यसै दिन बिहान गाईलाई लक्ष्मीको प्रतीक मानेर गाईपूजा गर्ने र राति दीपावलीसहित लक्ष्मीपूजा गर्ने प्रचलन छ । ज्योतिषी डा. सुनील सिटौलाका अनुसार यो दिन नराम्रो कार्य गर्दा वर्षैभरि पिर्छ भन्ने ज्योतिषीय मान्यता छ । लगनखेलको महालक्ष्मी स्थान, भक्तपुरको नौतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मी, काठमाडौँ न्युरोडमा रहेको लक्ष्मी मन्दिर, तनहुँ बन्दीपुरको लक्ष्मी मन्दिरमा यो दिन मेला लाग्छ ।
यसै दिन जनैपूर्णिमामा लगाइएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी तर्ने मनोकाङ्क्षाा गरिन्छ । यसै दिन महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती परेको छ । स्व. देवकोटाको १९६६ सालमा आजकै दिन काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । नेपाल सांस्कृतिक सङ्घ डिल्लीबजारमा यो दिन साहित्यिक सभा आयोजना गरिनेछ । साहित्यिक जमघटमा देवकोटालाई मन पर्ने परिकारको समेत व्यवस्था यहाँ हुँदै आएको छ ।