थरिथरिका फेसबुक साथी

थरिथरिका फेसबुक साथी

लोकेश धामी

अनुभूति

फेसबुकमा मेरा विभिन्न किसिमका साथी छन् । कोही सकारात्मक सोच भएका छन्, कोही सधै नकरात्मक दृष्टिकोण राख्ने । यी अलावा कोही नेताको भक्तिगान गाउने छन् त कोही केही गर्नुपर्छ भन्ने सोच भएका । यस्ता व्यवहारका साथी पत्तो लगाउन फेसबुक निकै सजिलो माध्यम बनेको छ ।

मेरो फेसबुकमा सधैं नकरात्मक टिप्पणी गर्ने साथी औधी छन् । उनीहरु जहिले पनि निराशा तथा गाली गर्नमा मात्रै व्यस्त भएका देखिन्छन् । अझै भनुँ उनीहरुले यति काम गर्नका लागि मात्रै फेसबुक खोलेका हुन् । एकथरि साथी अरुलाई गिज्याउन तथा काम प्रभावित गर्नमा व्यस्त छन् । उनीहरु फेसबुक स्टाटसदेखि मेसेस गरेर दिक्क बनाइरहेका छन् । मानौं उनीहरुको दैनिकी नै यसैमा वितिरहेको छ ।

फेसबुक खोल्ने वित्तिकै अनेक आशयका स्टाटस देख्न पाइन्छ । अचेल फेसबुकका कारण गोप्य कुरा जान्न धेरै पर्खिनु पर्दैन । फेसबुक प्रयोगकर्ताबाट चाहिने जति गोप्यता हो त्यो भन्दा अधिक सामग्री चुहिएको हुन्छ । तर, स्वयः प्रयोगकर्ता भने यो बारे अनभिज्ञ जस्तै छन् । यतिमात्रै होइन अहिले फेसबुकका कारण प्रयोगकर्ताको सोच र बानी व्यवहार सजिलै थाहा पाउन सकिने भएको छ । यति हुँदाहुँदै पनि अधिकांशलाई फेसबुक किन चलाउने र यसका कारण कस्तो असर-प्रभाव परिरहेको छ भन्ने चेत नै छैन ।

अहिले सामाजिक संजाल फेसबुक सशक्त सन्देश प्रवाह गर्ने माध्यम बनेको छ । तर, कहीँकहीँ यसको दूरुपयोग पनि भइरहेको छ । फेसबुकका कारण कतिका घर भाँडिएका छन् । भने, कत्तिको ज्यान लिने-दिने कार्य भइरहेको छ । फेसबुक कसैलाई निकै दिर्घकालिन रोग भएको छ । यो सबै यसको सही सदूपयोग हुन नसकेर हो । कहिलेकाही फेसबुककै दूरुपयोगका कारण अपहरणमा परेका घटना पनि सुन्न पाइन्छन् । यतिमात्रै होइन फेसबुककै कारण विभिन्न लालच देखाएर मानव बेचविखनका घटना पनि बढिरहेका छन् ।

सामाजिक संजालमा नराम्रो सामग्री पोष्ट गरेमा छिट्टै भाइरल हुन्छ । तर, सकारात्मक कुरा पोष्ट गर्यो भने त्यो निकै कमजोर सावित हुन्छ । सामाजिक संजाल प्रयोगकर्ताको मन नै बढी जसो गलत दिशामा उन्मुख भइरहेको छ । मानौं फेसबुक मार्फत कुनै सहयोगको याचना माग्नुहोस् कमै प्रतिक्रिया आउँछ । तर, कुनै प्रयोग नै नहुने सामग्री पोष्ट गर्नुहोस् त्यो निमेष भरमै भाइरल हुन्छ । आखिर किन त यस्तो ? जफाव स्पष्ट छ– सोच गलत कार्यमा मात्र बढी गइरहेको छ । सकारात्मक र सहि काम अनुमोदन गरौं भन्ने भावनाको खडेरी परिरहेको छ । नकारात्मकताले हिंसा निम्त्याउँछ, गलत कार्यमा अगाडी बढ्न प्रोत्साहन गर्न मद्दत पुर्याउँछ ।

फेसबुकको सकरात्मक पक्ष पनि छन् । तर, ती नकारात्मक भन्दा गौण छन् । फेसबुकको सही सदूपयोग गर्ने हो भने यसबाट अनेकौं फाइदा लिन सकिन्छ । कुनै जानकारी पाउन धेरै कुर्नुपर्ने सूचना क्षणभरमै पाउँन सकिन्छ । जस्तो कि, थोरै लागतमा सजिलै कुराकानी आदानप्रदान गर्न पाइन्छ । तर फाइदा भन्दा बेफाइदा बढिरहेका छन् । जस्तो कि, फेसबुकको दूरुपयोगका कारणले विभिन्न हिंसा बढ्दै गएका छन् । जे पनि पोष्ट गर्न पाइने भए पछि फेसबुक पिडितको संख्या झनै बढ्दो छ । जथाभावी सामग्री पोष्ट गर्दा कयौं व्यक्तिको चरित्र हत्या भएको छ । तर, यसको नियन्त्रणका लागि दरिलो कानून बन्न सकेको छैन ।

