सहकारीको स्थायित्वका लागि लेखा सुपरीवेक्षण समिति बलियो हुनुपर्छ : एरिक ओ हर्न

काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुपरीवेक्षण समिति बलियो हुनु पर्ने बताएकी छिन् । । विश्व ऋण परिषदको लागि अन्तर्राष्ट्रिय वकालत तथा सल्लाहकारको रूपमा काम गर्दै आएकी उनले लेखा सुपरिवेक्षण समितिमा कार्यरत व्यक्ति आफैमा योग्य हुनु पर्ने बताउँदै ती व्यक्तिले नेतृत्व गर्ने समितिको कारण संस्था दीगोपना र स्थायित्वमा टेवा पुग्ने धारणा राखेकी हुन् ।


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा विहीबारदेखि सुरु भएको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको दोस्रो दिनमा ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयमा कार्यपत्र पेश गर्दै उनले लेखा सुपरिवेक्षण समितिले सहकारीको सञ्चालक समितिलाई पनि सही किसिमले सल्लाह दिएर जिम्मेवारी निर्वाह गर्नु पर्ने बताइन् ।


उनका अनुसार सहकारीमा वित्तीय साक्षरता, नीति नियमको परिपालना र सदस्यमा नियमन विश्वस्तताका आन्तरिक लेखा प्रणाली बलियो हुनु पर्ने धारणा राखिन् ।
उनले संस्थाका सञ्चालकले व्यक्तिगत स्वार्थका लागि काम गर्न नहुने पनि तर्क राखिन् । नियमित बैठक तथा छलफलले पनि संस्थामा सिर्जना भएको समस्या समाधान गर्न सकिने उनको धारणा छ ।

 
‘लेखा सुपरिवेक्षण समिति स्वतन्त्र निकाय हो, यसको आफ्नै जिम्मेवारी र भूमिका हुन्छ, धेरै देशमा सहकारी संस्थाका फरक–फरक अभ्यास हुन्छन्, तर लेखा सुपरीवेक्षण समिति र सञ्चालक समिति एक अर्काका परिपुरक भएपनि सञ्चालक समितिभन्दा लेखा सुपरिवेक्षण समिति थप बलियो हुनुपर्छ, यो समितिमा आउने व्यक्ति योग्य हुनुपर्छ’, उनले भनिन् । 

उनले कार्यपत्र प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय अभ्यास जानकारी गराउँदै आन्तरिक तथा बाह्य लेखा परिक्षकको परिवर्तन गरिनु पर्ने, सञ्चालक समितिको बैठकमा लेखा सुपरिवेक्षण समितिको सुझाव छलफल गर्नु पर्ने र समितिका प्रतिवेदनहरु परीक्षण गरिएको तथा आवश्यक सुधार गरिएको सुनिश्चित गर्नु पर्ने बताइन् ।


यस्तै, कार्यपत्रमा टिप्पणी गर्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखे । उनले सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको धारणा राखे । 
उनले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको बताए । ‘बैंकहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछ, अहिले सहकारीहरु समस्यामा छन् । तर, यसको समस्या समाधानका लागि कुनै पनि निकायले वास्ता गर्दैनन्,’ उनले भने ।


यस्तै, उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर नै समस्या सिर्जना भएको र वर्तमान संकट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अतिआवश्यक रहेको धारणा राखे । 
‘हामीले आफैं काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो, स्वायत्ततासँगै जवाफदेहिताबाट हुनुपर्छ, अराजकताले संकट ल्याउँछ, स्वायत्त भन्दा संकट आएको हो, दोस्रो तहको नियामक अतिआवश्यक छ,’ उनले भने । 


उनले अहिले सहकारीमा विशेष प्रकारका चुनौतीहरु रहेको र केही जोखिम पनि कायम रहेकोले ती जोखिम कम गर्नका लागि कानुनको परिपालना आवश्यक रहेको धारणा राखे । उनका अनुसार सहकारीहरु वित्त कम्पनीसरह चलेका छन् । यसले पनि समस्या सिर्जना गरेको हो । 
सेसनको अध्यक्षता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का निवर्तमान अध्यक्ष परितोष पौड्यालले गरेका थिए ।
 

सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकका सम्बन्धमा सुझाव संकलन गर्न उपसमिति गठन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सुझाव संकलन गरी पेस गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ ।  सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको हो । समितिका सदस्यहरूमा बद्री पाण्डे, देवेन्द्र पौडेल, डा‍. तोसिमा कार्की र रामप्रकाश चौधरी रहेको समितिका सभापति अम्मरबहादर थापाले जानकारी दिए । विधेयकमाथिको दफाबार छलफलमा सांसदहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई नीतिगत निर्देशन दिन गठन हुने परिषद्को अध्यक्ष नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा जोड दिए । विधेयकको बुँदा नं ६ मा सार्वजनिक सेवा प्रसारण संस्थाको नीतिनिर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन एउटा परिषद्को गठन हुने प्रस्ताव गरिएको छ ।  विधेयकमा परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र सदस्यहरूमा अर्थ मन्त्रालयको सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव, सञ्चार मन्त्रालयको सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव, पत्रकार महासङ्घको अध्यक्ष, नेपाल विज्ञापन सङ्घको अध्यक्ष, चलचित्र विकास बोर्डको अध्यक्ष, विभिन्न पेसाकर्मी, समाजसेवीलगायत १४ सदस्य रहने व्यवस्था गरिएको छ ।  परिषद्को सदस्य मनोनयन गर्दा समावेशी सिद्धान्तका आधारमा गर्नुपर्नेछ । परिषद्को बैठक वर्षमा कम्तीमा एकपटक बस्ने र बैठकमा आवश्यकताअनुसार विषयविज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ । रासस

बिनानिष्कर्ष सकियो राप्रपाको बैठक, शुक्रबार पुनः बस्ने

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको बैठक बिनानिष्कर्ष सकिएको छ। बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । बैठकमा विषयवस्तुमाथि सामान्य छलफल मात्र भएको प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए। अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।  यता, संसदीय दलका उपनेता बुद्धिमान तामाङका अनुसार बैठक संसद्को आसन्न बजेट अधिवेशन केन्द्रित भएको छ। सहकारीको बचत अपचलनमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति मुछिएको आरोप दलहरूले लगाउँदै आएका छन्। यो प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा कांग्रेससँगै राप्रपा पनि सो मागमा रहेको छ । यी विषयहरूमा के गर्ने भन्ने सामान्य छलफल भएको तामाङले बताए।“पशुपतिजी पनि आउनु भएन। सामान्य छलफल गरेर पर्सीलाई बैठक बस्ने कुरा भयो र हामी उठ्यौँ,” उनले भने।

वीर अस्पतालमा दाँतको उपचार गराउँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वीर अस्पतालमा दाँतको उपचार गरेका छन् ।  प्रधानमन्त्री प्रचण्ड दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुगेका हुन् ।सरकारी स्वास्थ्य संस्थाका मै गएर प्रधानमन्त्रीले दाँतको उपचार गरेका हुन् । 'आज बिहान् देखि दात दुखी रहेपछि वीर अस्पतालमा उपचारका लागि आउनु भएको हो।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । विरका डा.रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्री प्रचण्डको उपचार गरेको उनले जानकारी दिए ।प्रधानमन्त्रीले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गरेका थिए ।

माओवादी केन्द्रका सल्लाहकार खड्काको निधन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ।खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो। सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको भन्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गरेका छन्।माओवादीले भनेको छ( ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागी अपूरणीय क्षति भएको छ। राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ।’ विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए। खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए। हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन्। सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

मुलुकलाई औद्योगिक विकासतर्फ लैजान उद्यमशीलतालाई बढावा दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिनु जरुरी रहेको बताएका छन्।  बुधबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताए।  राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए।  उनले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्ति लगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।  राष्ट्रपति पौडेलले प्राकृतिक स्रोतको उपयोग समावेशी र समानुपातिक सहभागितामा मात्रै नभएर परम्परागत कृषिलाई औद्योगिक कृषिमा बदल्नेसमेत सघाउ पुर्‍याउने बताए। उनले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो सङ्ख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवर्धनमा विशेष कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।  राष्ट्रपति पौडेलले महिला युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्ने खाँचो रहेको धारणा राखे। उनले स्वदेशी वस्तु बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तुबिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई महत्त्व दिनुपर्ने आजको आवश्यकता भएको बताए। उनले पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेको भन्दै सरकारले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यस क्षेत्रको विकासमा सहयोग पुर्‍यानुपर्नेमा जोड दिए।  उनले देशमा उत्पादित वस्तुको प्रवर्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्थाको लागि आवश्यक संरचना बनाउन सरकारको ध्यान दिनुपर्ने बताए।  

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताइन्। मन्त्री शर्माले अहिले आफ्नो पार्टीको प्रधानमन्त्री भएका कारण आफूहरूले त्यस्तो नभएको प्रस्ट्याउँदै प्रधानमन्त्री पदलाई बलियो बनाउनुपर्नेमा जोड दिए। ‘‘छलफल गरेर सहमतिमा बनाऔँ भनेर समितिले निष्कर्ष निकालेको अवस्थामा सरकारले असहयोग गर्ने कुरा भएन । आखिरमा अध्यक्षले बैठक नबोलाईकन बैठक नै हुँदैन होला। त्यो अध्यक्षकै कुरा भइहाल्यो। अध्यक्ष नभईकन त्यो बैठक कसरी सञ्चालन हुने होला ? निर्णय प्रक्रियामा आउँदा अध्यक्ष बाहेकको निर्णय गर्ने कि अध्यक्षसहित निर्णय गर्ने भन्ने कुरा न भयो । सभापतिज्यूले बैठक नबोलाए समितिको बैठक हुन्छ र ? हुँदैन नि त ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘सभापतिले बैठक नबोलाईकन समितिको बैठक हुँदैन भन्नुको मतलब सभापतिको दुई भोट हो, अरूको एक भोट हो भन्ने अर्थ त लाग्दैन नि त । बरु बैठक नै नबोलाउने स्थितिमा के गर्ने भन्नेमा यति प्रतिशत सदस्यले माग गरेपछि बैठक बोलाउने भन्ने हो कि भन्ने विषयमा छलफल गर्न सकियो ।’’ मन्त्री शर्माले विधेयक पनि परिषद्मा प्रधानमन्त्रीलाई बलियो बनाउने गरी ल्याइएको बताइन्। उनले परिषद्को अध्यक्ष नै प्रधानमन्त्री हुने र अध्यक्षले नै बैठक बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै अध्यक्ष बिनाको निर्णय मनासिब नहुने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘‘प्रधानमन्त्री जोसुकै भए पनि जुनसुकै पार्टीको भए पनि प्रधानमन्त्रीलाई अथवा कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा नै राम्रो कुरा हो भन्ने कुरा हो जस्तो लाग्छ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुहुन्छ, त्यसकारण यो हुनुपर्छ भन्ने अर्थ नलागोस्। देशको प्रधानमन्त्री भनेको पद हो । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। त्यसकारणले त्यो विषयमा के गर्ने भन्ने गम्भीरतापूर्वक हामी आफूले पनि सोचौँ।’’ उनले विधेयकलाई समिति र संसद्ले सहमति पूर्वक अगाडि बढाउन चाहेमा त्यसमा सरकार बाधक नबन्ने स्पष्ट पारिन् ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । युके पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।  युके पठाउने भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर नगरपालिका २ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका ७ बस्ने ३० वर्षीय बिधान कार्की रहेका छन् ।  सोमबार प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।  कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।   उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बुधबार कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।  उनीहरुले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । भेटमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायत नेताहरु प्रदेश प्रमुखकोमा पुगेका थिए । जवाफमा प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिइसकेका छन् ।  समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने संविधानको १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् । एमाले र माओवादी सांसदको प्रस्तावमा प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । यो संकल्प प्रस्ताव अनुसार पनि मुख्यमन्त्रीले २५ वैशाखसम्म विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने विपक्षी दलहरुको तर्क छ । मुख्यमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको एमालेका एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिए ।

कैलालीको सुधारगृहमा युवकको मृत्यु

कैलाली । कैलालीको एक सुधारगृहमा युवकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका ४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह) मा राखिएका घोडाघोडी नगरपालिका २ का २५ वर्षीय सुनील शाहीको मृत्यु भएको हो। भाग्ने क्रममा बुधबार बिहान साढे ३ बजे सुधारगृहको छतबाट खसेर शाहीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भने भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीकी प्रहरी निरीक्षक सरस्वती अधिकारीले बताइन्। उनका अनुसार छतबाट खसेर घाइते भएका शाहीलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनको शव अहिले घोडाघोडी अस्पतालमा नै राखिएको छ।  मृतकका परिवारका अनुसार शाहीको निधार, कम्मर, गर्धन र हातमा चोट लागेको छ । शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही गत पुस ४ गते सुधारगृहमा भर्ना भएका थिए । मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

