कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल

सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए।

‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्।

‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’

उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ।
सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।

महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएका छन् : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताएकी छिन्। नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उनले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गरिन्।  पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, भरतपुर विमानस्थलको विस्तारको काम, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, नारायणी तटबन्धनलगायत धेरै काम अवनरतको पहलकदमी र नेतृत्वदायी भूमिका निर्वाह गरेकै कारण आजको भरतपुर बन्न सफल भएको प्रमुख दाहालको भनाई छ ।  'नारायणगढ बुटवल सडकखण्ड शिलान्यास भईसक्दा पुलचोक गोन्द्राङ सडकको विस्तरको काम भएको थिएन, संघीय बजेट भएपनि महानगरले नेतृत्व लिएको प्रष्ट पारिन् । विमानस्थल विस्तार गर्ने भनिए पनि भएको थिएन, महानगरले निरन्तर सक्रियता लिएर अहिले विस्तारको काम सुरु भएको छ,' उनले भनिन्।  'रंगशाला अलपत्र बनेको थियो, अथक मिहिनेतपछि अहिले टेण्डरको काम अघि बढेको छ, भ्रमण वर्ष आयोजना गरि देशमै ठुलो सन्देश प्रवाह गर्न सफल भयौ', उनले भनिन -'काम गर्नेलाई यसले गरेको हो भन्न सक्नुपर्छ' उनले भनिन् 'काम गर्ने र गफ गर्नेलाई एउटै डालोमा राख्दा काम गर्नेलाई अन्याय हुन्छ। यो छुट्टाउने काम जनता हो। जनता जनार्दन हुन्छन्।' भरतपुरको आफ्नो ७ वर्षे कार्यकालमा धेरै काम भई सकेको र बाँकी ३ वर्ष पनि धेरै काम गर्न सकिने प्रमुख दाहालको धाराणा थियो।  जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए।  सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए । त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो।

भरतपुर महानगरद्धारा विपद् सामग्री हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनका लागि विपद् सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री आज भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले सम्बन्धित संस्थालाई हस्तान्तरण गरिन्। नेपाली सेना नयाँ सवुज गण, सशस्त्र प्रहरी बल आँपटारी, नवज्योती मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, नारायणी नमुना मावि, गौरीगञ्ज लाइन स्कुल टोल विकास संस्था, वडा कार्यालय १, २४ र २७ लाई विपद् सामग्री हस्तान्तरण गरिएको हो । सम्बन्धित निकायहरुले विपद् व्यवस्थापनका सामग्री अत्यन्त जरुरी भएको भनि माग गरेपछि महानगरपालिको निर्णयपछि विपद् सामग्री वितरण गरिएको प्रमुख दाहालले जानकारी दिइन्। वन्यजन्तु, आगलागी, नदी डुबान र स्वास्थ्य सम्बन्धी विभिन्न २६ वटा विपद्का सामग्री प्रदान गरिएको हो । जसमा खोज तथा उद्दार सामग्रीहरु रहेका छन् । ९ लाख बराबरको समाग्री महानगरपालिकाले हस्तान्तरण गरेको हो ।यी सामग्रीको हस्तान्तरणले समुदायस्तरबाट पनि विपद् व्यवास्थापनमा सहयोग पुग्ने अपेक्षा महानगरको छ ।

१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालमा ल्याएर राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा २७ नम्बर गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । सो क्रममा बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको प्रहरीले जनाएको छ ।

आगलागीपछि १३ परिवार बासबिहीन

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिए । आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले भनिन्, “भएको बास खरानी भयो गास र बासको पनि टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने ।” शनिबार दिउँसो वनमा लागेको आगो बस्तीमा सल्किँदा उनको घर जलेर खरानी भएको थियो । त्यही खरानी स्याहार्दै उनले बिलौना गरिन् । घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भए, अहिले त खाने ठाउँ पनि छैन”, गङ्गाबहादुर विकले सुनाए । आगलागीले उनको पनि घर नष्ट भएको छ । उनले घरमा भएको केही पनि  बचाउन नसकिएको बताए । “ज्यान जोगियो त्यसैमा चित्त बुझाउनुपर्ने भयो, अरु सबै नष्ट भयो”, उनले भने । मल्ल र विक मात्र होइन धारापानीमा शनिबार भएको भीषण आगलागीका कारण १३ घर परिवार अहिले खुला आकाशमा बस्न बाध्य छन् । आगलागीबाट भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए । बस्तीमा पसेको आगो नियन्त्रण भए पनि वनमा अझै पूर्णरुपमा आगो निभेको छैन ।  प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन् । आगलागीले घर गुमाएका रातामाटाका १६ घरपरिवारलाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए । चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको छ ।  भीषण आगलागीले गाउँ नै सखाप भएको  छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन् । हिजो भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको  डढेलोले २० घर, २३ गोठ, ११ बाख्रा र छ भैँसी जलेर नष्ट भएका हुन् । सबै पालिकामा दमकल नहुँदा र आगो नियन्त्रणका सामग्री प्रयाप्त नहुँदा आगोलागीका घटना बढिरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए । उनले सुरक्षाकर्मी संग पनि पर्याप्त अग्नि नियन्त्रक साधन छैनन् ।  जिल्लाका ६ वटा स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकामा मात्र दमकल छ । अन्य पालिकाहरुमा दमकल नभएपछि ट्याक्टरमा पानीको ट्याङ्कर भए पनि तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । कार्यान्वयनको प्रक्रियामा आगलागी बढेको प्रशासकीय अधिकृत पन्थीको भनाइ छ । 

पोखरामा ६ वटा सहकारी पीडितको संयुक्त प्रदर्शन

पोखरा । पोखरामा रहेका ६ वटा सहकारीका बचतकर्ताले वचत फिर्ता र आफूहरुको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । पोखराका सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर सोमबार पोखरामा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, गृहमन्त्री र सबैजसो दलका शीर्ष नेतालाई भेटेर समस्या सुनाउँदा पनि न्याय पाउन नसकेको भन्दै उनीहरुले एकीकृत आन्दोलन सुरु गरेका हुन् । सहकारी पीडितहरुले  ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ,’ ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै सडकमा निस्किएका छन् । ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको गुनासो छ । कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरुको समस्या जानकारी गराउँदा पनि बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको बताए ।

