सुदूरपश्चिममा लक्ष्मणकिशोरलाई समर्थन गर्ने निर्णयबाट नेकपा(ऐस) फिर्ता

काठमाडौँ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो ।

यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली काँग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादीले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरूलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा काँग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

तर काठमाडौँमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।

गण्डकीमा आज सार्वजनिक बिदा

कास्की। गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।  चैत्र शुक्ल अष्टमी ९चैते दसैँ० का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए। 

कोसी सरकारविरुद्ध प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता (संकल्प प्रस्तावसहित)

विराटनगर । कोसी प्रदेश सरकारविरुद्ध नयाँ गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संकल्प प्रस्ताव दर्ता गरेका छन्। सोमबार कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीलाई दुई दलले संकल्प पत्र हस्तान्तरण गरे। वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने बेहोरासहितको संकल्प प्रस्ताव दर्ता गरेका हुन्। राजीनामा नदिए वा विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने बेहोरा संकल्प प्रस्तावमा उल्लेख गरिएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधिनमा रही सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको जनाइएको छ। यस्तो छ संकल्प प्रस्ताव 

आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सांसद आचार्यको पहलमा बुढीगंगाका दुई सामुदायिक विद्यालयमा पुग्यो बस

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाका दुई वटा सामुदायिक विद्यालयले भारत सरकारको अनुदान सहयोगमा दुईवटा बस प्राप्त गरेका छन् । कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको पहलमा बुढीगंगा गाउँपालिका २ मा रहेको नरग्राम माध्यामिक विद्यालय र वडा नम्बर ५ मा रहेको कर्मवीर माध्यामिक विद्यालयले एक/एक वटा १८ सिट क्षमताको माइक्रो बस प्राप्त गर्न सफल भएका हुन् । विराटनगर महानगरपालिकाले एउटा बस स्कुल बस प्राप्त गर्दा छिमेकी गाउँपालिकाका दुई वटा विद्यालयले दुई वटा बस प्राप्त गर्नुमा सांसद आचार्यको पहलले काम गरेको कर्मवीर माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलभद्र सरदारले बताए । अध्यक्ष सरदारले भने ‘हामीले माननीय आचार्यलाई स्कुल बस आवश्यक परेको भन्दै पहल गरिदिन आग्रह गरेका थियौं, उहाँकै पहलबाट बस प्राप्त गर्न हामी सफल भएका छौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने कर्मवीर माध्यामिक विद्यालयसँग अहिलेसम्म एउटा पनि स्कुल बस थिएन । बस नहुँदा टाढाका बस्तीबार विद्यार्थीलाई विद्यालय ल्याउन र साना नानीहरुलाई सामुदायिक विद्यालयमै ल्याउन समस्या भएकोले विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकसमेतले बसको जरुरी रहेको बताएका थिए । अध्यक्ष सरदारले भने ‘अहिले एउटै मात्र भए पनि निकै राहात पुगेको छ, विद्यालयमा अरु पनि बस आवश्यक छ । थप बस ल्याउनका लागि सरकार र दातृ निकायसँग पहल गरिदिन माननीय ज्यूलाई हामीले आग्रह पनि गरिरहेका छौं ।’ नरग्राम माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलास केसीले पनि भारतीय राजदूतावासको सहयोगमा स्कुल बस प्राप्त गरेको बताए । विद्यालयमा थप स्कुल बस आवश्यक भएको बेला आफ्नो निर्वाचन क्षेत्रका सांसद तथा पूर्व मन्त्री जीवन आचार्यले बस उपलब्ध गराउन महत्वपूर्ण सहयोग गरेको उनले बताए । बस हस्तान्तरण कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष तथा अरु प्रतिनिधिहरु पनि काठमाडौं पुगेका थिए । सांसद जिवन आचार्यमार्फत बस प्राप्त गर्न सफल भएपछि दुवै विद्यालयका प्रतिनिधिहरुले आचार्यबाट चाबी हस्तान्तरण गरेको डेमो तस्बिरसमेत खिचाएका थिए । भारतीय राजदूतावासले हरेक वर्ष यहाँका शिक्षालयहरुको सहयोगका लागि बस र स्थानीय तह, अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । यस वर्ष पनि ६६ वटा स्कुल बस र ४५ वटा एम्बुलेन्स वितरण गरेको थियो । भारतीय राजदूतावासले वितरण गरेका बस र एम्बुलेन्सहरु यस पटक पहाडी जिल्ला र पश्चिम नेपालतर्फ धेरै गएको थियो । भारतीय राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रहेका वर्षमान पुनले विभिन्न पालिका र विद्यालयका प्रतिनिधिहरुलाई बस तथा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीको दाबी

काठमाडौं । सुदूरपरिश्चम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीले दाबी प्रस्तुत गरेका छन् । उनले नेकपा (माओवादी केन्द्र)र नेकपा (एमाले)को समर्थनमा दाबी पेस गरेका हुन् । यसअघि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितको समर्थनमा नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि दाबी प्रस्तुत गरेका थिए। रेशम चौधरीको पक्षमा रहेका सांसद लक्ष्मणकिशोरले ३० सांसद रहेको दाबी गरेका छन् । नागरिक उन्मुक्तिका ६, नेकपा (माओवादी केन्द्र)का ११ र नेकपा (एमाले)का १० सांसद छन् । नागरिक उन्मुक्तिले एक सांसदलाई बर्खास्त गरेको र कांग्रेसका एक सांसदको मृत्यु भएपछि पद रिक्त रहेकाले सुदूरपश्चिम प्रदेशभामा तत्काल कायम रहेको संख्या ५१ छ । जसको बुहमतका लागि २६ सदस्य आवश्यक पर्छ । नागरिक उन्मुक्तिका सांसदले एकमुस्ट कैलाशलाई समर्थन गरेमा उनका लागि आवश्यक बहुमत पुग्न सक्छ ।  तर, नागरिक उन्मुक्तिकै अर्का सांसद लक्ष्मणकिशोरको दाबी परेकाले नागरिक उन्मुक्तिका सांसदहरू एक ठाउँ नउभिने अवस्था बनेको छ । यस्तो अवस्थामा बहुमतका लागि प्रदेश प्रमुखले सनाखतका लागि बोलाउन सक्छन् । नागरिक उन्मुक्तिका सांसदहरू एकमुस्ट उपस्थित नभए सरकार गठनको प्रक्रिया अन्योलमा पर्नेछ । तर, सरकार बनाउन दलीय ह्विप लाग्ने भएका कारण कैलाश चौधरीको दाबी बलियो देखिन्छ ।

सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अर्को समझदारी

काठमाडौं । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अर्को समझदारी बनेको छ । संघीय सरकारको समीकरणले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने समझदारी गरेपनि सत्ता समीकरणकै दल एकीकृत समाजवादी समेतको संलग्नतामा काङ्ग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षका नेतालाई मुख्यमन्त्री बनाउन अर्को समझदारी बनेको हो ।  कांग्रेस संससदीय दलका नेता समेत रहेका कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने समझदारी बनेको जानकारी दिए ।  समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहको भनाई छ । सुदूरपश्चिममा बहुमतको सरकार निर्माण गर्नका लागि २६ सिट आवश्यक हुन्छ । का‌ग्रेसको १८, समाजवादीको ४ नाउपाका रेशम पक्षको ४ गरी २६ पुग्छ ।  ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य रहेका छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन् । 

ट्रक दुर्घटना अपडेटः मृतक बालकको सनाखत, घाइते ८ जनाको पहिचान

काठमाडौं । धादिङको निलकण्ठमा आइतबार ट्रक दुर्घटनामा मृत्यु भएका बालकको सनाखत भएको छ।  दुर्घटनामा मृत्यु हुनेमा १० बर्षका  बालक सन्तोष रम्तेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य सबैको पहिचान भएको छ । घाइते हुनेहरुमध्ये ट्रक चालक ३५ वर्षीय विष्णु सिर्मल तथा ट्रकमा सवार १३ बर्षीय कृष्ण रम्तेल र १४ बर्षीय सुदीप मजरकोटीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। दुर्घटनामा मृतक सन्तोष रम्तेलका बुवा ४० बर्षीय राम रम्तेल, ३५ बर्षीय हिरा रम्तेल, ११ बर्षीय सुजन रम्तेल, १० बर्षिय प्रितम मजरकोटी र १० बर्षीय बिमल मजरकोटीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई काठमाडौं रिफर गरिएको छ।  उनीहरु एकै परिवारको सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सवा ९ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।

ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिकामा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् । मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान सवा नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाको कारण र विस्तृत विवरणा आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । बालुवाटारमा आज भएको शीर्ष नेता बीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन यस्तो सहमति भएको हो । नाउपा अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि दावी पेश गरिने जानकारी दिइन् । चौधरी कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुर । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिने प्रचलन रहेको छ ।   विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रूपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । सत्ता पक्ष मात्र होइन, विपक्षीलाई समेत साथमा लिएर अगाडि बढ्ने भन्दै उनले भने, ‘जुन आशा र भरोसामा मलाई अगाडि सार्नु भएको छ, त्यसमा कमी हुन दिने छैन ।’छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने उनले बताए ।

भण्डारीको नेतृत्वमा सिंजा सभ्यता संरक्षणको लागि पहल समिति गठन

काठमाडौँ । ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक पारितको लागि पहल समिति’ गठन गरिएको छ । विहीबार संवाद डबलीमा सम्पन्न भेलाले नरेश भण्डारीको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो । समितिको सहसंयोजकमा बल बहादुर महत रहेका छन् । समितिमा भिमनिधी हमाल, हरि रावललगायत विभिन्न पेशा तथा क्षेत्रका व्यक्ति रहेका छन् । त्यस्तै, सल्लाहकार र एक्येवद्धता समिति पनि गठन गरेका गरिएको छ । समितिले प्रधानमन्त्री प्रचण्डलगायत विभिन्न राजनीतिक पार्टीका नेताहरुसँग भेटेर विधेयक पारितको लागि पहल गर्ने समितिले निर्णय गरेको छ । सल्लाहकार समिति र एक्येवद्धता समितिको बैठक बसेर थप पहलका कार्यक्रम अगाडि बढाउने संयोजक भण्डारीले बताए ।संयोजक भण्डारीकै पहलमा बनेको विधेयक अहिले संसदीय समितिमा विचाराधिन अवस्थामा रहेको छ ।

डोल्पाको डढेलोमा १ बालकको मृत्यु, २ जनालाई हेलिकप्टरमा काठमाडौँ ल्याइँदै

काठमाडौं ।डोल्पाको त्रिपुरासुन्दरीमा डढेलोमा परेर घाइते भएका एक जना बालकको उपचारको क्रममा निधन भएको छ।  त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार दिउँसो वनमा लागेको डढेलोमा परेर स्थानीय तीनजना बालबालिका गम्भीर घाइते भएका थिए।  घाइतेमध्ये १० वर्षीय सुलस बुढाको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। जिल्ला अस्पताल डोल्पामा उपचारकै क्रममा सुलभको मृत्यु भएको हो। गम्भीर घाइते दुई बालबालिकालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । गाउँ नजिक रहेको वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बेला बालबालिका डढेलोमा परेका हुन्। उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल लगिएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइते बालकलाई बचाउन नसकिएको डाक्टर अखण्ड उपाध्यायले बताए।  त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए।  गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो। रासस

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् ।विश्वासको मत लिनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् । माओवादी केन्द्रका नेता महरा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।  ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् ।

जनतासँग गरेको वाचा पुरा गर्दै गएका छौं : प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिको आयोजनामा मंगलबार आर्थिक वर्ष ०८०/८१ को दोस्रो चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले जनतासँग प्रतिबद्धता गरे अनुरुपको काम क्रमशः पुरा हुँदै गएको बताएकी हुन् । अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, विमानस्थल विस्तार र नारायणीमा निर्माण हुने सिग्नेचर ब्रिजकडो कामले गति लिएको बताइन्। यसमध्ये ल्याण्डफिल साइट निर्माण गर्ने कार्य बाँकी रहेको उल्लेख गरिन्। ल्याण्डफिल साईटको अहिले डिपिआर र ईआईएको काम अन्तिम चरणमा रहेको जानकारी दिइन्। महानगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि भरतपुर ११ मा रहेको जलदेवि सामुदायिक वनमा १६ विघा क्षेत्रफलमा ल्याण्डफिल साईड निर्माण गर्न लागेको छ । अहिले स्थायी रुपमा भरतपुर ३ को नगर वन नजिकै फोहरलाई डम्पपिङ गरिरहेको छ । मंगलबार भरतपुर १४ को शिवनगरको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयमा एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कुमार रानाले दोस्रो चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम् सुझाव राखेका थिए । सहभागीहरूले कृषि क्षेत्रमा देखिएका समस्या, फोहर व्यवस्थापन, सिँचाई, रुग्ण आयोजना, ड्रेनको निर्माण, स्वास्थ्य समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शौचालय, प्रतिक्षालयबारे प्रश्न सोधेका थिए ।   प्रमुख दाहालले भरतपुरमा देखिएको फोहर व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे। महानगरपालिकालाई स्माट सिटी निर्माण गर्ने  योजना अनुरूप अन्य कार्यहरु निर्वाध रुपमा अघि बढे पनि फोहर व्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईट निर्माण गर्ने कार्यलाई प्राथामिकताका साथ अघि बढाइने उल्लेख गरे। भरतपुरको वडा नम्बर ३ मा अटो भिलेज निर्माण गर्न गुरुयोजना निर्माण भएपनि स्थानीयको अवरोधका कारण निर्माण हुन नसकेको प्रष्ट पारे। भरतपुरको लागि अति महत्वपूर्ण आयोजना बधशाला निर्माणका लागि भरतपुर १ को ठिमुरा पहिचान गरी दातृ निकायको प्राविधिक सहयोग र संघीय सरकारबाट बजेटको सुनिश्चित गरेपनि त्यो स्थानमा स्थानीयको अवरोधपछि रोकिएको जानकारी दिनुभयो । महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत आएका सुझावलाई ग्रहण गर्दै आगमी कार्यदिशा तय गर्ने पनि उल्लेख गरे। यसैबिच महानगरले प्रस्तुत गरेको दोस्रो चौमासिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१÷०८२ हालसम्म ८२ करोड ८७ लाख ४३ हजार १ सय ९ रुपैयाँ राजस्व संकलन गरेको छ । यो प्रक्षेपण गरेको रकमको ४७ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको यही समयमा जम्मा ३९ करोड राजस्व संकलन गरेको थियो । यो २७ प्रतिशत हुन आँउछ । गत वर्षको तुलनामा यो वर्ष राजस्व संकलनमा उल्लेखिय वृद्धि भएको तथ्याङले देखाएको छ। महानगरले हालसम्म कुल बजेटको ३६ प्रतिशत खर्च भएको जनाएको छ । आव ०८०÷८१ का लागि रु ६ अर्ब ४१ करोड ७२ लाख २० प्रतिशत बजेट विनियोजन गरेको थियो । त्यसमध्ये रु २ अर्ब २६ करोड ४६ लाख ३० हजार खर्च भएको छ । महानगरले चालु बजेटतर्फ रु २ अर्ब ६९ करोड ८ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा रु १ अर्ब ३४ करोड २२ लाख १९ हजार खर्च भएको जनाएको छ । जुन चालुतर्फको समग्र बजेटको ४९ प्रतिशत हो । यस्तै पुँजीगत बजेटतर्फ ३ अर्ब ७२ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन भएकोमा ९२ करोड २४ लाख ११ हजार खर्च भएको महानगरले जनाएको छ । जुन समग्र पुँजीको २५ प्रतिशत हो । महानगरपालिकाका कार्यकारी अधिकृत रानाले निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले पुँजीगत खर्च कम देखिएको बताउनुभयो । अबको ४ महिनामा यो अहिलेको तुलनामा बढेर जाने स्पष्ट पारे। कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले सहभागीले उठाएको प्रश्नको जवाफ दिए।