नेपालद्धारा गुजरातलाई १७७ रनको लक्ष्य प्रस्तुत

नेपालद्धारा गुजरातलाई १७७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरात क्रिकेट एसोसिएसनसामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइतबार भारतको वापीमा टस जितेर पहिले ब्याटिङ खेलेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाउन सफल भयो।

कप्तान रोहितले ४७ बलमा पाँच चौका र चार छक्कासहित ७४ रन बनाए। आसिफ शेखले ३४ र कुशल मल्लले ३१ रन थपे । कुशल भुर्तेलले १९ रन जोडे । दीपेन्द्रसिंह ऐरी र सन्दीप जोराले समान सात रन बनााए।

गुजरातका जयमित पटेल, स्हेन पटेल, तेजस पटेल र जाला युभराजसिन्हले समान एक विकेट लिए ।

एसीसी प्रिमियर कप र ट्वान्टी–२० विश्वकपको तयारीका निम्ति भारत भ्रमणमा रहेको नेपाल लिग चरणका चारमध्ये तीन खेलमा जित निकाल्दै विजेताका रूपमा फाइनलमा पुगेको हो । गुजरातले भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।

त्रिकोणात्मक शृंखलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसिएसनले प्रतिस्पर्धा गरेका थिए ।

अब ड्राइभिङ लाइसेन्स बोक्नु नपर्ने !

काठमाडौं । राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले अब चाँडै नै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने हुने भएको छ। सरकारले सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीले यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी सवारी चालक अनुमतिपत्रमा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिएका छन् । उनका अनुसार एक महिनाभित्र सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम सम्पन्न हुनेछ । त्यसपछि चालकले आफ्नो सवारी सवारी चालक अनुमतिपत्र नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने उनले जनाए । यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ।  यसका लागि प्रहरीसँग पनि छलफल भइरहेको निर्देशक केशरीले जनाए । उनका अनुसार सुरुवाती चरणमा पुराना सवारी लाइसेन्सको विवरण राख्ने र त्यसपछि मात्र नयाँ लाइसेन्सको विवरण राख्नेगरी काम भइरहेको छ ।

२ जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो । शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो । चालु आर्थिक वर्षमा चितवनमा ७ वटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा रहेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । उक्त विश्वासको मतसम्बन्धी पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेस गर्ने  सङ्घीय संसद्को आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ  । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ । सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरु भएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।  आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।   तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चारवटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगो  निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।  आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।  विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए । रासस

लोकप्रिय