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

बागलुङका २५ स्थानमा तटबन्ध हुँदै

ढोरपाटन । बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत तटबन्ध तथा नदी नियन्त्रण गर्न थालिएको हो । जिल्लाको सबैभन्दा बढी गलकोट नगरपालिकामा तटबन्ध गर्न थालिएको छ । यस पालिकामा सातव तटबन्धका योजना छन् । बडिगाड गाउँपालिकामा तीन, बागलुङ नगरपालिकामा तीन, बरेङ गाउँपालिकामा दुई, ढोरपाटन नगरपालिकामा चार, निसीखोला गाउँपालिकामा तीन, तमानखोला गाउँपालिका एक र काठेखोला गाउँपालिकामा दुई योजान छन् । बागलुङका धेरै बस्ती खोला छेउमा हुँदा कटानको उच्च जोखिममा छन् । कटानबाट बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताए । चालु आर्थिक वर्षमा रु चार करोड ९५ लाखको लागतमा २५ स्थानमा तटबन्ध गर्न थालिएको उनको भनाइ छ । उनका अनुसार गलकोट–६ खहरेखोला तटबन्ध वडा नं ९ दरमखोला नदी नियन्त्रण, सोही वडामा चुदीखोला तटबन्ध, वडा नं ४ मा खरुवा माध्यमिक विद्यालय तटबन्ध, वडा नं ९ मा पात्रेढुङ्गा–गौतमघाट तटबन्ध, वडा नं ७ मा चोखालघाटबाट प्रगति प्रावि तटबन्ध र वडा नं १० मा अँधेरीखोला तथा लङ्गुरेघाट बस्ती संरक्षण योजना रहेका छन् । बडिगाडको वडा नं २ मा बडिगाड खोला नियन्त्रण, वडा नं ५ मा दीक्षफाँट तटबन्ध र वडा नं ७ मा खोल्टेपानी तटबन्धको काम सुरु भएको उहाँको भनाइ छ । बागलुङ नगरपालिका १ मा कालीगण्डकी नदी नियन्त्रणको काम भइरहेको पौडेलले बताए । सो स्थानमा रहेको लक्ष्मीनारायण मन्दिर संरक्षणका लागि तटबन्ध गरिएको भन्दै वडा नं १० स्थित गलुवाखोलामा समेत तटबन्ध गर्न थालिएको प्रमुख पौडेलको भनाइ छ । बरेङ वडा नं ३ को राउसीखोला र वडा नं २ को गुहिएखोला ठूलो खोलामा पनि तटबन्ध गरिएको छ । ढोरपाटन ६ मा गाडीखोला खाल्टेखुल्टे उत्तरगङ्गा ढोरपाटन बस्ती संरक्षण, वडा नं ६ कै तुलाआवि तटबन्ध वडा नं ५ को दोगाडी स्वास्थ्य चौकी संरक्षण र शिवालय मावि संरक्षणका लागि भुजीखोलामा तटबन्ध गर्न थालिएको उहाँले जानकारी दिए । निसीखोला(२ मा छन्त्याल गाउँ बस्ती संरक्षण, वडा नं १ मा हुल्दी पहिरो नियन्त्रण, वडा नं ५ मा कालाखेत सानोखोला तटबन्धको काम भइरहेको छ । तमानखोला गाउँपालिका(६ नर्जागाउँ तटबन्ध र काठेखोला गाउँपालिका(४ मा धाकखोला तटबन्धको योजना कार्यान्वयन भइरहेको उनी बताउँछन् । पौडेलले २५ योजनामध्ये पाँच योजना सम्पन्न भएको, १८ योजनाको काम तीव्रगतिमा भएको भन्दै दुई योजना कालाखेत सानोखोला र अँधेरीखोला लङ्गुरेघाट बस्ती संरक्षण योजना सम्झौता नै नभएको जानकारी दिए । सबै योजना असार मसान्तसम्म सक्नुपर्ने पौडेल बताउँछन् । उनले भने, ‘दुईवटा बाहेक सबै योजना कार्यान्वयन भइरहेका छन्, अहिले तीव्रगतिमा काम भइरहेको हुँदा असार मसान्तअगावै सक्ने सम्भावना देखिन्छ, यी योजना जहाँ बस्ती जोखिममा छन्, खोला किनारका विद्यालय र स्वास्थ्य संस्था पनि छन्, ती सबैलाई संरक्षण गर्नका लागि यो वर्ष तटबन्ध गर्न थालिएको हो ।’

मनाङमा एक वर्षमा २१ हजार पर्यटक

मनाङ। हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार चार सय ८२ मनाङ भ्रमणमा आएको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै इजरायलका एक हजार आठ सय २१ र जर्मनीका एक हजार सात सय ५४ नागरिक मनाङ भ्रमणमा आएको तथ्याङ्क रहेको उनले बताए । विदेशीको रोजाइमा मनाङ प्रमुख रहने गरेको पाइएको प्रमुख भुजेलले बताए । उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्, सङ्ख्याको आधारमा यी धेरै हुन्, अमेरिका, चाइना, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन् ।’ मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै एक सय १५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिए । उनका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो । सडक सञ्जालले मनाङ आउने आन्तरिक पर्यटकलाई समेत सहज भएको उनको भनाइ छ । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद भुपेन्द्र गुरुङले जानकारी दिए ।उनले भने, ‘तीनरचार दिनको बिदा लगातार परेको अवस्थामा मनाङमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ, भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बढ्दै गएको छ ।’ आन्तरिक पर्यटकको भने अभिलेख राखिदैन तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ । यहाँ भित्रिने पर्यटक अधिकांश थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका(९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । केही दिन बिदा भएको बेलामा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका उनले बताए । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढी पहिरोपछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूवात हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारी साधनमा नै पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ ।

गुल्मीमा आगलागीबाट लाखौँको क्षति,इस्मामा मात्रै जले १५ भन्दा बढि घर गोठ जले

तम्घास । आगलागीबाट गुल्मीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।विभिन्न ठाउँमा आगलागी हुँदा लाखौं रुपयाँको धनमालको क्षति भएको छ । गुल्मीको इस्मा गाउँपालिका –२ सिदुङ्खा, मैनडाँडा क्षेत्र आसपासमा भिषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार उक्त आगलागीबाट हालसम्म निम्न व्यक्तिहरुको घर गोठ चौपाय क्षेती भएको छ । १.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने बसुन्धार कुवरको घर बङ्गालो पुर्णरुपमा जली क्षेति भएको,निजको बङ्गालोमा रहेको ८ बोका ,५ बाख्रा ,२ भैसि जली मृत्यु  २.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने चन्द्र बहादुर कुवरको घर, कुटानि पिसानि मिल, किराना पसल,बङ्गालो जली पुर्णरुपमा क्षेती भएको, ३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सुर्य बहादुर कुवरको घर बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको, ४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गन बहादुर कुवरको घर ,२ बङ्गालो १ भैसि,१ पाडो , ४ बाख्रा जली मृत्यु भएको  ५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ऋषि राम कुवरको घर जली पुर्ण रुपमा क्षेती भएको, ६.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने रमेश थापाको घर गोठ जली पुर्णरुपमा क्षेती भएको, ७.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने होम बहादुर मल्लको बङ्गालो जली पुर्ण रुपमा क्षेती भएको। ८.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने लिला बहादुर थापाको घर कटेरो जली पुर्णरुपमा क्षेती भएको , ९.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने टिका बहादुर रायामाझीको घर ,बङ्गालो ,१ बाख्रा जली मृत्यु भएको १०.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गोल बहादुर थापाको किराना पसल ,२ बङ्गालो  ११.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने धर्मराज थापाको घर, गोठ, कुटानि पिसानि मिल २ भैसि ,२ बाख्रा जली मृत्यु १२.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने ईन्द्र बहादुर थापाको किराना पसल ,३ गोठ जली क्षेती  १३.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने राम बहादुर थापाको घर,गोठ जली पुर्णरुपमा क्षेती भएको   १४.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने गिता थापाको १ गोठ, १ भैसि जली मृत्यु  १५.गुल्मी जिल्ला ईश्मा गा.पा.२ सिदुङ्खा बस्ने सरिता मल्लको १ घर, १ बङ्गालो जली क्षेती  प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ ।

गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज

पोखरा।गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ।गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए। रिटबारे सुनुवाइ गर्दै न्यायाधीश शर्माले वैशाख ७ गतेभित्र लिखित रूपमा कारण पेस गर्न अन्तरिम आदेश दिएका थिए।मुख्यमन्त्री कार्यालयको तर्फबाट लिखित जवाफ पठाइसकिएको मुख्य न्यायाधिवक्ता कृष्ण अधिकारीले जानकारी दिएको छ। सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्ति दिएका हुन्। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दिए। पूर्वमुख्यमन्त्री पाण्डेले सभामुखलाई सरकारको जोड घटाउमा सामेल गर्न नमिल्ने बताउँदै आएका छन् भने मुख्यमन्त्री अधिकारीले दलको सङ्ख्याका आधारमा सरकारमा दाबी गर्न पाइने बताएका छन्।  नयाँ मन्त्रिपरिषद्ले संसद् बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेर आयोजित प्रदेशसभाको बैठक कांग्रेस र राप्रपाको बहिष्कारका कारण चल्न सकेन।  प्रतिपक्षीले बहिष्कार गरेपछि बैठक प्रदेश प्रमुख कार्यालयबाट आएको पत्र पढेर सुनाइएको थियो । मुद्दाबारे आजबाट सुनुवाई हुने भएपछि कांग्रेस गण्डकी प्रदेशका सांसदहरु काठमाडौं आएका छन् ।

