कलेजभित्रै कुटिए विद्यार्थी

कलेजभित्रै कुटिए विद्यार्थी

काठमाडौंः सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन् । शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ केहीबेर कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन् ।

केही विद्यार्थीलाई हातमा लिएर कलेज प्रशासनले योजनाबद्ध आक्रमण गरेको पीडित विद्यार्थीले बताएका छन् । केही सिनियर विद्यार्थीले बिहीबार पनि उनीहरूलाई मध्यरातसम्म होस्टेल छिर्न दिएका थिएनन्।

एक महिनादेखि आन्दोलित नेसनलका विद्यार्थी पछिल्लो समय रिले अनसनमा छन् । सुरुमा सरकारी प्रशासन र बाउन्सर लगाएर आन्दोलन दबाउन लागेको कलेजले अहिले केही सिनियर विद्यार्थी प्रयोग गरेर दमन गर्न थालेको उनीहरूको गुनासो छ । ‘केही सिनियर विद्यार्थीले परीक्षाको मुखमा आन्दोलन नगर भन्दै हामीलाई केही दिनदेखि दबाब दिइरहेका छन् । परीक्षा त हाम्रो पनि छ, लाखौँ खर्चेर पढ्न आएका हामीलाई पनि आन्दोलन गर्ने रहर होइन । कलेजको अत्याचारविरुद्ध लड्न बाध्य भएका हौँ,’ विद्यार्थी धनबहादुर तामाङले भने, ‘न्यायको यो लडाइँमा सिनियरको साथको अपेक्षा राख्दा थप अन्याय भएको छ । केही व्यक्ति कलेज प्रशासनबाट योजनाबद्ध प्रयोग भएकोमा हामीलाई डर छ,’ उनले भने ।

उता, चितवन मेडिकल कलेजले जिल्ला प्रशासनको रोहवरमा गरेको सहमति कार्यान्वयन नगरेपछि विद्यार्थीले पुनः आन्दोलन गर्ने भएका छन् । बढी शुल्क समायोजन या फिर्ता गर्ने सहमति गरे पनि कलेजले कार्यान्वयन गरेको छैन । विद्यार्थीले शुल्क फिर्ताको दबाबका लागि आइतबार आन्दोलन गर्दै छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले आइतबार बृहत् र्‍याली आयोजनाको तयारी भइरहेको बताए । ‘सो र्‍यालीमा विद्यार्थीको न्यायका लागि टोलटोलका युवाले पनि साथ दिनेछन्’, भट्टले भने । चितवन मेडिकलले प्रतिविद्यार्थी २ लाखसम्म बढी शुल्क उठाएको विद्यार्थीको आरोप छ ।

युनिभर्सल मेडिकल कलेजका विद्यार्थी पनि एक हप्तादेखि रिले अनशनमा छन् । कलेजको एकेडेमिक कोठाहरूमा तालाबन्दीसमेत गरेका छन् । केही दिनदेखि कलेज प्रशासनले विद्यार्थीलाई वार्ताबाट समाधान निकाल्ने भन्दै आस देखाइरहेको छ । तर, दबाब कमजोर बनाउने रणनीति हुन सक्ने भन्दै विद्यार्थीले वार्तासँगै आन्दोलन पनि जारी राखेका छन् । ‘केही दिनदेखि कलेज प्रशासनसँग वार्तामा पनि बसिरहेका छौँ, उसले जायज माग भए सम्बोधन गर्ने भनेको छ,’ एक विद्यार्थीले भने, ‘छलछाम गरे झन् कडा आन्दोलन गर्छौँ ।’

विद्यार्थी र कलेज प्रशासनबीच शुक्रबार छलफलसमेत भएको छ । तर, टुंगोमा नपुगेको ती विद्यार्थीले बताए । ‘प्रशासनले ३–४ दिनभित्रै निकास निकाल्ने बताएको छ । उसले विश्वविद्यालयले लिन भनेका केही शीर्षक हामीलाई देखाएको छ । तर, त्यसमा हामीले सहमति जनाएका छैनौँ,’ उनले भने । विश्वविद्यालयले लिन भनेको भन्दै कलेजले देखाएको शीर्षकबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटालाई भेटेर एकपटक छलफल गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकबाट

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय