तपाईं विद्युतीय कारोबार गर्दै हुनुहुन्छ? ठगिने खतरा रहेको भन्दै राष्ट्र बैंकको चेतावनी

तपाईं विद्युतीय कारोबार गर्दै हुनुहुन्छ? ठगिने खतरा रहेको भन्दै राष्ट्र बैंकको चेतावनी

काठमाडौं । विद्युतीय कारोबारमा ठगी बढेको गुनासो बढिरहेको भन्दै राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन भन्दै ७ बुँदे सुझाव दिएको छ।

सामाजिक सञ्जालमा चिनजानको मान्छेका नामबाट रकम माग गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा ओपीटी कोड मागे नदिन, आफ्नो पासवर्ड तथा ओटीपी सुरक्षित साथ गोप्य राख्न, अनावश्यक एप मोबाइल तथा ल्यापटपमा डाउनलोड नगर्न, चिठ्ठाको प्रलोभनमा नफस्न राष्ट्र बैंकले आग्रह गरेको हो।

बैंकले यी ७ कुरामा सचेत भई विद्युतीय कारोबार गर्न सुझाएको छ। हेर्नुस् के के छन् राष्ट्र बैंकका सुझाव ?

१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजरनेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ।

२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ। यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ।

३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ।

४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन। यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्।

५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआरकोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ। रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआरकोड अथवा पासवर्ड पठाउन आवश्यक छैन।

६. कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट होरहोइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ। कुनै पनि वेबसाइटको ठेगाना एचटीटीपीएसबाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले एचटीटीपीएसबाट सुरु भए नभएको यकीन गर्नुपर्दछ।

७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टल ‘गुनासोडट एनआरबीडट ओआरजी डट एनपी’मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल जेठ ५ गते शनिबार सन् २०२४ मे १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

छिचोलियो 'फास्ट ट्र्याक'को लेनडाँडा सुरुङ

काठमाडौँ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा सुरुङ शुक्रबार छिचोलिएको छ । काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४३० मिटर लामो सुरुङ छिचोलिएको हो । त्यस्तै असारभित्र लेनडाँडा र धेद्रे सुरुङ छिचोल्ने तयारी रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए। उनका अनुसार धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ५०६ मिटर खनी सकिएको छ। अब १ सय २४ मिटर मात्र खन्न बाँकी छ । त्यस्तै,महादेवटार सुरुङको ३ हजार ३५५ मिटर मध्ये २ हजार १५८ मिटर खनीसकिएको छ। सबैभन्दा लामो रहेको यो सुरुङ अब १ हजार १९७ मिटर मात्र खन्न बाँकी छ। २ हजार २५० मिटरको चन्द्राम भिर, १ हजार मिटरको देविचौर र ३ सय ९० मिटर दूरीको सिसौटार सुरुङ डिजाइनको क्रममा रहेको सैनिक प्रवक्ता केसीले बताए । यसको निर्माण व्यवस्थापनको जिम्मा मन्त्रिपरिषद् निर्णयले ०७४ वैशाख २१ मा सेनालाई दिएको हो। जसअनुसार ०८१ मंसिर भित्र निर्माणको काम सक्किनुपर्ने थियो। तर उक्त अवधीमा निर्माण नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ । ७०.९७७ किमिमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ। खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन। जसले गर्दा यो खण्डको ६.५ किमी क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन। यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ। अहिलेसम्म समग्र आयोजनाको भौतिक प्रगति ३३.९९ प्रतिशत छ ।

लिटरमा ७ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर छ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिबद्धता जनाएका छन् ।  बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले ‘स्लो डाउन’मा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको उनको भनाइ थियो । व्यवसायीहरूले सम्पत्तिको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बनाउने नीति नलिने स्पष्ट पारे । अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए ।

लोकप्रिय