लुम्बिनी प्रदेशमा जसपाका मन्त्री अहिरद्धारा राजिनामा

दाङ । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादीबाट बनेका मन्त्री कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिएका छन् । माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टीले समर्थन गरेको थियो। त्यसको बदलामा सो पार्टीबाट दुई जना मन्त्री बनाउने लिखित सहमती गरेपनि अन्तिममा आएर एउटा मात्रै मन्त्रालय भाग परेको भन्दै राजीनामा दिएका हुन्।उनको राजीनामा मुख्यमन्त्री जोखबहादुर महराले स्वीकृत भने गरेका छनैन् ।  मन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिए पनि जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन् । मन्त्रालयको संख्या नै सिमित भएकोले सबैले चाहे जति मन्त्री बनाउन सम्भव नभएको मुख्यमन्त्री स्रोतले बतायो । जसपासँथ ३ सांसद छन् ।दुई मन्त्री माग गरेको छ । लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समिकरणको आधारमा पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा सरकार बनेको छ । अहिले बनेको मन्त्रीमण्डलमा एमालेका पाँच, माओवादीका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ती पार्टीका एक, एकिकृत समाजवादीका एक, जसपाका एक र एक स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बनेका छन्।

गुल्मीमा आगलागी हुँदा २८ घरगोठ जले

गुल्मी । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ।   इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ। स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर रायमाझीको घरगोठ एवं रामबहादुर थापाको घरगोठ जलेका हुन्। त्यसैगरी चन्द्रबहादुर कुँवरको घरसहित कुटानी–पिसानी  मिल, किराना पसल र गोठ, गोपालबहादुर थापाको किराना पसल, धर्मराज थापाको घरगोठ र मिल तथा इन्द्रबहादुर थापाको किराना पसल र तीनवटा गोठ नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए। शनिबार दिउँसोदेखि इस्मा गाउँपालिका–२ स्थित सिन्दुखाको रानी सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलिएको थियो।  त्यसबाट हस्तीचौरका १५ जनाको घरगोठ जल्नुका साथै दर्जनौँ पशुचौपायको मरेका प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ को हुल र कोटकोटेरीमा लागेको आगोले टोकली बस्नेतको गोठ, सूर्यबहादुर र गुञ्जबहादुरको गोठ जलेको प्रहरी प्रवक्ता पोख्रेलले बताए। इस्मा गाउँपालिका– १ मा लागेको आगोका कारण ट्रयाक्टरचालक १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन्।  उनीहरूको हातखुट्टा र अनुहार जलेको छ । घाइतेको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । डढेलोका कारण लु४त ६५३५ नम्बरको ट्रयाक्टर जलेको छ। शुक्रबार नजिकैको वनबाट फैलिएको डढेलोले गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको छ।  सबस्टेशनलाई पूर्ण रूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट  रु दुई करोड बराबरको क्षति भएको छ।  नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार कन्डक्टर, केवललगायत सामग्री जलेकाले रु दुई करोडको क्षति भएको अनुमान गरिएको छ। डढेलोले धेरै क्षति भएको इस्माका तीन स्थानमा राहतका काम सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

गोरखाको वीरेन्द्र ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले पुर्याएको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेर तालको पानी बाहिर आएको जानकारी दिदै थप विवरण आइनसकेको बताए । उनका अनुसार ताल भएको क्षेत्रतिर प्रहरी टोली परिचालन भइसकेको छ । बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको छ । चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले प्रारम्भिक जानकारी अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानी छचल्किएर बाहिर आएको खबर आफूहरुले पाएको जानकारी दिइन् ।

पुनः सञ्चालनमा आयो झुलाघाट नाका

बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा हो।  यही वैशाख ७ गते उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई दृष्टिगत गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द थियो ।

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

तनहुँ । आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ७६ वर्षीय बुवा राप बहादुर बिकलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा तनहुँको म्याग्दे गाउँपालिका ६ बस्ने २६ वर्षीय दिपक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका ९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।