अहिले सबैको पहिलो आवश्यकता फेसबुक नै बन्न पुगेको छ । दुई–तीन कक्षा पढ्ने साना नानीले पनि फेसबुक अकाउन्ट खोलेको देखिन्छ । उनीहरु पनि फेसबुकमै रमेका देखिन्छन। सिर्जनात्मक काममा बढी समय दिनुपर्ने बेला अधिकांश व्यक्ति फेसबुकमै रमेका दृष्य देखिन्छन् । यात्रा, चियानास्ता गर्दा, साथीसंग गफिदा, शिक्षकले पढाइ रहँदा, अब हुँदाहुँदा शौच तथा दिसा गर्न शौचालय बस्दा पनि फेसबुक नै चलाएका दृश्य प्रशस्तै देख्न सकिन्छ ।

धेरैलाई फेसबुकले गहिरो लत बसालेको छ । अहिले धेरै जसो व्यक्तिलाई एक घण्टा पनि फेसबुक लगआउट गरेर बस्न साह्रै गाह्रो हुन्छ । एक घण्टाको समयमा आफूले पोष्ट गरेको सामग्रीमा कति लाइक तथा कमेन्ट आयो भनेर मनमा निकै खुल्दुली मच्चीन्छ । आजभोली फेसबुक साथी, परिवार, इष्टमित्र तथा प्रियजनभन्दा प्यारो भएको छ । फेसबुक चलाउन पाए भइग्यो, अरु केही नचाहिने !

अस्पताल, होटल, क्याम्पस वाइफाइ विना संचालन गर्न गाह्रो भएको छ । अरु कुरा लेखाजोखा भन्दा पनि पहिले वाइफाइ जडान छकि छैन भन्दै सोधपुछ हुन्छ । एक हाफ नास्ता खान अहिले कम्तीमा आधी घन्टा लाग्ने गरेको छ । किनभने फेसबुक चलाउँदै नास्ता खानु पर्यो नि !

कुनै ठाउँ जानुपर्यो भने त्यो भन्दा पहिले यता जादैछु भनेर ठेगाना सार्वजनिक गरिन्छ । जसले गर्दा विभिन्न रिस साध्ने व्यक्तिको फेला सजिलै परिन्छ । यसले गर्दा, विभिन्न घटना हुने सम्भावना बढी हुन्छ । प्रायः हामी फेसबुकमा सत्य बोल्छौं । म यता छु, यस्तो गर्दैछु, यो खाने छु लगायतका कुरा पहिले नै सबैलाई जानकारी गराउँछौं । यसले गर्दा, विभिन्न खतरा मोल्नु परेको अवस्था पनि धेरै व्यक्तिलाई आएको हुनु पर्छ । हुने कार्यबारे अगाडी नै खुलासा गरेपछि विभिन्न अवरोध सिर्जना हुने गर्दछन् । त्यस कारण यस्ता कुरामा सबै फेबसुक प्रयोगकर्ता सर्तक हुन जरुरी देखिन्छ ।

फेसबुकमा बनेका आधा साथीसंग भेट भएको छैन । उनीहरुमध्ये अधिकांशसंग हेलो हाइसम्म पनि भएको छैन । तर, उनीहरु साथी नै भनेर फ्रेण्ड लिष्ट मै छन् । यीमध्ये कोही अन्धाधुन्ध बनेका साथी पनि हुन् । परिचित सबै साथीसंग पनि त्यति धेरै कुराकानी हुँदैन । कुराकानी हुने सीमित साथी छन् । उनीहरुसँग पनि त्यति गहिरो कुराकानी हुन्न । त्यही हाइ हेलो मात्रै हुन्छ । मसँग जोडिएका साथीहरुले पोष्ट गरेका सामग्री नजिकबाट हेरि रहेको हुन्छ । मूल्यांकन गर्दा लाग्छ कसैले पोष्ट गरेका सामग्री महत्वपूर्ण छन् भने कसैका बिना काममा। त्यसैले फेसबुकको सहि सदूपयोग गर्न सकेमा धेरै फाइदा छ । तर, चलाउन नजान्नेको भने सार्वजनिक बेइज्जत भएको देखिन्छ ।

