लोकसेवा परीक्षामा उत्तीर्ण हुनका लागि पढ्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ

लोकसेवा परीक्षामा उत्तीर्ण हुनका लागि पढ्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ

लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षा तयारीका लागि विभिन्न विषयहरुमा पुस्तक लेख्नेमा पर्छन्, तुल खड्का । लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुको सहजताका लागि उनले अहिलेसम्म लोकसेवा सम्बन्धी १० पुस्तक प्रकाशित गरिसकेका छन् । केही दिनयता मात्रै नायब सुब्बा र अधिकृतका थप दुईवटा पुस्तक बजारमा आएका छन् । उनले समसामयिक पुस्तक मात्र होइन, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, नायब सुब्बा, खरिदार तहका पुस्तक पनि लेखेका छन् । पुस्तक लेखनमा नयाँ ट्रेन चेन्जर लेखकका रूपमा उदाएका खड्कासँग पुस्तक लेखन, लोकसेवाका विविध पक्षलगायत विषयमा गरेको छोटो कुराकानी–

पुस्तक लेखन कहिलेबाट सुरू गर्नुभयो ?

पुस्तक प्रकाशनको योजना २०७१ चैतमा बनेको थियो । त्यसअघि म नायब सुब्बा, खरिदार, इन्सपेक्टर, र असईको आइक्यु तथा समसामयिक पढाउन धेरै ठाउँमा जान्थे । फेसबुकमा पनि ‘लोकसेवा सारथि’ नामक पेज बनाएको थिएँ । त्यो पेजमा धेरैजसो समसामयिक घटना विवरणहरु पोष्ट गर्थे । पोष्ट गर्दै जाँदा म्याटर कलेकन हुँदै गयो र त्यहाँ कलेक्सन गरेका म्याटर बजारमा आएका पुस्तकभन्दा स्तरीय र बढी भयो । त्यसमा धेरै मान्छेहरू जोडिँदै गए । उहाँहरूको सुझाव अनुसार नै मैले पुस्तक निकाल्न योजना बनाएँ । र, २०७२ वैशाख पहिलो साता पुस्तक बजारमा आयो । त्यतिखेरैबाट मैले ‘समसामयिक विशेष’ भनेर किताव लेख्न सुरु गरेको हुँ ।

तपाईँको पहिलो पुस्तकले कतिको बजार पायो ?

मेरो पहिलो पुस्तक ‘नासु र खरिदार समसामयिक विशेष’ २०७२ वैशाख पहिलो साता बजारमा आयो । पाठकले अत्यधिक रुचाएको पुस्तक थियो, त्यो । तर, पुस्तक बजारमा आएको हप्ता दिन नबित्दै भूकम्प गएकाले अलिकति डिस्र्टब गरेता पनि अपेक्षाभन्दा बढी नै सफलता हासिल गर्यो । राम्रो प्रतिक्रिया पाएर नै पुस्तक लेखनलाई अगाडि बढाउने योजना बनाएँ ।

लोकसेवाको पुस्तक लेखनमा ट्रेन चेन्जर लेखकका रूपमा पहिचान बनाउनुभएको छ, परम्परागत प्रणालीलाई तोड्न कतिको च्यालेन्ज छ ?

परम्परागत हाजिरीजवाफ शैलीमा पढ्न अभ्यस्त बजारलाई नयाँ प्याटर्नमा ल्याउन केही चुनौती छ । मेरो नयाँ ट्रेन भनेको कुनै पनि विषयवस्तु माथि के, कहाँ, किन, कस्तो, कसले, कुन, कहिले, केका लागि र कति जस्ता प्रश्न एकै साथ गरेर पढ्नुपर्छ भन्ने हो । मैले मेरा पुस्तकमा यसरी प्रस्तुत गर्ने गरेको छु । जस्तो–

मुख्यसचिवमा रेग्मी नियुक्त

० को रेग्मी ? –लोकदर्शन रेग्मी

० कसको मुख्यसचिव ? – नेपाल सरकारको

० कसले नियुक्त गर्यो ? – नेपाल सरकाले

० कहिले नियुक्त ? – २०७४ कार्तिक ६

० कति औँ मुख्यसचिव भए ? – २४ औँ

० मुख्य सचिवको कार्यकाल कति हुन्छ ? – ३ वर्ष

० पहिलो मुख्यसचिव को हुन् ? – चन्द्रबहादुर थापा

यसरी एउटै टपिकमा को, कहिले‘ जस्ता प्रश्नको ओइरो एउटै टपिकमा लगाउनुपर्छ । जुन स्टाइललाई म जिके इन लेयर भन्छु । यसरी पढ्दा सम्झन सहज मात्र हुँदैन, पढ्दा पनि बोर लाग्दैन, खेल्दै पढेकोजस्तो हुन्छ ।

सुर्खेतमा सरकारी जागिरे हुनुहुन्छ, पर्याप्त स्रोत साधन अभावका बीच पनि पुस्तक लेखनलाई कसरी निरन्तरता दिन भ्याउनुभएको छ ?

