न्यायपालिका सुधार अदालतको मात्र विषय होइन : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन्। 

कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले भने,’न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायापालिका मात्रको विषय नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु।’

प्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय अदालतमा पुराना मुद्दाहरूको फर्छ्यौटको क्रम बढेको बताएका छन्। उनले स्वच्छ एवं स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन्।  

विसं २००८ साल बैशाख २६ गते प्रधान न्यायालय ऐन बनेपछि स्वतन्त्र न्यायपालिका स्थापना भएको मानिन्छ। त्यसैको सम्झनामा हरेक दिन बैशाख २६ गते कानुन दिवस बनाइन्छ। आजको दिन देशभरिका अदालतहरू बन्द रहन्छन्।

यस्तो आजको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २६ गते बुधबार सन् २०२४ मे ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन

काठमाडौं। आज मातातीर्थ औँसी अथात् आमाको मुख हेर्ने दिन ।प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइदै छ।  वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी आमाको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता रहि आएको छ।  धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ । आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका छन् ।  मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।   

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली  रही  मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै तराईका एक/दूई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश , मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

ममाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानले काठमाडौं जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको टिप्पणी गरेका छन् । उनले आफू कानुनले नभएर अनुमान र एकतर्फी भनाइका आधारमा दोषी भएको दाबी गरेका छन् । मंगलबार राति सामाजिक सञ्जालबाट सन्दीपले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौतीसमेत दिएका  छन् । 'मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ । तर, पनि धेरै चुप लागेर बसेँ । कानुन व्यवसायीले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ । तर, मैले कति सहनु ?,' सन्दीपले लेखेका छन् । उनले आफू न्याय माग्दामाग्दै शिथिल भइसकेको पनि बताएका छन् । आफूमाथि केही 'सामाजिक अभियन्ता'हरूले झुटा आरोप लगाएको पनि उनको भनाइ छ । 'ती तथाकथित र भनौदा सामाजिक अभियन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबरजस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस्, यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन,' उनले लेखेका छन् । यस्तो छ सन्दीपको स्टाटस धेरै समय मौनतामा बसी रहेँ, आफूलाई अन्धकारमा राखी रहेँ । अनि प्रतीक्षामा पलपल बाँचिरहेँ । मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसला मा गम्भीर त्रुटि छ । तर पनि धेरै चुप लागेर बसेँ । कानुन व्ययवसायले भन्नुहुन्छ– तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ । न तथ्यले, न प्रमाणले, न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ । तर, मैले कति सहनु ? म न्याय माग्दामाग्दा शिथिल भइसकेँ । सामाजिक संस्था र सामाजिक सञ्जालमा अनि झुटका न्यायका लागि लड्ने एकथरी गज्जबका आमा, दिदीहरू रहेछन्, अनि केही प्रभाव पार्ने पत्रपत्रिका । ती तथाकथित र भनौदा सामाजिक अभिन्ताहरूलाई मेरो यो खुला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको, तथ्य र प्रमाणले अझै सावित गर्नुहोस् । यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन । तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैलेमात्र होइन दुनियाले बुझेको छ । म कानुनले होइन, अनुमान र एकतर्फी भनाइले दोषी भएको छु । त्यो अनुमान मेरा लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारका लागि गम्भीर दुर्घटना हुनेछ । लेखिराख्नु, भगवान्‌ले हेरिरहेका छन्, व्यक्तिभन्दा माथि । ती तथाकथित महिला सामाजिक अभियन्ता भन्नेहरू यति स्वार्थी र अपराधी रहेछन् कि जो वास्तविक पीडितहरू हुन्, तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको । धिक्कार छ, ती तथाकथित अभियन्ताहरू, जसले एउटा खोल ओढेर अर्को व्यवसाय गर्छन् । मैले यति लेखिरहँदा अब केहीले मलाई पीडितको नाटकीय तुरुप फाल्यो भनेर लेख्लान्। तर, झुटा आरोप जब लाग्छ नि, अनि बल्ल सद्बुद्धि आउला । म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्नि परीक्षामा तपाईहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकीँ छ। फेरि भन्छु, यो घटना घटेको होइन, घटाइएको हो। वास्तविक अनुहार आफैँ निस्केला म चाहिँ विश्वस्त छु। अन्तमा म निर्दोष छु र मेरो निर्दोषितामा विश्वास र सहानुभूति राख्नेहरूसँग म जीवनभर ऋणी रहनेछु । फेरि पनि मेरो यो खुला चुनौती हो, ती तथाकथित अभियन्ताहरूलाई, सक्नुहुन्छ भने प्रमाणित गर्नुहोस् मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध। चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट सम्बन्ध भएको होस् । यदि म दोषी देखिन्छु भने मलाई फासी होस्, मेरा लागि ८ वर्षले पुग्दैन फाँसी नै सही हुनेछ। म त फसेँ, बोलेकै भरमा । अब अरू कोही नफसोस् । बिन्ती छ। सन्दीप लामिछाने

सत्ता समिकरण विरुद्ध दायाँबाया गर्दैनौं : नेकपा(एस)

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अहिले नै सत्ता सहकार्यबाट दायाँबायाँ हुने कुनै योजना नरहेको र सत्ता सहकार्यविरुद्ध नलाग्ने स्पष्टीकरण दिएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अहिले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिएको जानकारी गराउँदै प्रचार विभाग प्रमुख एवम् उपमहासचिव जगन्नाथ खतिवडा सो जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा सांसदहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी भूमिका खेल्न निर्देशन दिने निर्णय समेत भएको छ ।

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम गरेको हो  । पहिलो चरणमा बसेनीदेखि गोन्द्राङसम्म भूमिगत तारबाट विद्युत् प्रसारणको काम समेत भइसकेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार सुरुआती समयमा भएको सम्झौताअनुसार ७० प्रतिशत काम भएको भए पनि ठेक्काको काम थप भएसँगै प्रगति कम भएको हो। आगामी एक साताभित्र ११ केभिए लाइन जडान भएका पाँच वटा फिडरसमेत भूमिगत तवरबाट सञ्चालनको तयारी गरिएको छ ।पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र चनौली लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत गर्दै लगिने उनले जानकारी दिए । नले भने, “बसेनीदेखि भरतपुर महानगरपालिका अगाडिसम्म, आँपटारीदेखि पोखरा बसपार्कसम्मको सडक र केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडक थपिएको छ”, । केन्द्रीय बस ट्रमिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गरिने उनले बताए । भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकोमा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको सुवेदीले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको उनले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै गएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । महानगरका सहरी क्षेत्रमा हावाहुरीका कारण धेरै समस्या हुने गरेको छ । तार भूमिगत भएसँगै यो समस्या हट्ने र सहरी क्षेत्रको सौन्दर्यता बढ्ने छ ।

नेशनल पेमेन्ट गेटवे प्रकरण : निर्देशक पौडेललाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद, २३ करोड जरिवाना

काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार उनको सजाय निर्धारण गर्दै ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवाना असुल गर्ने फैसला सुनाएको हो । यस प्रकरणमा उनलाई गत वैशाख ७ गते विशेष अदालतले दोषी ठहर गरेको थियो । तर सजाय र जरिवाना निर्धारण गर्न भने बाँकी थियो । पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन् । विशेषले गत वैशाख १३ गते पौडेललाई थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेषले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो । उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो ।राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको थियो । अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ जम्मा रहेको जनाएको थियो।

देशमा ठूलो सुरक्षा चुनौति छैन : प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका हुन्। संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको उनले स्पष्ट पारे। उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ति समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेका बताउ। प्रधान सेनापती शर्माले देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको बताए। उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको स्पष्ट पारे। त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको उनको भनाई छ। प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालको क्षेत्रमा पनि केही न केही असर पारिरहेको बताए। उनले भारत र चीनबिच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना आदिले गर्दा क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको बताए। त्यसको असर अवश्य पनि हाम्रो जस्तो देशलाई पर्दछ । म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेका कारण तिनले सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना रहेको उनको भनाई छ । प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने बताउनुभयो । यद्यपी उनीहरुले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध गर्नुपर्ने उनको भनाई छ। नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उनले सबैलाई सन्तुलन मिलाएर लानुपर्ने बताइन्। देशको हितको लागि सबैसँग वार्ता गरेर अगाडी बढ्नुपर्नेमा उनको जोड छ । उनले नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लागेको बताए।

