पोखरामा एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरामा एशिया कप ट्रायथलन : इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरा । पोखरामा आजदेखी सुरु भएको एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जितेका छन्। यसैगरी, महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बने।

ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो ।

पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे। अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा पूरा गरी तृतीय भए।

महिलातर्फ च्याम्पियन इड्डाले निर्धारित दूरी पार गर्न एक घण्टा छ मिनेट समय लगाए। यसैगरी उपविजेता गुआमका मानामी लिजिमाले एक घण्टा ४२ सेकेण्डमा र तृतीय हुन सफल उज्वेकिस्तानका एलिना खाकीमोवाले एक घण्टा चार मिनेटमा पार गरे ।

दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा पुरुष तथा महिला दुबैतर्फ भारतीय खेलाडीले बर्चस्व राखेका हुन् । पुरुषतर्फ भारतका मुरलीधर नैरले  एक घण्टा दुई मिनेट तीन सेकेण्डमा तोकिएको दूरी पार गरी उपाधि जिते। यसैगरी, कौसिक विनयले एक घण्टा तीन मिनेट २६ सेकेण्ड लगाउँदै उपविजेता बन्नुभयो । नेपालका विपन खत्कत्वाले एक घण्टा पाँच मिनेट २५ सेकेण्ड समय लगाउदै तृतीय हुन सफल भए।

महिलातर्फ भारतका मान्सी मोहितिले निर्धारित दूरी एक घण्टा सात मिनेट ५१ सेकेण्डमा पूरा गरी विजेता बने । नेपालका श्रेवी महर्जनले एक घन्टा ११ मिनेट ४५ सेकेण्डको पूरा गर उपविजेता बन्दा नेपालकै शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए।

यसैगरी राष्ट्रिय च्याम्पियनसिपमा विपन खत्कत्वाले एक घन्टा पाँच मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गरी च्याम्पियन बने। प्रविन थारुले एक घन्टा छ मिनेट २० सेकेण्डमा पार गरी द्धितीय र मुकेश थारुले एक घण्टा १५ मिनेट ११ सेकेण्डको समय लगाउँदै तृतीय हुन सफल भए।

महिलातर्फ एक घन्टा ११ मिनेट ४५ सेकेण्डको समयमा दूरी पार गर्दै श्रेवि महर्जन च्याम्पियन बने। शोभा बलामीले एक घण्टा २१ मिनेट १३ सेकेण्डमा पार गरी द्धितीय र ज्ञानु कुमारी चौधरीले एक घण्टा २१ मिनेट ५७ सेकेण्डमा पूरा गरी तृतीय हुन सफल भए। यसैगरी जुनियर साउथ एसिया च्याम्पियनसिपमा पुरुषतर्फ भारतका साइ केडी च्याम्पियन बने। भारतकै कृषिभ पटेल द्धितीय र नेपालका यजु महर्जन तृतीय भए।  महिला जुनियरतर्फ नेपालका श्रेवी महर्जन विजेता बन्दा भारतका दुर्विशा पवार द्धितीय र प्रेरणा श्रवण कुमार तृतीय भए।

नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा सञ्चालन भएको च्याम्पियनसिपमा विभिन्न १५ देशका ३८ पुरुष र २४ महिला गरी ६२ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, वल्र्ड ट्रायथोलन सङ्घका अध्यक्ष मारिसोल कासडो, महासचिव एन्टोनियो आरामानी, नेपाल ट्रायथलन सङ्घका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, महासचिव युवराज सुनुवार, केन्द्रीय सदस्य अनिता रानाभाट स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर)लगायतले पुरस्कार तथा मेडल वितरण गरे। प्रतियोगिता अन्तर्गत आइतबार दुआथलन च्याम्पियनसिप हुने आयोजकले जनाएको छ । 

जेलबाट रिहा भए केजरीवाल

नयाँ दिल्ली । सर्वोच्च अदालतले अन्तरिम जमानत दिएपछि भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा भएका छन्।सर्वोच्च अदालतले मनी लान्ड्रिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्याधिश सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो । उनी ५० दिनपछि रिहा भएका छन् । तिहाड जेलमा रहेका केजरीवालले जेलबाट बाहिर निस्केसँगै आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफु तानाशाहीविरुद्ध लडिरहेको बताए । साथै उनले भोलिदेखि आफ्ना चुनावी प्रचारको कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा आज यस्तो कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्। गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुईजना पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरूलाई गएराति पक्राउ गरेको हो। बुटवल घर भएका उनीहरू दुवै ११ किलो सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  यसबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

काठमाडौँका यी स्थानमा चार दिन हुनेछ विद्युत् अवरुद्ध

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ।  आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ्ग आयोजनाले स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाईनको पुरानो तारलाई बदली गर्ने कार्य गर्न लागिएको हुँदा बैशाख २९ र ३१ गते हसनटार फिडर, खड्का गाउँ फिडर र थानकोट फिडरमा विद्युत् अवरुद्ध हुने जनाएको छ।  त्यसैगरी जेठ २ र ४ गते थानकोट फिडरसँगै बलम्बु फिडरमा पनि विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ। यी स्थानमा तोकिएको दिनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ। 

लोकप्रिय