हामी कानुनी र राजनीतिक लडाइँमा जान्छौंः यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध आफुहरु कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।  जसपा विभाजनपछि आज पार्टी केन्द्रीय कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले जसपा विभाजनपछि बनेको नयाँ दल असंवैधानिक भएको दाबी गरे ।  त्यसविरुद्व अदालत जाने उनले चेतावनी दिए । ‘नयाँ दलको दर्ता असंवैधानिक छ,’ यादवले भने, ‘त्यसविरुद्ध हामी अदालत जान्छौँ । कानुनी र राजनीतिक लडाइँ लड्छौँ।’ यादव अमेरिका भ्रमणमा रहेका बेला गएको सोमबार नेता अशोक राईले आफूसमेत सात जना सांसदलाई साथमा लिएर जसपा विभाजन गरेका थिए ।  पार्टी विभाजनपछि अब उपेन्द्र यादवको पक्षमा ५ जना मात्रै सांसद रहेका छन् । जनता समाजवादी पार्टी विभाजनपछि गठन भएको राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले दर्ता गरेर मान्यता दिइसकेको छ ।

मानव तस्करीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । मानव तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली गौरीगंगा नगरपालिका २ घर भई ललितपुर, ललितपुर महानगरपालिका ७ झम्सिखेल बस्ने ४१ वर्षीय तेज राम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर झम्सिखेलबाट पक्राउ गरेको हो ।  चौधरीले अमेरिका पठाइदिन्छु केही समय ब्राजिलमा गएर काम गर्नुपर्ने र फिलिपिन्स हुँदै जानु पर्छ भनि भन्दै ४ जना पीडितहरूबाट पटक पटक गरी जम्मा १ करोड १८ लाख ५९ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । साथै पीडितहरूलाई ब्राजिलको वर्किङ भिसामा लगाई श्रम स्वीकृति समेत निकाली फिलिपिन्स पुर्या एकोमा त्यहाँको अध्यागमनले नक्कली कागजात भनि फिर्ता पठाएको, पीडितहरू नेपाल फर्केपछि पुनः दिल्ली पुर्यााई होटलमा बन्धक बनाएको र पीडितहरूले ३९ लाख रूपैयाँ बुझाएपछि होटलबाट मुक्त भएको समेत खुल्न आएको प्रहरीको भनाई छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । 

कुकुरको झुण्डले आक्रमण गर्दा ६ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरमा कुकुरको झुण्डले आक्रमण गर्दा एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाको यदुकोहा घर भई जनकपुर बस्दै आएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको आक्रमणमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार साँझ डेरा नजिकै आँप टिप्न गएको बेला उनलाई आधा दर्जनको संख्यामा रहेका कुकुरले एकसाथ आक्रमण गरेका थिए । कुकुरको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोशी मरिनको कार्यान्वयनबाट अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ : प्रधानमन्त्री

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् ।  सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे।  “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।” सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।उनले भने, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।” कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताए।   नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताए । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उनले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताए। प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए। उनले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गरे। यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताए ।  आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा तालरजलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गरे। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

प्रधानमन्त्रीद्धारा सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

सिन्धुली। सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिएको छ ।औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्।ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बल थिचेर ब्रेक थ्रुको सुभारम्भ गरेका हुन् । १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ भएको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएको छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ। २२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिएको हो। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो। उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का लिएरका काम सुरु गरेको थियो। यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

सिटिजन लाइफको लाभांश प्राधिकरणबाट रोक्का

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश रोक्का गरिदिएको छ।  कम्पनीले सेयर प्रिमियम रकमबाट हाल विद्यमान चुक्ता पुँजीको २६.९८ प्रतिशत र सोको कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा प्राधिकरणले रोकिदिएको हो । यसअनुसार कम्पनीले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर र ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ नगद लाभांश दिन लागेकामा प्राधिकरणले २४ गते पत्र पठाउँदै वितरण रोकेको छ।  सोसँगै कम्पनीले मंगलबार सञ्चालक समितिको बैठक बसी लाभांश रद्द गरिएको जानकारी दिएको छ। एक्सचेञ्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार पनि रोकेको छ । कम्पनीले पटक पटक लाभांशको सूचना परिवर्तन गरेर लगानीकर्ताहरूलाई दुविधा गरेको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।