गिट्टी बोकेर नै शैक्षिक सामग्री जुटाउँदै पाँच बालबालिका पढ्दैछन्

गिट्टी बोकेर नै शैक्षिक सामग्री जुटाउँदै पाँच बालबालिका पढ्दैछन्

रोल्पा, वैशाख १८ । लिबाङ नगरपालिका–६ धबाङका १६ वर्षीय प्रकाश बुढामगर बाल कल्याण उच्च माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत हुनुहुन्छ । हाल उहाँ प्लस टू को छात्रका रुपमा विद्यालयमा भर्ना हुनुभएको छ ।

विद्यालयमा लगनशील, मिहेनती तथा अनुशासित छात्रका रुपमा रहेका बुढामगर अर्थ अभावका कारण विद्यालय बाहिरको समयमा लिबाङमा ज्याला मजदुरी गर्दै शैक्षिक सामग्री तथा अध्ययन खर्च जुटाउँदै आउनुभएको छ । समय र आवश्यकताअनुसार उहाँ हरेक काममा संलग्न देखिनुहुन्छ । उहाँलाई कहिले बालुवा, गिट्टी बोक्ने, कहिले घर तथा पर्खालको गारो लगाउने त कहिले ग्रिल तथा फर्निचरसम्बन्धी काममा संलग्न भएको देख्न पाइन्छ ।

उहाँजस्तै उहाँका जेठा दाजु, दिदी, भाइ र बहिनीले यसरी नै कडा परिश्रम गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै आउनुभएको छ । “हामी दाजुभाइ बिदाका बेला लिबाङमै काम गर्छौ तर दिदी र बहिनी भने लामो समयको बिदामा गाउँ फर्केर गाउँँमै काम गर्नुहुन्छ,” बुढामगरले भन्नुभयो । उहाँका दाजु हाल गाउँकै विद्यालयमा शिक्षण पेसामा संलग्न हुनुहुन्छ जसका कारण परिवारको आर्थिक समस्या केही हदसम्म हल भएको छ । तर पनि दाजुको मासिक तलब मात्र पाँच जनालाई पठनपाठनका लागि र घर खर्च चलाउन पर्याप्त नभएपछि आफूहरु ज्याला मजदुरी गरेर पढ्न बाध्य भएको उहाँको भनाइ छ ।

उहाँका दाजुले पनि कुनै बेला लिबाङमा बालुवा–गिट्टी बोकेर नै शैक्षिक सामग्री जुटाउँदै पढ्नु भएको थियो । तर जागिर खाने बाध्यताले उहाँको प्लस टूपछिको अध्ययनले निरन्तरता पाउन सकिरहेको छैन । भाइबहिनी सक्षम भए भने पुनः आफ्नो पढाइलाई निरन्तरता दिँदै जाने उहाँको धारणा छ । वर्षभरि मरिमेटी काम गर्दा पनि पेटभरि खान नपुग्ने भएपछि एकै घरका पाँच बालबालिका बिदाका दिनमा ज्यालामजदुरी गरेर लिबाङमा अध्ययन गर्दै आएका हुन् ।

बुढामगरका ५५ वर्षीय पिता पहलमान बुढामगरले अर्थाभावको परिपूर्तिका लागि लामो समय वैदेशिक रोजगारीमा बिताइसक्नुभएको छ । छोराछोरी ज्याला मजदुरी गरेर पढ्ने भएपछि हाल उहाँ घरमै खेतीपाती गर्दै आउनुभएको छ । धबाङमा सानो घर छ अनि घरवरपर सानोे पाटो छ तर उब्जनी हुँदैन । भएको उब्जनीले श्रीमती र पाँच छोराछोरीसहित सातजनाको परिवारलाई पेटभरि खान मुस्किल पर्छ जसका कारण उहाँका छोराछोरीको सहजै विद्यालय जाने वातावरण बन्न सकिरहेको छैन ।

अर्थाभावले गला थिचिरहँदा पनि पाँचैजनाको पढ्ने उमेर भने बढिरहेकै देखिन्छ । गाउँमा अन्य परिवारका आफ्नो उमेरका साथीले गरिबीका कारण पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन् । कोही वैदेशिक रोजगारीमा छन् त कोही गाउँमै खेती किसानी गर्छन् । कोही कुलतको बाटोमा हिँडिरहेका छन् तर पनि यो परिवारका पाँचैजना सन्तान निरन्तर अध्ययनमा जुटिरहेका देखिन्छन् । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झँै मनभित्रबाट जागेको उत्साह र चाहनालाई जसरी पनि परिपूर्ति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ बुढामगर परिवार ।

उच्च शिक्षा हासिल गरिसकेपछि यही नै बन्छु भन्ने उनीहरुको कुनै लक्ष्य छैन तर पनि जागिर गरेर आर्थिक अवस्थामा सुधार आउँछ कि भन्ने झिनो आशा भने बाँकी नै छ । कर्मचारी आवश्यकताको सूचना प्रकाशित भएपछि पटक पटक एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर आवेदन दिन जाँदा कहिले उमेर नपुग्ने कहिले ‘सोर्स’ नपुग्ने भएपछि खिन्न बनेका प्रकाशलाई पछिल्ला दिनमा लोकसेवाको परीक्षा मात्र निष्पक्ष हुन्छ भन्ने कुरामा विश्वास बढेको छ । मिहेनत गरे अवश्य पनि एक दिन सफल भइने आशा र विश्वासका साथ उहाँ लोकसेवाको पनि तयारीमा जुटिरहनु भएको छ ।

उहाँका अनुसार गत चैत महिनामा लोकसेवा आयोगमा श्रेणीविहीन कार्यालय सहयोगी पदका लागि उहाँले आवदेन दिनुभएको छ । तर मजदुरी गरेर थाकेको शरीरले पढाइलाई चाहेअनुरुप प्राथमिकतामा राख्न नसकेको उहाँको दुखेसो छ । सानो कक्षामा पढ्दा सरकारले निःशुल्क पाठ्यपुस्तक वितरण गरेको र मासिक शुल्क नलिएको हुँदा केही सहज भए पनि माथिल्ला कक्षामा थप समस्या चुलिँदै जान थालेको छ । गाउँको विद्यालयमा मासिक शुल्क महँगो भएपछि पाँचैजना लिबाङमा डेरा गरेर पढ्न बसेको उहाँँले बताउनुभयो ।

“बुबाआमाले हाम्रा लागि आफ्नो हाडमासु खियाइसक्नुभएको छ अब पनि हामीले दुःख नगरे सन्तान हुनुको अर्थ रहँदैन, त्यसैले हामी आफैँ सङ्घर्ष गर्छाैं, सरकारको मुख ताकेर बस्नु पनि मूर्खता हो,” प्रकाशले भन्नुभयो । तर पनि सरकारले पढ्न चाहने विपन्न बालबालिकाका लागि भर्ना शुल्क र मासिक शुल्क सस्तो गरिदिन सके आफूहरुलाई थप राहत हुने उहाँको धारणा छ । प्रकाशका अनुसार काम गरेर पढेको देख्दा कहिलेकाहीँ साथीहरुले होच्याउने गर्छन् तर पनि उहाँलाई दुःख लाग्दैन । मान्छे धन, सम्पत्ति र ऐशआरामले होइन मिहेनतले ठूलो बन्छ भन्ने उहाँले राम्ररी बुझ्नुभएको छ ।

उहाँले भन्नुभयो, “आम मान्छेमा जस्तै हामीमा पनि नयाँ सोच, नयाँ चिन्तन र आकाङ्क्षाहरु छन् तर मनभित्र सीमित छन् हाम्रा आकाङ्क्षाहरु । हाम्रा चाहनामा गरिबी तगारो बनेर बाटो छेकिरहेको छ ।” प्रकाशकी दिदी पनि हाल प्लस टूमा अध्ययन गर्दै हुनुहुन्छ । प्लस टूपछि उहाँ प्राविधिक विषय पढ्न चाहनुहुन्छ । यी बालबालिकाले कुनै पनि सामाजिक सङ्घसंस्थाबाट सहयोग पाएका छैनन् ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय