कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल

कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल

सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए।

‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्।

‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’

उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ।
सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।

वायु प्रदूषण नियन्त्रणको माग गर्दै भट्टराई सडकमा

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले देशभर बढेको वायु प्रदर्शन नियन्त्रणका लागि पहल गर्न माग गर्दै काठमाडौंको सडकमा प्रदर्शन गरेको छ। केही दिनयता संघीय राजधानी काठमाडौंसँगै देशभर वायु प्रदर्शन बढेको र जनताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै यसलाई नियन्त्रणका लागि पहल गर्न माग गर्दै नेसपाले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । बढ्दो वायु प्रदूषण र यसले आमनागरिकमा ल्याएको स्वास्थ्य जटिलता देशव्यापी डढेलो नियन्त्रणमा सरकारको उदासीनता देखिएको भन्दै बाबुराम भट्टराईले प्रर्दशनको आह्वान गरेका थिए ।प्रर्दशनमा बाबुराम भट्टराई की छोरी मानुषी यामी भट्टराई लगायत सो पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ५ बजेर २१ मिनेट र सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–विराटनगर उडान थालेको हो ।  बन्द भएको ६ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई विराटनगरका लागि शुभकामना दिनुभएको थियो । उहाँका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले नौ जना यात्रु लिएर विराटनगर उडेको छ ।   उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी महसुस गर्दै भने, “समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ ।” वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए । “अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौँ”, उनले भने । विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर–काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो । विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ ।  हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो । ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए । उनले भने, “अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस् ।”       वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा रु चार हजार २९ कायम भएको जनाएको छ । नागरिकको सेवालाई ध्यान दिँदै इ–सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो ।        प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।

लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो :  राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् ।  “लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जबाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो”, राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।  “विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शिता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ”, उनले भने। लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्त्वपूर्ण माध्यमको रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।  उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए । साथै  सरकारले गरेका काम, कारबाहीबारे जनतालाई सुसूचित पनि गराउने उनले बताए।  जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।  संविधानको व्यवस्थाअनुसार सूचनाको हकसम्बन्धी ऐन २०६४ जारी भई अहिले कार्यान्वयनमा आएको छ । लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो भन्दै राष्ट्रपति पौडेलले सुसूचित नागरिक मात्रै सर्वशक्तिमान् हुन्छ र उसको स्वतन्त्रताको सर्वोच्चता स्थापित हुन्छ भन्ने मूल मान्यता र दर्शनका आधारमा लोकतान्त्रिक व्यवस्थामा जनतालाई शासन प्रणालीबारे सबै सूचना जान्न पाउने मौलिक हकको व्यवस्था गरिएको बताए।  संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ ।  उनले कानुन कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रूपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानुनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनिसकेको उनले बताए ।  “ अझै पनि कैयौँ नेपाली जनता आफ्नो यो मौलिक हकबारे अनभिज्ञ छन्, यसका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी छ र यसमा आपूर्ति पक्ष जति संवेदनशील हुन आवश्यक छ, त्यो भन्दा बढी जनता आफैँ आफ्नो अधिकार प्राप्त गर्न तयार देखिउन् भनेर उनीहरूमा जागरण ल्याउन अत्यन्त आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।   संविधानको मर्म र कानुनको व्यवस्थाअनुसार स्थापित आयोगले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा आज मात्र ४ वटा राष्ट्र भाषा मैथिली, अवधि, थारु र भोजपुरीमा प्रकाशित सूचना मागकर्ताका लागि सहयोगी पुस्तिकाका कारण बहुसङ्ख्यक नेपालीमाझ सूचनाको हक पुर्याउन सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । उनले यसै गरी थप राष्ट्रभाषाहरूमा पनि यस्तो प्रकाशन गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । “सूचनाको हकको नियामक निकायका रूपमा स्थापित सीमित साधन, स्रोत भएको आयोगबाट नागरिकमा आफ्नो अधिकारको प्रयोगको जागरण ल्याउने तथा कानुनको प्रभावकारी कार्यान्वयनको सबै जिम्मेवारी हो भन्ने ठान्नु उपयुक्त हुँदैन, यसका लागि सरकारको गम्भीर ध्यान जान जरुरी छ”, उनले भने । स्वाभाविक रूपमा सबै सूचना सार्वजनिक हुँदैनन् र कानुनमा व्यवस्था भएका अति संवेदनशील पाँच प्रकारका सूचना संरक्षण गरेर राखिने विषयहरू पनि जनताकै हितका लागि हुन् भन्ने हामीले बिर्सन नहुने उनले उल्लेख गरे । 

लोकप्रिय