पढाई पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी जुम्लाका विद्यार्थी

पढाई पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी जुम्लाका विद्यार्थी

जुम्ला– पढाई पूरा नहुँदै जुम्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने गरेका छन् । जुम्लामा रहेका अधिकांश विद्यालयमा पढाइ नसकिँदै विद्यार्थीले वार्षिक परीक्षा दिनुपर्ने बाध्यता रहेको छ ।

समयमै पाठ्यपुस्तक नपुग्नु र पुगे पनि नियमित शिक्षक विद्यालयमा अनुपस्थित हुने गरेका कारण विद्यार्थीले पढाइ पूरा नहुँदै परीक्षा दिनुपर्ने बाध्यता रहेको हो । मुख्य विषयका पढाइ आधा पढ्दै विद्यार्थी परीक्षामा सहभागी हुनुपर्ने अवस्था रहेको छ ।

हिमाली जिल्ला जुम्लामा यही मङ्सिर महिनाको पहिलो सातादेखि सामुदायिक विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्दै आएका छन् । कानका सुन्दरी मावि लुडकुमा अध्ययनरत विद्यार्थीले आधा ‘कोर्ष’ पढेर परीक्षामा सहभागी हुनुपरेको गुनासो गरेका छन् ।

उक्त विद्यालयमा आजबाट वार्षिक परीक्षा सञ्चालन गरिएको छ । विज्ञान र लेखा विषयबाहेक अन्य विषयको कोर्ष पूरा नहुँदै वार्षिक परीक्षामा सहभागी हुनुपरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी पुजनकुमार उपाध्यायले बताए ।

पूरा कोर्ष पढ्न नपाई परीक्षामा सहभागी हुनुपर्दा आधा प्रश्न छोड्नुपरेको उहाँले गुनासो गर्नुभयो । विद्यालयमा शिक्षक नियमित उपस्थित नभएका कारण आधा कोर्ष मात्र पढाइ भएको उनको भनाइ छ ।

अघिलो वर्ष लेखा र विज्ञान विषयको मात्रै कोर्ष पूरा भएको थियो । उनले भने, “यो वर्ष पनि सोही विषयबाहेक अरु विषयका आधा कोर्ष पढेर परीक्षामा सहभागी हुँदैछौँ ।”

अर्का विद्यार्थी प्रेमप्रसाद उपाध्यायले परीक्षामा अलमलिने गरेको बताउनुभयो । केही प्रश्नहरु नपढेको पाठबाट आउने गरेको उनले गुनासो गरे । कोर्ष पूरा नहुँदै दिएको परीक्षाको परीक्षाफल राम्रो नहुने चिन्ताले पिरोल्ने गरेको उहाँको भनाइ छ ।

यता कानकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायले शिक्षकको अनुपस्थितिले पूरा कोर्ष पढाइ नभएको बताए । विभिन्न कामले शिक्षकहरू बिदामा बसेका कारण विद्यार्थी आधा पढ्दै परीक्षामा सहभागी हुनुपर्ने अवस्था आएको उनको भनाइ छ । कुनै पनि वर्ष जुम्लामा पूरा कोर्ष पढाइ भएको ‘रेकर्ड’ छैन ।

कुनैकुनै विषयका कोर्ष पूरा भए पनि, मुख्य विषय गणित, अङ्ग्रेजी, विज्ञानलगायतका गाह्रो विषयका कोर्ष पूरा हुने गरेका छैनन् ।

अभिभावकले पनि आफ्नो छोराछोरीको पढाइ कस्तो भइरहेको छ भनेर विद्यालयमा आएर चासो नदिएका कारण समयमै कोर्ष पूरा नभएको शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्करबहादुर भण्डारीले बताए ।

कोर्ष पूरा नभई जुम्लामा वार्षिक परीक्षा हुने गरेको कुरा स्वीकार गर्दै भण्डारीले दरबन्दीअनुसारका शिक्षक नभएका कारण पनि समस्या भएको बताए । स्थानीय सरकार र विद्यालय व्यस्थापन समितिले बेलाबेला अनुगमन गरी कोर्ष पूरा गराउन शिक्षकलाई सुझाव दिनुपर्ने भण्डारीको भनाइ छ । रासस

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय