पेट सफा गर्ने जल चिकित्सा विधि

पेट सफा गर्ने जल चिकित्सा विधि

काठमाडौंः ग्यास्ट्रिक तथा कब्जियत नेपालीको पेवै जस्तो समस्या हो । तपाईं हामी मध्ये धेरैलाई ग्यास्ट्रिक तथा कब्जियतले सताएर आजित बनाएको हुनसक्छ । हामीले सन्तुलित तथा व्यवस्थित जीवनशैली अपनाउन नजान्दा तथा नसक्दा यस्तो समस्या भोगिरहनु परेको हुन्छ ।

तर यस्तो समस्याबाट बच्न नसकिने भने हैन । ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्ने विविध उपाय छन् । जसमध्ये दुई विधि हुन्, ‘कुन्जल विधि’ र ‘एनिमा विधि’ ।

ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्न घरायासीरुपमै पानीको सहायताले पेट सफा गर्न सकिने यी दुई विधि सहजरुपमा अपनाउन सकिन्छ । प्राकृतिक चिकित्सकीय भाषामा पानीको सहायताले पेट सफा गर्ने विधिलाई ‘जल चिकित्सा’ तथा ‘हाइड्रोथेरापी’जस्ता नामले चिनिन्छ ।
अब चर्चा गारौँ कुञ्जल विधिबारे ।

कुन्जल विधि
पानीले पेट सफा गर्ने एक उपाय हो, ‘कुञ्जल विधि’ । यो विधि अपनाएर पेट सफा गर्न सकिन्छ । यस विधिलाई ‘भमिटिङ विधि’ पनि भनिन्छ ।

पेट सफा गर्ने ‘कुञ्जल विधि’ अपनाउँदा एक लिटर उम्लिएर सेलाउँदै गरेको मनतातो पानीमा एक चम्चा नुन राखेर राम्रोसँग घोल्नु पर्छ । पानी घोलिसकेपछि टुक्रुक्क बस्नु पर्छ । टुक्रुक्क बसिसकेपछि यसरी घोलिएको नुन–पानी पिउन थालेको पाँच मिनेटभित्रमा पिइसक्नुपर्छ । टुक्रुक्क बस्दा पेट थिचिने भएकाले सहजरुपमा तुरुन्तै शरीरमा पानी सोसिँन पाउँदैन । पिएको नुन–पानी अन्न नलि र आमासयसम्म मात्रै पुगोस् भन्ने उद्देश्यले पाँच मिनेटभित्र पानी पिउनु पर्छ ।

पानीमा नुन हाल्नुको कारण शरीरले पानी तुरुन्तै नसोसोस् भनेर हो । मनतातो पानीको आयतन बढ्ने भएकाले सहजरुपमा नुन घोलिन्छ । नुन घोलिएको मनतातो पानी शरीरले ढिलो सोस्छ । जसले भमिटिङ गराउन सहज भूमिका खेल्छ ।

अब पानी पिइसकेपछि हल्का उठेर घुँडामा एउटा हात राखेर हल्का निहुरिएर अर्को हातको चोर र माझि औँला मुख भित्र हाल्नु पर्छ । मुखभित्रको किल्किलेसम्म औँला पुर्याई चलाउनु पर्छ । यसरी औँलाले किलकिले चलाउँदा हामीले खाएको खाद्यपदार्थ र पानीसँग अमिलो, तितो तथा विकार तत्व बाहिर भमिटिङको रुपमा निस्कन्छ । यसरी औँला मुखमा हालेर किलकिले चलाउँदा भमिटिङ गर्न उत्प्रेरित गर्छ ।

दुईदेखि तीनपटक भमिटिङ गर्दा पिएको एक लिटर पानी भमिटिङको रुपमा शरीर बाहिर निस्कन्छ । १०÷१५ मिनेटमै यो प्रक्रिया गर्न सकिन्छ । पानीसँग अमिलो, तितो, पिरोलगायत पेटका अनावश्यक विकारतत्व शरीर बाहिर निस्किने भएकोले मुखै नमिठो हुन्छ । त्यसैले भमिटिङपश्चात राम्रोसँग मुख कुल्ला गरेर मात्रै खाद्यपदार्थ खान सकिन्छ ।

कुनै खाना बढी मात्रामा खाएको अवस्थामा तथा अपच भएको अवस्थामा समेत यसरी मुखमा औँला हालेर भमिटिङ गर्नाले पेटलाई आराम मिल्न सहयोग पुग्छ । खाना अपच भई पेटमा अम्लियपन बढेर ग्यास्ट्रिकको समस्या हुन पुग्छ । भमिट गरी पेटको अम्लियपन फालेपछि पेट हल्का तथा सफा हुन्छ । पेट सफा र स्वस्थ भएपछि खाना त रुच्छ नै व्यक्तिको शरीर नै मजबुत भई व्यक्तिको पाचन प्रणाली नै मजबुत हुन्छ ।

