प्रधानमन्त्रीको निर्देशनपछि मध्यपहाडी लोकमार्ग कालोपत्रको काम तीव्रगतिमा

प्रधानमन्त्रीको निर्देशनपछि मध्यपहाडी लोकमार्ग कालोपत्रको काम तीव्रगतिमा

खोटाङ,  मङ्सिर २८। मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो ।

दुई वर्षअघि देखि कालोपत्रको काम थालिएको सडक अनुगमनका लागि कात्तिक २३ गते खोटाङ आएका प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई छिटो तथा गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको ठाडो निर्देशनपछि अहिले दुवै सडकको कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढेको छ ।

अहिले दुवै सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, ग्राभेलिङ तथा रोलिङ गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको ठेकेदारहरुले बताएका छन् । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएका दुवै सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरबाहीले गति लिन नसकेको सबैतिरबाट जनगुनासो आएपछि प्रधानमन्त्री प्रचण्ड आफैँ निरीक्षण तथा अनुगमनका लागि खोटाङ आएका हुन् ।

जिल्लाको प्रमुख मार्गका रुपमा रहेको दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको हो ।

एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी काम थालिएको सडक यसअघि सुस्तगतिमा रहेको थियो । पछिल्लो समय दुवै सडकको कालोपत्र गर्ने कामले गति पाएपछि अहिले जिल्लामा यातायात सञ्चालन गर्नसमेत सहज भएको यातायात व्यवसायी सङघ, खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए  ।

दिक्तेलदेखि चखेवासम्मको करिब ४६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा गोल्डेन गुड प्रालिले लिएको छ । छिमेकी जिल्ला भोजपुरसँग सिधा यातायात जोड्ने सडक करिब रु एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिए ।

करिब दश वर्षअघि देखि यातायात सञ्चालन भएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । पछिल्लो समय दुवै सडकमा कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि जिल्लावासी हर्षित भएका छन् ।

धुलाम्मे तथा हिलाम्मे सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि आसपासका कामदारले गाउँमै रोजगारीसमेत पाएका छन् । ठेकेदार कम्पनीले मेसिनरी उपकरणसँगै गाउँका स्थानीयवासीलाई काम गर्ने वातावरण मिलाएका छन् । दुवै सडक तोकिएकै मितिमा सम्पन्न नभए पनि चाँडै सम्पन्न हुनेमा जिल्लावासी विश्वस्त बनेका छन् । सडक कालोपत्र भएपछि राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । रासस

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।

लोकप्रिय