कान्तिराजपथ डेढ महिना बन्द हुने

कान्तिराजपथ डेढ महिना बन्द हुने

ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

 “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो । बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । 

विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताए । सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । 

कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । 

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं । सुनचाँदीको मूल्यले आज (सोमबार) पनि नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका बीबीसीले उल्लेख गरेको छ । ड्रोनबाट खिचिएको फुटेज भन्दै इरानी सञ्चारमाध्यमले दुर्घटनास्थलको तस्बिर सार्वजनिक गरेका छन् । पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार रहेका सीएनएनले जनाएको छ ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।

लोकप्रिय