भरतपुर भ्रमण वर्ष २०२४ : दुर्लभ पाटे बाघ सहजै देख्न पाइने

भरतपुर भ्रमण वर्ष २०२४ : दुर्लभ पाटे बाघ सहजै देख्न पाइने

चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटे बाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटे बाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ ।  

बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी २ वटा पाटे बाघलाई राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहाने पर्यटकका खुसीको विषय हो । केन्द्रमा उद्धार गरी राखिएको दुई भाले ‘नरभक्षी बाघ’ छन् । केन्द्र भरतपुरको पर्यटनको मुख्य आर्कषण बन्न सक्छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रुपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधरणलाई खुला गरिएको हो ।

टिकौली ढाटबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किमी दक्षिणतर्फ केन्द्र पर्छ । वन्यजन्तु उद्धार केन्द्रको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरे।

केन्द्रको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पुराउने बताए ।

‘यो उद्धार केन्द्रले पर्यापर्यटनको विकास गर्न सघाउनेछ । यसको व्यवस्थापनमा महानगरले हातेमालो गर्छ,’ दाहालले भने, ‘निकुञ्जलाई थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको थियो। अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि त्यो समस्या हुँदैन।’

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुईवटा बाघहरु यहाँ राखिएको जानकारी दिनुभयो । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो।

हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो। अर्को भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो। यो बाघ अहिले अन्दाजी १४ वर्षको छ। यी दुबैलाई मान्छेमाथि आक्रमण गर्न पल्किएपछि समातेर थुनिएको थियो।

‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरु नियन्त्रणमा लिएर निकुञ्जका खोरहरुमा थुन्ने गरिएको थियो। तर उनीहरुलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन। भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं।’

चितवन निकुञ्जसँग कसरामा चार र सौराहामा दुईवटा बाघ राख्नसक्ने क्षमता थियो। ‘यो निकुञ्जकामात्रै नभएर आवश्यक पर्दा बाहिरका समस्याग्रस्त बाघ, अन्य वन्यजन्तुको पनि उद्धार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुङगनाले मन्तव्य राख्नुभएको थियो ।
 

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।

लोकप्रिय