निरन्तरता दिने की नदिने रुचिले निर्धारण गर्छ । रुचि हुने ठाउँमा हमेशा योगदान गर्न सकिन्छ । तर, कहिलेकाँही रुचि, चाहना र इच्छा हुँदाहुँदै पनि मोफसलमा हुनका नाताले भने जसरी समयमा नै काम गर्न सकिँदैन । लेखनका लागि आवश्यक स्रोत साधनको अभावमा कतिपय काम सोचेजस्तै गर्न सकिँदैन । सहर–राजधानीमा छापिएका पत्रपत्रिका, बुलेटिन, पुस्तक, लेखरचना, कार्यपत्र, खोज र सन्दर्भ सामग्री अहिले पनि केन्द्रीकृत छन् । विकेन्द्रीत हुन समय लाग्ने भएकोले काममा असहजता हुन्छ नै । तर, अहिलेका सूचना प्रविधिमा आएको महाविकासले असहजतालाई बिसाई दिएको छ ।

विभिन्न पत्रपत्रिकामा पनि लेख लेख्दै आउनुभएको छ, त्यसमा पनि समसामयिक विषयका जल्दाबल्दा समस्यामा गहिरो खोजसहित, कर्मचारी भएकैले पनि सहज भएको हो ?

कर्मचारी भएर समाज, व्यवस्था र परिपाटी बुझ्न सजिलो भयो । र, लेखन त्यति सजिलो कार्य होइन, जस्तो लाग्छ । लेखनका लागि खोज, अध्ययन र विश्लेषणको पाटो बलियो हुनुपर्छ । अध्ययन, अनुभव र अनुभूतिको संयोजन गर्ने कला चाहिन्छ, लेखनमा । र, अर्को कुरा रुचि हो । रुचिले मान्छेलाई अन्तरहृदयबाट कन्भिन्स गरिदिन्छ । र, मान्छे स्वतःस्फूत काम गर्न सक्छ । साथै अभाव, दबाब र प्रभावलाई सहजैरूपमा चिर्न सक्छ । तर, किताव लेख्नकै लागि वा पैसा कमाउन र अरुको उत्प्रेरणाबाट मात्रै लेख्न खोज्यो भने तपाईँले भनेजस्तो सोचेजस्तो तरिकाले लेख्न सकिँदैन । त्यसैले मनबाट लेख्ने अठोट गर्नुपर्छ । जहाँ मान्छेको रुचि छ, त्यही सफलता पाइन्छ ।

लोकसेवा सम्बन्धी पुस्तक लेखनमा रुचि बढ्नुको कारण के हो ?

सुरुमा रहर ‘हा हा’। अमूल्य सल्लाह, उत्कृष्ट सुझाव र ओजिलो रचनात्मक सुझाव पेश गर्ने पाठक वर्गको अमिट माया, अहिले । साथै प्रेरणा, उत्प्रेरणा, हौसला र ऊर्जाको कमी हुन नदिने आदरणीय सम्पूर्ण ऊर्जावाजहरू पुस्तक लेखनका स्रोत हुुनुहुन्छ । स्वभावले नै मलाई केही नयाँ जानकारी भयो र पाए भने कसलाई सुनाउन कसलाई सुनाउ हुन्छ । म आफूले सिकेका कुरा अरुसमक्ष प्रस्तुत गर्न रुचाउँछु ।

मैले समसामयिक विषयमा पढ्दा सबैसँग म्याटर थिएन । कलेक्सन गरेर पढ्न गाह्रो थियो । किनकी सबै इन्टरनेटको पहुँचमा थिएनन् । मलाई के लाग्यो भने समसामयिक म्याटर दिन सके धेरैले राहत पाउथे । त्यसकारण लेख्न सुरु गरेको हुँ ।

सोच र इच्छाशक्तिले पुस्तक लेख्नुभयो की कसैको प्रेरणा पनि थपियो ?

पहिलो कुरा पुस्तक लेख्नु मेरो रुचि हो । यो स्वतःरूपमा स्खलित तथा पोखिएर आउँछ । पोखिएर आयो भने थाम्न सकिँदैन । यसलाई म बाँध्न सक्दिनँ, त्यसकारण प्रस्तुत गर्नैपर्छ । पब्लिस होलारनहोला, म टिपेर राख्छु ।

पहिलो पुस्तक बजारमा आएपछि धेरै साथीहरूले ‘राम्रो रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँहरूले निरन्तरताका लागि सल्लाह दिनुभयो । मेरो रुचि त छँदै नै थियो । त्यसमा उहाँहरू नै प्रेरणाको खानी बन्नुभयो । त्यसपछि पुस्तक प्रकाशन भएपछि पाठकहरूले पनि अमिट माया गर्नुभयो ।

यहाँले प्रायः पुस्तकमा ‘विशेष’ शब्द बढी प्रयोग गर्नुहुन्छ, किन ?

हरेक समसामयिक घटनालाई मान्छेले विशेष महत्वका साथ हेर्न थालेका छन् । अरू विषयमा बजारमा जति पनि पुस्तक पाइन्छन् । जस्तैः भूगोल, इतिहास र धर्मसंस्कृति । यसबारे हामी कलेजदेखि नै पढ्दै आएका छौं । लाइब्रेरीमा पनि जति पनि पुस्तक पाइन्छन् । बजारमा पनि छ्याप्छ्याप्ती । जताततै यसबारे पुस्तक पाइन्छन् । तर, समसामयिक भन्ने यस्तो विषय हो, जो सहजै खोजेर पाउन सकिँदैन । त्यो विषयमा लोकसेवाले समसामयिक भनेर टपिक नै राखिदिएपछि म्याटर पाउन गाह्रो हुने भयो । त्यसलाई सहज गर्न मैलै यो विषय पुस्तकमा समेट्ने प्रयास गरेको छु । किनभने त्यो विशेष पनि हो ।

कहिलेकाही विभिन्न पुस्तकमा तथ्य तथा तथ्यांकमा फरक देखिने गरेको छ, त्यसलाई कसरी आधिकारिक बनाएर पुस्तकमा समावेश गर्नुहुन्छ ?

पहिलो कुरा त्यसको अथेन्टिसिटी के हो भनेर चेक गर्ने गर्छु । ‘सामान्य’ पत्रपत्रिकामा आएको कुरा अथेन्टिक नहुन पनि सक्छ । जस्तोः राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन्यजन्तु आरक्ष र शिकार आरक्षले ओगटेको क्षेत्रफल, अवस्थिति, अवस्था र स्थापना मिति बोर पत्रपत्रिकामा आउने जानकारी फरक फरक हुन सक्छन् त्यसको अथेन्टिक जानकारी लिदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गर्ने सूचना र पुस्तक आधिकारिक मान्नुपर्छ । एवम् प्रकारले सम्बन्धित विषयवस्तुका जानकारी त्यसरी भेरीफाई गरेर पुस्तकमा समेट्ने गर्छु ।

अन्य विधा र लोकसेवाको पुस्तक लेख्दा के फरक छ ?

अन्य विधामा पुस्तक लेख्ने कतिपयले मनका भावना पोख्छन् त केहीले समाजका यथार्थ । यी विधामा वास्तविक जीवनमा घटेका घटनालाई पनि प्रस्तुत गर्न सकिन्छ । तर, लोकसेवामा अनेन्टिसिटी हुन्छ । यसमा टु दी प्वाइन्ट कुरा लेखिन्छ । त्यसकारण लोकसेवा एकदमै संवेदनशील विधा हो । अहिले पनि बजारमा आएका धेरै कितावका डाटाबारे भ्रम छ । त्यसकारण यसमा सत्य तथ्य खोज्नका लागि गहिरो खोजको आवश्यकता पर्छ ।

बजारमा थुप्रै पुस्तक छन्, सबै किनेर पढ्न पनि सम्भव छैन, परीक्षार्थीलाई त अन्योल हुन्छ त रु कसरी छान्ने सही पुस्तक ?

यो त बोझ नै भयो । कुनै पनि लोकसेवा सारथिको लागि पहिलो सफलता भनेको उसले छनोट गर्ने सामग्री हो भन्ने गरिन्छ । कुन पुस्तक छनोट गर्ने ?

यसका लागि पुस्तक हेरेर वा अग्रज तथा पढिरहेको मान्छेसँग सल्लाह लिन सकिन्छ ।

अर्को कुरा पढ्दा सहज हुने पुस्तक छान्नुपर्छ । विषयवस्तु एउटै भएकाले सबै पुस्तकमा उस्तै उस्तै कुरा लेखिएका हुन्छन् । तर, प्रस्तुति भने फरक हुन्छ । लेखकको प्रस्तुतिले पनि पढाइलाई प्रभाव पार्छ । त्यसकारण यी कुरा ख्याल गरी सामग्री छनोट गर्न सकियो भने सफल हुन सकिन्छ । साथै पढ्दा म्याटरमा अली बढी सम्बेदनशील हुनुपर्छ ।

तपाईँका पुस्तक पढेर सफलता पायौं भन्ने रेस्पोन्स आएको छ ?

छ, धेरै म्यासेज आएका छन् । कतिले ‘तपाईँको कितावलाई बेस बनाएर पढ्दा पास भएँ’ भनेर म्यासेज गरेका छन् ।

लेखाइमा ट्रेन चेन्ज गर्ने सोच कसरी आयो ?

म जनरल नलेज ९जिके० विषयमा ट्रेन चेन्ज गर्ने भन्छु । जिके परम्परागत ढाँचामा पढेर हुँदैन । किनकी लोकसेवाले प्रश्न सोध्ने ट्रेन चेन्ज गरिसकेको छ । त्यसकारण पढाइको ट्रेन चेन्ज गर्नुपर्छ । हिजो सिंगल प्याटनको प्रश्न हुन्थ्यो । जस्तोस् नेपालको क्षेत्रफल कति छ ? यो हाजिरीजवाफ जस्तो थियो । अब लोकसेवाले त्यसरी सोध्दैन ।

त्यसकारण हामीले फरक तरिकाले अध्ययन गर्न सक्नुपर्छ । जस्तो– पहिले हामी नेपालको जनघनत्वबारे पढ्दा नेपालकै मात्रै पढ्थ्यौं ।

अब त्यसरी होइन । नेपालको जनघनत्वबारे पढेपछि हिमाली, पहाडी तथा तराई प्रदेश र ग्रामीण तथा सहरी क्षेत्रको पनि पढ्नु आवश्यक छ । त्यसपछि जनघनत्व बढी र कम भएको क्षेत्र तथा जिल्लाबारे पनि जानकारी लिनु आवश्यक छ । यसरी पढ्यो भने प्रभावकारी हुन्छ जस्तो लाग्छ ।

त्यसकारण पढाइमा पनि ट्रेन चेन्ज गर्नु जरुरी छ । अन्यथा लोकसेवा र परीक्षार्थीबीचमा सधै ग्याप भइरहने छ । जिके इन लेयर भन्ने मेरो ट्रेन छ ।

तपाईँलाई केमा सन्तुष्टि लाग्छ, लेखक भएकोमा कि सरकारी जागिरे ?

सरकारी जागिरे भएर नै पुस्तक लेख्ने प्रेरणा आएको हो । लेखनमा पनि सन्तुष्ट नै छु । लेखाइमा बेग्लै किसिमको प्यासन छ ।

तपाईँको लेखनीले कहिलेसम्म निरन्तरता पाउँछ ?

पाठवर्ग एवं हौसलावाजहरूको स्नेह, सहयोग, सद्भाव र सुभेक्षा रहेसम्म निरन्तर चलिरहन्छ । पाठकको माया, हौसला पाइरहँदासम्म निरन्तर लेखन जारी रहनेछ ।

नयाँ पुस्तक कहिलेसम्म बजारमा पुग्छ ?

नायब सुब्बाको प्रथम चरणको किताव बजारमा आएको हप्ता भईसक्यो । शाखा अधिकृत प्रथम चरण भर्खरै प्रकाशित भएको छ । खरिदार, आइक्यु फर अल र समसायिक विशेष पाइप लाइनमा छन् ।

अन्त्यमा भन्न मन लागेको केही छ ?

लोकसेवा मनहरूमा अनुरोध छ । लोकसेवाको तयारी गर्दा अरुले तयार गरेको पुस्तकमा मात्रै डिपेन्ड नहुनुस् । आफै पनि खोज्नुस् । अनुसन्धान गर्नुस् । संकलन गर्नुस् । बजारमा भएका पुस्तकबाट डाटा फिल्टर गरेर पढ्नुस् । किताबमा भएको म्याटर प्रति कन्भिन्स हुनुस् । म्याटरमा कुनै सम्झौता नगरिएको पुस्तक तपाईँको रोजाइको विषय बन्नुपर्छ । तपार्इँ सम्पूर्ण लोकसेवा सारथिहरूको सुन्दर, उज्जवल र समृद्ध भविष्यको कामना । मेरा सोच राख्ने यो ग्राण्ड अवसर दिनुभएकोमा प्रशासन डट कम परिवार र विशेषगरी तपार्इँलाई विशेष धन्यवाद दिन चाहान्छु ।

प्रशासनडटकमबाट साभार

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

लोकप्रिय