दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोप

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन् ।

मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेता समेत हुन् ।यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो ।

भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको ईडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि विहीबार साँझ गिरफ्तार गरेको बताइएको छ।

लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने बताइएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् ।

दुई महिनाको बीचमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले ईडीले भाजपाबाट निर्देशित भएर विपक्षी नेताहरुलाई अनेक आरोप लगाइ धरपकड गरेको आरोप लगाएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।

लोकप्रिय