चट्याङ लागेर बालकको मृत्युु, तीनजना घाइते

चट्याङ लागेर बालकको मृत्युु, तीनजना घाइते

अछाम ।  अछामको रामारोशन गाउँपालिका–७, मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । 

चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३, कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ । रासस 

कांग्रेसले गृहमन्त्रीलाई दोषी करार गर्‍यो : रास्वपा सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएजसरी नेपाली कांग्रेसले प्रस्ताव ल्याएको बताएका छन् । उक्त प्रकरण छानबिनका निम्ति बनाउने भनिएको संसदीय समितिको ‘टीओआर’ तयार पार्न आइतबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन् । समितिको कार्यादेश बनाउँदा नै व्यक्तिलाई दोषी मान्न नसकिने उनले उल्लेख गरे । “समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन,” उनले भने । उनले सबै सहकारीपीडितलाई न्याय दिने गरी छानबिन गरिनुपर्ने आफूहरूको भनाइ रहेको स्पष्ट पारे । आजको संसद् बैठकमा गृहमन्त्री लामिछानेले जवाफ दिने र त्यसपछि फेरि कार्यदलको बैठक बस्ने उनले जानकारी दिए ।

गृहमन्त्रीको सम्बोधनपछि फेरि कार्यदलमा छलफल हुने

काठमाडौं । कानुनमन्त्री पदम गिरीको नेतृत्वमा रहेको कार्यदलमा सत्तापक्ष र विपक्षका प्रतिनिधिबीच कुरा नमिलेपछि फेरि बस्नेगरी टुंगिएको छ। कानुन मन्त्रालयमा बसेको बैठकमा कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री रवि लामिछानेलाई पनि छानबिनको दायरामा ल्याउनैपर्ने अडान कायमै राखेको छ । तर सत्तापक्षले अहिले नाम उल्लेख गरिएका सहकारीको नाम राखेर जान सकिने तर व्यक्ति केन्द्रित बनाउन नहुने अडान राखेपछि बैठक रोकिएको हो । अहिले प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने तयारी भएकाले त्यसपछि पनि फेरि छलफल थालिने कार्यदलका सदस्य जीवन परियारले जानकारी दिए ।

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंग्याउन फेरि बस्यो कार्यदल

काठमाडौं । सहकारीको बचत अपचलन, ठगी, दुरूपयोग र हिनामिना छानबिन गर्न गठित संसदीय समितिको कार्यादेशबारे छलफल गर्न कार्यदलको बैठक पुनः बसेको छ। कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।यसअघि कार्यदल बैठक बिहान साढे ८ देखि दिउँसो २ बजेसम्म सिंहदरबारमा बसेको थियो। छानबिन समितिको क्षेत्राधिकारमै दलहरूबीच कुरा मिल्न बाँकी रहेका कारण आन्तरिक छलफलका लागि कांग्रेसले थप समय मागेका कारण बैठक केहि समय स्थगित भएको थियो ।

कार्यदलको बैठक केहि समय स्थगित

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश आइतबार बेलुकासम्म टुंग्गो लगाउने तयारी गरिएको छ। कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यादेशका विषयमा धेरै अन्तर नरहेको बताए। उनका अनुसार कांग्रेसले छलफलका लागि २० मिनेटको समय माग गरेको छ। “सैद्धान्तिक सहमति भएको छ । विषयगत रूपमा बुँदागत रुपमा टुंग्याउन उहाँहरू (कांग्रेस नेता)ले केही समय मागेको हुँदा अब बस्ने बैठकले थप निर्णय गर्ला । आज बेलुकासम्म टुंगो लाग्ला,” उनले भने ।  बर्तौलाका अनुसार सहमतिको नजिक पुगिएको छ । कार्यदलको बैठक बिहानैदेखि कानुन मन्त्रालयमा बसेको हो। सहकारी प्रकरणबारे छानबिन गर्न समिति बनाउने सहमति शनिबार भएको थियो । टीओआरबारे टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक अनिश्चित भएको छ।

लोकप्रिय