‘भ्यालेन्टाइन डे’ आकाशको जुनदेखि लासाको सुनसम्म

प्रणय दिवस ‘भ्यालेन्टाइन डे’ बुधबारदेखि सुरु भएको एक सातासम्म जारी रहने यो दिवसको अवसरमा लाखौ को मात्रामा गुलाबको फूल प्रयोग हुने भएको हो । मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू वा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, सम्बन्ध मा आएका सानातिना कमि कमजोरीहरु लाइ सुधारदै मायाका गित गाउदै उकालि ओरालो भन्ज्याङ अनि चौतारी जहा भएपनि जस्तो भएपनि मायाले बनाएका ति बाटोहरुलाई साथमा लिएर हिड्यो त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो। रातो गुलाफ : शान्ति, प्रेम र क्षमताको प्रतिक भनिन्छ नि रातो राम्रो, गुलियो मिठो त्यसैले रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङ्गको गुलाफ आदान प्रदान हुने र यसलाई प्रेम–प्रस्तावका रूपमा प्रदान गरिन्छ । यदि आफुले दिएको फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको भन्ने बुझिन्छ। पहेँलो गुलाफः मित्रताको प्रतिक मित्रतानै मानिस को बलवान शक्ति हो त्यसैले पहेँलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । साथि सबैको हुन्छ तर असल साथि बिरलै पाइन्छ त्यसैले मित्रता मा कुनै असर नआओस् भनि पहेंलो गुलाफ दिने गरिन्छ । गुलाफी गुलाफः मुटुको धड्कनको प्रतिक मायामा आकाशको जुन देखि लासाको सुन ल्याइदिन्छु भन्ने सम्म कुरा हुन्छ । तिमी मेरो सबै हौ ,अनि तिमी मेरो सधै हौ जस्ता कुराले प्रेमी(प्रेमिका सगँ मेरो मुटु तिम्रो लागि हो जस्ता कुराले मायाजालमा पार्न गुलाफी फुल दिने गरिन्छ । सेता गुलाफः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हरेक प्रेमी(प्रेमिका चाहन्छन् आफुले गरेको प्रेम साचो अनि स्वच्छ होस ता कि बिचमा कुनै दरार नआओस् । साचो मायामा दिने फुलहरु स्वच्छ हृदयले दिइन्छ । मायामा परेपछि कहिले खुसी त कहिले दुस्खी , कहिले हर्ष त कहिले भाबुक त्यसैले भावुकताले भरिएको सन्देश दिनु परेमा पनि सेतो गुलाफ दिने गरिन्छ । कालो गुलाफः बिदाईको प्रतिक माया गर्नु नै कसैलाइ साथ र सपोर्ट गर्नु हो । हरेक प्रेमी/प्रेमिका आफ्नो जोडि लाइ साँचो माया मा भएको हेरी सम्बन्ध लाइ बिबाहमा सम्म परिनत गर्न चाहान्छन् । कुनै कारणवश प्रेम सम्बन्ध अगाडि बढाउन सम्भव छैन भने कालो गुलाफ दिएर आफ्नो सम्बन्धलाई तोडिन्छ । तर यो वर्षको भ्यालेन्टाइन डे मा कसैले यस्तो गुलाफ साट्न नपरोस् । प्रेम मानिसले खुसी खोज्न गर्दछ तर धेरैलाई यसैले दुःखी पनि बनाइरहेको हुन्छ । प्रेम समझदारी, सहयोग, सहनशिलता, इमानदारिता, समर्पन, विश्वास र पवित्रताको प्रतीक हो । प्रेममा यी कुराहरु भएनन् भने प्रेम देखावटी मात्र नभइ अर्थहिन हुन्छ । प्रेमी - प्रेमिकाहरूका लागि स्वच्छ हृदयभन्दा राम्रो प्रतिक अरू के नै हुन सक्छ र तर पनि प्रेम व्यक्त गर्न अन्य प्रतिकहरू पनि प्रचलित छन तर त्यसको तुलनामा गुलाफ को फुल नै दिएर प्रेम साट्ने प्रवृत्ति भने निकै नै बढि छ । - प्रदीप खड्का

तिम्रो मायाले होला म...

तिम्रो मायाले होला म बाचेको छु म खुसी छु, हो हृदयबाट खुसी छु कुनै पनि समयमा भेट्छु जस्तो लाग्छ झरनाहरू नदीमा मिले झैँ माया मनमा गएर मिल्छ राम्रोसँग बिदा गर, मनमा माया बोकेर जाँदै छु म जति टाढा भए पनि फेरि आउने छु तिमीलाई समयको अन्त्यसम्म माया गर्नेछु म तिमीलाई कदर गर्नेछु, मेरो प्रिय माया गरिरहने छु हृदयमा सधैँ मायाको घण्टी बज्छ किनकि जीवन जीवन हो र प्रेमले मन छुन्छ तिम्रो मिठो मायाको यादले मनमा खुसी ल्याउँछ तिमि यहाँ बस्छौ मेरो नजरमा डेरा छ के तिमी अगाडि बढ्छौ तिम्रो प्रशंसाले अझै ठाउँ पाउनेछ तिम्रा मिठा विचारहरूमा मेरो सम्झनामा छ यति मात्र बोले म तिमीलाई धेरै माया गर्छु म खुसी छु, हो हृदयबाट खुसी छु - गोबिन्द राज ओझा 'राजन' दिपायल सिलगढी न.पा. २, दिपायल, डोटी

हरितालिका तीज सुरू, आज दर खाने दिन

काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

एकै परिवारका तीन पुस्ताको चित्रकला प्रदर्शनी

काठमाडौं : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ । तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ । प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ । नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भनिन्, ‘सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्‍याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।’

लोकप्रिय