विशेषगरी बिहानको समयमा यसरी नुन–पानी पिई भमिटिङ गर्नु उचित हुन्छ । सामान्यतः १२ देखि ६२ वर्ष उमेर समूहका व्यक्तिले महिनामा दुई पटक यसरी नुन–पानी पिएर भमिटिङ गर्नु उपयुक्त हुन्छ ।
अब लागौँ ‘एनिमा विधि’तर्फ ।

एनिमा विधि
पेट सफा गर्ने अर्को विधिलाई प्राकृतिक चिकित्सकीय भाषामा ‘एनिमा’ भनिन्छ । यो विधि अपनाएर पेट सफा गर्दा विभिन्न किसिमका भाँडाको प्रयोग गर्न सकिने भए पनि विशेषगरी आम्खोराजस्तो एक लिटर पानी अट्ने भाँडो प्रयोग गर्नु उपयुक्त हुन्छ । अम्खोराजस्तो भाँडोमा मनतातो पानी भरि एक चम्चा नुन हालेर घोल्नु पर्छ । भाँडोको तल्लो भागमा प्वाल हुन्छ । सो प्वालमा एक मिटर लामो प्लाष्टिकको पाइप जडान गरिएको हुन्छ । भाँडो भन्दा अर्कोपट्टि पाइपको टुप्पाको भागमा एक फिट लामो रबरको ‘क्याथेटर’ जडान गरिएको हुन्छ । क्याथेटरको टुप्पाको गरिपरि पानी निस्कने मसिना प्वाल हुन्छन् । प्वालबाट पानी बाहिर निस्कन्छ । जुन पाइप आकारको रबरको ‘क्याथेटर’ बिस्तारै करिब तीन इन्च गुद्द्वारमा घुसारिन्छ ।

आफूभन्दा अग्लो ठाउँमा भाँडो राखी उत्तानो परेर सुतेर रबरको पाइप गुद्द्वारमा छिराइन्छ । सुरुमा तालिम प्राप्त सहयोगीको सहयोग लिएर पाइप छिराएर पेट सफा गर्ने विधि अपनाउनु उचित हुन्छ ।

यसरी रबरको पाइप गुद्द्वारमा घुसारेपछि ‘एनिमा पट’मा रहेको नुन घोलिएको पानी पेटको ठूलो आन्द्रामा आफैँ सरर जान्छ । भाँडाको पानी आन्द्रामा गएर सकिएपछि रबरको क्याथेटरबाट पानी नफर्कनेगरी पाइप दोब्राएर गुद्द्वारबाट बाहिर निकालिन्छ । त्यसपछि करिब पाँच मिनेट उठेर टहलिनु पर्छ । यसरी टहलिएपछि स्वत्त दिसा आउँछ । दिसा अत्यन्तै दु्रत गतिले बाहिर निस्कने भएकाले यो विधि ट्वाइलेटमै बसेर गर्नुपर्छ ।

यसरी दिसा तथा पेटको ठूलो आन्द्रामा भएको विकार तत्व दिसाका रुपमा बाहिर निस्कँदा बल गरेर कन्नु भने हुन्न । कनेर दिसा गर्दा गुद्द्वारको मांशपेशीमा दबाब पर्न गइ घाउ हुने जोखिम हुन्छ । पायल्स, फिसर तथा फिस्टुला भएको अवस्थामा कनेर दिसा गर्दा रगत आउन सक्छ । दिसा सहजरुपमा बाहिर निस्कन दिनु पर्छ । सामान्यतः करिब तीन पटक दिसा गर्दा पेटमा भएको विकार तत्व दिसाका माध्यमबाट बाहिर निस्कन्छ ।

मलद्वारमा घाउ देखिएको अवस्थामा भने यसरी मलद्धारमा पाइप घुसार्दा घाउ हुन सक्ने भएकाले नघुसार्नु नै राम्रो । पायल्स, फिस्टुला तथा फिसर भएको अवस्थामा समेत गुद्द्वारमा पाइप घुसार्ने ‘एनिमा विधि’ अपनाएर यस्तो समस्याबाट बच्न सकिन्छ । उपचारात्मक विधिसमेत अपनाउन सकिन्छ ।