दुई अंकले बढ्यो नेप्से, दुई अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ विन्दुमा बन्द भएको हो । यस दिन दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भयो । १२० कम्पनीको सेयर मूल्य बढेको छ । ११४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल ९तराई०को सेयर मूल्य सर्वाधिक ६.२३ अंकले घटेको छ । मंगलबार कारोबारमा आएका १३ मध्ये चार समूहबाहेक सबै घटेका छन् । विकास बैंक, माइक्रो फाइनान्स, म्युच्युअल फन्ड र अन्य समूहको समूहगत परिसूचक बढेको हो । अरू नौ समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा धेरै माइक्रो फाइनान्स समूहको समूहगत परिसूचक २.४३ प्रतिशतले बढेको छ । ट्रेडिङको समूहगत परिसूचक १.०९ प्रतिशतले घटेको छ ।

सभामुखसहित शीर्ष नेताको बैठक : संसद सञ्चालनबारे जुटेन सहमति

काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्‍यायो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो।  बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताए।यद्यपि उनले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताए।  

डा. रुइतद्धारा गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको नानीको शल्यक्रिया गरिएको छ। वरिष्ठ आँखारोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीले केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानमा शल्यक्रिया गरेका हुन्। उनको शल्यक्रिया सफल भएको छ । तर, शल्यक्रियाबारे मेनुकाको परिवार र अस्पतालले केही जानकारी दिएको भने छैन् ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ बुधबार छिचोलिँदै, प्रधानमन्त्रीले  ‘ब्रेक थ्रु’ गर्ने

सिन्धुली ।  सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार छिचोलिने भएको छ । औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् ।  १३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने छ। राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ । २२ महिनाभित्रको लक्ष्यभित्रै सुरुङको काम सकिन लागेको हो। एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । सुरुङ निर्माणको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का लिएरका काम सुरु गरेको थियो। यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज(सोमबार) अपरान्ह ४ बजे सिन्धुली तर्फ प्रस्थान गर्दैछन् ।

सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री बिरामी, नर्भिक ल्याइदै

काठमाडौँ । कार्यक्रमको सिलसिलामा सिन्धुलीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन्। श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ। मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयले जनाएको छ । उनको प्रेसर पनि अत्यधिक लो रहेको बताइएको छ । सेनाको हेलिकोप्टरले उनलाई काठमाडौँ ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ। त्यसअघि उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ। मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाँदै थिए ।

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् ।  जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने । सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन’, मन्त्री अधिकारीले भने । लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए ।  त्यस्तै कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमण्ी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भूमरीमा परेको बताए । ‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गनेए बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।  सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ। सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनको भनाइ छ। ‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्’, सचिव दुवाडीले भने । ‘सहकारीमा मुद्दती निक्षेप राख्ने छैन, तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन्?’, उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को?’ यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् ।  उनले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने ।  अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने बताए ।  ‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उनले भने ।  त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अनरसिप महसुस गर्नु पर्ने धारणा राखिन् । त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए ।  कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे । ‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ’, उनले भने ।  अहिले सहकारी क्षेत्रले समस्या भोगिरहेको बताउँदै यो अवस्थामा सबैले हातेमालो गरेर जुझारुपनका साथ अगाडि बढ्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो उनको भनाइ छ । सीप सिकाइलाई खर्चको रुपमा लिन नहुने पनि उनको भनाइ छ। ‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुखद हो, आफू आवद्ध राजनीतिक दलबाट पनि असहयोग हुने, आफ्नै साथीहरुले गलत अभ्यास गरेर राजनीति गर्ने रहेछन्,’ उनले गुनासो गर्दै भने । उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे ।  यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यो वर्ष सहकारी अभियानका लागि सुखद् वर्षका रुपमा चिनाउने किसिमले काम गर्ने धारणा राखे ।