै टिमबाट अध्यक्ष सचिव बनेका आशालाग्दा युवाहरूबाट समेत स्याङ्जा एमाले अपेक्षित ढंगले सुधार्न नसकेको टिप्पणी गर्छन् ।

स्याङ्जा एमालेमा नेताहरु पुतलीबजारका अनन्त कुमार श्रेष्ठ, अमृत श्रेष्ठ र भिरकोटका विश्वनाथ अर्यालले सचिव बन्ने तयारीमा देखिन्छन् । हरिनास गाउँपालिकाका अध्यक्ष समेत रहेका खिमनारायण मानन्धर भने उपसचिवको दाउमा छन् । 

कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा गण्डकी प्रदेशमा पृथ्वीसुब्बाका प्रिय मान्छे हुदा पारसलाई जिताउने पक्षमा छन् । 
एमालेको जिल्ला अधिवेशनमा निर्णायक भुमिका आँधिखोलाका गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले राख्ने धेरैको विश्वास छ । 
जनप्रतिनिधि पार्टी नेतृत्वमा आउन नपाउने रणनीति भएका कारण सुधिर पौडेल, विश्व पौडेल, खिम बहादुर थापा, घनश्याम सुवेदी, कृष्ण खाण लगायत जनप्रतिनिधिलाई पार्टी नेतृत्वको बन्देज छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिबेशन उद्घाटन गरे पछि चुनावी तयारीमा स्याङ्जा  एमाले लाग्नेछ् ।

गण्डकीको सबै जसो जिल्लामा एमालेको गुटगत प्रतिस्पर्धा देखिन्छ । हालसम्म एमालेको म्याग्दी, गोरखा, कास्की र लमजुङको अधिवेशन सकिएको छ । 

स्याङ्जाको अधिवेशनले ५ पदाधिकारी सहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा जिल्लाका ११ पालिका सहित ९७ वडाका ६ सय ९ जना प्रतिनिधि चयन भएका छन्।

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।

लोकप्रिय