खाली पेटमा सफा
खाली पेट भएको अवस्थामा पेट सफा गर्ने विधि अपनाउनु उपयुक्त हुने भएकाले विहानै यस्तो विधि अपनाउनु उचित हुन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाउनु दुई घण्टा पूर्व खाद्यपदार्थ खानु हुन्न, भने पेट सफा गरेको दुई घण्टापछि खानु उपयुक्त हुन्छ ।

पेट सफा गर्ने यी दुवै विधि एकै दिनसमेत गर्न सकिन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाइसकेपछि एक गिलास उमालेर सेलाएको मन तातो पानीमा आधा दानो कागती र एक चम्चा मह मिसाएर पिउनु उपयुक्त हुन्छ । पेट सफा गर्ने वित्तिकै एक्कासि कडा किसिमको खाद्यपदार्थ खाँदा पाचन पक्रियाले काम नगरी पुनः अनावश्यकरुपमा भमिटिङ तथा झाडापखाला हुने जोखिम हुन्छ । त्यसैले पेट सफा गरिसकेपछि हल्का किसिमका तरल पदार्थ पिउनु उपयुुक्त हुन्छ । गुद्द्वारमा पाइप हालेर पेट सफा गर्ने एनिमा विधि महिनामा दुईपटक गर्न सकिन्छ । यी अति नै सहजरुपमा पेट सफा गर्न सकिने घरेलु विधि हुन् । सुरुमा भने थेरापिस्ट तथा चिकित्सकको सहयोगमा यस्तो विधि अपनाउनु उचित हुन्छ ।

भमिटिङ गर्ने विधिले विशेषगरी ग्यास्ट्रिकको समस्या हुन दिँदैन भने मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने विधिले कब्जियत, पायल्स, फिसर तथा फिस्टुला हुनबाट बच्न सकिन्छ ।

सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

औषधि व्यवसायीप्रति सरकारको दायित्व

औषधि जीवन रक्षासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक र संवेदनशील वस्तु हो । अहिले देशको आर्थिक मन्दीको कारण यो व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । औषधिको धेरै ठाउँबाट धेरै उत्पादन तथा आपूर्तिका कारण यो व्यवसाय गर्न कठिन हुँदै गएको छ । नीजि क्षेत्रका औषधि व्यवसायीहरुको औषधिको कारोबार परिमाण पनि घटेको छ । सटरको भाडा तिर्न र बैंक किस्ता बुझाउन नसकेको गुनासो आइरहेको छ । स्वदेशमै बसेर केहि काम गर्ने सोच बनाएका युवा व्यवसायीलाई निरुत्साहित पार्ने गरी नियमनको नाममा आतंकित बनाउने, मनोबल कमजोर बनाउने काम सरकारबाट नै भइरहेको छ ।  नियमनको नाममा कहिले औषधि व्यवस्था बिभाग अनुगमन गर्न आउँने र अनावश्यक दुःख दिने, कहिले स्थानीय सरकारले पनि नानाथरी दुख दिने काम भैरहेको छ । अनुगमन नगर्न भनिएको होइन, तर त्यसको मापदण्ड र तरिका मिलेको देखिदैन । जस्तै, हर्लिक्स, सेरेलेक जस्ता आमाको दूधको कमिको समयमा दिइने आहारपुरक दूध तथा ल्याक्टोजिनहरु फार्मेसीबाट  बेच्न बन्देज गरिएको छ । तर तिनै बस्तुहरु किराना पसलबाट बिना मापदण्ड निर्वाध विक्री भैरहेको छ । औषधिसँग सम्बन्धित वस्तुहरु जो सुकैले निर्वाध बेच्न थालेपछि औषधि व्यवसायीको अर्थ भेट्न गाह्रो हुन्छ । जो सँग सम्बन्धित विषयमा ज्ञानको कमि छ र ति सामाग्री भण्डारण गर्ने उपयुक्त ठाउँ नभएको अवस्थामा त्यही कुरा चाहिँ ठिक भन्ने प्रवृत्ति कहिले सम्म चल्छ ?  हामी धेरै नेपालीले गर्न जानेको बिदेशी सामान आयत गर्ने र महँगोमा बेच्ने नै हो । औषधिको सन्दर्भमा पनि त्यही हो । तर औषधिमा बिदेशी चलन चल्ती नै भित्र्याउने हो भने  Food and Drug Administration (FDA) लाई लागू गर्नुपर्ने देखिन्छ ।  खाद्य वस्तु, आहारपुरक, सौन्दर्य प्रसाधक सामाग्री  देखि औषधि समेत को नयाँ  अनुसन्धान, अनुगमन, गुणस्तर एवं अन्य आवश्यकताको निगरानी गर्ने निकाय लाई अवलम्बन गर्न सकिएको खण्डमा मात्रै यसमा सुधार हुन सक्छ । साथै एकद्वार प्रणाली अन्तर्गत हालको औषधि व्यवस्था बिभागलाई जिम्मेवारी दिन सकेमा सुनमा सुगन्ध हुने देखिन्छ । साँढेको जुधाई, बाच्छाको मिचाई औषधि व्यवस्था बिभागले दर्ता नभएका न्यूट्रास्युटिकल र कस्मेटिक बेच्न पाईदैन भन्दै अनुगमनका क्रममा ब्यवसायी लाई दुख दिने गरेको छ । तर बिडम्बन के छ भने खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभागमा दर्ता भएको हुन्छ । सरकारकै यो निकायलाई आधिकारिक कसरी नमान्ने ?  विरामीका लागि औषधिको पुर्जा लेख्ने डाक्टरहरुले आवश्यकता देखेरै पुर्जा दिइरहेका हुन्छन् । त्यही औषधि फार्मेसी ब्यवसायीले बेच्ने मिल्ने कि नाई ? सम्बन्धित निकाय नै अनविज्ञ देखिन्छ । अन्तर्राष्ट्रिय मुल्य मान्यता हेर्न हो भने पनि बिदेशका फार्मेसी FDA अन्तर्गतको मापदण्डमा रहि सौर्न्दर्य र आहारपुरक बस्तु सजिलै बेचबिखन गरेको पाईन्छ । व्यवसायी गर्न रहर होईन बाध्यता हो डिप्लोमा अथवा  स्नातक  पढाई सकेपछि घुम्ने कुर्सीमा बस्ने रहर धेरैलाई हुन्छ । तर सबैलाई सोचेजस्तो हुँदैन । त्यही बिडम्बनामा हामी च्यापिएका हौं । मेरो उदाहरण दिने हो भने, मेरा कोहि आफन्त वा नातेदार, हुने खाने अथवा नजिकका हुन्थे भने भनसुन गरेरै भएपनि करारमा नै किन नहोस्, कुनै पनि जागिर  खाइन्थ्यो होला । अथवा कदम कदाचित त्यो नभए पनि धेरै–थोरै सम्पत्ति भए बिदेशी भूमिमा पाइला टेकिसकिन्थ्यो होला । केहि सीप नलागेपछि सहकारीसँग ऋण लिएर भए पनि सानो तिनो व्यवसाय संचालन गरेर घर खर्च चलाइरहेको छु । म जस्ता अरु धेरै छन् । के यसो गर्नु व्यवसायीले पाप गरेको हो र ? यसको जवाफ कसले, कहिले दिने ?  औषधि व्यवसायकै कुरा गर्दा औषधि एेन २०३५ पुरानो भएको र समय सापेक्ष नभएको भन्दै नयाँ औषधि विधेयक संसदमा छलफलको विषय बनेको छ । त्यसमा अनौठो विषय सौन्दर्य प्रसोधन सामाग्रीलाई पनि समेटेर अहिलेको औषधि व्यवस्था बिभागअन्तर्गत दर्ता गरि नियन्त्रण तथा अनुगमन गर्न पाउनु पर्ने भन्दै मुख्य एजेन्डा बनाइएको देखिन्छ । यही समयमा औषधीको सम्पुर्ण कारोबार बिमाको बाहनामा सरकारी अस्पतालले गरेको पाइन्छ । यस अवस्थामा स–साना व्यवसायीले बिदेशी मान्यता अवलम्बन गर्न, व्यवसाय लाई नयाँ  ढंग वा फराकिलो बनाउन सके मात्रै सुनमा सुगन्ध हुने छ । होइन भने व्यवसाय र व्यवसायी दुबै पलायन हुने देखिन्छ ।  (न्यौपाने नेपालगंजका औषधि व्यवसायी हुन्)

विश्व मिर्गौला दिवस : दुई पटक मिर्गौला प्रत्यारोपण गरेका केपी ओलीको यस्तो छ सुझाव

काठमाडौं। आज विश्व मिर्गौला दिवस  । ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुभवसहितका सामाजिक सञ्जाल फेस्बुक मार्फत केही सुझाव दिएका छन् । दुई पटक मिर्गौला प्रत्यारोपण गरेका उनले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्नेमा जोड दिएका छन् ।  उनले भनेका छन्–  'मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ। किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । जब  मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ।  प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ। मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !'

लोकप्रिय